यस पुस्तककी स्रष्टा सीता पाण्डे हुनुहुन्छ। पूर्वी नेपालको झापा जिल्लामा जन्मनुभएकी स्रष्टा हाल वासिङ्टन डिसीमा बस्नुहुन्छ। उहाँ एक प्रतिष्ठित नेपाली लेखिका तथा साहित्यिक अधिवक्ता हुनुहुन्छ। उहाँको कलम प्रायः कथा विधामा चलेको पाइन्छ। उहाँका विभिन्न कथामध्ये ‘ज्वरो’ कथाले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको छ। विदेशमा बसेर पनि उहाँ नेपाली साहित्य जगतमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ।
रङ्गीन जामा गैरआख्यान पुस्तक हो। निराला सिरिजले यस पुस्तकलाई बजारमा ल्याउन सहयोग गरेको छ। एक सय अन्ठानब्बे पृष्ठमा रहेको यो पुस्तक दुई भागमा विभाजन गरिएको छ। पहिलो भागमा तेइसवटा शीर्षकमा आधारित लेख छन् भने दोस्रो भागमा छब्बिसवटा शीर्षकमा आधारित लेख छन्।
पहिलो भागमा उहाँले बाल्य अवस्थामा आफूले देखेका र भोगेका, समाजमा खुलस्त रूपमा कुरा गर्न बन्देज लगाइएका विषयहरूको कौतुहलता र जिज्ञासालाई सहज रूपमा पस्किनुभएको छ।
बाल्यकालका सम्झनाहरू कहिल्यै नमेटिने गरी मन–मस्तिष्कमा छाप बनेर बसेका छन्। शारीरिक बनोटकै आधारमा हुने मतभेदको संस्कारलाई उहाँले निर्धक्कसँग चिरफार गर्नुभएको छ।
दोस्रो भागमा भने रुढीवादी कुसंस्कारको आडमा नेपाली समाजमा नारीले भोग्नुपरेका अत्याचारलाई देखाउनुका साथै, पुरुषले गर्दा सही र महिलाले गर्दा अपराध ठानिने यस्ता समस्याहरूलाई मनोवैज्ञानिक ढङ्गबाट उजागर गरिएको छ। यस पुस्तकमा आफू जन्मे–हुर्केको परिवेश तथा विभिन्न कारणले विदेश भ्रमणका क्रममा देखिएका र अनुभव गरिएका कुरालाई जस्ताको तस्तै पाठकसामु पस्किनुभएको छ।
महिलालाई आफैँ स्वावलम्बी बन्नुपर्ने, लोग्ने मान्छेको भर पर्नु घातक पनि हुनसक्छ।
‘अरूको दया र कृपामा वा लोग्ने मान्छेले निर्णय दिएका आधारमा आफूलाई प्रस्तुत गर्ने, आफ्नै मन, मस्तिष्क र विचारलाई किन प्रयोग नगर्ने?’ (पृ.–२०)
पिसाब फेर्दा अप्ठेरो भएर कट्टु भिजेको, तर भाइको पर पुगेको प्रसङ्ग झिक्दै, भाइको जस्तै बनाइदिनु भनेर लेसाइलो माटो र गोबर ल्याएको कुराले पाठकलाई पनि आफ्नै बाल्यकालमा फर्काउन बाध्य बनाउँछ। आफूले गरेका गल्तीहरू सम्झेर काउकुती लाग्छ। मलाई पनि कट्टु फुकाल्न नभ्याएर पिसाबले भिज्दा र जामा स्याहार्न नसक्दा आमाले गाली गर्ने डरले त्यस्तै भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो।
आमाको ओछ्यानमा सुत्दाको अनुभवमा बाबाले आमा भन्ठानेर बोलाएको कामुक स्वर, पछि छोरी रहिछे भनेर थाहा पाएपछि लज्जित हुँदै निस्किएको क्षण, र आफू पनि छक्क परेर हेरेको क्षणले आज पनि आमाको ओछ्यान सम्झँदा स्रष्टालाई झसङ्ग बनाएको छ। त्यसदिन अरूभन्दा पहिला गएर आमासँग सुत्ने इच्छाले आमाको ओछ्यानमा सुतेकी बालिका त्यसपछि कहिल्यै त्यहाँ जाने आँट गरिनन्।
एउटी अबोध बालिकाको मनोविज्ञानमा कस्तो असर पर्यो होला? आफ्नी श्रीमती कस्तो अवस्थामा छे, कहाँ छे भन्ने थाहा छैन, तर ओछ्यानमा पर्खिने र ओछ्यानमा मात्र मिठो बोल्ने लोग्ने मान्छेको कमी छैन हाम्रो समाजमा।
हाम्रो शरीरमा उमेरसँगै नयाँ अङ्ग थपिने होइन, जन्मँदै आएका अङ्गहरू विकसित हुँदै जान्छन्। यही क्रममा महिलाको शारीरिक संरचनामा फरकपन आउँछ। एउटा बालिका हिजोसम्म बालिका हुन्छिन्, तर आज किशोरी हुने क्रममा आउँदा उनको मनोविज्ञानमा परेको असरलाई खुलस्त रूपमा देखाइएको छ। जुन कुरालाई हाम्रो समाजमा लाज र अप्ठेरोका कारण कसैलाई भन्न सकिँदैन, त्यस किसिमको परामर्श पनि दिइएको हुँदैन।
इलाममा साथीहरूसँगको भेटघाट, त्यहाँ घटेका पुराना सम्झना र त्यहाँका आकर्षक ठाउँहरूको वर्णन गर्दै, त्यहाँ घुम्न लायक धेरै ठाउँ भए पनि बस्न योग्य ठाउँ भारतमा छ भन्दा उहाँको मुटु चसक्क हुन्छ। यो मुलुकले कहिलेसम्म यस्ता विडम्बनाहरू पालेर बस्नुपर्ने हो? (पृ.–३०)
दुर्गम गाउँका गरिबका लागि हाम्रो समाजका केही जातिमा जाँड–रक्सी नभई हुँदैन। उनीहरूका हरेक चाडपर्वदेखि मानिस जन्मेदेखि मरेसम्म जाँड–रक्सी नभई हुँदैन, र त्यसलाई सामान्य मानिन्छ।
तर क्षत्री–बाहुन समाजमा जाँड–रक्सी खानु हुँदैन भन्ने परम्परा हुँदाहुँदै पनि कतिपयले आधुनिक बन्ने लहडमा खाएको पाइन्छ। कतिपयले भने म खाँदिन अथवा खाने गरेको छैन भनेर सफाइ दिन थाल्छन्। तर स्रष्टाले कति रमाइलोसँग केही पनि ढाँट्नुभएको छैन। यो उहाँको ठूलो आँट हो। अरूले के भन्छन् भनेर आफ्नो इच्छा र चाहना रोक्नु हुँदैन। गरेको कुरा हो भने मैले गरेको भनेर भन्न सक्ने उहाँ एक साहसी नारी हुनुहुन्छ।
बाल्यकालमा खेलिने विभिन्न खालका खेल हुन्थे। तर एकदिन कहिल्यै नखेलेको र नदेखेको खेल दिदीले खेलेकी थिइन्। आफ्नै शरीरमाथि दुवै कान ट्याप्प पारेर बेस्सरी मच्चिएकी अबोध ती बालिकाको मनमा के पर्यो होला? दिदीले त्यो खेल कसरी थाहा पाइन् होला? आज पनि स्रष्टालाई यो खेलले झकझक्याइरहन्छ।
स्रष्टाले अबोध बाल्यकालमा भोगेका अनुभव र घटनाहरूलाई पाठकसामु जस्ताको तस्तै पस्किनुभएको छ। एउटा परिवारभित्र रहने सदस्यहरू र तिनले निभाउने भूमिका खेल्दा कहिले सासू–बुहारी, आमा–छोरी, त कहिले श्रीमान्–श्रीमती भएर खेल्ने क्रममा यो खेल खेलिएको रहेछ। त्यो अबोध मस्तिष्कमा श्रीमान्–श्रीमतीले यस्तो खेल खेल्नुपर्छ भन्ने कुरा पक्कै पनि कहीँ–कतै देखेको हुनुपर्छ।
हिमाली दुर्गम गाउँको गरिबीले त्यहाँका महिला र बालबालिकाले भोग्नुपरेको कष्टको कुरा स्रष्टाले गर्नुभएको छ। स्रष्टालाई सबै सुविधा सम्पन्न भएर पनि कहिलेकाहीँ जीवनदेखि वाक्क लाग्छ, तर ती महिला र केटाकेटी गरिबी, अभाव र पीडामा पनि आफ्नो जीवन एउटा पर्व र समारोहझैँ मनाइरहेका हुन्छन्। (पृ.–३१)
उहाँलाई गर्भवती महिलाहरू देख्दा मन चसक्क दुख्छ। गरिब महिला र उनका चार–पाँचजना छोराछोरी साथमा देख्दा उहाँलाई त्यो पात्र आफैँ हो जस्तो लागेर पीडा महसुस गर्नुहुन्छ। त्यो पीडा केवल महिलाले मात्र भोगेको देखिन्छ। यसमा पुरुषहरू पनि सामेल हुन्छन्, तर उनीहरूलाई त्यति पीडा भएको महसुस हुँदैन।
उहाँ दिल्ली र मद्रास घुम्ने क्रममा देखेको माग्नेहरूको लस्करमा महिला र बालबालिका पनि थिए। सडक र खाली चौरमा लस्करै सुतेका माग्नेहरू, महिला, बालबालिका र लोग्ने मान्छे देख्दा उहाँलाई तिनीहरूको संख्या देखेर अचम्म लाग्छ। तिनीहरू कहाँबाट आए? तर तिनीहरूको जन्म, हुर्काइ र मृत्यु त्यहीँ हुने रहेछ। त्यसपछि स्रष्टालाई फेरि अर्को प्रश्नले सताउँछ—बच्चा उत्पादनको प्रक्रिया।
बिचरा त्यो पात्र हरेक बिदामा उहाँको कोठामा जाने, किताब लिने र पुर्याउने बहानामा पनि जाने, तर प्रेमिकाले आफूप्रति आकर्षण नभएको देखेर अरूसँगै विवाह गर्ने निर्णय गर्छ। त्यसपछि बिहेको कार्ड पुर्याउन जान्छ। त्यस बेला उसले बोलेको शब्द—“तपाईँलाई निम्तो।” यही शब्दले उहाँलाई आकर्षित गर्छ। उहाँले कुनै सेमिनारको निम्तो होला भन्ठानेर लिएको त्यो कार्ड उसको बिहेको रहेछ।
हाम्रो शरीरमा उमेरसँगै नयाँ अङ्ग थपिने होइन, जन्मँदै आएका अङ्गहरू विकसित हुँदै जान्छन्। यही क्रममा महिलाको शारीरिक संरचनामा फरकपन आउँछ। एउटा बालिका हिजोसम्म बालिका हुन्छिन्, तर आज किशोरी हुने क्रममा आउँदा उनको मनोविज्ञानमा परेको असरलाई खुलस्त रूपमा देखाइएको छ। जुन कुरालाई हाम्रो समाजमा लाज र अप्ठेरोका कारण कसैलाई भन्न सकिँदैन, त्यस किसिमको परामर्श पनि दिइएको हुँदैन। तर आजभोलिका बालबालिकालाई परिवारमा र विद्यालयमा पनि त्यस किसिमको शिक्षा दिइएको पाइन्छ, जसका कारण किशोरीमा नराम्रो असर पर्दैन। स्रष्टाले आफ्नै अनुभव सहज तरिकाले राख्नुभएको छ।
पढाइको सिलसिलामा राजधानी बस्नुपर्ने बाध्यता हुँदा पनि उहाँको मन–मस्तिष्क त्यही गाउँमा पुग्छ। त्यहाँको हटिया, साथीहरूसँग नुहाएको पानी, पानीमा नुहाउँदा अचानक आफ्नो शरीरमा आएको परिवर्तन, त्यहाँको हटियाको जलेबी, गुलिया मिठाई र चट्पटे आदि सम्झनामा आउँछन्।
धेरै वर्षपछि उहाँ त्यही ठाउँमा पुग्नुहुन्छ। त्यही हटिया, त्यही गरिबी छ। गरिबी झन्–झन् गरिबीतिर ढल्कँदै गएको छ।
जसरी बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा शारीरिक बनावटमा आएको परिवर्तन र उमेरसँगसँगै हुने फरक सम्बोधनले आफू कता जाँदै छु भन्ने कुरा स्पष्ट पार्नुभएको छ। जस्तै, पहिले नानी, बहिनी अथवा नामले बोलाइन्थ्यो भने पछि दिदी सम्बोधन आउन थालेपछि पहिलाका कुरा याद आउँछन्। स्रष्टाले दिदी सम्बोधन पाउन थालेपछि शरीरमा पहिलाजस्तो चञ्चलता नभएको अनुभव गर्नुहुन्छ।
आफू विवाह गरेर गएको घरमा नयाँ सम्बोधन पाएको जस्तै—भाउजू, बुहारी, दुलही आदि। यस्ता सम्बोधनले आफूलाई असजिलो बनाइरहेको बेलामा आमा हुनु अगावै ‘ठूलो मम्मी’ भन्ने सम्बोधनले उहाँलाई रिस पनि उठाएको छ।
नारीले हरेक कुरालाई सहज बनाउँदै जानुपर्ने भए पनि ‘मम्मी’ भन्ने शब्दले उहाँलाई रिस उठाएको थियो। आफ्ना छोराको जन्मपछि त्यही सम्बोधन प्यारो लाग्न थाल्यो। “आमा सम्बोधनबाट सम्बोधित र सम्मानित हुँदा आइमाईहरूले जुन किसिमको आनन्द र सुखद अनुभूति गर्छन्, गर्व गर्छन्, सायद बुबा कहलाउनुमा छैन कि।” (पृ.–४०)
स्रष्टाले रमाइलो घटना प्रस्तुत गर्नुभएको छ। एउटै अफिसमा काम गर्ने एकजना व्यक्तिले उहाँलाई मन पराएको, अझ भनौँ मरिहत्ते नै गरेको, विवाह गर्ने निर्णयसम्म पुगेको कुरा साथीहरूसँग भन्ने गरेको, तर आफ्नी प्रेमिकालाई आफूप्रति आकर्षित गर्न नसक्दा उनीबाट टाढा हुनुपरेको प्रसङ्ग प्रस्तुत गरिएको छ। उसले माया गरुन्जेल आफूलाई त्यो मान्छे मनै नपरेको, उसको सबै गुण थिए—पढाइ, सम्पन्नता, ड्रेसअप, चटक्क परेर हिँड्ने—तर उसको शरीर साह्रै दुब्लो थियो।
अरू कुरामा सम्झौता गरे पनि शरीरलाई हाँसोको माध्यम बनाउनुहुन्थ्यो। बिचरा त्यो पात्र हरेक बिदामा उहाँको कोठामा जाने, किताब लिने र पुर्याउने बहानामा पनि जाने, तर प्रेमिकाले आफूप्रति आकर्षण नभएको देखेर अरूसँगै विवाह गर्ने निर्णय गर्छ। त्यसपछि बिहेको कार्ड पुर्याउन जान्छ। त्यस बेला उसले बोलेको शब्द—“तपाईँलाई निम्तो।” यही शब्दले उहाँलाई आकर्षित गर्छ। उहाँले कुनै सेमिनारको निम्तो होला भन्ठानेर लिएको त्यो कार्ड उसको बिहेको रहेछ।
महिलालाई यति चतुर ठाने पनि किन पुरुषबाटै शोषित र पीडित हुन्छन्? स्रष्टाको विचारमा कुनै महिलालाई मन परेको पुरुषबाट नै किन प्रेम प्रस्ताव पर्खनुपर्ने? आफैँ भने हुन्थ्यो। लभलेटर आफैँ लेख्ने महिला मात्रै किन हिचकिचाउने? किन पुरुषले मात्रै बलात्कार गर्छन्, महिलाले पनि गरे हुने। जे–जति कुरा पुरुषले गर्छन्, महिलाले नसक्ने नै हो त? आफ्नो थर छोडेर लोग्नेको थर राख्नुपर्ने, केटाहरूले आफूभन्दा कम उमेरकी केटी खोज्दा महिलाले पनि किन कम उमेरका केटा नरोज्ने?
लेखक एउटा प्रशिक्षण कार्यक्रममा पहिलोपटक बैंकक पुग्नुभएको हुन्छ। त्यहाँ एकजना नेपाली, रसियामा डाक्टर पढ्दै गरेका व्यक्तिसँग उहाँको भेट हुन्छ। संयोगले उहाँहरू बसेको होटल पनि एउटै परेको हुन्छ। दुवैजनाको देखादेख साँझपख हुँदो रहेछ। एकदिन गफ गर्न माथिल्लो तलाको भर्याङमा जानुभएछ। कोही आएको आवाज आउनासाथ अर्को पट्टिको भर्याङबाट ओर्लिनुहुँदोरहेछ। फेरि त्यहाँ गफ गर्दा कोही आएजस्तो लागेपछि माथि उक्लिनुहुँदोरहेछ। त्यसैगरी त्यो रातभरि भर्याङ उक्लने र ओर्लने काम भएछ। त्यहाँ ब्युटी पार्लर र मसाज केन्द्र धेरै भएको कुरा पनि छ। आफ्नो वरपर कस्ता मानिस छन्, तिनीहरूको हुलिया र हाउभाउ पनि उहाँले राम्ररी नियाल्न भ्याउनुभएको छ।
हाम्रो जस्तो मानसिकता भयो, व्यवहार पनि त्यस्तै हुन्छ। समाजमा प्रतिबन्ध लगाइएका कुराहरू खुलाएर बोल्न सकिँदैन। तर स्रष्टाको भनाइअनुसार सोचलाई दरिद्र बनाएर बस्नुहुँदैन। बोल्न नसके पनि साहित्यमा उतारेर त्यसको उजागर गर्नुपर्छ। पाठकले त्यसलाई पढेर आनन्द लिन सकून्। भन्न र सुन्न गाह्रो भयो भन्दैमा त्यसको इच्छा मरेको हुँदैन। कतिपय कुराहरू रुढीवादी संस्कारले पनि समाजलाई दरिद्र बनाएको हुन्छ। जस्तै—श्रीमानको नाम उच्चारण गर्न हुँदैन भन्ने समाजमा छेदलाल नामक श्रीमानको नाममा पत्र पठाउँदा बनाइएको संकेतस्वरूप कागजलाई प्वाल पारेर त्यसमा रातो रङ दलिएको प्रसङ्गले यस्तो सङ्कुचित मानसिक अवस्थाले समाजमा कस्तो असर पार्ला भन्ने प्रश्न उठाउँछ।
मधेसका रैथाने जनजाति र उनीहरूको अवस्थाको पनि चर्चा गरिएको छ। कुनै बेला महाजन कहलाएका सोझा जातिहरू आफ्नै रहनसहन र परम्पराका धनी थिए। जब पहाडबाट पहाडीमूलका मानिसहरूको तराईमा बसाइसराइको क्रम बढ्न थाल्यो, त्यससँगै उनीहरूको अवस्था खस्कँदै गयो। पहाडीहरूले उनीहरूको जग्गा किनेर अथवा पैसा सापट दिएर उनीहरूको जग्गा आफ्नो नाममा पार्न थाले। उनीहरू प्रायः तिनै पहाडीका घरमा हली र गोठालो बसेका घटना छन्।
बाबुबाजेले जग्गा बेचेकाले उनीहरूका छोरा–छोरी र नातिनातिना पनि गरिबीबाट उठ्न सकेनन्। जीवन निर्वाहका लागि कपडा बुन्ने, झल्ला बुनेर बेच्ने, मुरै र चिउरा बनाएर बेच्ने काम गर्दछन्।
कुनै बच्चा जन्माउन महिलाले भोग्नुपरेको कष्टका आधारमा बच्चाको थर आमाकै थर हुनुपर्ने धारणा स्रष्टाको छ। तर वास्तवमा भन्ने हो भने, जो पुरुष ‘मेरो बच्चा हो’ भनेर मख्ख परेको हुन्छ, वास्तवमा त्यो बच्चाको बाबु को हो भन्ने कुरा आमालाई मात्र थाहा हुन्छ।
स्रष्टा गाउँबाट पढाइको सिलसिलामा काठमाडौँ बस्नुहुन्थ्यो। काठमाडौँबाट गौरादह जान रात्रिबसमा दमकसम्म आएर त्यहाँबाट गौरादह जाने गाडी चढ्नुपर्थ्यो। कि प्लेनबाट विराटनगर आएर विराटनगरमै बास बस्नुपर्ने, कि त दमकमा बास बस्नुपर्ने हुन्थ्यो। त्यही दिन घर पुग्ने हिसाबले उहाँ प्लेनबाट विराटनगर आउनुभयो र दमकमा अन्तिम जिप भेटिन्छ कि भनेर दमक आइपुग्दा अन्तिम जिप पनि छुटिसकेको हुन्छ। उहाँ बाध्य भएर दमकमा होटलमा बस्नुपर्ने हुन्छ। विराटनगरबाट आउँदा एउटा पुरुष पनि त्यही गाडीमा सँगै हुन्छ। त्यो मानिस इलाम जानुपर्ने भएकाले दमकमा बास नबसी धरै थिएन।
स्रष्टाले उनलाई दाजु सम्बोधन गर्न थाल्नुहुन्छ। आफू सुरक्षित भइन्छ भनेर झन् धेरै दाजु सम्बोधन गर्नुहुन्छ। त्यो बेला दमकमा बिजुलीबत्ती आइसकेको थिएन। लालटिनको सहारा लिनुपर्थ्यो। केही समयअघि होटलमा बसेका दुई युवती बलात्कृत भएको समाचारले उहाँलाई त्रास भइराखेको थियो। एक्लै कोठा लिँदा सुरक्षित भइँदैन कि भनेर तिनै दाजुको संरक्षकत्वमा बस्ने निर्णय गर्नुहुन्छ। लालटिन बालेरै दुईवटा फरक कुनामा सुत्दा के होला र भनेर एउटै कोठामा सुत्ने निर्णय गर्नुहुन्छ।
तर त्यो दाजुले मानवमा राक्षसी मानसिकता पालेको रहेछ। ऊ त आफ्नो ओछ्यानबाट उठेर उहाँको ओछ्यानमा पुगेको रहेछ। उहाँ आत्तिनुभयो, तर उसले ‘तिमीलाई बिहे गर्छु’ भनेर फकायो। उहाँले त्यो हिंस्रक मानिसलाई फकाउन सफल हुनुभयो र आफू सुरक्षित हुनुभयो। तर पनि रात बाँकी नै थियो। यस्तो अवस्थामा उहाँलाई कसरी निद्रा पर्न सक्थ्यो? उहाँ त्यो रातभर निदाउन सक्नुभएन, छटपटाइरहनुभयो।
एकजना नेताले भनेको प्रसङ्गबाट लेख सुरु हुन्छ— “जनता र आइमाई भनेका एकै हुन्। मन पर्यो भने धनसम्पत्ति त के, सम्पूर्ण कुरा दिन र समर्पण गर्न तयार हुन्छन्, अनि मन परेन भने तिनीहरूबाट अलिकति फुस्काउन त के, तीजस्ता खतरनाक र घातक जङ्गलका बाघ पनि हुँदैनन्।” महिलालाई यति चतुर ठाने पनि किन पुरुषबाटै शोषित र पीडित हुन्छन्? स्रष्टाको विचारमा कुनै महिलालाई मन परेको पुरुषबाट नै किन प्रेम प्रस्ताव पर्खनुपर्ने? आफैँ भने हुन्थ्यो। लभलेटर आफैँ लेख्ने महिला मात्रै किन हिचकिचाउने? किन पुरुषले मात्रै बलात्कार गर्छन्, महिलाले पनि गरे हुने। जे–जति कुरा पुरुषले गर्छन्, महिलाले नसक्ने नै हो त? आफ्नो थर छोडेर लोग्नेको थर राख्नुपर्ने, केटाहरूले आफूभन्दा कम उमेरकी केटी खोज्दा महिलाले पनि किन कम उमेरका केटा नरोज्ने? पुरुषले हाकिम र मालिकका रूपमा नभएर लोग्ने, बाबु, प्रेमी र छोरा आदि विभिन्न नातामा रहेर महिलाहरूलाई ठगेको र कजाएको पाइन्छ। तर यस्ता कुराबाट सावधान रहन सके आफूले पाएको अवसरबाट वञ्चित हुनुपर्ने थिएन भन्ने उहाँको धारणा छ।
कुनै बच्चा जन्माउन महिलाले भोग्नुपरेको कष्टका आधारमा बच्चाको थर आमाकै थर हुनुपर्ने धारणा स्रष्टाको छ। तर वास्तवमा भन्ने हो भने, जो पुरुष ‘मेरो बच्चा हो’ भनेर मख्ख परेको हुन्छ, वास्तवमा त्यो बच्चाको बाबु को हो भन्ने कुरा आमालाई मात्र थाहा हुन्छ। यस्तै हुने हो भने सबै अभिभारा महिलाले बोकेर पुरुष झन् स्वतन्त्र हुने हो कि?
‘मेरो सपनाको राजकुमार’ शीर्षक उहाँको मनोवैज्ञानिक आलेख हो। सपनाको राजकुमार, जसलाई उहाँ धेरै माया गर्नुहुन्छ, उसलाई गाह्रो परेको कुरा आफूले महसुस गर्नुहुन्छ। उसले सबैलाई आश्रय दिएको, तर आफूलाई वास्ता नगरेको आक्षेप लगाउनुहुन्छ। आफू उसलाई भेट्न १६–१७ वर्षको उमेरमा पूर्वी नेपालको झापा जिल्लाको एउटा गाउँबाट आएको, र आफूले जस्तो आशा र विश्वास लिएको थियो त्यस्तो नपाएको, धेरै मेहनत गरेर आफ्नो खुट्टामा उभिएपछि उसले सुमसुम्याएको र माया गरेको कल्पना गर्नुहुन्छ। त्यो सपनाको राजकुमार अरू कोही नभएर काठमाडौँ सहरलाई भनिएको रहेछ।
काठमाडौँको संसदमा भएको कुर्सी हानाहान, आर्थिक चलखेलजस्ता कुरा थाहा पाएर पनि टुलुटुलु हेर्नु, र काठमाडौंवासीले गरेको फोहोर बागमती र विष्णुमतीलाई दुईवटा हातको संज्ञा दिँदै फोहोर आफैले लिएको प्रसङ्ग उल्लेख गरिएको छ।
एउटा कालो, अग्लो, मोटो र बलियो मुसलमान स्रष्टाको घरमा काम गर्न बसेको थियो। उसको काम खेतबारीमा काम गर्नु, बस्तु चराउनु आदि थियो। उहाँको घरमा एउटा गुजराती भैँसी थियो। एकदिन राति खैलाबैला चल्यो। के रहेछ भनेर स्रष्टा त्यहाँ पुग्नुहुन्छ र थाहा हुन्छ कि त्यो मुसलमान आफू मानव हुँ भन्ने कुरा बिर्सेर पशु भएको रहेछ। कस्तो अचम्म!
यो लेख पढ्दा आङै जिरिङ्ग भयो, शरीरमा काँडा उम्रियो। मानिसले पशुलाई त छोड्दा रहेछन् भने छोरीमान्छे बचेर हिँड्न कति गाह्रो! म भित्रभित्रै डराउँछु।
स्रष्टाले ढाका यात्रामा देखिएका विभिन्न मनोरम दृश्यका साथै त्यहाँको वातावरण, माग्नेहरूको लहर, कति धेरै माग्नेहरू—अरू काम नपाएर होलान् कि, माग्ने काम सजिलो लागेर होलाकि?—भन्ने प्रश्न उठाउनुभएको छ। एकातिर गरिबीको पराकाष्ठा, जिउको पूरा शरीर ढाक्ने लुगा छैन, पेटभरि खान त परै जाओस्। अर्कोतिर विलासिता, खाना खानभन्दा चौरासी व्यञ्जन फाल्ने, आफू विलासितामा रहेर गरिबीको तस्बिर हेर्ने। त्यो तस्बिरलाई यथार्थमा बुझ्दा के आनन्द आउला र?
सडकमा मानिस भोकै छन्, आफू महलभित्र। त्यसैले उहाँ भन्नुहुन्छ, “गरिबी हेर्न रमाइलो, भोग्न होइन।” (पृ.–८३)
उहाँलाई खड्केको कुरा के हो भने, देशमा गरिबी, अभाव र भोकमरी छ। साफ गेम्सको आयोजना गरेर अरूलाई (विदेशीलाई) प्लेट सर्भ गर्नु भन्दा आफ्नो देशका भोका जनताको खाली प्लेटमा खानेकुरा राख्नु राम्रो होइन र?
उहाँले देखेको दृश्य फोहोरबीच मानिसहरू खाना खाइरहेका थिए। त्यस्तै फोहोरी मानिसहरूले खाना पस्किरहेका थिए। ती महिलाहरूले सस्तोमा खाना बेच्दा रहेछन् र त्यहाँ कुल्ली काम गर्नेहरू सस्तो मूल्यमा खाना खान आउँदा रहेछन्।
ढाकामा भएको साफ गेम्समा त्यहाँका महिलाको उपस्थितिको प्रसङ्ग सम्झनुभएको छ। हाम्रो नेपालमा जनसंख्याको आधारमा बढी जनसंख्या ओगटेका महिलाहरूको हरेक क्षेत्रमा उपस्थिति एकदमै कम छ। हरेक सभा–समारोहमा महिलालाई अघि बढ्न प्राथमिकता दिनुपर्छ भन्ने भनाइहरू पुरुष वर्गको मुखबाट सुनिन्छन्, तर तिनकै घरका महिलालाई यो अवसरबाट वञ्चित गराइन्छ। हाम्रो समाजमा जुनसुकै कार्यक्रममा पनि पुरुषकै सहभागिता बढी हुन्छ भने महिलाको सहभागिता एकदमै थोरै हुन्छ। स्रष्टाको दृष्टिकोणमा, जबसम्म कला, साहित्य, शिक्षा, खेलकुद आदि समाजका हरेक क्षेत्रमा महिला समान हुन सक्दैनन्, तबसम्म समष्टिमा महिला समानता हुन सक्दैन। अन्यथा, अन्यथै रहिरहन्छ। (पृ.–८७)
प्रेस सेन्टरमा बाहिरभन्दा सस्तो दरमा टेलिफोन, फ्याक्स, ट्रङ्कल, टेलेक्स, फोटोकपी आदिको विशेष सुविधा भएको हुँदा, र उहाँ पनि प्रेससँग सम्बन्धित भएकाले त्यहाँ पुग्नुहुन्छ। त्यहाँ नजिकैको मूर्तिकलामा एक्लै घुम्दै गर्दा माग्ने आइमाईहरूको हुलले लखेटेको सम्झनुहुन्छ। अर्को दिन जुलेजिकल गार्डेन घुम्न जाने क्रममा एउटा बालकले पत्रिकाले छोपेको आफ्नो लाज देखाउँदै गाडी रोकेर पैसा माग्यो। त्यो बालकको वेदनाले स्रष्टालाई पछिसम्म गाह्रो बनाएको रहेछ।
‘महिला र मानवअधिकार’ शीर्षकमा स्रष्टाले महिलावादी पत्रकारहरूसँग गरिएको अनौपचारिक छलफलका बारेमा लेख्नुभएको छ। जसमा दुईवटा विषय समावेश गरिएको थियो—महिलालाई पुरुषले हेर्ने दृष्टिकोण र महिलालाई महिलाले नै हेर्ने दृष्टिकोण। महिलालाई पुरुषले हेर्ने दृष्टिकोण पनि महिलाहरूले नै गर्दा हुन सक्छ। एकजना साथीले प्रस्तुत पीडामा सासूको कपाल लुछेको कुरा सम्झनुभएको छ। ती बुहारीले सासूको व्यवहारका कारण कति रिस बोकेर बसेकी रहिछिन् भन्ने बुझिन्छ।
पहिला हाम्रो समाजमा धेरै श्रीमती हुने कुरा गर्वका साथ गरेको सुनिन्थ्यो। “त्यो फलानाको त चार जना, पाँच जना” भनेर भन्ने चलन थियो। हाम्रो समाजमा महिलाको स्तर तल्लो दर्जामा देखाइए तापनि महिलाले आफू पीडित छु भन्ने कुराको बोध नगरी अन्याय र अत्याचारमै रमाउँदै एक चुड्की सिन्दूर र एक लुङ्ग पोतेको माया गरिरहन्छन्। स्रष्टाको प्रश्न छ—जसरी एउटा श्रीमान्ले दुई वा सोभन्दा बढी श्रीमती ल्याएर एउटै घरमा मिलाएर राख्छ भने, यदि कुनै महिला सक्षम छे भने उसले दुईवटा श्रीमान् एउटै घरमा किन राख्न नपाउने?
अर्की साथी मिनभाले ६०–६५ वर्षकी फुपूलाई “किन बिहे नगर्नुभएको?” भनेर सोध्दा फुपू रुनुभएको सम्झनाले पनि महिलाहरू परिवारबाटै पीडित छन् भन्ने कुरा पुष्टि हुन्छ। १४–१५ वर्षमै विधवा भएकी फुपूलाई आजसम्म कसैले पनि यो प्रश्न नगरेकोमा दुःखी हुनुहुन्छ। उहाँको पनि जवानी आयो होला, घरजम गर्ने रहर भयो होला, तर यो विषयमा कसैले चासो नराखेको देखिन्छ। “मैले त डल्लै कपाल लुँड्याएँ।”
ठाउँअनुसार बोलीचालीको भाषा फरक हुन्छ। सुदूरपश्चिम र सुदूरपूर्वको भाषा फरक हुन्छ। त्यस्तै दार्जिलिङको भाषा झनै फरक छ। यो कहिल्यै नसुन्नेलाई हाँसो उठ्नु स्वाभाविकै हो। स्रष्टा दार्जिलिङको भाषा यस्तै होला भन्ने कल्पना गरेर जानुभएको हुन्छ, तर त्यसको उल्टो पाउँदा उहाँलाई दिक्क लाग्छ।
“म विवाह नगरेर धेरैमा अलमलिएको छु।” तुलसी दिवसको प्रसङ्गलाई लिएर लेख अगाडि बढ्छ। वरिष्ठ साहित्यकार श्यामदास वैष्णवकी छोरीले कवि दिवसलाई गरेको प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, “विवाह गर्नु भनेको दिन काट्नु हो—अलिकति छोराछोरीसित, अलिकति नातेदारहरूसित अनि अलिकति औपचारिकतासित।” (पृ.–१७९)
एउटा साहित्यकारहरूको भेटघाटमा भएको कुराकानीमा उहाँ भन्नुहुन्छ, “म विवाह नगरेर पनि धेरैमा अलमलिएको छु।” (पृ.–१८०)
आर. वी. शर्माले नेपाली साहित्यमा लगाएको गुनलाई स्रष्टाले सम्झनुभएको छ। उहाँले नेपाली साहित्यका कृतिहरूलाई अंग्रेजी भाषामा अनुवाद गरेर वा गराएर, लोकसंस्कृतिका पुस्तकहरूको पनि अनुवाद गराउनुभएको छ। नेपाली साहित्यलाई ज्यादै माया गर्ने, नेपाली साहित्यको अन्तर्राष्ट्रिय जगतमा प्रचार–प्रसार होस् र सम्मान पाओस् भन्ने उहाँको धारणा रहेको छ। (पृ.–१८१)
‘बुहारी झारझैँ र उपुत’ कुरालाई जगाउँदा यस लेखमा आफू केटाकेटी बेलाको सम्झनामा आफूले गरेको बदमासीलाई सम्झनुभएको छ। आफूभन्दा दुई वर्ष कान्छो भाइ र कक्षामा एक कक्षा मुनि पढ्ने भाइलाई परिवारले धेरै माया गरेको, आफूलाई नगरेको अथवा भाइ र आफूमा पक्षपात भएको कुरा सम्झनुहुन्छ। दुवै जनाका लागि भनेर किनेको साइकल भाइले मात्र चलाएको, आफूले एकदिन चलाउँदा भाइ आफूसित रिसाएको आदि रमाइला प्रसङ्ग छन्। घोडा चढेको प्रसङ्ग पनि छ।
यस्तैमा उहाँ सेक्सको बारेमा नभएको घटना सम्झनुहुन्छ। एकजना दाजु पर्नेले धेरै जना गफ गरेर हाँस्ने क्रममा उहाँको ढाडमा ढाप मारेको सम्झनुहुन्छ। त्यो ढापले उहाँलाई करेन्ट लागेको आभास हुन्छ र हाँसो एक्कासि बन्द हुन्छ।
स्रष्टा आफ्नो गाउँलाई नियाल्नुहुन्छ। हिजो उहाँ बालक छँदा जस्तो थियो, आज उहाँ किशोरी हुँदा पनि उस्तै छ। हिजोको दुःख आज छोराछोरीमा हस्तान्तरण भएको छ र भोलि तिनका छोराछोरीमा पनि हस्तान्तरण हुने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ।
उहाँ पढाइको सिलसिलामा सहरमा बस्नुहुन्छ। कहिलेकाहीँ गाउँ जाँदा गाउँको खबरले उहाँलाई स्तब्ध बनाउँछ। खुसीको खबर सुन्न पाइँदैन। उपचार नभएर कति मान्छेको ज्यान गएको हुन्छ। छोराछोरी हुर्कन नपाउँदै आर्थिक पक्ष सुधार हुने विश्वासमा कताकता पुगेका हुन्छन्। तिनीहरू सकुशल फर्किन्छन् कि केही जोखिमका कोशेली लिएर फर्कन्छन्, थाहा हुँदैन।
छोरामान्छेहरू असम, पन्जाब, कलकत्ता र अरब जान्थे भने छोरीहरू गार्मेन्टको काम गर्न काठमाडौँ जान्थे। छोराहरू जालझेलमा परेर जेलमा सड्ने बाध्यता आउँथ्यो भने छोरीहरू एड्सको सिकार भएर गाउँ फर्केका हुन्थे। गाउँमा शान्ति छैन, सुरक्षा छैन। एउटी विधवालाई रातसँगसँगै राक्षसको आक्रमण हुन्छ।
आफ्नै कला–संस्कृति जगेर्ना गरेर आनन्दसँग बाँचेका मानिसहरू पछि यसरी गरिबीको खाडलमा पर्छन्। आफ्ना जग्गाको लालपुर्जा अरूकै हुन्छ।
स्रष्टा बाल्यकालको सम्झना गर्नुहुन्छ। पैनीमा खेलेको, बगैँचामा आँप टिपेको, त्यहाँका आदिवासी राजवंशी, तजपुरिया, सतार आदिका बच्चाहरू आफ्ना साथी भएको, पैनीमा वा पटुवा कुवाउने पोखरीमा नाङ्गै नुहाउने, माछा मार्ने, गंगटा मार्ने आदि सम्झनुहुन्छ।
चुम्बन गरेर नशालु बन्दै मात्तिन मन लाग्छ, तर त्यसो गर्न सक्नुहुन्न। त्यो कुरा उसलाई मन्जुर हुन्छ कि हुँदैन भन्ने डर पनि छ। अथवा उसले नै आफ्नो हात समाओस् भन्ने चाहनुहुन्छ। त्यो पनि हुँदैन। अनायास उहाँलाई नेपाली महिला भएको सम्झना आउँछ र त्यो जोस सबै हराउँछ। त्यसपछि उहाँ त्यहाँबाट हिँड्नुहुन्छ।
एकदिन पैनीमा नुहाएर निस्केपछि उहाँको आँखा आफ्नो छातीमा पर्छ। छातीमा साना गिर्खा देखेर उहाँलाई त्यस क्षणमा भएको मनोवैज्ञानिक अवस्थाको कुरा लेखिएको छ। आफ्नो लाज छोप्नुपर्छ भन्ने ज्ञान आइसकेको थिएन, तर उहाँ किशोरीतिर लाग्दै हुनुहुन्थ्यो। त्यो बेला गंगटाले रोकेको सुत अझै छ। कुटिल व्यक्तिलाई गंगटाको सुरक्षा दिनुहुन्छ। यसरी नै वयस्क भएको घटना छ। यसरी नै जवानी हुँदै आज प्रौढ भएको अनुभव गर्नुहुन्छ। आफ्नो त्यो बेलाको चञ्चल स्वभाव फेरि नआएकोमा स्रष्टा दुःखी हुनुहुन्छ र अब वृद्धाको पर्खाइमा हुनुहुन्छ।
“सायद म पनि क्रमशः अँध्यारो नजिक पुग्दै छु। जसरी डुङ्गालाई किनारमा आएको थाहा नभएझैँ कुनै पनि क्षण म आफ्नो जीवनको एउटै सत्यको नजिक पो आइसकेको छु कि?” (पृ.–१४४)
नेपाली समाजमा चरितार्थ भएका उखानहरू—सुरा, शक्ति र सुन्दरी—लाई उहाँले आफैँ अर्को नाम दिनुभएको छ, ‘थ्री डब्ल्यु’।
१) डब्ल्यु – वाइन
२) डब्ल्यु – वेमेन
३) डब्ल्यु – वेल्थ
सम्भ्रान्त परिवारका मानिस बिग्रनुमा यिनै तीन चीज हुन् भनिन्छ। वाइनसँग महिलालाई दाँज्नु भनेको मनोरञ्जनको साधनका रूपमा अपमान गरेको पाइन्छ। शक्ति भनेको मान्छेले पावरको दुरुपयोग गर्नु हो। महिलालाई मनोरञ्जनको साधन बनाइएको छ भने अर्कोतिर पुरुषको कमजोरी पनि भनिएको छ। यसो भन्दै गर्दा पुरुष नै किन हाबी हुन्छ? पुरुषहरू बदनामी हुनुको साटो बहादुरीमा परिणत हुन्छन् भने महिला बदनामीको सिकार बन्छन्। यसमा सान्दर्भिक उखान “मर्दका हजार” छ।
त्यस्तै लोग्ने छाडिएकी महिलालाई घरका अरू सदस्यले आश्रय दिनुको साटो पुरुषलाई नै उक्साहट दिएर अर्को उखान “खुट्टा भए जुत्ता हजार” भन्ने चलाइएको छ। यसरी नेपाली समाजमा बहुपत्नी प्रथाप्रति उक्साहट गरेको पाइन्छ।
पहिला हाम्रो समाजमा धेरै श्रीमती हुने कुरा गर्वका साथ गरेको सुनिन्थ्यो। “त्यो फलानाको त चार जना, पाँच जना” भनेर भन्ने चलन थियो। हाम्रो समाजमा महिलाको स्तर तल्लो दर्जामा देखाइए तापनि महिलाले आफू पीडित छु भन्ने कुराको बोध नगरी अन्याय र अत्याचारमै रमाउँदै एक चुड्की सिन्दूर र एक लुङ्ग पोतेको माया गरिरहन्छन्। स्रष्टाको प्रश्न छ—जसरी एउटा श्रीमान्ले दुई वा सोभन्दा बढी श्रीमती ल्याएर एउटै घरमा मिलाएर राख्छ भने, यदि कुनै महिला सक्षम छे भने उसले दुईवटा श्रीमान् एउटै घरमा किन राख्न नपाउने?
यहाँ कानुनको पनि कुरा आएको छ। बहुविवाहप्रति कडा कानुन छ, तर यो गरिब निमुखा जनतालाई मात्र लागू हुन्छ।
सिक्किमको यात्रामा जिप ड्राइभरसँग भएको रमाइलो संवाद, त्यहाँका मनोरम दृश्यहरूमा मनमोहक हुँदै, तेन्जिङले पहिलो पटक सगरमाथा चढ्नुअघि दार्जिलिङकै चट्टानमा आरोहण गर्ने अभ्यास गरेको हुनाले त्यस गाउँलाई अहिले पनि तेन्जिङ रक भनिँदो रहेछ र पर्यटकीय ठाउँका रूपमा विकास गरिएको रहेछ। तेन्जिङ शेर्पा नेपालका हुन्। आरोहणको अभ्यास त्यहाँ गरेको हुनाले उनको त्यस्तो सम्मान गरिएको रहेछ। (पृ.–७७) हामी नेपाली जुन ठाउँमा भए पनि एउटै हौँ।
नेपालको हिमाल हेर्न विदेशी भूमि टेक्न परेकाले उहाँलाई दुःख लाग्छ। त्यहाँ बेचिएका तस्बिरहरू इलामको सन्दकपुर र भन्ज्याङको छेउबाट खिचिएका रहेछन्। “हामी भने आफ्नै मुलुकको सौन्दर्य हेर्न अर्को देशको धरती टेक्छौँ। हाम्रो लागि यसभन्दा अर्को व्यङ्ग्य के हुन सक्छ र?” (पृ.–७८)
नेपालले मनाउन लागेको भ्रमण वर्ष सन् १९९८ लाई उहाँले सुझाव दिनुभएको छ। इतिहासमा नेपालको सिमाना टिस्टा नदीसम्म देख्दा उहाँलाई गर्व लाग्नुका साथै दुःख पनि लाग्छ।
काठमाडौँको नर्सिङ होममा उहाँको आफन्तलाई भर्ना गरिएको हुन्छ। बिरामी आफन्तलाई भेट्न जाने क्रममा एकजना परिचित डाक्टरसँग भेट हुन्छ। उहाँसँग लामो समयपछि भेट हुन्छ। डाक्टरको आग्रहमा कफी खाने क्रममा साधारण गफगाफ हुन्छ। केही क्षण दुवैजना मौन रहेको बेला उहाँको मानसपटलमा वैचारिक द्वन्द्व हुन्छ। एक मन उहाँप्रति प्रेम उब्जन्छ र आकर्षण बढेर आउँछ।
चुम्बन गरेर नशालु बन्दै मात्तिन मन लाग्छ, तर त्यसो गर्न सक्नुहुन्न। त्यो कुरा उसलाई मन्जुर हुन्छ कि हुँदैन भन्ने डर पनि छ। अथवा उसले नै आफ्नो हात समाओस् भन्ने चाहनुहुन्छ। त्यो पनि हुँदैन। अनायास उहाँलाई नेपाली महिला भएको सम्झना आउँछ र त्यो जोस सबै हराउँछ। त्यसपछि उहाँ त्यहाँबाट हिँड्नुहुन्छ।
विरूप बीभत्स फुकेको बेलुन
एउटा राष्ट्रिय दैनिकमा तस्बिरसहित एउटा बालकको पेटको तल्लो भागमा देखा परेको गिर्खा बढेर अण्डकोषसम्म पुगेको र त्यसले ठूलो आकार लिएको कुरा छापिएको थियो। त्यो समाचार पढ्दै गर्दा ढाकामा देखिएको एउटा बीभत्स दृश्यको सम्झना लेख्नुभएको छ। जसमा एउटा मान्छे हरेक गाडी रोक्दै मागिरहेको थियो। त्यो माग्नेले उहाँहरूको गाडी पनि रोक्यो र झ्यालबाट पैसा माग्यो। उसले आफ्नो अङ्ग पत्रिकाले छोपेको थियो। पत्रिका हावाले हल्लाएको बेला उहाँले एउटा बीभत्स रूप देख्नुभयो।
उसको अण्डकोष फुलेर बेलुन जत्रो भएको थियो। महिलाहरूलाई जबरजस्ती लोग्नेको घरमा बस्नुपर्ने, आफूलाई मनपरे जसरी बस्यो भने दुश्चरित्र मानिने समाजमा ती माइलीआमा साहसी हुन्, जसले समाजको मापदण्ड नाघेर आफ्नै इच्छाले जीवन चलाइरहिन्। जबरजस्ती लोग्नेको व्यभिचार सहेर बस्नुभन्दा मन नपरेर, मन नलागेर पीडा सहेर र मानसिक यातना पाएर कोही कसैसित पनि बस्नु उचित हुँदैन। किनभने आत्मसम्मान, इमान, मर्यादा र प्रेम लगनगाँठोभन्दा बलियो हुन्छ। लगनगाँठो चुँडिन सक्छ। भत्किसकेको, झुत्रो भइसकेको लगनगाँठोलाई समाएर कोही बलियो र दह्रो हुँदैन। (पृ.–१४०)
नारी सौन्दर्य गहना होइन भनेर नारी चेतना जगाउनुभएको छ। हाम्रो संस्कृतिमा छोरीमान्छेलाई सानैमा नाक–कान छेडेर गहना लगाइदिने चलन छ। यो भनेको पुरुषको अधीनमा बस्नु हो। जसरी गोरु, राँगालाई नत्थी लगाइन्छ र मानिसको वशमा राखिन्छ, त्यस्तै कुकुरलगायत अन्य जनावरलाई फलामको सिक्री लगाएर आफ्नो वशमा राखिन्छ। नारीले गहना लगाउनु नारीको सौन्दर्य नभएर कमजोरी हो। नारीको सौन्दर्य भनेको उसको योग्यता र क्षमता हो भन्नुभएको छ।
“हामी बाहिर शरीरमा देखिने गहना र आभूषण होइन, विचार र व्यक्तित्वसित गाँसिने गहनाको श्रीवृद्धि गरौँ।” (पृ.–१५१)
उहाँले मोनिका लेवेन्स्कीलाई सम्झनुभएको छ, जसले आफू अन्याय नसहेर बिल क्लिन्टनजस्तो शक्तिशाली मानिसलाई राष्ट्रपतिको कुर्सीबाट हल्लाइन्। लोग्नेमान्छे आफू सही भएर महिलालाई मात्र दोष देखाउने गर्छन्, तर मोनिकाले आफू नाङ्गिए पनि शक्तिसँग डराइनन्। उहाँले उसलाई अदालतमा उभ्याउन सफल भइन्। एउटी नारीको साहस देखेर सबै नारीको तर्फबाट बधाई दिनुभएको छ।
उत्थानको एउटी आमाले आफ्नो शरीरमा भ्रूण तयार भएदेखि बच्चा हुर्काएको आनन्द र खुसी त्यो आमा बाहेक कसैले लिन सक्दैन भन्नुहुन्छ। एउटा मान्छेलाई श्रद्धाञ्जली दिनुभएको छ, तर त्यो मान्छे को हो भन्ने रहस्यमय नै छ।
समग्रमा यो पुस्तक बालमनोविज्ञानमा त्यसले पुर्याउने असर, महिला न्यायका निम्ति उठाइएको आवाज तथा आफूले देखेका र भोगेका कुरालाई जस्ताको तस्तै प्रस्तुत गरिएको कृति हो। जीवनमा आइपरेका घटना र दृश्यहरूलाई अतिरञ्जनाविना प्रस्तुत गर्नुभएको छ। यसले कृतिलाई विश्वसनीय र प्रभावकारी बनाएको छ। भाषा सरल र सहज छ।
यो कृति व्यक्तिगत जीवनको मात्र नभई सामाजिक चेतना, मानवअधिकार र समानताको पक्षमा पनि उभिएको छ। यो पुस्तक सबै वर्गका पाठकले पढ्न योग्य छ। लेखकलाई म एउटा साहसी साहित्यकार मान्छु। उहाँको यो यात्रा अनवरत चलिरहोस्। उहाँ र उहाँको कृति रङ्गीन जामालाई बधाई तथा शुभकामना।
प्रेरणाको श्रोत : छोरो
२०८३/०३/१७
आज एउटा साहित्यिक कार्यक्रममा जानका लागि मामालाई पर्खिनुपर्ने भयो। अनिता कोइराला, जसलाई बहिनी भनेर सम्बोधन गर्छु, उहाँ र म कलङ्की मन्दिरमा भेट्ने र मामालाई त्यहीँ पर्खिने क्रममा बहिनीले मलाई सोध्नुभयो, “दिदी, आफ्नो जीवनको बारेमा केही सुनाउनु न।”
मैले भनेँ, “बहिनी, म त पैँतीस वर्षको उमेरमा घरबाहिर निस्केकी।” उहाँले भन्नुभयो, “दिदी, म त पैँतालीस वर्षको उमेरमा।” ओहो! यति छोटो समयमा यत्रो ख्याति, समाजमा आफ्नो पहिचान बनाइसक्नुभएको! म भित्रभित्रै आश्चर्यमा पर्छु। उहाँको यो मेहनत देखेर मेहनत नगरी त पक्कै ‘अनिता कोइराला’ भनेर चिनिनु भएन भन्ने लाग्छ। मलाई भित्रभित्रै ईर्ष्या पनि लाग्छ, खुसी पनि लाग्छ।
मैले भनेँ, “म अहिले मेहनत गर्न सक्दिनँ।” उहाँले केही टिप्स पनि दिनुभयो। मैले आजैदेखि प्रयोगमा ल्याउँछु भनेर प्रण गरेँ।
उहाँले भन्नुभयो, “भन्नुस् न दिदी, हजुरको बारेमा सुन्छु।”
मैले पनि भन्न थालेँ, “छोरालाई होमवर्क सिकाउने क्रममा उसले सोधेको प्रश्नको जवाफ दिन नसक्दा, उसले ‘मम्मी, भएन, यस्तो हो’ भनेपछि मेरो दिमागको बत्ती बलेजस्तो भयो। मैले नपढेर गल्ती गरिछु भन्ने क्षणिक दुःख भयो।”
पढ्न छोडेकी म नारायण मामाको परिवारसँग काठमाडौँमा बस्दै आएकी थिएँ। एस.एल.सी. दिएँ। म पढाइमा अल्छी नै थिएँ। रिजल्ट आउन बाँकी थियो। मामाले एकजना केटालाई नियाली राख्नुभएको रहेछ। कहिले के बहानामा उहाँको अफिस जाने, कहिले उहाँको कोठामा जाने। उहाँको शीलस्वभाव देखेर ‘यसलाई भान्जी दियो भने राम्ररी पाल्छ, भान्जीले सुख पाउँछे’ भन्ने लागेछ। जसलाई नियालिरहनुभएको थियो, उहाँ मामाको विद्यार्थी हुनुहुँदो रहेछ र पछि ट्युसन पढ्न मामाघरमा आउनुहुन्थ्यो।
एकदिन मामाले माइजूसँग भन्नुभयो, “अब देवमायाको बिहे गरिदिनुपर्यो, केटा असल छ।” मलाई पनि बिहे गर्यो भने पढ्न पर्दैन भनेर हुन्छ भनिदिएँ। यसरी कुरा अगाडि बढ्यो। साइला मामा त्यो बेला धनकुटामा बस्नुहुन्थ्यो। मामा पनि आउनुभयो। ठूलो मामा, साइला मामा र नारायण मामा बसेर निर्णय भयो र बिहे पनि भयो।
त्यसपछि बाबु जन्मियो। म घरगृहस्थीमै व्यस्त हुन थालेँ। बाबु स्कुल जान थाल्यो। यतिबेलासम्म साइला मामाको परिवार काठमाडौँमा आइसक्नुभएको थियो। एकदिन साइली माइजूले भन्नुभयो, “अब बाबु स्कुल जान थाल्यो, यत्तिकै बस्नुभन्दा पढ्न थाल्नु।”
मलाई पढ्न मन लागेन। म यत्तिकै थिएँ। छोराको कक्षा बढ्दै जाँदा मलाई पढाइको कुरा खड्किन थाल्यो। मैले घरमा “म पढ्छु” भन्दा खासै वास्ता भएन। म बारम्बार भन्न थालेँ। कहिलेकाहीँ यो कुरालाई लिएर झगडा पनि हुन्थ्यो। उहाँलाई पनि पढ्नलाई उमेरले छेक्दैन भन्ने कुरा थाहा नभएर हुन सक्छ। सायद अर्को कुरा घरमा समय दिन नभ्याउने हो कि भनेर पनि हुन सक्छ। मैले ढिपी छोडिनँ। कहिलेकाहीँ ठूली माइजूको उदाहरण पनि दिन्थेँ। उहाँले पनि पछि नै पढेर मास्टरसम्म गर्नुभएको हो।
एकदिन उहाँको अफिसमा साथीहरूमाझ मेरो ढिपीको कुरा राख्नुभएछ। एकजना उहाँको सहकर्मी साथीले आफू पनि प्राइभेट एस.एल.सी. दिएको, मेडिकल लाइन पढेर जागिर खाएको कुरा गर्नुभएछ र त्यो पढाइ हुने बागमती कोचिङ सेन्टरको नाम लिनुभएछ। त्यसै दिन आफ्नो ड्युटी सकेर त्यहाँ बुझ्न जानुभएछ। त्यहाँका सरले “मलाई भेट्न लिएर आउनु” भन्नुभएछ। भोलिपल्ट मलाई लिएर जानुभयो। सरले मलाई केही कुरा सोध्नुभयो र “भोलिदेखि पढ्न आउनु” भन्नुभयो।
यसरी जहाँ छुटेको थियो, त्यहीँबाट पढाइ सुरु गरेँ। हामी आमा–छोराले एकैपटक एस.एल.सी. दियौँ। पढ्न थालेको केही समयपछि मावल जान कम भएर होला सायद, माइजूले “किन धेरैमा भेट भएन?” भन्दा “म पढ्न थालेँ” भनेँ। माइजू धेरै दुःखी हुनुभयो। पछि मामालाई पनि भन्नुभयो। मामाले भन्नुभयो, “तिमी पास हुनु, फेल हुनु ठूलो कुरा होइन। पढ्ने सोच राख्यौ, यो ठूलो कुरा हो।” भनेर हौसला दिनुभयो।
यसरी पढ्दा छोरा राम्रो फस्ट डिभिजनमा र म राम्रो सेकेन्ड डिभिजनमा पास भयौँ। यसरी हाम्रो पढाइ सँगसँगै अगाडि बढ्यो। पछि आइ.ए. पद्मकन्या क्याम्पसमा पढ्ने कुरा भयो। सेवाले गएर भर्ना गरिदिइन्। आइ.ए. पास गरेँ। फेरि बी.ए. पढेँ, पास गरेँ।
एस.एल.सी.को रिजल्ट नआउँदै जागिर खान थालेँ। स्थायी जागिर भएकाले भोलिका लागि हतियार हुन्छ भनेर झन् प्रेरणा बन्यो। यसरी क्याम्पस जाँदै, जागिर खाँदै, मैले तहविहीनमा सुरु गरेको जागिर लोकसेवा दिँदै चार तह भएँ। पछि आन्तरिक बढुवामा लोकसेवा दिएँ र पाँचौँ तहमा आउन सफल भएँ। अहिले म पाँचौँ तहमा प्राविधिकमा जागिर खाइरहेकी छु भनेर सिद्ध्याउँदै गर्दा मामाको गाडी आइपुग्यो। माइजू पनि हुनुहुन्थ्यो। अनिता बहिनी र म त्यही गाडीमा सँगै कार्यक्रमतिर लाग्यौँ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.