औषधि र अक्सिजन बोकेको गाडीमा विस्फोट, एकको मृत्यु

औषधि र अक्सिजन बोकेको गाडीमा विस्फोट, एकको मृत्यु

195
SHARES

काठमाडौँ – काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका–४, माकलबारीस्थित सडक खण्डमा शुक्रवार बिहान अक्सिजन सिलिन्डर र अग्नि नियन्त्रण उपकरण (फायर एक्स्टिङ्गुइसर) पड्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका–४ घर भएका ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको बा.प्र. ०६–००१ झ ००१७ नम्बरको गाडीमा पाँचपोखरी थाङपाल गाउँपालिकाका लागि पनौतीस्थित नवज्योति अक्सिजनबाट फायर एक्स्टिङ्गुइसर र अक्सिजन सिलिन्डर लोड गरी सिन्धुपाल्चोक लैजाँदै थिए। सो क्रममा नेपाल मेडिकल कलेज पछाडि रहेको पञ्चकुमारी फार्मेसीबाट औषधि समेत राखी पाँचपोखरी प्राथमिक अस्पतालमा अक्सिजन र औषधि पुर्‍याउन जाने क्रममा माकलबारीमा दुई वटा फायर एक्स्टिङ्गुइसर र एउटा सानो अक्सिजन ग्यास सिलिन्डर पड्किएको थियो।

घटनामा बागलुङ जिल्ला घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा घाइते भएका थिए। उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। अस्पतालले बिहान १०:४६ बजे उनलाई मृत घोषणा गरेको थियो।

मृतकको शव नेपाल मेडिकल कलेज, अत्तरखेलमा राखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालक प्रहरीको सम्पर्कमा रहेका छन् भने सवारीसाधन घटनास्थलमै रहेको छ। घटनास्थल प्रहरी वृत्त बौद्धबाट करिब तीन किलोमिटर पूर्वतर्फ पर्छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
195
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.