जनकपुर – मधेस प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक समावेशिता, प्रतिनिधित्व र नेतृत्व विकासलाई सुदृढ बनाउने उद्देश्यसहित प्रदेशस्तरीय पैरवी समूह गठन गरिएको छ।
‘अवरोध चिर्दै : नेपाली राजनीतिमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्व र प्रतिनिधित्व अभिवृद्धि’ परियोजनाअन्तर्गत उक्त समूह गठन गरिएको हो।
लिड नेपाल, दमक–झापाका अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोग्दै आएका राजनीतिक तथा सामाजिक बहिष्करणका विषयमा सरोकारवालाबीच साझा बुझाइ विकास गर्ने, समुदायका मुद्दालाई नीति निर्माण तहसम्म प्रभावकारी रूपमा पुर्याउने तथा प्रदेशस्तरमा सशक्त पैरवी संयन्त्र निर्माण गर्ने उद्देश्यले समूह गठन गरिएको हो।
लिड नेपालले जनकपुरमा आयोजना गरेको कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख सुनिलकुमार झाले समुदायको राजनीतिक समावेशिता प्रवर्द्धनका लागि सञ्चालन भइरहेको उक्त परियोजना समुदायका सदस्यलाई नीति निर्माण तहसम्म पुर्याउने दिशामा महत्त्वपूर्ण पहल भएको बताए।
स्थानीय सरकार र सरोकारवाला निकायबीच सहकार्य गर्दै समुदायका अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे।
जनकपुर उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख स्वर्य शाहले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार, समावेशी राजनीति तथा नीति निर्माण प्रक्रियामा सहभागिता बढाउन परियोजनाले निरन्तर सकारात्मक योगदान पुर्याउने बताइन्।
उनका अनुसार परियोजनामार्फत समुदायका वास्तविक मुद्दा, समस्या र आवश्यकतामाथि प्रभावकारी पैरवी हुने तथा नीति निर्माण तहमा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुग्नेछ। उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको परिभाषा स्पष्ट हुनुपर्ने विषयमा पनि आफ्नो धारणा राखिन्।
कार्यक्रममा अधिवक्ता सुजित यादवले नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित संवैधानिक तथा कानुनी व्यवस्थाको कार्यान्वयन सातै प्रदेशमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेका अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्ता पैरवी समूह अत्यन्त आवश्यक रहेको बताए। उनले समुदायको अधिकार स्थापित गर्न कानुनी पैरवी र नीतिगत हस्तक्षेप अपरिहार्य रहेको धारणा व्यक्त गरे।

लिड नेपालकी कार्यकारी निर्देशक तथा परियोजना प्रमुख नुमा लिम्बु (चञ्चला) ले संस्थाको परिचयसँगै परियोजनाको उद्देश्य, प्रमुख उपलब्धि र विभिन्न कार्यगत नतिजाबारे प्रस्तुतीकरण गरिन्। उनले परियोजनाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्व विकास, राजनीतिक सहभागिता, नीति पैरवी तथा समावेशी लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने लक्ष्य लिएको जानकारी दिइन्।
त्यसैगरी लिड नेपाल कोशी प्रदेशका अभियन्ता सुशील पौडेलले मधेस प्रदेशस्तरीय लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पैरवी समूहको अवधारणा, उद्देश्य, भूमिका र जिम्मेवारीबारे प्रस्तुतीकरण गरे। उनले यस्तो समितिले प्रदेशस्तरमा समुदायका सवाल उठाउने, सरकारी निकायसँग समन्वय गर्ने, नीति निर्माण प्रक्रियामा समुदायको सहभागिता बढाउने तथा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
छलफलपछि जनकपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख स्वर्य शाहको संयोजनमा मधेस प्रदेशस्तरीय लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पैरवी समूह गठन गरिएको लिड नेपालले जनाएको छ। समूहको अध्यक्षमा शम्भु यादव, उपाध्यक्षमा परशुराम चौधरी, सचिवमा हुसेन अन्सारी तथा सदस्यमा सञ्जय सिंह, रमेश कुमार शर्मा र सरोज मल्लिक चयन भएका छन्।
समूहमा विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै अन्य २० जना साधारण सदस्यसमेत समावेश गरिएको छ।
नवगठित समूहले मधेस प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मुद्दामा प्रभावकारी पैरवी गर्ने, सरकारी निकायसँग समन्वय बढाउने, समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्व अभिवृद्धि गर्ने तथा नीति निर्माण तहमा समुदायको आवाजलाई सशक्त रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, कानुन व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
आयोजक लिड नेपालका अनुसार यस्ता पैरवी समूह गठनलाई निरन्तरता दिँदै सङ्घीय र प्रदेशस्तरमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक नेतृत्व, प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्न परियोजनालाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाइनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.