वालेनले संसदमा जवाफ दिने दिनै बाढीको आपत्

वालेनले संसदमा जवाफ दिने दिनै बाढीको आपत्

40
SHARES

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहलाई आपत् परेको छ। प्रतिनिधिसभामा पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तरको सामना गर्ने दिन अकस्मात् बाढी आएको छ।

दिउँसो १ बजे बस्ने संसद् बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने तयारीमा रहेका प्रधानमन्त्री शाहलाई रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा बुधवार बिहान बाढी गएलगत्तै आपत् परेको हो।

प्रधानमन्त्रीले संसद्मा सांसदका प्रत्यक्ष प्रश्नको जवाफ दिने तयारी गरिरहेका बेला रसुवामा अचानक आएको बाढीले सरकारको ध्यान तत्काल विपद् व्यवस्थापनतर्फ केन्द्रित भएको हो।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन भएको नेपाली सेनाले जनाएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बिहान करिब ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्‍याएको जानकारी प्राप्त भएको छ।

खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर त्रिशूली पुगेका छन् भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्‍याउन नेपाली सेनाको आपत्कालीन चिकित्सा उद्धार टोली एमआइ १७ हेलिकप्टरसहित मुभ भइसकेको छ।

धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएको छ भने गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटाइएको छ। क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ।

बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय इलाकामा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रभावितहरूको उद्धारका लागि सहकार्य गर्न समेत नेपाली सेनाले अनुरोध गरेको छ।

सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको बताएको छ। साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र) का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई प्रधानमन्त्री शाहले निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ। साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह गरिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन आग्रह समेत गरेको छ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले निर्देशन दिएलगत्तै सरोकारवाला निकायहरूले आफ्ना संयन्त्रहरू परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन्। जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन्।

प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि निजी कम्पनीका हेलिकप्टरहरूलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ।

यसरी प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा पहिलो पटक सांसदहरूका प्रत्यक्ष प्रश्नको सामना गर्दै जवाफ दिनुपर्ने दिनमै रसुवामा अकस्मात् बाढी आएपछि सरकारका लागि विपद् व्यवस्थापन अर्को ठूलो चुनौती बनेको छ। संसद्मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम एकातिर तय भइसकेको अवस्थामा अर्कोतर्फ बाढीबाट भएको क्षतिको उद्धार, खोज तथा राहतलाई तत्काल प्रभावकारी बनाउनुपर्ने परिस्थिति सिर्जना भएको हो।

*अपडेट* रसुवामा बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्‍याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ भने प्रधानमन्त्री शाहले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिएका छन्।

उनले यो विपद्को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोधसमेत गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
40
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.