नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ : ५५ भन्दा बढी ब्रान्ड, ४० भन्दा बढी नयाँ सवारीको प्रदर्शन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ : ५५ भन्दा बढी ब्रान्ड, ४० भन्दा बढी नयाँ सवारीको प्रदर्शन

72
SHARES

काठमाडौँ – नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको संस्था नाइमाले आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारी तथा प्रविधि सार्वजनिक गरिने जनाएको छ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत नाइमाले दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको हो। कार्यक्रममा सञ्चारकर्मी, प्रायोजक तथा साझेदार, प्रदर्शक, नाइमा बोर्ड सदस्य, सदस्य कम्पनी तथा नेपालको अटोमोबाइल र गतिशीलता क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नाइमाका अनुसार, आगामी अगस्ट ११ देखि १६ अर्थात् २०८३ साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा गतिशीलता प्रदर्शनी हुनेछ।

प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी, विद्युतीय तथा मिश्रित इन्धन प्रविधिमा आधारित सवारी, प्रविधि, सेवा तथा गतिशीलतासम्बन्धी अन्य उत्पादनहरू प्रदर्शनीमा राखिनेछन्।

पत्रकार सम्मेलनमा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले नाइमा एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूलाई समेट्ने २१ सदस्य कम्पनीबाट स्थापना भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन। उनका अनुसार यो विस्तार उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, साझा मञ्चको आवश्यकता तथा नेपालको गतिशीलता क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो।

अध्यक्ष वैद्यले नाइमाको दृष्टि ‘गतिशीलतामार्फत विकास सशक्तीकरण’ र उद्देश्य ‘सबैका लागि गतिशीलता’ प्रदर्शनीमा मात्र सीमित नभई पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक वृद्धिसँग जोडिएको संस्थाको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताइन। उनले गतिशीलता सुधारिएसँगै अवसर विस्तार हुने, मानिसको आवागमन र व्यवसाय सहज हुने तथा त्यसबाट देशको समग्र विकासमा टेवा पुग्ने उल्लेख गरिन्।

उनले गत एक वर्षमा नाइमाले गतिशीलता क्षेत्रको सुधारका लागि निरन्तर पैरवी गर्नुका साथै पहिलो संस्करणको प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरेको, काठमाडौँ उपत्यकाका एक हजार ६१० ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिममा सहयोग गरेको, हालैका प्रदर्शनका क्रममा क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणका लागि आकस्मिक सहयोग गरेको तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागलाई सहयोग गरेको जानकारी दिइन।

त्यसैगरी, सरकारी निकायसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतनामूलक कार्यक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशालाहरू सञ्चालन गर्दै आएको पनि उनले बताइन।

अध्यक्ष वैद्यका अनुसार नाइमाले ‘नाइमा मोबिलिटी एक्स्पो’ र ‘नाइमा मासिक मोबिलिटी संवाद’ लाई संस्थागत गरिसकेको छ भने ‘नाइमा मोबिलिटी जर्नल’ र क्षमता अभिवृद्धि तालिम शृंखला पनि सुरु गरिसकेको छ। उनले प्रदर्शनीको टिकट बिक्रीबाट प्राप्त आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान छात्रवृत्ति तथा तालिम कार्यक्रमका लागि छुट्याइने र त्यसबाट तयार हुने अनुसन्धान तथा लेखहरू ‘नाइमा मोबिलिटी जर्नल’ मा प्रकाशित गरिने जानकारी दिइन।

उनले आगामी दिनमा ‘नाइमा मोबिलिटी सम्मेलन’ आयोजना गर्ने तथा विशेषगरी शिक्षा मन्त्रालयसहित नेपाल सरकारसँग सहकार्य गरी गतिशीलता क्षेत्रमा सीप विकास र रोजगारी सिर्जनामुखी तालिम कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उल्लेख गरिन्।

पत्रकार सम्मेलनमा सदस्य तथा उद्योगसँग सम्बन्धित सरोकारवालाबाट आएको उच्च मागलाई ध्यानमा राख्दै व्यावसायिक सवारीसँग सम्बन्धित ब्रान्ड र सरोकारवालालाई लक्षित गरी छुट्टै गतिशीलता प्रदर्शनी आयोजना गर्ने विषयमा पनि विचार भइरहेको जानकारी दिइयो। स्थान अभावका कारण केही इच्छुक सदस्य तथा सरोकारवालालाई स्टल उपलब्ध गराउन नसकिएको भन्दै अध्यक्ष वैद्यले नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको बताइन।

कार्यक्रममा नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले व्यावसायिक गतिविधि विस्तार, लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना तथा समग्र आर्थिक गतिविधि अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

एक्स्पोका प्रमुख विशेषताबारे जानकारी दिँदै अटो शो योजना समितिका संयोजक गौरव शारडाले गत वर्षको अनुभवलाई अझ परिष्कृत गर्दै यसपटकको प्रदर्शनीलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताए। उनले यस वर्षको प्रदर्शनीलाई नेपालको अटोमोबाइल तथा गतिशीलता क्षेत्रको ऐतिहासिक कार्यक्रमका रूपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

मनसुनलाई ध्यानमा राखेर विशेष व्यवस्था गरिएको उल्लेख गर्दै उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि सहज हुने गरी प्रदर्शनीस्थल व्यवस्थापन गरिने जानकारी दिए। आगन्तुकका लागि नेपाल प्रहरी क्लबमा पार्किङ सुविधा उपलब्ध हुने तथा ‘पठाओ’ ले प्रदर्शनी अवधिभर भृकुटीमण्डप आउने–जाने यात्रामा छुटसहितको सवारी सेवा उपलब्ध गराउने जानकारी नाइमाले दिएको छ। त्यसैगरी, ‘युनियनपे’ को द्रुत भुक्तानी प्रणाली प्रयोग गरी टिकट खरिद गर्दा नगद फिर्ता सुविधा उपलब्ध गराइनेछ।

यस वर्षको प्रदर्शनीको अर्को प्रमुख आकर्षण नेपाल प्रहरी क्लबको नीलो प्रदर्शनी कक्षस्थित सभाहलमा सञ्चालन हुने निःशुल्क सिकाइ सत्र हुनेछ। ती सत्रमा विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहनेछ। सत्रहरूमा गतिशीलता, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी तथा नेपालको गतिशीलता क्षेत्रको भविष्यजस्ता विषयमा छलफल हुने जानकारी नाइमाले दिएको छ।

सह–प्रायोजक ग्लोबल आईएमई बैङ्कका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा गतिशीलता प्रदर्शनीमा नाइमासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले गतिशीलता, आर्थिक गतिविधि, उद्यमशीलता, रोजगारी तथा वित्तीय पहुँचबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै नाइमासँग दीर्घकालीन सहकार्यको बलियो सम्भावना रहेको बताए। साथै, प्रदर्शनीमा आगन्तुकका लागि विशेष बैङ्किङ तथा सवारीसाधन वित्तीय सुविधा उपलब्ध गराइने जानकारी दिए।

रेड बुल नेपालका तर्फबाट बजार व्यवस्थापन प्रमुख श्रेयकृष्ण श्रेष्ठले पेय पदार्थ साझेदारका रूपमा नाइमा नेपाल मोबिलिटी एक्स्पोसँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे। उनले नाइमाले तालिम, सचेतना अभियान, आकस्मिक सहयोग तथा क्षेत्र केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएकोमा प्रशंसा गर्दै प्रदर्शनी अवधिभर रेड बुलले विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्लोबल आईएमई बैङ्क सह–प्रायोजक तथा रेड बुल पेय पदार्थ साझेदारका रूपमा आबद्ध छन्। त्यसैगरी एनएमबी बैङ्क र सिद्धार्थ बैङ्क बैङ्किङ साझेदार, सगरमाथा लुम्बिनी इन्स्योरेन्स बीमा साझेदार, बोस नेपाल प्रविधि साझेदार, पठाओ सवारी साझेदार, ग्लोबल कलेज अफ म्यानेजमेन्ट शिक्षा साझेदार, एजाइल इन्जिनियरिङ सोलुसन्स र अग्नि इनर्जी चार्जिङ साझेदार, एक्वा मिनरल्स जल आपूर्ति साझेदार, आईएमई खल्ती टिकटिङ साझेदार, द सोल्टी काठमाडौँ आतिथ्य साझेदार, नर्भिक अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्य साझेदार, वत्सल इम्पेक्स (हिकभिजन) निगरानी साझेदार, हिट्को प्रालि अग्नि तथा सुरक्षा साझेदार, वर्ल्डलिङ्क कम्युनिकेसन्स सम्पर्क साझेदार, पायोनियर इभेन्ट म्यानेजमेन्ट श्रव्य–दृश्य साझेदार, युनियनपे द्रुत भुक्तानी साझेदार, डिजिपल सोलुसन्स डिजिटल साझेदार, एटीएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान साझेदार, प्रफिट मिडिया प्रकाशन साझेदार तथा मिडिया स्पेस सोलुसन्स कार्यक्रम व्यवस्थापन साझेदारका रूपमा आबद्ध रहेका छन्।

नाइमाले बोर्ड सदस्य, सदस्य कम्पनी, अटो शो योजना समिति, सचिवालय, प्रायोजक, साझेदार, प्रदर्शक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरेको छ।

पत्रकार सम्मेलनको सञ्चालन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए। उनले नाइमा एक्स्पोलाई प्रदर्शनी मात्र नभई सिकाइको उत्कृष्ट र बृहत् मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै परिवार, विद्यार्थी, पेशाकर्मी, उद्यमी, नीतिनिर्माता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी भई नेपालको सबैभन्दा ठूलो गतिशीलता मञ्चको हिस्सा बन्न आग्रह गरे।

समाचार शेयर गर्नुहोस्
72
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.