“ढोँगी माता” कि हाम्रो पूर्वाग्रहको शिकार? पाथीभरा माता विवादले उठाएका गम्भीर प्रश्नहरू

“ढोँगी माता” कि हाम्रो पूर्वाग्रहको शिकार? पाथीभरा माता विवादले उठाएका गम्भीर प्रश्नहरू

270
SHARES

हालै सामाजिक सञ्जालमा “पाथीभरा माता” भनेर चिनिने एक व्यक्तिले फेसबुक लाइभका क्रममा विष सेवन गरेको घटनाले धेरैलाई स्तब्ध बनाएको छ। घटनाको पूर्ण सत्य, कानुनी पक्ष र स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी छ। तर यो घटनाले एउटा व्यक्तिको जीवन भन्दा पनि ठूलो प्रश्न हाम्रो समाजसामु राखेको छ- हामी कसैको आध्यात्मिक पहिचान, धार्मिक अभ्यास वा देवीशक्तिसँगको सम्बन्धलाई कुन आधारमा स्वीकार वा अस्वीकार गर्छौँ?

सामाजिक सञ्जालमा ती व्यक्तिविरुद्ध गरिएका धेरै आलोचनाहरूको सार एउटै थियो-“उनी पुरुष भएर माता कसरी हुन सक्छन्?”, “माता भएर विवाह किन गरे?”, “माता भएर मदिरा किन पिए?”, “माता भएर यस्तो लुगा किन लगाए?”।

यी प्रश्नहरू सतहमा सामान्य देखिए पनि भित्र गहिरो सांस्कृतिक र वैचारिक पूर्वाग्रह लुकेका छन्।

सबैभन्दा पहिले, “पुरुष भएर माता कसरी हुन सक्छ?” भन्ने प्रश्न नै नेपालको आफ्नै सांस्कृतिक इतिहाससँग मेल खाँदैन। नेवार समुदायसहित नेपालका विभिन्न परम्पराहरूमा पुरुषहरूले अजिमा, मातृका वा देवीशक्तिको रूप धारण गर्ने चलन शताब्दीयौँदेखि छ। मनमैजुको इन्द्रायणी अजिमा लगायत विभिन्न जात्रा र अनुष्ठानहरूमा पुरुषहरू नै देवीका प्रतिनिधि बन्छन्। तेस्रोलिङ्गी व्यक्तिहरूले पनि माता, झाँक्री वा दैवी माध्यमको भूमिका निर्वाह गरेका उदाहरणहरू विभिन्न समुदायमा पाइन्छन्।

बरु हामीले अर्को प्रश्न सोध्नुपर्छ-किन धेरै ठाउँमा देवीको भूमिका पनि पुरुषहरूले नै निर्वाह गर्न थाले? के इतिहासको कुनै चरणमा पितृसत्तात्मक संरचनाले महिलाहरूको धार्मिक नेतृत्व सीमित गरिदियो? के देवीको प्रतिनिधित्व गर्न समेत महिलाभन्दा पुरुषलाई बढी सामाजिक वैधता दिइयो? यो बहस हुन सक्छ, तर त्यसको उत्तर कसैलाई “पुरुष भएर माता” भन्दै अपमान गर्नु पर्छ भन्ने होइन।

दोस्रो प्रश्न खानपान र जीवनशैलीको हो। धेरैले मदिरा सेवन गरेको भिडियो देखाएर “माता हुन नसक्ने” निष्कर्ष निकाले। तर यो निष्कर्ष कुन धार्मिक परम्पराबाट आएको हो?

नेपालका नेवार, किरात, तामाङ, मगर, गुरुङ लगायत धेरै समुदायका धार्मिक अनुष्ठानहरूमा मासु, माछा र मदिरा देवी–देवताहरूलाई चढाइन्छ। अजिमा र शक्तिपीठहरूमा रक्सी चढाउने परम्परा आज पनि जीवित छ। तन्त्र र शाक्त परम्पराहरूमा त यस्ता वस्तुहरूलाई अपवित्र मानिँदैन। “मासु खाने आध्यात्मिक हुन सक्दैन” वा “रक्सी खाने माता हुन सक्दैन” भन्ने अवधारणा मुख्यतः पितृसत्तात्मक सन्यास परम्पराले निर्माण गरेको आदर्श हो, सार्वभौमिक आध्यात्मिक सत्य होइन। (मात्तिने गरी, बेहोस हुने गरेर वा लतमा परेर खानु भएन।)

त्यसैगरी विवाह गर्ने, परिवार बनाउने वा संसारमा रहने व्यक्तिले आध्यात्मिक साधना गर्न सक्दैन भन्ने धारणा पनि सबै परम्परामा लागू हुँदैन। नेपाल र दक्षिण एशियाका धेरै तान्त्रिक, शाक्त, सिद्ध, नाथ र स्थानीय आध्यात्मिक परम्पराहरूमा गृहस्थ साधकहरूको लामो इतिहास छ।

यसको अर्थ यो होइन कि जो कोहीले आफूलाई माता, गुरु वा अवतार घोषणा गरे भने समाजले प्रश्नै गर्नु हुँदैन भन्या पनि होइन। आलोचना, प्रश्न र सार्वजनिक परीक्षण लोकतान्त्रिक समाजका आवश्यक पक्ष हुन्। तर आलोचना र मानवीय अपमानबीच ठूलो फरक छ।

आज कुनै पनि संस्था छैन जसले अन्तिम रूपमा को “सच्चा” गुरु, योगी, माता, भिक्षु वा साध्वी हो भनेर प्रमाणपत्र दिन सकोस्। इतिहासमा समाजले सम्मान गरेका धेरै साधकहरू आफ्नो समयका विवादास्पद पात्र पनि थिए। नागा अघोरीहरू सामाजिक मान्यताअनुसार अस्वीकार्य देखिने अभ्यास गर्छन्, तर तिनैलाई कतिपयले सिद्धपुरुष मान्छन्।

त्यसैले कसैको आध्यात्मिकताको मूल्याङ्कन गर्दा हामीले बाहिरी पोशाक, खानपान, लिङ्ग वा वैवाहिक अवस्थाभन्दा गहिरा प्रश्नहरू सोध्नुपर्छ-के उसमा राग, द्वेष, मोह कम भयो? के उसले आफ्नो मनमाथि नियन्त्रण पाएको छ? के उसले करुणा, शान्ति र चेतनाको विकास गरेको छ? के उसले अरूलाई शोषण गरिरहेको छ कि सेवा गरिरहेको छ? (अब यसमा “पाथीभरा माता” कत्तिको सफल र इमानदार छन् उनैले जानुन्।)

तर पाथीभरा माता विवादको सबैभन्दा दुःखद पक्ष भनेको सामाजिक सञ्जालको भीड मानसिकता हो। हामी कुनै व्यक्तिको दाबी वा व्यवहारसँग असहमत हुन सक्छौँ। हामीले कठोर प्रश्न पनि सोध्न सक्छौँ। तर जब आलोचना “पितृसत्तात्मक सन्यास परम्परा”लाई मापदण्ड बनाएर त्यसमा मेल नखाने सबैलाई खराब देखाउने तराजुमा जोख्ने काम गर्छौ भने त्यो पूर्वाग्रह पूर्ण छ।

यो लेख कुनै व्यक्तिको बचाउ वा विरोधका लागि होइन। बरु एउटा आग्रह हो-आध्यात्मिकता, संस्कृति र विश्वासका विविध रूपहरूलाई केवल पितृसत्तात्मक सन्यास परम्पराको एउटै मापदण्डले ननापौँ। प्रश्न गरौँ, आलोचना गरौँ, प्रमाण खोजौँ। तर मानवताको सीमा ननाघौँ।

किनभने कहिलेकाहीँ “ढोँगी” भनेर सजिलै लगाइने आरोपभन्दा ठूलो समस्या हाम्रो आफ्नै पूर्वाग्रह हुन सक्छ।

समाचार शेयर गर्नुहोस्
270
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.