"/>

नक्कली भुटानी शरणार्थी मुद्दामा कसुर ठहर, को-को भए दोषी र को-कोले पाए सफाइ?

नक्कली भुटानी शरणार्थी मुद्दामा कसुर ठहर, को-को भए दोषी र को-कोले पाए सफाइ?

252
SHARES
फायल तस्बिर

काठमाडौँ – २०८३ जेठ २७ गतेदेखि हेर्दाहेर्दैमा रहेको चर्चित नक्कली भुटानी शरणार्थी मुद्दामा काठमाडौँ जिल्ला अदालतले कसुर ठहरको आदेश गरेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, सङ्गठित अपराध, लिखत किर्ते र राज्यविरुद्धको अपराधसम्बन्धी संयुक्त एकीकृत मुद्दामा कसुर ठहर गरेको हो। इजलासले कसुर ठहर गरेका मुद्दासँग सम्बन्धित तीन वटा लगाउका मुद्दासमेत रहेका थिए।

गजेन्द्र बुढाथोकी समेतको जाहेरीका आधारमा बेचन झा ठगी उद्योगतर्फ कसुर ठहर भएका छन्। अन्य मुद्दामा भने झाले सफाइ पाएका छन्।

बुढाथोकी समेतको जाहेरी रहेको मुख्य मुद्दामा ३० जना प्रतिवादी रहेकामा ८ जना फरार छन्। अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता साम्देन लिम्बु र सुनिल बुढाथोकी फरार रहेकाले उनीहरूको हकमा मुद्दा मुलतबीमा राख्ने आदेश भएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

मुख्य मुद्दाका २२ जना प्रतिवादी भने अदालतमा हाजिर भएका थिए। तीमध्ये लिखत किर्तेतर्फ प्रतिवादी टेकनाथ रिजाललाई परिचयपत्र किर्तेमा कसुर ठहर भएको छ। प्रतिवादी केशव दुलाल र सानु भण्डारीको हकमा परिचयपत्र किर्तेसहित बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्ते गरेको कसुर ठहर भएको सूचना अधिकारी खतिवडाले जानकारी दिए।

केशव दुलाल, इन्द्रजित राई, सानु भण्डारी, गोविन्दकुमार चौधरी, सागर राई, आङटावा शेर्पा, सन्देश शर्मा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर, ठगी तथा सङ्गठित अपराधतर्फ कसुर ठहर भएको छ।

राज्यविरुद्धको कसुर, ठगी तथा सङ्गठित अपराधतर्फ मतियारको भूमिकामा बालकृष्ण खाँण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई कसुर ठहर भएको छ।

अदालतबाट सफाइ पाउने प्रतिवादीहरूमा रामशरण केसी, टङ्ककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।

कसुर ठहर भइसकेपछि सजाय निर्धारणका लागि असार २९ गते पेशी तोकिएको सूचना अधिकारी खतिवडाले जानकारी दिए। “असार २९ गते पेशी चढ्छ र यो मुद्दाको फैसला हुन्छ,” उनले भने।

फरार प्रतिवादीहरूको हकमा मुद्दा मुलतबीमा रहेको र उनीहरू पक्राउ परेपछि मुलतबी जाग्ने तथा त्यसपछि साबिकबमोजिम फैसला हुने सूचना अधिकारी खतिवडाले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
252
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.