काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व तहमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसहित कांग्रेसका क्रियाशील सदस्य तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधि सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वलाई खुलापत्र लेखेका छन्।
उनले कांग्रेसको केन्द्रीय निर्णय तहसम्म समुदायको पहुँच सुनिश्चित गर्न आग्रह गर्दै सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई सम्बोधन गरी खुलापत्र सार्वजनिक गरेका हुन्।
पाण्डे दक्षिण एसियामै समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो जोडीमध्येका एक हुन्। उनले खुलापत्र सार्वजनिक गर्नु अघि नै नेपाली कांग्रेसले मायाको पहिचान नेपालमा आबद्ध दृष्टिविहीन समलिङ्गी महिलालाई केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानको सदस्यमा मनोनयन गरिसकेको थियो। त्यसै सन्दर्भमा उनले आफूजस्ता लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिलाई पनि केन्द्रीय नेतृत्व तहमा अवसर दिनुपर्ने माग अघि सारेका हुन्।
खुलापत्रमा उनले बाल्यकालदेखि नै चारतारे झन्डाप्रति आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरेका छन्। कुनै आन्दोलनका क्रममा सानै उमेरमा चारतारे झन्डा बोकेर हिँडेको स्मरण गर्दै उनले समयसँगै त्यो झन्डा केवल चुनाव चिह्न नभई लोकतन्त्र, स्वतन्त्रता, समानता र सबै नागरिकलाई सम्मानपूर्वक साथ लिएर हिँड्ने राजनीतिक संस्कारको प्रतीक भएको बुझ्दै गएको बताएका छन्। यही विश्वासले आफूलाई नेपाली कांग्रेससँग भावनात्मक रूपमा जोडेको उनको भनाइ छ।
उनले बाल्यकालदेखि अहिलेसम्म निरन्तर चारतारे झन्डा बोकेर हिँड्दै आफ्नो क्षेत्रका पार्टी उम्मेदवार र नेताहरूलाई घरदैलोदेखि जनसम्पर्कसम्म, समय, श्रम र सम्बन्ध खर्च गरेर साथ दिएको उल्लेख गरेका छन्। आफूले कहिल्यै कुनै पदको सौदाबाजी नगरेको र पार्टीले एक दिन योगदान, प्रतिबद्धता र क्षमताको मूल्याङ्कन गर्ने विश्वास राखेको पनि उनले बताएका छन्।
हाल आफू नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको उल्लेख गर्दै उनले लोकतन्त्र र समावेशी समाजको पक्षमा आवाज उठाउँदै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका नागरिकको अधिकार, सम्मान र राजनीतिक सहभागिताका लागि निरन्तर सङ्घर्ष गरिरहेको बताएका छन्। तर यतिका वर्षको आस्था, योगदान र सक्रियतापछि पनि एउटा प्रश्नले आफूलाई निरन्तर घोचिरहेको भन्दै उनले प्रश्न गरेका छन्- “के नेपाली कांग्रेसमा हामीजस्ता मानिसहरू झन्डा बोक्न मात्र योग्य हौँ, तर नेतृत्व गर्न योग्य छैनौँ?”
खुलापत्रमा उनले यदि नेपाली कांग्रेस साँच्चिकै समावेशी पार्टी हो र विविधतालाई आफ्नो शक्ति मान्छ भने आफूजस्ता सक्रिय, प्रतिबद्ध र राजनीतिक रूपमा सक्षम लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई केन्द्रीय सदस्य बनाउने बाटोमा के कारणले अवरोध सिर्जना भइरहेको छ भन्ने प्रश्न उठाएका छन्।
उनले समुदायको योग्यता, योगदान र निष्ठामा कमी नभएको उल्लेख गर्दै समस्या समुदायको पहिचान नै अदृश्य पर्खाल बनेको हो कि भन्ने प्रश्न गरेका छन्। समावेशिताको कुरा भाषण र घोषणापत्रमा मात्र सीमित नरही निर्णय गर्ने तहमा विविध समुदायको प्रतिनिधित्व सुनिश्चित हुँदा मात्रै त्यसको वास्तविक परीक्षण हुने उनको धारणा छ।
पाण्डेले आफूले कुनै दया वा विशेष सुविधा नमागेको स्पष्ट पार्दै बाल्यकालदेखि विश्वास गरेको राजनीतिक मूल्य र समान अवसरको सम्मान मात्र खोजेको बताएका छन्। उनले नेपाली कांग्रेसमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यलाई निर्णय गर्ने तहसम्म पुग्नबाट रोक्ने वास्तविक कारण के हो भन्ने प्रश्न पनि नेतृत्वसमक्ष राखेका छन्।
उनले “यदि हामी झन्डा बोक्न सक्छौँ भने नेतृत्व पनि गर्न सक्छौँ, यदि हामी चुनावमा पसिना बगाउन सक्छौँ भने नीति निर्माणमा पनि योगदान दिन सक्छौँ, र यदि हामी पार्टीलाई जिताउन सक्छौँ भने पार्टीलाई नेतृत्व दिन पनि सक्षम छौँ” भन्ने धारणा व्यक्त गरेका छन्।
खुलापत्रमा उनले यो प्रश्न केवल आफ्ना लागि नभई चारतारे झन्डामा भरोसा राखेर राजनीतिमा सक्रिय हजारौँ युवा तथा सीमान्तकृत समुदायका नागरिकका लागि उठाएको उल्लेख गरेका छन्। बाल्यकालमा आफूले देखेको “यो पार्टी सबैको हो, जहाँ कुनै पनि नागरिकको पहिचान उसको सम्भावनाको बाधक बन्दैन” भन्ने सपना व्यवहारमै कार्यान्वयन हुने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।
उनले सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा नेपाली कांग्रेसले समावेशितालाई व्यवहारमा उतार्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिलाई झन्डा बोक्ने पङ्क्तिमा मात्र सीमित नराखी निर्णय गर्ने केन्द्रीय नेतृत्व तहमा सम्मानजनक प्रतिनिधित्व दिने विश्वास व्यक्त गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.