नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायको राजनीतिक सहभागिता, राज्यका निकायहरूमा प्रतिनिधित्व तथा आरक्षणसहितका समावेशीकरणका नीतिहरूसँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण र विवादास्पद प्रश्नहरूमध्ये एक कानुनी लैङ्गिक पहिचानको प्रश्न हो। यो केवल व्यक्तिगत पहिचानको विषय मात्र होइन; यसले राज्यको संरचना, तथ्याङ्क प्रणाली, प्रतिनिधित्वको व्यवस्था, आरक्षणको ढाँचा र सामाजिक न्यायका नीतिहरूलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ।
नेपालले विश्वमै अग्रणी कदम चाल्दै तेस्रोलिंगी लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई कानुनी मान्यता दिने बाटो खोलेको थियो। तर पछिल्ला वर्षहरूमा लैङ्गिक पहिचानसम्बन्धी बहस नयाँ मोडमा पुगेको छ। अहिले समुदायभित्रै विभिन्न मागहरू देखिएका छन्। केही व्यक्तिहरू आफूलाई पुरुष वा महिला दुवैभन्दा फरक पहिचानका रूपमा स्वीकार गर्न चाहन्छन् र नागरिकता तथा अन्य सरकारी कागजातमा ‘अन्य’ वा तेस्रोलिंगी पहिचानमा रहन चाहन्छन्। अर्कोतर्फ, केही पारलैंगीक (ट्रान्स) व्यक्तिहरू: (जन्मँदा छोरीका रूपमा वर्गीकृत भएका) ट्रान्स पुरुषलाई पुरुष र (जन्मँदा छोराका रूपमा वर्गीकृत भएका) ट्रान्स महिलालाई महिला भनेर कानुनी मान्यता दिनुपर्ने माग गरिरहेका छन्।
यी दुवै मागहरूले राज्य सञ्चालन र समावेशीकरणका नीतिका दृष्टिले केही जटिल प्रश्नहरू खडा गर्छन्। यदि समान जैविक विशेषता भएका वा समान समुदायबाट आएका व्यक्तिहरू फरक–फरक कानुनी वर्गमा प्रवेश गर्छन् भने आरक्षण, प्रतिनिधित्व र समावेशीकरणका कार्यक्रमहरू कसरी सञ्चालन गर्ने? लाभग्राहीको गणना कसरी गर्ने? कुन समुदायको प्रतिनिधित्व कति भयो भनेर कसरी मापन गर्ने? यी प्रश्नहरू केवल सैद्धान्तिक होइनन्; सार्वजनिक नीतिसँग प्रत्यक्ष जोडिएका छन्।
उदाहरणका लागि, एक व्यक्तिले ‘अन्य’ श्रेणीअन्तर्गत नागरिकता लिएर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि छुट्याइएका अवसर, प्रतिनिधित्व वा आरक्षणको दाबी गर्न सक्छन्। अर्कोतर्फ, समान पृष्ठभूमि भएका अर्का व्यक्तिले आफूलाई “महिला”का रूपमा कानुनी मान्यता प्राप्त गरी महिलाका लागि छुट्याइएका आरक्षण, प्रतिनिधित्व वा अवसरहरूमा पहुँच प्राप्त गर्न सक्छन्। यस्तो अवस्थामा समावेशीकरणको मूल उद्देश्य के हो, लाभको वितरण कसरी गर्ने, र विभिन्न श्रेणीबीच दोहोरो पहुँच, दोहोरो गणना वा असमान अवसर सिर्जना हुन नदिने उपाय के हुने भन्ने प्रश्न उठ्छ।
नेपालको संविधानले विविधता, समानता र समावेशीकरणलाई मूल मान्यताका रूपमा स्वीकार गरेको छ। तर समावेशीकरणको प्रभावकारिता केवल अधिकारको घोषणाबाट सुनिश्चित हुँदैन। त्यसका लागि स्पष्ट, सुसङ्गत र कार्यान्वयनयोग्य कानुनी तथा प्रशासनिक संरचना आवश्यक हुन्छ। यदि लैङ्गिक पहिचानका विभिन्न श्रेणीहरूबीचको सम्बन्ध स्पष्ट गरिएन भने भविष्यमा आरक्षण, निर्वाचन प्रणाली, जनगणना, सरकारी सेवा तथा सामाजिक सुरक्षासम्बन्धी नीतिहरूमा थप जटिलता उत्पन्न हुन सक्छ।
त्यसैले नेपालमा तेस्रोलिङ्गीहरुलाई ‘अन्य’ लैङ्गिक पहिचानको कानुनी मान्यता प्राप्त भए पनि ‘पारलिंगी लैङ्गिक पहिचानलाई कानुनी मान्यता दिने नदिने’ भन्ने बहस जारी रहेको छ। अदालतले केही पारलिङ्गी व्यक्तिहरूलाई महिला वा पुरुषको पहिचान दिएको छ । तर वास्तविक चुनौती भनेको प्रत्येक व्यक्तिको कानुनी लैङ्गिक पहिचानको अधिकारलाई सम्मान गर्दै, कसैको अधिकार नखोसिने र कसैलाई अनुचित रूपमा दोहोरो फाइदा पनि नगरिने खालको समावेशी संरचना निर्माण गर्नु हो। राज्यले लैङ्गिक पहिचानहरूलाई स्थान दिनुपर्छ, तर त्यससँगै प्रतिनिधित्व, आरक्षण र समावेशीकरणका व्यवस्थाहरूमा स्पष्टता, पारदर्शिता र न्याय सुनिश्चित गर्नुपर्छ।
अन्ततः प्रश्न केवल पहिचानको होइन, समावेशी लोकतन्त्रको हो। नेपालले आगामी दिनमा निर्माण गर्ने कानुनी र नीतिगत संरचनाले सबै लैङ्गिक समुदायलाई सम्मानजनक स्थान दिन सक्नुपर्छ, तर त्यस्तो संरचना अधिकारहरूको दोहोरो व्याख्या, प्रशासनिक अन्योल वा समावेशीकरणको उद्देश्यलाई नै कमजोर बनाउने खालको हुनु हुँदैन। विविधताको सम्मान र नीतिगत स्पष्टताबीच सन्तुलन कायम गर्नु नै अबको सबैभन्दा ठूलो चुनौती हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.