दुबईमा नेपाली समुदायको बृहत् रक्तदान

दुबईमा नेपाली समुदायको बृहत् रक्तदान

192
SHARES

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घको भगिनी संस्था नेपाली रक्तदाता सङ्घ यूएईको समन्वय तथा नेपाली रक्तदाता सङ्घ यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजना र नेपाली समाजसँग आबद्ध ६६ भन्दा बढी सङ्घ–संस्थाको सह कार्यमा दुबईमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दुबई हेल्थ अथोरिटीसँगको सहकार्यमा आयोजना गरिएको हो।

कार्यक्रममा यूएईभर कार्यरत नेपाली समुदाय, विभिन्न सामाजिक तथा व्यावसायिक सङ्घ–संस्था, रक्तदाता सङ्घका सदस्यहरू, समाजसेवी तथा विभिन्न क्षेत्रका सङ्घ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम संयोजक जगन अधिकारीका अनुसार २०० भन्दा बढीको उपस्थिति मध्ये १०३ जना भन्दा बढीले सफलतापूर्वक रक्तदान गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घका कोषाध्यक्ष तथा नेपाली रक्तदाता सङ्घ यूएईका संरक्षक सुनिलराज श्रेष्ठले विगतका वर्षहरूको तुलनामा यस वर्षको कार्यक्रम अझ भव्य र प्रभावकारी रूपमा सम्पन्न भएको बताए। उनले रक्तदान जस्तो मानवीय अभियानलाई निरन्तरता दिँदै नेपाली रक्तदाता सङ्घ यूएईले प्रत्येक वर्ष नियमित रूपमा तीन पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए।

नेपाली रक्तदाता सङ्घ यूएईका अध्यक्ष गोपिनी शाहले ‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सुरक्षित र गुणस्तरीय रगत सङ्कलनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदान मार्फत मानव जीवन बचाउने अभियानमा नेपाली समुदायको सक्रिय सहभागिता प्रेरणादायी रहेको उल्लेख गरे।

नेपाली समाज यूएईका अध्यक्ष राम बहादुर मोक्तानले कार्यक्रममा सहभागी सबैले रक्तदान गर्न नसकेको जानकारी दिँदै उच्च रक्तचाप, हेमोग्लोबिनको कमी तथा अन्य स्वास्थ्य कारणले केही इच्छुक सहभागीहरू रक्तदान गर्न अयोग्य ठहरिएको बताए। उनले आगामी कार्यक्रमहरूमा अझ बढी रक्तदातालाई सहभागी गराउने लक्ष्यसहित यस अभियानलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

आयोजकका अनुसार रक्तदान अभियानले यूएईमा रहेका नेपाली समुदायबीच सामाजिक एकता, मानवीय सेवाप्रतिको प्रतिबद्धता तथा जीवन बचाउने संस्कृतिलाई थप सुदृढ बनाएको छ। आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई निरन्तरता दिँदै समुदायलाई रक्तदानप्रति अझ बढी जागरूक बनाइने आयोजकले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
192
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.