सरकारको निर्दयी व्यवहारले भत्कियो गणेशको खाडी सपना

सरकारको निर्दयी व्यवहारले भत्कियो गणेशको खाडी सपना

68
SHARES

काठमाडौँ – देशमा रोजगारीको अवस्था शून्यप्रायः छ। बेरोजगार बसेर समय खेर फाल्नुभन्दा पठाओ चलाएर परिवार पाल्ने र त्यसपछि खाडी मुलुक गएर रोजगारी गर्ने योजनासहित २५ वर्षीय गणेश नेपाली काठमाडौँ आएका थिए।

तर, सरकारी निकायको सेवा प्रवाह, व्यवहार र कार्यशैलीप्रति उत्पन्न चरम निराशाले उनको वैदेशिक रोजगारीमा गएर परिवारको भविष्य सुरक्षित गर्ने सपना एकाएक भताभुङ्ग भएको छ। नागरिकलाई सहज सेवा दिने दाबी गर्ने राज्य संयन्त्रकै व्यवहारपछि राहदानी विभागअगाडि गणेश नेपाली आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुपर्ने अवस्थासम्म पुगे।

सार्वजनिक सेवा सहज बनाउने दाबी गरिरहेको सरकारकै कार्यशैलीका कारण राहदानी विभाग परिसरमै एक नागरिक आत्मदाहको प्रयास गर्न बाध्य भएको भन्दै घटनाको चौतर्फी आलोचना भइरहेको छ। ‘अब लाइनमा होइन, अनलाइनमा’ भन्ने सरकारी नाराबीच राहदानी सेवा प्रवाहको वास्तविक अवस्था भने कन्तबिजोग देखिएको टिप्पणी हुन थालेको छ।

गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि सार्वजनिक सेवा प्रवाह, काठमाडौँ महानगर प्रहरीको व्यवहार र सरकारको सुशासनसम्बन्धी दाबीमाथि गम्भीर प्रश्न उठेको छ। सय दिन पार गरेको सरकारका लागि यो घटना सुशासन र नागरिकमैत्री सेवा प्रवाहका दाबीमाथि ठूलो चुनौतीका रूपमा उभिएको छ।

आत्मदाहको प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। अवस्था जटिल भएपछि उनलाई वीर अस्पतालको आइसियुमा राखेर उपचार थालिएको वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पीयूष दाहालले जानकारी दिए।

मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपाली पठाओ चालक थिए। बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरिएको उनको मोटरसाइकलमा काठमाडौँ महानगर प्रहरीको टोलीले ह्वील लक गरेको थियो।

नगर प्रहरीसँग विवाद भएपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले बताए।

गणेश नेपालीका सहोदर दाइ मदन नेपालीका अनुसार गणेशले पठाओ चलाएर श्रीमती र एक छोरीको लालनपालन गर्दै आएका थिए। उनी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। “अरू त कहाँ हुन्थ्यो र, त्यही खाडी मुलुक जाने तयारी थियो,” दाइ मदन नेपालीले भने।

गौशालास्थित अल नेपाल कलेजबाट कृषि जेटिए अध्ययन गरेका गणेशले वैदेशिक रोजगारीमा जानुअघि खर्च जुटाउन पठाओ चलाउन थालेका थिए। दाइ मदन नेपालीसँग अस्पतालमा गणेशले आफूलाई महानगर प्रहरीले दुःख दिएको बताए।

“यो सबै महानगर र प्रहरीले गर्दा भएको हो दाइ, बाबाआमालाई राम्रो गर्नु,” भनेपछि गणेश थप बोल्न नसकेको मदन नेपालीले बताए।

गणेश पठाओमार्फत सेवाग्राहीलाई राहदानी विभाग पुर्‍याउन गएका थिए वा आफ्नै राहदानी बनाउन पुगेका थिए भन्ने विषय खुल्न नसकेको दाइ मदन नेपालीले बताए।

घटनापछि सामाजिक सञ्जालमा राज्य संयन्त्रको व्यवहारमाथि तीव्र प्रश्न उठिरहेका छन्। गम्भीर रूपमा जलेका बिरामीलाई तत्काल प्राथमिक उपचार गरी एम्बुलेन्स वा अन्य उपयुक्त माध्यमबाट अस्पताल लैजानुपर्नेमा किन हात समातेर अपराधीजस्तो गरी घिसारेर लगियो भन्ने प्रश्न उठाइएको छ।

गणेश नेपालीको आत्मदाहको प्रयासलाई केवल व्यक्तिगत घटनाका रूपमा मात्र हेर्न नसकिने टिप्पणी पनि भइरहेको छ। यस घटनाले सार्वजनिक निकायको सेवा प्रवाह, नागरिकको गुनासो सुन्ने संयन्त्र, सरकारी निकायको व्यवहार तथा सङ्कटको घडीमा राज्यले देखाउनुपर्ने संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

अब सरकारको जिम्मेवारी घटनाको निष्पक्ष छानबिन गर्नु, दोषी देखिए कारबाही गर्नु, घाइतेको उपचारमा आवश्यक सहयोग उपलब्ध गराउनु मात्र होइन, नागरिकलाई निराशा र चरम कदम चाल्न बाध्य बनाउने अवस्थाको पहिचान गरी त्यसमा सुधार गर्नु पनि हो।

राहदानी विभागमा भएको यो घटनाको आवाज संसदमा पनि उठेको छ। प्रतिनिधिसभाको बैठकमा सांसद युवराज दुलालले “सरकार कहाँ छ?” भन्दै प्रश्न उठाएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको सय दिनको मूल्याङ्कन भइरहेका बेला भएको यो घटनाले सुशासन केवल नारामा सीमित नभई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने व्यवहार र सार्वजनिक सेवा प्रवाहमा देखिनुपर्ने सन्देश दिएको छ। कुनै पनि नागरिक सरकारी सेवा लिने क्रममा यति निराश भएर आफ्नै ज्यानमाथि जोखिम मोल्न बाध्य हुने अवस्था आउनु राज्यका लागि गम्भीर चेतावनीका रूपमा हेरिएको छ।

समाचार शेयर गर्नुहोस्
68
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.