देबीचौरको पदयात्रा

भाङबारीको ठट्टा, बाघखोरको कथा र देबीचौरका अपेक्षा

भाङबारीको ठट्टा, बाघखोरको कथा र देबीचौरका अपेक्षा

104
SHARES

जौबारीभन्दा अलिमाथि छ गहुँबारी। ललितपुरको गोदावरी नगरपालिका–७, देबीचौर जौबारीसँगै गहुँबारीले पनि परिचित छ। स्थानीय समीर थिङ तामाङका अनुसार विगतमा यहाँ गहुँ उत्पादन हुने भएकाले यसको नाम नै गहुँबारी रहन गएको हो।

तर, यतिबेला भने बारीमा गहुँ छैन। गहुँबारी होइन, अहिले मकैबारी देखिन्छ। आँगनका डिलमा मकैका बोटभन्दा हरिया गाँजाभाङका बोट पनि उम्रिएका छन्। गाँजाभाङका बोट देखेपछि एक पत्रकारले ठट्टा गर्दै भने, “गहुँबारी होइन, भाङबारी राख्नुपर्ने रहेछ।”

अर्का पत्रकारले जिज्ञासा राखे, “यहाँ प्रहरी आइपुग्दैन कि?”

तामाङले मुस्कुराउँदै जवाफ दिए, “प्रहरी भाङ काट्न आउँछ। यो रोप्नुपर्ने होइन, आफैँ फलिरहन्छ। यो रोप्नुपर्ने चिज होइन।”

त्यसपछि एक पत्रकारले लख काटे, “आफ्नै लागि लगाएको हो, व्यवसायका लागि त होइन होला।”

अर्का पत्रकार बोले, “गाईबस्तु पाल्ने मान्छेलाई औषधिका लागि पनि चाहिन्छ।”

खेती गरेर बेचबिखन गरेको भए नष्ट गर्न आउने भन्न मिल्थ्यो, सम्पादक समाज नेपालको पदयात्रामा सहभागी अर्का पत्रकारले भने, “अचार खान पनि मिल्छ। गाईबस्तुले तात्तातो दिसा गर्‍यो भने औषधिका रूपमा पनि दिने गरिन्छ। हरेक चिजलाई लागूऔषध मात्रै गन्न मिल्दैन नि।”

यसैबीच सुरु भयो ‘निलो क्रान्ति’को प्रसङ्ग। अर्का पत्रकारले हाँस्दै भने, “यहाँ पनि निलो क्रान्ति आएछ।” रातो टिकासँगै सेतो, निलो र रातो रङका खाँदाले पत्रकारहरूको स्वागत गरिएको थियो।

“के सुनाएको होला, निलो क्रान्ति भनेर?”

“जानेर नै निलो खाँदा दिएजस्तो छ है!”

शनिवार सम्पादक समाज नेपालले देबीचौर देउरालीमा आयोजना गरेको पदयात्राका क्रममा स्थानीय समीर तामाङले गहुँबारीको सामान्य परिचय गराए। त्यसपछि पदयात्रा टोली सुन्तलीडाँडातर्फ अघि बढ्यो।

सुन्तलीडाँडा सामुदायिक वनमा प्रवेश गरेपछि टोलीको अगुवाइ पञ्चकन्याको समूहसँगै वडा नं. ७ की वडा सदस्य विनीता नेपालीले गरिन्।

उनले बाघखोरको बाटोबारे जानकारी दिँदै भनिन्, “यो बाघलाई खोर थाप्ने ठाउँ हो।”

त्यसपछि एक पत्रकारले थपे, “खोरमा पार्ने, त्यसको जानकारी सरकारलाई गराउने, अनि मार्न आदेश आएपछि मात्र मार्ने चलन थियो।”

वडा सदस्य नेपालीले पनि विगत सम्झिँदै भनिन्, “धेरै वर्षअघि बाघले धेरै दुःख दिन्थ्यो। पुर्खा, बाजे र हजुरबुबाहरूले बाघलाई यहीँ खोर थाप्थे। त्यसैले यसको नाम बाघखोर रह्यो।”

गहुँबारीबाट अगाडि बढेपछि सुन्तलीडाँडा, पाथीभरा पिकनिक स्पोट हुँदै स्वर्गद्वारी मन्दिरसम्म सिमेन्टेड सिँढी निर्माण गरिएको छ। बाघखोर हुँदै मोटरबाटोमा निस्कन करिब १५ मिनेटको गोरेटो बाटो पर्छ। वडा सदस्य नेपालीका अनुसार मोटरबाटो नबन्दासम्म विद्यार्थीहरू यही बाटो हुँदै विद्यालय जाने गर्थे।

उनले अगाडिको यात्राबारे जानकारी दिँदै भनिन्, “माथि बालाजी शालिग्राम धाम बन्दैछ। त्यहाँ जान सिँढी निर्माणको तयारी भइरहेको छ। अलि कठिन ठाउँ भएकाले बजेट विनियोजन गरेका छौँ।”

यस क्रममा सिमेन्टेड सिँढीभन्दा ढुङ्गा–माटोकै सिँढी वातावरणका लागि बढी उपयुक्त हुने सुझाव पनि वडा सदस्य नेपालीले पाइन्।

वडा नं. ७ का अध्यक्ष मथुराप्रसाद बजगाईँ बज्रबाराहीदेखि नै पदयात्रा टोलीसँगै थिए। मौसम पनि अनिश्चित थियो-छिनछिनमा पानी पर्ने, घाम लाग्ने र फेरि बादल लाग्ने। बाघखोरको बाटो हुँदै मोटरबाटोमा निस्कँदै गर्दा केहीबेर ओत लाग्नुपर्ने अवस्था आयो।

तर, क्षणभरमै पानी रोकियो। संयोगले बस पनि आइपुग्यो।

देबीचौरको देउरालीमा निर्माण गरिएको भ्यु टावरबाट काठमाडौँ उपत्यका छर्लङ्ग देखिन्थ्यो। टावरमाथि उभिएर पदयात्रा टोलीका सदस्यहरू देखिएका स्थानहरूको नाम लिँदै थिए-“उ त्यो विमानस्थल, त्यो धरहरा।”

तर, पत्रकारिताका अध्येता तोया गौतमले भने आफू बस्ने ठाउँ टोखा नदेखिएको बताए।

भ्यु टावरमै छोटो औपचारिक कार्यक्रम भयो। स्वर्गीय गोविन्द वियोगी संस्थापक रहेको सम्पादक समाज नेपालले पदयात्रा कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे जानकारी गरायो।

सम्पादक समाज नेपालका महासचिव श्यामकाजी डोटेलले वर्तमान अवस्थामा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि सञ्चार क्षेत्रले जागरूकताका साथ काम गर्नुपर्ने बताए।

“काठमाडौँभन्दा पर स्थानीय समुदाय, आम नागरिकको अपेक्षा के हो त? हामी यति सुन्दर ठाउँमा छौँ। हामी यति राम्रो ठाउँमा बसेका छौँ। यो ठाउँको प्रचारप्रसार भइदिए यहाँका नागरिकको ग्रामीण पर्यटन प्रवर्द्धन पनि होला,” उनले भने।

यसले स्थानीयको आर्थिक स्तर वृद्धि हुने उनको विश्वास थियो।

“यहीँको स्थानीय उत्पादन, मान्छेहरू आउन थालेपछि, खपत होला। जीवनस्तर बढ्ला भन्ने उहाँहरूको अपेक्षा हुन सक्छ, बुझ्नु होला,” महासचिव डोटेलले भने।

उनले राजनीतिका कुराको मात्रै अपेक्षा नगर्न पनि अनुरोध गरे।

“अहिले एआईको अपेक्षा नगरौँ। वास्तविक ग्रामीण भेगमा रहेका यहाँका जनताको अपेक्षा, आम नागरिकको अपेक्षा के छ? देशको केन्द्रको राजनीतिसँग मात्रै मतलब छ कि यहाँका स्थानीय कुरासँग पनि सरोकार छ?” उनले प्रश्न गरे।

सम्पादक समाजले यस्ता विषय उठाउँदै कार्यक्रम आयोजना गरिएको महासचिव डोटेलले जानकारी गराए।

वडा नं. ७ का अध्यक्ष मथुराप्रसाद बजगाईँले प्रचारप्रसारको अभावका कारण देबीचौर ओझेलमा परेको बताए। काठमाडौँबाट नजिकैको दूरीमा रहेको रमणीय देबीचौरको उचित प्रचारप्रसार हुन सके आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने विश्वास उनले व्यक्त गरे।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले पनि देबीचौर रमणीय रहेको बताए।

“अब समुदायसँग पत्रकार,” उनले भने, “समुदायले पत्रकारलाई कसरी हेरेको छ? समुदायले पत्रकारितालाई कसरी हेरेको छ? त्यो अन्तरक्रिया हुने कुरा हो, बुझ्ने कुरा हो।”

पत्रकारिताको वर्तमान प्रवृत्तिबारे चर्चा गर्दै उनले भने, “नेताले के बोल्यो? कसले के बोल्यो? शहरकेन्द्रित पत्रकारिता, गतिविधि–आधारित पत्रकारिता, कार्यक्रम–आधारित पत्रकारिता धेरै भएको सन्दर्भ छ।”

यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धन, समुदायको जीवनस्तर उकास्ने प्रयास तथा यहाँका उत्पादन र अवस्थाबारे स्टोरी तथा कन्टेन्ट उत्पादन गर्न पनि सहयोग पुग्ने उनले बताए।

पत्रकारितालाई हेर्ने दृष्टिकोण राम्रो नभइरहेको प्रसङ्ग उल्लेख गर्दै भुसालले भने, “किन भएन? हामीले दिने कन्टेन्टहरू सही, यथार्थपरक र अलि खोजी गरेर समुदायले चाहेको कुरा दिन सकिरहेका छौँ कि छैनौँ? त्यसमै यो कुरा भर पर्छ।”

अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै उनले भने, “यो अभियानले सार्थकता पाओस्। यसले पत्रकार आचारसंहिताको पालना हुने, विश्वासिलो र जिम्मेवार पत्रकारिताको प्रवर्द्धन हुने भएकाले सम्पादक समाजसँग प्रेस काउन्सिल नेपालले आगामी दिनमा के–कस्तो साझेदारी गर्न सक्छ, बसेर छलफल गरौँला।”

गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न किसिमका कार्यक्रम आयोजना गर्दै आएको बताइन्।

“असाध्यै रमणीय वातावरण भएको ठाउँ हो। प्रचारप्रसार कम भएका कारण मानिसहरूको आवतजावत पनि कम भएको छ,” उपप्रमुख अधिकारीले भनिन्, “कार्यक्रम आयोजना गरेर यो ठाउँको प्रवर्द्धन गर्न सहयोग गर्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छु।”

उनले भ्यु टावर निर्माण भएपछि होटल तथा पसल फस्टाउन थालेको बताइन्। साथै, भौगोलिक रूपमा दुर्गम रहेका नगरपालिकालाई बढी बजेट विनियोजन गर्नुपर्ने माग पनि उनले सुनाइन्।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाको शिक्षाको अवस्थाबारे जानकारी गराए।

“हिजो भवन थियो, विद्यार्थी थिएनन्। आज विद्यार्थी धेरै छन्, तर भवन नपुगेको अवस्था छ,” उनले भने।

स्वास्थ्य क्षेत्रबारे जानकारी दिँदै नगरप्रमुख महर्जनले जिल्ला अस्पताल निर्माण अन्तिम चरणमा पुगेको बताए। नगर अस्पतालबाट एम्बुलेन्ससहितको सेवा प्रदान भइरहेको उल्लेख गर्दै उनले भने, “१४ वटै हेल्थपोस्टमा डाक्टरसहितको सुविधा दिइरहेका छौँ। यी लगायत शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा पनि तीव्र गतिमा काम गरिरहेका छौँ।”

आयआर्जनका लागि पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न सके गाउँमै बसेर जीविकोपार्जन गर्न सकिने विषयलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए। गोदावरीदेखि लेलेसम्म आउने हाइकिङ रुट निर्माण भइसकेको जानकारी पनि उनले गराए।

“हरेक वडामा प्रसिद्ध मन्दिर छन्। मन्दिर नभएको वडा नै छैन। चार बाराहीमध्ये दुईवटा गोदावरी नगरपालिकाभित्र छन्। १२ वर्षे मेला लाग्ने स्थल पनि यही नगरपालिकाभित्र पर्छ। चार नारायणमध्ये एक नारायण पनि यही नगरपालिकाभित्र छन्,” नगरप्रमुख महर्जनले बताए।

उनले गोदावरी नगरपालिका धार्मिक पर्यटनको केन्द्रका रूपमा पनि अगाडि बढिरहेको उल्लेख गरे।

“अन्य ठाउँमा जलवायु परिवर्तनको असर देखिँदै गएको छ। तर, गोदावरी नगरपालिका यस्तो ठाउँ हो, जहाँ फुल्चोकीको उचाइदेखि लिएर देबीचौर, जुन करिब तीन हजार मिटरको उचाइमा छ, त्यस्तो रमणीय वातावरणमा यहाँ आइदिनुभएकोमा स्वागत गर्दछु,” नगरप्रमुख महर्जनले भने।

उनले गोदावरी नगरपालिकाका सबै वडा घुम्न पनि आग्रह गरे।

सम्पादक समाज नेपालका अध्यक्ष पुरु रिसालले नुवाकोटको लौके झरनामा सम्पादक समाजले आयोजना गरेको पदयात्रापछि हरेक शनिवार त्यहाँ घुम्न जानेहरूको भीड लाग्ने गरेको खबर आइरहेको बताए।

उनले अहिले प्रचारप्रसारकै युग भएको उल्लेख गर्दै प्रचारप्रसार संयमित र अनुशासित हुनुपर्नेमा जोड दिए।

अध्यक्ष रिसालले स्वर्गीय गोविन्द वियोगीको निष्पक्ष पत्रकारिताको पनि स्मरण गरे। “गल्ती हुन्छ भने त्यसको विरोध पनि गर,” भन्दै उनले वियोगीको पत्रकारिताको मूल मर्म सम्झाए।

स्थानीय तहको स्वागतप्रति प्रतिक्रिया दिँदै उनले भने, “स्वागत भौतिक कुरा होइन, भावनात्मक कुरा हो। यो गौरवको विषय भयो।”

सम्पादक समाज नेपालले नागरिकको अपेक्षा, जिम्मेवार पत्रकारिता नारा सहित जलवायु परिवर्तनको असर कम गर्न वातावरण संरक्षणलाई महत्त्व दिएर पत्रकारहरूका लागि पदयात्रा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। नुवाकोटको लौके झरनाबाट सुरु भएको पदयात्रा गत वर्ष सिन्धुपाल्चोकको गुफाडाँडा हुँदै यो वर्ष ललितपुरको देबीचौर देउराली पुगेको सम्पादक समाज नेपालले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
104
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.