काठमाडौँ – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ।
नेपालको पर्यटन उद्योगकै सबैभन्दा जेठो र गरिमामय छाता सङ्गठनको दाबी गर्ने नाट्टाको नयाँ नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा भएका छन्।
“अनुभव, नवप्रवर्तन र समावेशी नेतृत्व” को मूल मन्त्रसहित स्थापित पर्यटन व्यवसायी जिस्वा तुलाधरको प्यानलबाट पर्यटन उद्यमी सुशील पन्तले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पन्त पर्यटन, उच्च शिक्षा, अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सामाजिक रूपान्तरणको क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव भएका उद्यमी हुन्। उनले नाट्टाको गौरवमय विरासतलाई आधुनिक युगअनुकूल प्रविधिमैत्री र व्यावसायिक बनाउने अठोटका साथ महासचिव पदमा उम्मेदवारी दिएको बताएका छन्। उनको उम्मेदवारीलाई पर्यटन बजारमा संस्थागत सुधार र व्यावसायिक सुरक्षाको दृष्टिले चासोका साथ हेरिएको छ।
२०३३ सालमा ऐतिहासिक तथा पर्यटकीय भूमि गोरखाको पालुङटारमा जन्मिएका सुशील पन्त व्यावसायिक यात्रा, लगनशीलता र सङ्घर्षका माध्यमबाट स्थापित व्यक्तित्वका रूपमा परिचित छन्। ग्रामीण परिवेशमा सीमित स्रोत–साधनबीच हुर्किएका उनले त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन्।
नेपाल बार काउन्सिलबाट प्रमाणित अधिवक्ता रहेका पन्तसँग कानुनी जटिलताहरूलाई नजिकबाट बुझ्ने तथा नीतिगत तहमा पैरवी गर्न सक्ने अनुभव छ। सन् १९९८ देखि पर्यटन उद्योगमा औपचारिक रूपमा सक्रिय रहेका उनी ‘गोरखा इन्टरनेशनल ट्राभल्स’ र ‘एडभेन्चर गोर्खाल्याण्ड ट्रेक्स एन्ड एक्सपिडिसन’ का प्रबन्ध निर्देशक हुन्।
पर्यटन क्षेत्रलाई आधुनिक सूचना प्रविधिसँग जोड्ने उद्देश्यले उनले ‘ओनभिरो टेक’ मार्फत डिजिटल रूपान्तरणको अभ्याससमेत गर्दै आएका छन्।
नेपाल–जापान सम्बन्ध विस्तारमा पनि पन्तको सक्रिय भूमिका रहेको छ। उनले ‘किभो जापान’ (इन्टरनेशनल स्टुडेन्ट भोलन्टियरिङ कोअपरेसन) को नेपाल संयोजकका रूपमा लामो समयदेखि काम गर्दै आएका छन्।
सन् २००९ देखि हालसम्म पन्तको प्रत्यक्ष संयोजनमा एक हजारभन्दा बढी जापानी विद्यार्थी तथा स्वयंसेवक नेपालका ग्रामीण क्षेत्रमा पुगेका छन्। विशेषगरी गोरखा र धादिङका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार विकास, ग्रामीण सरसफाइ, स्वास्थ्य शिविर, वातावरण संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्द्धनमा उनीहरूको योगदान रहेको उल्लेख गरिएको छ।
उनको अन्तर्राष्ट्रिय सञ्जालले नेपाली पर्यटनलाई विश्व बजारमा प्रवर्द्धन गर्न तथा नेपाल–जापान मैत्री सम्बन्धलाई थप उचाइमा पुर्याउन रणनीतिक भूमिका खेलेको दाबी गरिएको छ।
‘रेनबो टुरिजम’ तथा सामाजिक समावेशीकरणको अवधारणालाई अघि बढाउँदै आएका पन्तले समाजका सबै वर्ग, लिङ्ग तथा समुदायलाई समेटेर मात्र दिगो पर्यटन सम्भव हुने दृष्टिकोण राख्दै आएका छन्। उनले शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि ‘एन्टायर पावर इन सोसल एक्सन (ईपीएसए) नेपाल’ का संस्थापक सदस्य तथा कानुनी सल्लाहकारका रूपमा लामो समयदेखि सेवा दिँदै आएका छन्।
विश्व पर्यटन बजारमा उदीयमान तथा उच्च आर्थिक सम्भावना बोकेको ‘समावेशी पर्यटन’ को अवधारणालाई नेपालमा भित्र्याउने श्रेय पनि पन्तले पाएका छन्।
सन् २०२५ मा काठमाडौँमा सम्पन्न नेपालकै पहिलो ‘रेनबो इन्टरनेशनल कन्भेन्सन’ को सफल आयोजनामा उनले नेतृत्वदायी समन्वय गरेका थिए। उक्त सम्मेलनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एलजीबीटीक्यूआईप्लस समुदायका अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाललाई दक्षिण एसियाकै सुरक्षित तथा स्वागतयोग्य गन्तव्यका रूपमा स्थापित गरेको छ। नयाँ ट्राभल एजेन्सी तथा सेवा प्रदायकहरूलाई अवसर सिर्जना गरेको छ।
नाट्टाको विगतका नेतृत्व चयन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्दै आएका पन्तले यसपटक संस्थालाई पूर्ण रूपमा सदस्य–केन्द्रित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने मुख्य प्रतिबद्धता व्यक्त गरेका छन्। सार्वजनिक प्रशासन तथा सूचना प्रविधिको व्यावहारिक ज्ञानका आधारमा नाट्टाको सचिवालयलाई आधुनिक र उत्तरदायी बनाउने योजना रहेको उनको भनाइ छ।
साना तथा मझौला पर्यटन व्यवसायीहरूको हित संरक्षण, नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरूको खोजी, सरकारी नीति–नियम व्यवसायीमैत्री बनाउन बलियो पैरवी तथा पर्यटन क्षेत्रमा देखिएका नयाँ चुनौतीहरूको डिजिटल समाधान उनका मुख्य चुनावी एजेन्डा रहेका छन्।
यसअघि ‘भिटोफ नेपाल’ र ‘सिट्टो नेपाल’ मा कार्यकारी सदस्यका रूपमा काम गरिसकेका तथा पाटा, टान र ठमेल पर्यटन विकास परिषद् जस्ता संस्थामा सक्रिय सदस्य रहेका पन्तको सङ्गठनात्मक अनुभव नाट्टाको समग्र विकासका लागि उपयोगी हुने दाबी गरिएको छ।
वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका पन्तले राष्ट्रिय राजनीति तथा सुशासनको बहसमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन्। शिक्षा क्षेत्रमा ‘प्रेसियस नेशनल कलेज’ का अध्यक्षका रूपमा कार्यरत उनी व्यावसायिक शिक्षा प्रवर्द्धनमा सक्रिय छन्।
‘नाट्टाको महासचिव पद मेरो लागि केवल ओहोदा मात्र होइन, यो सम्पूर्ण पर्यटन व्यवसायीहरूको साझा हित, संस्थागत सुदृढीकरण र नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउने साझा दायित्व हो,’ पन्तले बताएका छन्।
नाट्टा जस्तो जिम्मेवार र कार्यकारी पदमा सुशील पन्तजस्ता अन्तर्राष्ट्रिय सञ्जाल भएका, कानुनी रूपमा सबल र पर्यटन क्षेत्रको अनुभव भएका व्यक्तित्व पुग्नु पर्यटन व्यवसायीका लागि अवसरका रूपमा हेरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.