संसदमा प्रधानमन्त्रीको खोजी, सभामुखको मौनता

संसदमा प्रधानमन्त्रीको खोजी, सभामुखको मौनता

“कान सुन्नुहुन्छ कि हुन्न?” भन्दै प्रश्न गरेपछि सभामुख अर्याल आक्रोशित

56
SHARES

काठमाडौँ – सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री वालेन्द्र शाहप्रति निरीह बनेको आरोप लागिरहँदा प्रतिनिधिसभाको बैठक क्रमशः अराजकता उन्मुख बन्दै गएको टिप्पणी हुन थालेको छ। प्रधानमन्त्री वालेन्द्र शाह ३९ दिनदेखि संसदमा अनुपस्थित रहेकाले सरकारसँग प्रश्न गर्ने सांसदहरू उत्तरविहीन बनेका छन्।

सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमाथि प्रश्न उठेको एक महिना नाघिसकेको छ। तर, प्रधानमन्त्रीले आफ्नै अभिव्यक्तिमाथि उठेका प्रश्नको जवाफ संसदमै दिन अनिच्छुक देखिएका छन्।

प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर जवाफ दिन सभामुख अर्यालले रुलिङ गर्नुपर्ने माग निरन्तर उठ्दै आए पनि त्यसतर्फ अघि बढ्न नसकेको भन्दै प्रश्न उठिरहेको छ। गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको यही अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले लगातार विरोध जनाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुख अर्यालसँग पटक-पटक रुलिङको माग गर्दै आएका छन्।

यही विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखलाई “कान सुन्नुहुन्छ कि हुन्न?” भन्दै प्रश्न गरेपछि सभामुख अर्याल आक्रोशित बने। सभामुखले संसद्को अपहेलना नगर्न सचेत गराउँदै राईलाई बस्न निर्देशन दिएका थिए।

राईको अभिव्यक्तिपछि सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन भएको थियो। त्यसपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। पुनः बसेको बैठकमा पनि सांसद राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित गराइदिन सभामुखसँग आग्रह गरे।

विपक्षी दलको माग अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य पुष्टि गर्नुपर्ने, अन्यथा संसदमै माफी माग्नुपर्नेछ। प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम (२) मा संसद् बैठकको शून्य र विशेष समयमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था छ।

नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले विपक्षीले हप्तौँदेखि ढोका ढकढकाउँदा पनि प्रधानमन्त्रीले संसद्लाई नै ‘ब्लक’ गरेर बसेको आरोप लगाइन्।

प्रतिनिधिसभा बैठकमा विवाद सभामुखसँग मात्रै सीमित रहेन। सत्तापक्ष र विपक्षी सांसदबीच पनि भनाभन भएको थियो। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौला ज्वालाले सभामुखले कान नसुनेको भन्ने अभिव्यक्ति दिएका सांसद राईसँग त्यसको जवाफ मागिन्।

पुराना दलको कार्यशैलीको चर्को आलोचना गर्दै झन्डै दुई तिहाइ नजिक जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमाथि सुशासनको थिति बसाल्न नसकेको तथा नियुक्तिमा नातावाद र कृपावाद मौलाएको आरोप समेत लाग्न थालेको छ।

दोष जति अरूमाथि थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोजेको भन्दै नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सरकारलाई प्रश्न गरिन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा कमजोर प्रतिपक्षीलाई पेलेर जाने रणनीतिमा देखिएको आरोप पनि लागेको छ। आफ्नालाई पर्दा जोगाउने र अर्कालाई पर्दा मौन बस्ने प्रवृत्तिका कारण संसद् अराजकता उन्मुख हुँदै गएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बताए।

उनले प्रधानमन्त्री वा मन्त्रीलाई गाली गर्दा पक्राउ पर्ने, तर सांसदलाई गाली गर्दा कुनै कारबाही नहुने अवस्था देखिएको टिप्पणी पनि गरे।

नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार आलोकाँचो ढङ्गले चलिरहेको आरोप लगाइन्।

प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह भने आफ्नो अभिव्यक्ति र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन तयार भएका छैनन्।

सभामुख अर्यालले पनि प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई जवाफ दिन स्पष्ट रुलिङ गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। अर्कोतर्फ, सभामुखमाथि प्रश्न उठाउने क्रममा प्रयोग भएका अभिव्यक्तिलाई संसद्को मर्यादा र सभामुख संस्थाप्रतिको सम्मानसँग जोडेर पनि बहस भइरहेको छ।

संसदमा पटक–पटक अवरोध, सभामुख र सांसदबीचको विवाद तथा सत्तापक्ष–विपक्षबीच बढ्दो भनाभनले संसदीय व्यवस्था, संसदीय मर्यादा र प्रतिनिधिसभाको नियमित कार्यसञ्चालनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

समाचार शेयर गर्नुहोस्
56
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.