मानिस जुन परिधिमा बाँच्छ, उसको लागि जगत् भन्नु त्यही परिधि मात्र हो। त्यसबाहेकको विशालता उसको लागि भए पनि के, नभए पनि के? आफूले नदेखेको, नभोगेको जगत् उसको लागि केवल एउटा कल्पना न हो।
अमेरिकी–नेपाली स्रष्टा पशुपति घिमिरेद्वारा कृत ‘तीन महादेशका केही तरङ्ग’ नियात्रा कृति पढ्दा जगत्प्रति मैले यस्तो धारणा बनाएँ। लाग्यो, अब ती महादेश पनि हाम्रै हुन्, जहाँ हाम्रा मानिसहरू पुगेका छन्, जसले नेपाली भाषा, साहित्य, संस्कृतिको सिमाना विस्तार गर्दैछन्। प्रतिकूलताबीच पनि सकारात्मकता देख्ने घिमिरेको प्रस्तुत कृतिमा विभिन्न देशमा गरिएका सत्रवटा यात्रा आलेख समाविष्ट छन्। ती यात्रा कति पारिवारिक त कति श्रीमान्–श्रीमतीबीचका छन्। पहिलो खण्डमा उत्तर अमेरिकामा गरिएका यात्रा छन्। क्यानकुन, मेक्सिकोका तरङ्गहरू यसै खण्डको आरम्भिक आलेख हो, जहाँ क्यारेबियन सागरको लहरसँगै इस्ला मुहेरेस (लेडी आइसल्यान्ड)को रमणीयता कति सुन्दर छ।
समृद्ध मुलुकको भ्रमण साहित्यमा सबैभन्दा भुल्न नहुने कुरा त्यहाँका मानिसहरू आफ्नो वैभवसँगसँगै प्राचीनतालाई कति धेरै प्रेम गर्दा रहेछन्। आदिमता र आधुनिकताको सन्तुलित संयोजनले नै उनीहरू जीवन्त भएका छन्। हाम्रोमा त्यस्तो सचेतता आइपुगेको छैन। थाहा छैन, आउँछ, आउँदैन। प्राचीनता अर्थात् आफ्नो जातीय संस्कृति भुलेपछि मात्र आधुनिक भइन्छ भन्ने हामीमा ठूलो भ्रम छ। त्यसैले आफ्नो भाषा, धर्म, संस्कृतिलाई आधुनिकताको बाधक ठान्ने गर्छौँ। अनि त पहिचान शिथिल हुँदै गएको छ। के हामी आफ्नो पहिचानसहित आधुनिक हुन सक्दैनौँ?
स्रष्टा घिमिरेको नियात्रामा मनोहर दृश्य र प्रत्यक्षताको अनुभूति हुँदा लाग्छ, आफू त्यहाँ पुग्न सकिएला, नसकिएला, कम्तीमा यस्तो सुन्दर कृति पढ्न त पाइयो भन्ने हुन्छ। उनका यी अक्षरसँगै बेलाबेलै म रोमाञ्चित हुन्छु जस्तो, “स्नोर्कलिङ पानीमुनिको एउटा रोमाञ्चक गतिविधि हो, जसमा पानीको सतहको ठीकमुनिको रङ्गीन जलमण्डलसम्म पुगेर सामुद्रिक वस्तु र जीवनहरूसँग लुकामारी खेल्न पाइन्छ (पृ–२२)।”
लेखक ती ठाउँहरूको सम्मुन्नतिमा प्रायः आफ्नो मातृभूमिको कल्पना गर्न पुग्छन्। त्यसबखत लाग्छ, आफ्नो मुलुक पनि यस्तै भइदिए कस्तो हुन्थ्यो? उनलाई पराईको वैभवले कताकता उपहास गरेजस्तो लाग्छ। त्यसो त यसले सम्पूर्ण नेपालीको साझा मनोविज्ञानको रूप लिएको छ। त्यसैले लघुता, हीनता केके अनुभूति भइरहँदो हो।
क्यानकुन शहरमा बौद्ध तथा हिन्दू देवीदेवताका मूर्तिको व्यापार देख्दा आश्चर्यमिश्रित एउटा खुशी सिर्जिन्छ। कसरी त्यसो हुन गयो? निश्चय त्यहाँ हिन्दू तथा बौद्ध धर्मको कुनै इतिहास जोडिएको हुनुपर्छ। कुनै पनि ठाउँमा भाषा, धर्म, कला, संस्कृतिले यसरी आफ्नोपनको अनुभूति गराउँदो रहेछ। जातीय अस्तित्वको शक्ति यति सशक्त हुँदो रहेछ, जसका लागि मानिस मर्न र मार्न पनि तयार हुन्छ। अहिले संसारमा त्यही भइरहेको छ। जातीय तथा धार्मिक दङ्गा त्यसैको एक दृष्टान्त हो।
साहित्यकार घिमिरे समय, परिस्थिति र त्यस दृश्यसँगै विचारको एउटा तहमा पुग्छन्। उनी परिस्थिति मात्रै भोग्दैनन्, सँगै विचार पनि भोग्छन्। त्यस्तै, त्यहाँ उनले दृश्य मात्रै देख्दैनन्, सँगै विचार पनि देख्छन्। पूर्वीय दर्शनको गहिरो प्रभावले हुनसक्छ, प्रतिकूलताबीच पनि अविचलित हुन उनी अभ्यस्त छन्।
त्यसपछिको अर्को यात्रा छ पोर्टो रिकोको राजधानी सान उवानको। लेखकले प्रायः ठाउँविशेषको भूगोल, धर्म, संस्कृति, इतिहास, समाज र राजनीतिलाई यात्रा प्रसङ्गमा जोडेका छन्। आफू पुगेको ठाउँविशेषको संक्षिप्त परिचय दिने कोसिस गरेका छन्। जेहोस्, यात्रा अनुभूतिसँगै भौतिक, सांस्कृतिक, ऐतिहासिक जानकारीको संयोजन प्रभावकारी छ।
लेखक घिमिरेको प्रस्तुतिगत सरलताभित्र लुकेको मिठासपूर्ण अभिव्यक्ति राम्रो छ। यात्रालाई सहज, स्वाभाविक बनाउने र त्यस ठाउँको आत्मीयता अनुभूति गराउने प्रमुख तत्त्व भाषा रहेछ। जब बुझ्ने–बुझाउने स्थिति टुङ्गिन्छ, त्यसपछि यात्रा निकै नीरस हुँदो रहेछ र कठिन पनि। पोर्टो रिकोको कुलेब्रा टापु जान खोज्दा लेखक दम्पतीलाई त्यस्तै भएको छ। भाषाको कारण गन्तव्य पुग्न असमर्थ हुँदाको क्षण उत्पन्न विचार कति शालीन छ। उनले झैँ असफलतामा धैर्य गरी सोच्ने हो भने मान्छेको आधा दुःख त्यसै हट्नेछ, “जीवनमा खोजेका कुरा सबै कहाँ पाइन्छन् र! पुग्न खोजेका सबै ठाउँहरूमा कहाँ पुगिन्छन् र! प्राप्ति मात्रै कहाँ हुन्छ सधैँ! … तर अप्राप्तिको पनि अलग आनन्द छ, अपूर्णताको पनि अलग रस छ। जान चाहेको ठाउँमा जान नपाएर के भो त? एउटा अनुभव त बटुलियो, स्मृतिहरू त सँगालियो … (पृ–३४)।”
गीत कवितामा एउटा यस्तो शक्ति हुँदो रहेछ, जब गद्यले विचार र अनुभूतिको प्रवाह थाम्न सक्दैन अनि कविता बन्ने रहेछ शायद। त्यही भएर हुन सक्छ, यदाकदा लेखक कवितात्मक हुन्छन्। उनको दृश्यचित्र उतार्ने शिल्प राम्रो छ। फ्लोरिडा राज्यको मध्यपूर्वी तटमा अवस्थित केनेडी स्पेस सेन्टर जाँदाको पारिवारिक यात्रामा म आफैँ अन्तरिक्ष पुग्दैछु जस्तो भान हुन्छ। नासाबाट मङ्गल ग्रहको यात्रा शीर्षकमा त्यस्तो हुन्छ। समय कहाँबाट कहाँ पुगिसक्यो। हामी नेपाली कहिले त्यहाँ पुग्ने होला? अझ पनि हामीलाई भोकसँग, आधारभूत आवश्यकता र अभावसँग जुझ्नमै ठिक्क छ। शासकहरू आफ्नो प्रभुत्व टिकाउन जनताको भोक र अभावमाथि राजनीति गर्छन्, जसले वैश्विक जगत्को गति कहिले बुझ्लान्? त्यो भर्चुअल अन्तरिक्ष यात्रा विषयक पाठ पढाउन सके उनीहरूको केही बुद्धि फिर्थ्यो कि?
मङ्गल ग्रहको मिसन, चन्द्रमाको यात्रा, क्षुद्रग्रहको भ्रमण र सौर्यमण्डल बाहिरको अन्तरतारकीय यात्राजस्ता रोमाञ्चक राइडहरूमध्ये लेखकले मङ्गल ग्रहको मिसन रोज्छन्। उनीसँगै पाठकलाई पनि आतुरी हुन्छ मङ्गल ग्रहमा पुग्न। जतिखेर अत्याधुनिक मोसन सिट र प्यानोरामिक डिजिटल स्क्रिनको प्रयोगले प्रक्षेपणको वास्तविक अनुभव भएको उनी यसरी बताउँछन्, “नीलो आकाश र सेता बादलबीच हिँड्दा कृत्रिम कम्पन, जीफोर्स र ध्वनि प्रभावहरूले मङ्गल मिशनमा हुने साँच्चैको भौतिक संवेदनाको झलक दिँदो रहेछ। प्रक्षेपणपछि तीव्र गतिमा अन्तरिक्ष यात्रा गराउने स्पेसक्राफ्टले हामीलाई मङ्गल ग्रहतर्फ पुर्यायो। हामीले सौर्यमण्डलको रोमाञ्चक दृश्यको अनुभव गर्यो। सौर्यमण्डलका विभिन्न ग्रह र ताराहरू छिचोल्दै, केहीबेरमा पृथ्वीबाट देखिनेभन्दा ठूलो रातो गोलो डल्लो देखियो- मङ्गल ग्रह त्यही रहेछ (पृ–५८)।”
यस अघि पनि मैले भर्चुअल अन्तरिक्षबारे पद्मश्री सानु लामाकृत ‘आँगन पर्तिर–२’ मा यस्तै रोमाञ्चक यात्रा पढेको थिएँ। स्रष्टा घिमिरेले नियात्रालाई शुष्कताबाट बचाउन आफ्नो अनुभूति, विचार र परिदृश्यलाई आपसमा मिसाउँदै जोड्दै कलात्मक किसिमले प्रस्तुत गरेका छन्। यसै क्रममा अर्को यात्रा छ संसारकै मनोरञ्जनको राजधानी मानिने लस भेगसको; जसलाई क्यासिनोको राजधानी, उज्यालोको शहर, विवाहको राजधानी, चाँदीको शहर भनेर पनि चिनिन्छ। त्यस्तै अमेरिकाको खेल मैदान पनि भन्ने गरिन्छ।
नियात्रामा कहीँकतै अतीत मिसिएर वर्तमान अर्थिएको छ। त्यस्तै लेखकसँग जीवन बाँच्ने कला र दर्शन बडो सुन्दर छ। अनि उनको शब्द छनोट आफ्नै पाराको आकर्षक छ। त्यो नै उनको लेखकीय पहिचान हो। एक ठाउँ उनी भन्छन् ‘श्रीमतीजी रमरम रिसाएर बसेकी रहिछिन्।’ त्यस्तै अर्को ठाउँ भन्छन्, ‘यस्तै हो जीवन मृत्युको डिलैडिल हिँड्नुपर्छ।’
मानिसले जुन कुरालाई नराम्रो ठानेको हुन्छ वास्तवमा त्यो नराम्रै भने हुँदैन। उसको बुझाइमा त्यस्तो लागेको मात्रै हो। श्रीमती रिसाउँदै गर्दा लेखकलाई लाग्छ, “जीवनमा माया, प्रेम, हर्ष, खुशी मात्रै हुँदैन; आवेश, उत्तेजना, रिस, राग, विषाद र अवसादहरू पनि हुन्छन्। यी दुवै किसिमका संवेग, संवेदना र ऊर्जाहरूलाई ऐनमौकामा सन्तुलनमा राख्न सक्नुपर्छ। अनि मात्रै जीवनलाई मधुर लयमा हिँडाउन सकिन्छ। उनी रिसाउँदा म नरिसाउन कोसिस गर्छु … (पृ–७०) ।”
मानिस प्रायः सुन्दरता असुन्दरताका कुरा गरिरहेको हुन्छ। तर थाहा छैन; वास्तवमा सुन्दरता के हो? केलाई सुन्दर भन्ने? अनि असुन्दर केलाई भन्ने? साँचो अर्थमा सुन्दरता भनेको अरू केही होइन केवल कला रहेछ जसले कुनै पनि दृश्यमा, वस्तुमा सुन्दरता भर्ने गर्छ। त्यो दृश्यलाई हेर्न जान्नु पनि आफैँमा एउटा कला रहेछ। दृष्टि स्वयं कला रहेछ। त्यस्तै कलाको अनुपस्थित क्षण नै असुन्दरता रहेछ। कुरा त्यति मात्र होइन त्यसलाई हेर्ने धारणा (विचार)ले पनि सुन्दर र असुन्दर निर्माण गर्ने रहेछ। भनेपछि विचार पनि आफैँमा एउटा कलात्मक पक्ष रहेछ। सकारात्मकता त्यस वस्तुको कला या सुन्दरता हो भने नकारात्मकता असुन्दरता। घिमिरेको कृति पढ्दा यस्तै केही अनुभूति हुन्छ।
लस भेगस पुगेको तेस्रो दिन लेखक दम्पती ग्रान्ड क्यान्यन पुगेका छन्। कोलोराडो नदीले लाखौँ वर्ष लगाएर निर्माण गरेको क्यान्यन कति अद्भुत छ, “अमेरिकाको एरिजोना राज्यमा पर्ने क्यान्यन ४४६ किलोमिटर लामो, २९ किलोमिटर चौडा र १८५७ मिटर गहिरो छ। संसारको सबैभन्दा ठूलो क्यान्यन तिब्बतको यार्लुङ स्याङ्पो ग्रान्ड क्यान्यन हो भने सबैभन्दा गहिरो क्यान्यन नेपालको कालीगण्डकीको गल्छीलाई मानिन्छ, जो ६४०० मिटर गहिरो छ (पृ–८०)।”
लुम्बिनीको नाम लिँदा मात्रै पनि नेपालीलाई कत्रो गर्व लाग्ने कुरा छ। सिद्धार्थ गौतमलाई सम्झिँदा मात्रै पनि जगत् श्रद्धाले नतमस्तक हुन्छ। उनको नाम उच्चारण गर्दा मात्रै पनि आफूलाई पवित्र ठान्छ। त्यस्ता महान् पुरुष जन्मिएका ठाउँको नागरिक हौँ भन्न पाउनु आफैँमा कत्रो गौरवको कुरा छ। हामी गौरवान्वित हुन जान्नुपर्छ।
संसारकै तेस्रो ठूलो ग्रान्ड क्यान्यनमा प्राकृतिक गुफा पनि उस्तै रहस्यमय छन् जहाँ आदिवासी नेटिभ अमेरिकनहरू लगभग बाह्र हजार वर्षदेखि बस्दै आएको इतिहास पाइन्छ लेखक बताउँछन्। लाग्छ मानिस जति सभ्य हुँदै गयो उति क्रूर र अमानवीय हुँदै जाने रहेछ। ज्यादा स्वार्थ र अपरिमेय आकाङ्क्षाले मानिसको संवेदना मर्दै जाने रहेछ। अनि त ऊ जस्तै दुष्टता घटाउन पनि पछि पर्दैन। ती ह्वालापाईहरूले भोग्नु परेको बर्बरतापूर्ण इतिहासले यही देखाउँछ। मानव इतिहासमा आजको दिनसम्म जे जति सभ्यता निर्माण हुँदै आयो त्यसको पछाडि कति धेरै क्रूरता र बीभत्सताका इतिहास पनि कोरिएका छन् जसको कुनै हिसाब छैन। जस्तो कि ती आदिम जाति (ह्वालापाई) बस्दै आएको ठाउँ जहाँ सुन तथा बहुमूल्य खानीहरू छन् भन्ने थाहा पाएपछि तिनीहरूलाई जबरजस्त स्थानान्तरण गरिन्छ। यातनापूर्ण तरिकाले बसोबास सारिन्छ, सँगै उनीहरूको परम्परा तथा धर्म संस्कृतिमाथि प्रतिबन्ध लगाइन्छ। उनीहरूको भाषा खोसिन्छ। आखिर सभ्यता भनेकै यही रहेछ।
लेखक र उनकी श्रीमती वर्षा ग्रान्ड क्यान्यन वेस्टको इगल पोइन्टमा रमाउँदै गर्दा मलाई एक किसिमको ईष्र्या लाग्छ। म पनि त्यहाँ पुग्न पाए! त्यो मनमोहक दृश्य माझ स्वर्ग त्यता कतै हुनुपर्छ। जलविहार गर्दै बहामास पुग्ने क्रममा कार्निभल क्रुजभित्रको दृश्य पनि उस्तै लाग्छ। मानौँ त्यो क्रुजभित्र स्वर्ग छ; त्यसदेखि बाहिर अर्को कुनै संसार छैन भनूँजस्तो लाग्ने। सुन्दर कुरा वर्णन गर्न सुन्दर कलाको जरुरत पर्ने रहेछ। कला भएन भने त्यसको सुन्दरता त्यसै हराएर जान्छ।
पानीमाथि तैरिएको यात्रा निरन्तर गतिशील छ। तर पनि क्रुजभित्रको संसार स्थिरतामा घटिरहे जस्तो लाग्छ। निद्राबाट ब्युँझँदा लेखक झस्याङ्ङ हुँदै भन्छन् ‘ए म त पानीमाथि बग्दैछु नि!’
त्यसपछि दोस्रो खण्डको यात्रा नेपाल, भारत हुँदै दक्षिण कोरियाली भूमिसम्म पुगेको छ। डायास्पोरिक जीवनमा अभ्यस्त हुँदै गएपछि आफ्नै भूमिमा पनि विदेशी पर्यटकजस्तो भइँदो रहेछ। लेखक घिमिरे पशुपतिनाथको यात्रामा एक्लै छन्। जीवन र मरणको दृश्य एकसाथ देख्दै गर्दा उनलाई मृत्युसँग बडो गुनासो हुन्छ-
म चाहन्नँ, कुनै सपनाको विलय
म चाहन्नँ, कुनै आशाको प्रलय
म चाहन्नँ, कुनै धुवाँ जिन्दगी (पृ–१२४)!
*
यति हुँदाहुँदै पनि जीवनको अनिश्चितता र अनित्यतालाई उनले स्वीकार्न सकेका छन्। त्यससँगै अस्तित्वमाथि उनको प्रश्न छ, ‘के जीवन यही हो? जन्म, सङ्घर्ष र अन्त्यमा धुवाँ अनि खरानी?’
सौन्दर्य र चुनौती किन यति धेरै विरोधाभासी हुने गर्छन्? सौन्दर्यले सहज, स्वाभाविकताको आह्वान गर्नुपर्ने होइन? किन कठिनाइ निम्त्याउने गर्छ? सुन्दरताले चुनौतीको आमन्त्रण किन गर्छ? प्रकृतिको स्वभाव एकातिर छ, मान्छेको गतिविधि अर्कोतिर। स्वभाव र व्यवहार फरक परेपछि; विपरीतताले जहिल्यै चुनौती सिर्जना गर्ने रहेछ।
अनि अबको यात्रा छ पोखराको। प्रकृतिको अनुपम सिर्जनाले भरिपूर्ण नेपाल आफैँमा एक दर्शनीय भूमि लाग्छ। प्रकृतिको यो बेजोड साजसज्जालाई उचित व्यवस्थापन गर्ने हो भने हामी वरदान प्राप्त देशका नागरिक हुन सक्ने थियौँ। देवकोटाको भाषामा भन्ने हो भने ‘विश्वकै आँखाको नानी’ हुने थियौँ। सोच्छु, कुनै दिन के त्यस्तो समय आउला, जतिखेर हामी आफैँप्रति गौरवान्वित हुन सकौँ।
लेखकको भारत यात्रा उस्तै अविस्मरणीय बनेको छ। माता पिताको स्वास्थ्य जाँचसँगै तीर्थाटनको सिलसिलामा उनी नयाँ दिल्ली, बनारस हुँदै ताजमहल, उता सारनाथ लगायत अनेक ठाउँ पुगेका छन्। धर्म, संस्कृति, मठ, मन्दिरका दृष्टिले भारत बडो समृद्ध मुलुक रहेछ। घिमिरेको यात्राबाट त्यो थाहा हुन्छ। यसै सिलसिलामा यात्रामा भेटिएका एक पुरुषको अभिव्यक्ति उल्लेख गर्दै उनी भन्छन्, “उनले विश्वनाथ मन्दिर नजिक रहेको पाँच नदीको सङ्गम स्थल मानिने सन्त कबीरको बासस्थान पञ्चगङ्गा घाट, चौसट्ठी घाट, त्रिलोचन घाट, लाल घाट, बचराज घाट, जैन घाट, मानमन्दिर घाट, सोमेश्वर घाट हुँदै सबैभन्दा उत्तरी छेउको राज घाटदेखि दक्षिणी छेउको—८० करोड देवताको वास रहेको विश्वास गरिने असी घाटसम्मको बयान गरे (पृ–१६९)।”
पछिल्लो समय भारत जुन गतिमा अघि बढेको छ, त्यो देख्दा खुशी लाग्छ। छिमेकीको खुशी हाम्रो आफ्नै खुशी हो। अर्थतन्त्रका हिसाबले अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो तथ्याङ्क अनुसार भारत विश्वकै छैटौँ स्थानमा पुगेको छ। अझ पछिल्लो प्रक्षेपण अनुसार चौथो स्थानमा रहेको देखिन्छ। तर हालको विश्वव्यापी आर्थिक उतारचढावका कारण यसको आकार छैटौँ स्थानमा पुगेको भनिन्छ। कुनै दिन भारत अझ माथि उठ्न सक्ला, तर त्यो मनोविज्ञान त्यति सजिलै उठ्ला जस्तो लाग्दैन। झन्डै दुई सय वर्ष लामो उपनिवेश भोगेको हुँदा त्यसको प्रभाव अझै कायम छ। नेपालप्रति उसले गरेको व्यवहारमा त्यो देखिन्छ। किन्तु लेखक घिमिरेले भारतलाई त्यसरी हेर्न खोजेका छैनन्। उनी सकारात्मक छन्। हामी सकारात्मक हुन सक्नुपर्छ। नकारात्मकता त्यस्तो केही छैन। भारत र नेपाल धेरै कुरामा समान र निकटता पनि गहिरो छ। आखिर एउटै उदर (भारतवर्ष) को दाजु भाइ हो नि त।
आफ्नोपन, आफ्नो भूमि किमार्थ अहार्दिक हुन सक्दैन। असहिष्णु कदापि हुँदैन। भगवान् बुद्धको जन्मभूमिमा पुग्दा नियात्रात्मक आलेखमा ठीक यही अनुभूति हुन्छ। भारतको यात्रा सकेर नेपाल फर्किँदै गर्दा लेखकलाई त्यो रात्रिकालीन समय पनि बडो निर्भय लाग्छ। अपार आनन्द र सुरक्षाबोध एकसाथ समहूस हुन्छ। आफ्नो देश यति धेरै मातृवत् हुँदो रहेछ कि जसको शब्दमा वर्णन हुनै सक्दैन।
लुम्बिनीको नाम लिँदा मात्रै पनि नेपालीलाई कत्रो गर्व लाग्ने कुरा छ। सिद्धार्थ गौतमलाई सम्झिँदा मात्रै पनि जगत् श्रद्धाले नतमस्तक हुन्छ। उनको नाम उच्चारण गर्दा मात्रै पनि आफूलाई पवित्र ठान्छ। त्यस्ता महान् पुरुष जन्मिएका ठाउँको नागरिक हौँ भन्न पाउनु आफैँमा कत्रो गौरवको कुरा छ। हामी गौरवान्वित हुन जान्नुपर्छ। आफ्नो मर्यादा आफैँले कायम गर्नुपर्छ। मर्यादा कसैले दिएर दिइने कुरा होइन, त्यो त आफैँले निर्माण गर्नुपर्छ। घिमिरेको नियात्रामा यस्तै केही अनुभूति हुन्छ। लुम्बिनी शान्ति स्तूपको शिलालेखमा उल्लेख भएको कुरा अब व्यवहारमा उतार्ने समय आएको छ। विश्वमा शान्ति, मैत्री र सद्भावना फैलाउने, पृथ्वीलाई शुद्ध र स्वच्छ भूमि बनाउने उद्देश्यले नै शान्ति स्तूपको निर्माण भएको पाइन्छ।
आफूले चाहँदैमा जीवन कहाँ नियोजित हुँदो रहेछ र? आफूले एक थोक योजना गरेको हुन्छ, भरे अर्कै आकस्मिकता घट्छ। दक्षिण कोरियामा चौध घण्टा त्यस्तै एक यात्रा हो, जुन अनियोजित तरिकाले एउटा संयोग बन्छ। लेखक दम्पती अमेरिकाबाट कोरिया हुँदै नेपाल आउँदा जाँदाको यात्रा त्यसरी आकस्मिक तरिकारले घट्छ।
सौन्दर्य र चुनौती किन यति धेरै विरोधाभासी हुने गर्छन्? सौन्दर्यले सहज, स्वाभाविकताको आह्वान गर्नुपर्ने होइन? किन कठिनाइ निम्त्याउने गर्छ? सुन्दरताले चुनौतीको आमन्त्रण किन गर्छ? प्रकृतिको स्वभाव एकातिर छ, मान्छेको गतिविधि अर्कोतिर। स्वभाव र व्यवहार फरक परेपछि; विपरीतताले जहिल्यै चुनौती सिर्जना गर्ने रहेछ। लेखक र उनकी पत्नी वर्षा फेब्रुअरी महिनाको कोरियाली आकाशमा उड्दै गर्दाको अवस्थाले यही बताउँछ। ज्यादा ठन्डीले सियोल हुँदै बग्ने हान नदी बग्दाबग्दै थाकेर निदाएझैँ देखिन्छ। आकाशबाट हिउँ ओडेर बसेको कोरियाली भूमि नियाल्दा सौन्दर्यको जुन आनन्द छ, त्यति नै सन्देह र चुनौती पनि। कतै प्लेन अवतरणमा बाधा पर्ने हो कि? दुर्घटना सिर्जिने पो हो कि? मान्छे प्रकृतिसँग यसरी दिनरात सिँगौरी खेल्छ, “… कोरियन एयरलाइन्सको बोइङ विमान इण्डियन इन्टरनेसनल एयरपोर्टमा ओर्लिनै लाग्यो। एयरपोर्टका कर्मचारीहरू दौडधुप गर्दै हिउँ सोहोरेर रनवे सफा … (पृ–१९१)।”
विदेश भ्रमणको सिर्जना पढ्दा अनायासै मन कताकता चसक्क दुखेको आभास हुन्छ। अचानक त्यसरी दुख्नुको कारण हेर्दा सामान्य लागे पनि एकदम पीडाबोध हुन्छ। त्यसो त सामान्य कुरा कहाँ हो र? गरिबी र लघुताले खुम्चिनुपर्ने विवशता कदापि सामान्य हुन सक्दैन। एक समय हामीसँगै विपन्नता भोगेको कोरिया फड्को मारेर कहाँ पुगिसक्यो, जहाँ हामी आफ्नो जीवन खोज्न पङ्क्तिबद्ध भएर लागेका छौँ। कस्तो पीडादायी अवस्था! हामी अघि बढ्नभन्दा पछि खिचिन सहज मान्छौँ। प्रतिदिन नेपाली नागरिकको थाप्लामा वैदेशिक ऋणको भार थपिएको थपिएकै छ। हाम्रो टाउकामा एकातिर आफ्नो घर व्यवहारको बोझ छ, अर्कोतिर वैदेशिक ऋणभार। अनि त अरूको वैभव देख्दा मन उदासीन खोज्छ। यसो हुनु ईर्ष्या तथा डाहको असर होइन। हामी किन जगत्को चालमा चाल मिलाउन सकेनौँ भन्ने हो।
रोलेक्स घडीजस्ता विश्वकै प्रसिद्ध र महँगो सामान बेचिने क्षेत्र, ब्यानहोफस्ट्रासे स्ट्रीटका लक्जरी पसल, जुरिच चिडियाखाना, स्वीस राष्ट्रिय सङ्ग्राहलय हुँदै अल्वर्ट आइन्सटाइनले पढेका र पढाएका युनिभर्सिटी अफ जुरिच हुँदै अगाडि बढ्ने क्रममा स्वीस बैङ्क देख्दा लेखकले अवश्य देशको भ्रष्टाचार र अनियमितता सम्झिएको हुनुपर्छ। तर उल्लेख गरेका छैनन्। दुनियाँभरिका धनीमानी नेताले पैसा थुपार्ने स्वीस बैङ्कलाई भने मज्जाले सम्झिएका छन्।
अबका बाँकी यात्रा युरोपतिरका छन् जस्तो फ्रान्स, स्वीट्जरल्याण्ड, ग्रीस हुँदै युकेको पारिवारिक यात्रा रमाइलो छ। लेखक भरिसक्य सचेत छन्। उनलाई थाहा छ, आजकल पाठकलाई ज्ञान तथा सूचनाको कुनै कमी छैन। ऊ अहिले कहीँ नगई विश्वभरको जानकारी राख्न सक्ने समय बाँच्दैछ। यस्तो बेला केही नयाँ जानकारी दिने स्रष्टाको अवसर खोसिँदै गएको छ। अब ऊ पाठक मैत्री हुनको लागि गर्ने साधना भनेकै केवल कलाको हुनेछ। कलामा नवीनता, हार्दिकता, निजी धारणा र काल्पनिकता नै उसको सिर्जनाको विषय हुनेछ। यस सूचनात्मक जगत्मा पाठक प्रियता आर्जन गर्न कठिन हुँदै गइरहँदा पनि लेखक सबल देखिन्छन्; त्यो पनि नियात्राजस्तो विधामा। साहित्यमा अहिले नियात्रा जुन रूपले फस्टाउँदै गएको छ, त्यति नै यसलाई आफ्नो अस्तित्वगत परिचय सशक्त बनाउन मुस्किल पर्दै गएको छ। वैश्विक जगत्को तीव्र गतिशीलताले यसो भएको छ। सबै यात्रामा छन्। आश्चर्य पार्ने ज्ञान, सूचना, रहस्य केही बाँकी छैन। पहिले पहिले नयाँ ठाउँ, नयाँ जानकारी ओसार्ने हुँदा नियात्रा लोकप्रिय थियो, अब त्यति नहुन सक्छ।
यति हुँदाहुँदै पनि केही रहस्य र केही नयाँपन त सधैँ रहिरहनेछ। रात्रिको समय लेखक पेरिस पुग्ने आकाश उड्दैछन्। यस्तैमा एउटा नर्दन लाइट्स जस्तो अद्भुतको प्रकाश नृत्यले उनी रोमाञ्चित हुन्छन्, “… नर्दन लाइट्स जसलाई अरोरा बोरेलिस पनि भनिन्छ. … पृथ्वीको ध्रुवीय क्षेत्रमा देखिने प्राकृतिक प्रकाशको प्रदर्शनी हो। सूर्यबाट आएका आवेशित कणहरूले पृथ्वीको चुम्बकीय क्षेत्र र आयुमण्डललँग अन्तर्क्रिया गर्दा उत्पन्न हुन्छ। यी कणहरू अक्सिजन र नाइट्रोजनसँग ठोक्किँदा हरियो, रातो, बैजनी र नीलो जस्तो रङ्गहरू देखा पर्छन् (पृ–२००)।”
कुनै पनि देशको जीवित अस्तित्व राजनैतिक सिमानाले भन्दा पनि उसको राष्ट्रियताले निर्धारण गर्ने कुरा रहेछ। भाषा, धर्म, संस्कृतिसँगै राष्ट्र प्रेम, जाति प्रेम र त्यस देशको समग्र पहिचान नै उसको राष्ट्रियता रहेछ। जब कुनै पनि देश तथा जातिले आफ्नो अस्तित्वमाथि गौरव गर्न सक्दैन, त्यतिखेर राष्ट्रियता कमजोर हुँदै जानेछ। त्यस्तो अवस्थामा राष्ट्र सशक्त हुन सक्दैन। राष्ट्रोन्नतिको लागि समृद्धिको जति खाँचो छ, त्यति नै अझ बढी राष्ट्रियताको खाँचो हुनेगर्छ। उसको बोलीचालीमा, खानपिनमा, रहनसहनमा र हरेक थोकमा उसको राष्ट्रियता बाँचेको हुन्छ जस्तो, “खाना केवल खाना मात्र होइन, बरु एउटा सांस्कृतिक अनुभव पनि हो। जहाँ पुगियो त्यहाँको विशेष खानेकुरा चाख्नुले त्यहाँको खाद्यसंस्कृति बुझ्न मद्दत गर्छ (पृ–२०३)।”
लेखक परिवार पेरिसका दर्शनीय ठाउँहरू जस्तो आइफल टावर, पटिट प्यालेस, आर्क दे ट्रायम्फ र त्यस नजिकै रहेको विश्वप्रसिद्ध फ्रान्सेली बेकरी लादुरी, लुभ्र म्यूजियम, लक्जेम्बर्ग गार्डेन, लक्जेम्बर्ग दरबार, प्यान्थियन स्मारकजस्ता अनेक ठाउँको आनन्दमा रमाउँछन्।
मेरो बुझाइमा विपन्नता तथा दीनहीन अवस्था भोगेका ठाउँका मानिस मात्रै चोरी डकैतीमा लाग्छन् भन्ने थियो। तर होइन रहेछ। यस्ता घटना जहाँ पनि घट्दा रहेछन्। पेरिस सहरमा लेखकलाई पाकेटमाराले झन्डै लुटेका। भनेपछि नकारात्मक वृत्ति मानिसको साझा विशेषता रहेछ। सुसम्पन्न, सभ्य, शिष्ट, शिक्षित जेजे भए पनि ऊभित्रको खराब वृत्तिलाई कुनै कुराले मेटाउन नसक्दो रहेछ। त्यो दबिएर बस्न सक्छ तथापि मेटिन सक्दैन रहेछ।
कला आफैँमा कति महान् कुरा रहेछ। व्यर्थ, निरर्थक, उपयोगहीन भनिएको वस्तुमा पनि कला मिसाउँदा त्यो कति उत्कृष्ट हुँदो रहेछ। पेरिसको क्याटाकोम्ब (कङ्कालहरूको सङ्ग्राहलय)ले यही बताउँछ। एक करोडभन्दा बढी मानिसका अवशेष सङ्ग्रह गरिएको सङ्ग्रहालय कस्तो होला, “अठारौँ शताब्दीको अन्त्यतिर पेरिसका चिहानभूमिहरू अत्यधिक भरिएछन्, जसका कारण जनस्वास्थ्यमा सङ्कट उत्पन्न भएछ। यो समस्या समाधानका लागि चिहानभूमिबाट निकालिएका अवशेषहरूलाई सहरमुनि रहेका परित्यक्त चुना–पत्थरका खानीहरूमा सारिएछ। यिनै अस्थिपञ्जर र हाडखोरहरूलाई कलात्मक रूपमा सजाएर अस्थिपञ्जर सङ्ग्रहालयमा परिणत गरिएको रहेछ (पृ–२१७)।”
पेरिस यात्रा सकेर लेखक परिवार अब स्वीट्जरल्याण्ड पुगेको छ। हाम्रा शासकहरूले पटक पटक लिने गरेको नाम जहाँ पुग्दा लेखक मन फुरुङ्ङ हुन्छ। उनलाई त्यहाँ आफ्नै देश घुमिरहेछु जस्तो आभास हुन्छ अनि कति कतिखेर भारतमा छु कि जस्तो पनि हुन्छ। स्वच्छ स्निग्ध जलधारा लिएर कलकल बगेको पानी देख्दा अनित्यताको दर्शनमा उनी डुब्न पुग्छन्, “नित्य देखिने प्रवाह त नित्य नहुँदो रहेछ, अनित्य पो हुँदोरहेछ, अनिरन्तर पो हुँदो रहेछ। हाम्रो मानव जीवनको प्रवाह पनि त्यस्तै छ। बाहिरबाट हेर्दा शरीर उही, जीवन उही तर हाम्रा सोच, चिन्तन र अनुभवहरू छिनछिनमा परिवर्तन भइरहन्छन्। त्यो नदीको प्रवाहजस्तै। जीवनको एउटै प्रवाह बगिरहेको जस्तो देखिए पनि हिजोको म र आजको म भित्रभित्रै परिवर्तन भइसकेको पो हुँदोरहेछ, नदेखिने गरी। एकछिनअघिका मेरा अनुभव र एकैछिनपछिका मेरा आफ्नै अनुभव पनि फरक पो हुने रहेछन् (पृ–२३४)।”
रोलेक्स घडीजस्ता विश्वकै प्रसिद्ध र महँगो सामान बेचिने क्षेत्र, ब्यानहोफस्ट्रासे स्ट्रीटका लक्जरी पसल, जुरिच चिडियाखाना, स्वीस राष्ट्रिय सङ्ग्राहलय हुँदै अल्वर्ट आइन्सटाइनले पढेका र पढाएका युनिभर्सिटी अफ जुरिच हुँदै अगाडि बढ्ने क्रममा स्वीस बैङ्क देख्दा लेखकले अवश्य देशको भ्रष्टाचार र अनियमितता सम्झिएको हुनुपर्छ। तर उल्लेख गरेका छैनन्। दुनियाँभरिका धनीमानी नेताले पैसा थुपार्ने स्वीस बैङ्कलाई भने मज्जाले सम्झिएका छन्।
त्यसपछिको अर्को गन्तव्य छ विश्व प्रसिद्ध लिन्ड्ट चक्लेट फ्याक्ट्रीको। फेरि त्यसपछिका अरू पनि गन्तव्य रहेका छन्। राजा त्रिभुवनको देहान्त भएको अस्पताल र अन्य केही सहरहरू घुम्ने इच्छा पूरा नहुँदा फेरि भ्रमण गर्न आउने वाचाका साथ लेखक बिदा लिन्छन्।
स्वीट्जरल्याण्ड यात्राकै निरन्तरतामा अब अर्को यात्रा छ ग्रिसको राजधानी एथेन्स सहर जहाँ निद्राबाट ब्युँझँदा लेखकलाई लाग्छ, “ओहो! म त महान् दार्शनिकहरूको देशमा पो रहेछु। सुकरात, प्लेटो, एरिस्टोटल जस्ता महान् दार्शनिकहरू, पाइथागोरस, युक्लिड, आर्किमिडिज आदि जस्ता महान् गणितज्ञ–वैज्ञानिकहरू, हिप्पोक्रेट्स जस्ता चिकित्सा विज्ञानका पिताहरू, पेरिक्लेस, अलेक्जेन्डर द ग्रेट, फिलिप सेकेन्ड जस्ता महान् विजेता सम्राट्हरू, सोफोक्लिज, होमर, साप्फो जस्ता महान् कवि–साहित्यकारहरूको देशमा पो ब्यूँझेँछु। पाश्चात्य धर्म, इतिहास, दर्शन, संस्कृति र सभ्यताको जरा गाडिएको एक प्राचीन देश, ओलम्पिक खेलको जन्मदाता ग्रिसको राजधानी एथेन्स छेउछाउ पो आइपुगेछु। … हतार–हतार बाहिर निस्कन्छु ती गौरवशाली मानिसहरूले टेकेको जमिन टेक्न, ती महान् मानिसहरूले ओढेको आकाश ओढ्न। सुकरातका पाइलाका डोबहरू हेर्न (पृ–२४३)।”
‘अज्ञानताको स्वीकार गर्नु नै साँचो ज्ञानको सुरुवात हो’ भन्ने महान् पुरुष सुकरातको देश। ‘म जान्दछु कि म केही पनि जान्दिनँ’ भन्ने सुकरातको देश जहाँ पुग्दा कहीँकतै लेखकलाई भ्रान्ति भएको अनुभूति हुन्छ, “एथेन्सका साँघुरा गल्लीहरू, लहरै जोल्ठेर बसेका पुराना घरहरू, गर्मीले रापिएका मान्छेहरू, ट्राफिक नियम नमान्ने ड्राइभरहरू आदि कारणले एथेन्स पसेपछि मलाई युरोपमा छु जस्तो लागेन। नेपाल, इन्डियातिरै कतै छु कि जस्तो पनि लागिरह्यो घरीघरी (पृ–२४५)।”
*
‘तीन महादेशका केही तरङ्ग’ पढ्दा ‘कृति’ मात्र होइन लेखक स्वयं पनि सँगसँगै पढिन्छन्। उनीसँग कला अध्ययनको कस्तो गहिरो ज्ञान रहेछ। एक्रोपोलिस म्यूजियम हेर्ने क्रममा त्यो ज्ञान यसरी प्रस्तुत हुन्छ, “… युरोप यात्रामा धेरै सङ्ग्रहालयहरूमा र अन्य स्थानमा पनि सर्वाङ्ग नाङ्गा मूर्तिहरू धेरै देखिए। यहाँ पनि नाङ्गा मूर्तिहरूको बाहुल्य देखियो। धेरै पुराना नग्न मूर्तिहरू पनि देखिए। जसरी बाल बच्चाको नग्नतामा भद्दा यौनिकता र लज्जाबोध हुँदैन, त्यसैगरी कलाको नग्नता पनि ग्राह्य हुँदोरहेछ। यहाँ पनि नाङ्गोपनले पवित्रता र निर्दोषिताको प्रतिनिधित्व गरेको अनुभूत भयो (पृ–२५३)।”
अब अन्तिम यात्रा रहेको छ लण्डनतिर बरालिँदा। एक समय विश्वलाई नै आफ्नो अधीनमा राख्ने देश पुग्दा ठिहिर्याउने ठण्डीसँग संवाद गर्दै लेखक भन्छन्, “चिसो रगत बग्छ कि के हो बेलायतको मुटुमा।” त्यो चिसो मुटुमा अनेक ठाउँ घुम्दै लेखक परिवार मइनै मइन्को प्रतिमा भएको म्यूजियम पुग्छन्। त्यसपछि समयको यात्रा गर्न स्पिरिट अफ लण्डन राइड नामको इन्डोर राइड चढ्छन्, “सुरुमा लण्डनको प्रसिद्ध कालो ट्याक्सी आकारको राइड गाडीमा बस्न लगाइयो। जसले हामीहरूलाई लण्डनको इतिहासको यात्रामा लिएर गयो। १६ औँ शताब्दीतिरका पुराना दृश्यहरूबाट सुरु भएको यो यात्रा लण्डनको ऐतिहासिक आगलागीका दृश्यहरू हुँदै १९ औँ शताब्दीको औद्योगिक क्रान्ति र समाज विकासको झलक देखाउँदै अघि बढ्यो, दोस्रो विश्वयुद्ध हुँदै लण्डनको आधुनिकतामा बदलिएको स्वरूपसम्म आइपुग्यो (पृ–२६४)।”
बेलायत पुग्दा नेपालमै छु जस्तो भान हुने नेपाली रहनसहन, पहिरन, व्यापार, व्यवसाय, संस्कार, संस्कृति देख्दा मानौँ नेपाल टुक्रिएर केही अंश त्यता उछिट्टिएको जस्तो लाग्ने। बेलायतको मिनी नेपाल पढ्दा खुशी लाग्यो जहाँ नेपाली मेयर हुनु कत्रो हर्षको कुरा! कुनै पनि जातिलाई आफ्नो जातीय पहिचानप्रति कति धेरै आत्मीय अनुभूति हुने रहेछ। विश्वको कुना कुनामा यसरी नेपालीत्व फैलिँदैछ। नेपाल र नेपाली जातिलाई चिनाउने अभियानमा लागेका सम्पूर्ण डायास्पोरिक नेपाली तथा ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानका अग्रणी धीरज राई, चित्रकार निमा दोर्जे, कलाकार मनीष श्रेष्ठजस्ता व्यक्तित्वप्रति शतशत नमन।
घुम्ने हेर्ने ठाउँ अनेक हुँदा अन्त्यमा सेक्सपियर जन्मिएको ठाउँ पुग्ने इच्छा अधुरै रहन्छ। उनको स्मृति गर्दै लेखक परिवारको पन्ध्र दिने युरोप भ्रमण त्यहीँ टुङ्गिन्छ। कृतिको आखिरीमा पाठकलाई आफैँले यात्रा गरेर विश्राम लिएजस्तो भान हुन्छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.