मनहरी खडका मनोहरको रहरमा रमाउन जाँदैछु पुतलीसडकको ग्रीनलिफ रेस्टुरेन्टमा। ग्रीनलिफ रेस्टुरेन्ट र नेपाली साहित्यबीचको हिमचिम र भेटघाट वर्तमान समयमा ह्वात्तै बढेको छ। किताब विमोचन होस् या कुनै साहित्यिक कर्म ग्रीनलिफ प्रायःको रोजाइमा परेको छ। सेवा पनि सन्तोषजनक छ यहाँको। खाना पनि सुस्वादु छ। होटल सञ्चालकदेखि यहाँ काम गर्ने कर्मचारीहरूको व्यवहार पनि लोभलाग्दो छ। २०८३-३-२६ को असारे बिहान छ। शुक्रबारको दिन छ। सिमसिम पानी पनि पर्दो छ। छाता छ ब्यागमा मन शान्त छ।
डाक्टर गोविन्दराज भट्टराई सरले बिहानै भन्नुभयो, ‘अनिता बहिनी ठीक आठ पन्ध्रमा कलङ्की मन्दिरमा आउनू होला, देवी पनि त्यही आउँछिन् सँगै जाऊँला।‘ देवी तिमल्सिना सरकी भाञ्जी। सर र मेडमसँग जाँदा मलाई पनि ढुक्क हुने भएकाले, किन गोडालाई दुःख दिनु सुन्धारादेखी हिँडेर। हतारिएर एक्लै जानुभन्दा त बौद्धिक समूहसँगै जाँदा नै केही ज्ञानगुनका कुरा सुन्न पाइन्छ। विद्वानको सङ्गत कहाँ खेर जान्छ र! अनि म पनि ओर्लिएँ कलङ्की मन्दिरमा।
घडीले ठीक आठ बजेको सूचना दिएको छ। सरहरू आउन अझ १५ मिनेटको समय बाँकी नै छ। नजिकैको घरको अगाडि पेटी छ खाली। छेउमा साग बेच्न बसेकी छन् मेरै उमेरकी महिला। म पनि टुसुक्क बसेकी छु। सिमेन्टको सफा पेटीबाट चिसो आउँदै छ। मन्दिरमा घण्टी बज्दो छ। भक्तालुहरूको ओहोरीदोहोरी छ। एकादशीको दिन भएर होला सुन्दैछु साग किन्दै गरेकाहरूको कुरा, ‘आज होइन भोलि हो व्रत। पूजा आज गर्छु व्रत चाहिँ भोलि लिन्छु। कर्कलो छ, चोखो खानलाई?‘ म पनि ढुक्क हुन्छु भोलि नै रहेछ व्रत भनेर। मर्निङवाकमा हिँडेका मान्छेहरू आ-आफ्नो रहरको रङ्गमा रङ्गिएका छन्। कोही हतारको रहरमा रमाएका छन्। कसैलाई सागको दाम घटाउने रहर छ। शहरको रहरबाट मनहरीको रहरलाई स्मरण गर्छु। बोल्नुछ बौद्धिक सभामा गएर। सानो आकारको उपन्यास रहर पढिसकेकी छु हिजै। उपन्यासको विषय वस्तु, पात्र, घटना र सारलाई स्मरण गर्दै कोर्छु मस्तिष्कमा रहरको कविता …
रहरै रहरको रङ्गीन रेल चढेर
अकस्मात् बूढो हुन्छ रहर बोकेको मान्छे
अन्त्यहीन रहरको राक्षसी रङ्गमञ्चमा
निमग्न निभाइरहन्छ अनेक भूमिका
रहरको अनेकौँ भुमरीमा
घुम्दाघुम्दै
बिर्सिन्छ आदिम रहर।
रहरैरहरको दलदलमा
धसिँदै, भासिँदै
रहरकै असंख्य तीरले
घायल भीष्मझैँ शरीर लिएर
सम्झिन्छ एक दिन-
आमाको गर्भभित्रको
त्यो विमल रहर।
सुन्न खोज्छ,
माधुर्यको मधुर मन्त्रणा,
परमशान्तिको असीम सानन्द
जिज्ञासाको जियालोले
भेट्छ कृष्णछिद्रमा
अन्त्यहीन आलोक
र देख्छ-
आफैँलाई पुनः
आमाको गर्भभित्र,
प्रार्थनामा जोडिएका
निर्मल हातसहित
त्यो दिव्य आलोकबाट
रहरहरूको अनन्त लस्करमा
मुस्कुराइ रहेको जीवनको
अन्तिम रहरमा विलिन हुने अभिप्सा …।
आखिर रहर नै रहरको कहर त रहेछ जीवन। रहर कहिले पूरा हुन्छ र! एकपछि अर्को रहरको लहरो झाँगिन्छ, फैलिन्छ। रहरकै पूर्तिमा मानव जीवन समाप्त हुन्छ। साग किन्ने ठाउँमा सुकिलो पोसाक लगाएका एक भद्र मान्छे आइपुग्छन्। चर्को छ बोली। मोलमोलाइ गर्छन् एक मुठा सागमा। साग बेच्ने दिदी मुस्कान मिसाउँदै बोल्छिन्, ‘एउटा मुठाको चालिस हो।‘ सुकिलो मान्छे कसिन्छ,‘ जे पनि भन्ने! कहीँ हुन्छ, चालिस रुपैयाँ!’ मूल्य बढी लाग्छ एक मुठा सागको। ऊ पत्याउँदैन ती दिदीको कुरा। भाउ महँगो भयो भन्छ।
पानीमा भिजेका गोडा समेट्दै दिदी मधुर बोल्छिन्,‘मिलाएर लैजानू न तीन वटाको सय रुपैयाँ दिनु न!’ सुकिलो मान्छे अझ घटाउन खोज्छ। हँसिलो मुहार पारेर साग बेच्ने दिदी मिल्दैन भन्छिन्। ऊ अझ ढिपी छोड्दैन …। मेरो मन खिन्न हुन्छ। उत्तिनैवेला देवी दिदी आइपुग्नुहुन्छ। हामी रमाउँछौ एकअर्कालाई हेरेर। सरको गाडी पनि आउँछ केहिबेरमा। उता कार्यक्रम ढिलो हुने छाँट देखेर लक्ष्मण गाम्नागे सर तारनतार फोन गर्नुहुन्छ। बिहानको जाम अलि बढी नै छ। धुकधुक गर्दै थापाथली पुगेका छौँ। गाडी हिँड्ने आस्टोकास्टो छैन। हत्तेरीका कस्तो जाम। हिँड्दैन त गाडी। पुनः लक्ष्मण सरकै फोन आउँछ गोविन्द सरको मोबाइलमा।
धन्न घिस्रिँदै नौ पन्ध्रमा पुग्छौँ ग्रीनलिफको सभाहलभित्र।
कार्यक्रम सञ्चालक हुनुहुन्छ चक्र दवाडी। विशेष छ प्रस्तुति। कार्यक्रम विनोदी हुने लक्षण देखिँदैछ। चक्र सर निकै गम्भैर भएर भन्नुहुन्छ, ‘किताबको अगाडि नै रहेछ एउटा त्रुटि। रहरको र अगाडि पछाडि भएछ।‘ सभा मुस्कुराउँछ आनन्दले। चक्र दवाडीको अभिनय साँच्चै जीवन्त छ। बिपी कोइरालाको डुप्लिकेटमा कति जीवन्तता थियो।
लक्ष्मण सरको स्वागत भाषण उस्तै रमाइलो छ। सिस्नोपानीको कार्यक्रम जस्तै स्वाद आएको छ। सभाहल भरिभराउ छ बौद्धिक उपस्थितिले। मुख्य अतिथि डा. तुलसी भट्टराई र विशिष्ट अतिथि प्रा.डा गोविन्दराज भट्टराई सरहरू पनि प्रशान्त मुहारमा सुन्दै हुनुहुन्छ। छेउमा हुनुहुन्छ युवराज मैनाली। लेखक मनहरी खडका, रमेश खनाल सबै हारलागेर अग्रस्थानमै बसेका छौँ।
मेरै पालो आउँछ अगाडि बोल्ने। म उभिएकी छु रोष्टममा रहरको पोयो खोल्न … अस्ति कलिङ साहित्य फेस्टिवलमा डाक्टर प्रतिभा राय आएकी थिइन्। उनको याज्ञसेनी निकै चर्चित उपन्यास छ। जसलाई दार्जिलिङकी बिन्धा सुब्बाले नेपालीमा अनुवाद गरेकी छिन्। उनै उपन्यासकारसँग सो समारोहमा सेवा भट्टराईले अन्तर्वार्ता लिएकी थिइन् जुन निकै उपलब्धिमूलक रह्यो। जसको अन्तिम प्रश्नको उत्तरले म निकै प्रभावित भएकी थिएँ। त्यो उत्तर हरेक नयाँ लेखकहरूको लागि प्रेरणादायी छ। आज मनहरी खडकालाई पनि म त्यही उत्तर पढेर सुनाउँछु …
‘उद्वेलनले नै मान्छेलाई लेखक बनाउँछ। जीवनमा के कमी छ त्यो नखोज। तिमी के लेख्न चाहन्छौ त्यसमा ध्यान देऊ। लेख मन छ भने लेख। कसले के भन्छ, कसले कस्तो आलोचना गर्छ, त्यसलाई ध्यान नदेऊ। आफ्नो अभिव्यक्तिमा ध्यान देऊ …।‘
हार्दिक बधाई छ उपन्यासकार मनहरी खडकालाई। पोहोर यही हलमा हलाल राइसको विमोचनमा पनि म उपस्थित भएकी थिएँ। एक वर्षभित्र अर्को कृति लिएर नेपाली साहित्यको आँगनमा आउने जुन रहर तपाईँले पाल्नुभएको छ त्यो रहर सधैँ हरियो रहोस् शुभकामना छ।
मान्छेलाई भौतिक रूपमा ध्वस्त पार्न सकिन्छ, तर उसको आत्मबल र हिम्मतलाई पराजित गर्न सकिँदैन भन्ने सन्देश छोड्न सफल छ मनहरीको रहर। यो उपन्यासभित्र ४५ वर्षकी नारी पात्र शक्तिशाली भएर प्रमुख रूपमा आएकी छिन्। अझ भनौँ नारी केन्द्रित छ उपन्यास। ५५ वर्षका पुरुष पात्रको मित्रता सामाजिक सञ्जालबाट झाँगिँदै गएको प्रसङ्गहरू बग्रेल्ती छन् उपन्यासमा। भौतिक भेटघाटबाट स्वरूपा र प्रशान्तको अतीत उद्घाटित भएको छ। उपन्यास पढ्दै गर्दा यस्तो लाग्छ आजको समयमा कोही नजिकको साथी चाहिन्छ, आफ्नो मको कुरा सुनाउने। मनभित्रको घाउ सन्चो पार्ने साथीको खाँचो छ तर सुन्ने कला भुल्दै गएको समाजमा प्रशान्त जस्तो पात्र कहाँ पाउनु जसले स्वरूपाको जम्मै कुरा ध्यान दिएर सुन्छ। प्रशान्त त मनोपरामर्श दाता जसरी नै एकाग्र भएर स्वरूपालाई सुन्छ। स्वरूपा पनि प्रशान्तको हृदयभित्र जमेर बसेको पीडाको हिउँ फुटाउन खोज्छे। रोप्न खोज्छे प्रेमको पुष्प तर जीवनको देउरालीमा पुगेको प्रशान्त आफ्नै मनलाई धोका दिन विवश छ। मनको कुरा खुलस्त राख्न हिचकिचाउँछ। संस्कार र परम्पराले बाँधेको मान्छे फुक्काफाल निर्णय लिन सक्दैनन्, शक्ति हातैमा आए पनि। अवसरले ढोका ढकढकाए पनि।
उपन्यासमा प्रेमको अनुराग अनुगुञ्जित छ तर पनि मौन छ प्रेमको आवाज। प्रेमको वास्तविक अर्थ नबुझ्दासम्म भौँतारिन्छ प्रेमको प्यासमा मान्छे। विवाह पनि प्रेमको माध्यम न हो तर विवाहित जोडी प्रेमिल नहुन पनि त सक्छन्! प्रेम र विवाह फरक कुरा रहेछ। प्रेम ईश्वरी तत्त्व हो भने विवाह सामाजिक बन्धन। यो बन्धनमा प्रेम हुन पनि सक्छ, नहुन पनि सक्छ।
सामाजिक परिबन्धले बाँधिएका परिपक्क पात्रहरूको मनको आवाज छ तर अव्यक्त। आफ्नै मनको पुकार सुन्न नसक्ने पात्र छन्। मनभन्दा माथि छ परिवार, समाज, नैतिकता, दायित्व। त्यसैले यो उपन्यासमा मान्छेको मात्र हैन परिवार,समाज र व्यक्तिको मनोवैज्ञानिक अवस्था, परिस्थितिको कथाहरू वास्तविकताको बरियोमा बेरिँदै अगाडि बढेको छ।
ठाउँठाउँमा संवादको गहिराइ यस्तो छ कि यी पात्रहरूको हातमा आध्यात्मिक चेतनाको चिराग छ। रहरहरूको शृङ्खलामा मानव जीवन हिँडेको छ। रहरभन्दा कर्तव्यमाथि विश्वास गर्छ समाज। अझ पुरुष पात्र प्रशान्त आफ्नो मनको कुरा सुन्न हिचकिचाउँछ तर निर्बन्ध छे स्वरूपा जो जीवनलाई उत्सव बनाएर हिँडेकी छ।
प्रश्न उठ्छ स्वरूपाको जीवन सधैँ उत्सवमय थियो त? कदापि थिएन। जसले दुःखलाई पचाउँछ उसको जीवन उत्सव बनाउँछ। जो लडेर पनि उठ्छ उसैले लामो यात्रा पार गर्छ। स्वरूपाको जीवनमा ग्रहण लगाएको थियो, शम्भुनाथले। शम्भुनाथ बसाइँको रिकुटे जस्तै छ तर रिकुटेभन्दा भिन्न पनि छ। रिकुटे लाहुरे हो शम्भुनाथ शिक्षक मात्र यति फरक छ।
शम्भुनाथको वासनाको अग्निलाई स्वरूपाले प्रेमको सूर्य ठान्छे। बाआमाको पवित्र प्रेमलाई त्यागेर हिँड्छे फूलको रस चुस्न आतुर भमरोको साथमा। जीवन देखेको जस्तो सरल रेखामा हिँड्दैन। जीवन भोग्दै जाँदा परिभाषित हुन्छन् अनेक जीवन। प्रेमको नादमा मोहित भएकी नादान स्वरूपालाई थाहै छैन शरीरको विज्ञान। मनको आवेग।
स्वरूपा त भर्खरै फक्रिँदै गरेकी कोपिला न हो। तर नियति या परिस्थितिले कोपिलामै चुँडिएकी घाइते कली हो। यौवनको अनुरागले छोपेको वेला विवेकको ढोका बन्द हुन्छ, हो त्यही ढोका बन्द भएको समयमा उडेकी हो अनिश्चित भविष्यको छालतिर।
तर शम्भुनाथ छली भए पनि, अपराधी भए पनि, धोकेबाज भए पनि, ज्ञानको झिल्कोमा झिल्सिएको नकटो हो। धन्न रिकुटे चरित्र भए पनि स्वरूपालाई शिक्षाको उज्यालोबाट वञ्चित गर्दैन। सिउँदोमा सिन्दूर हाल्न अन्कनाउने भोगीले स्वरूपालाई पढ्न चाहिँ उत्प्रेरित गर्छ बारम्बार। भगाएर दाङ ल्याएपछि पनि पढाउँछ आईकमसम्म। त्यसैले भिलेन हुँदाहुँदै पनि शम्भुनाथलाई धन्यवाद छ नत्र त लीलबहादुर क्षेत्रीकी सानीलाई झैँ भिरतिर धकेल्नुपर्थ्यो होला मनहरी खडकाले पनि। बसाइँकी सानी झैँ स्वरूपाले पनि देह त्याग गर्न खोज्दा कुनै मोटे कार्कीलाई जन्माउनुपर्थ्यो स्वरूपाको हात समाउन तर मनहरीको रहर अर्कै छ। आजकी सानी स्वरूमा आफैँ उभिन्छे डरलाग्दो खाडलबाट। खरानीबाट पुनः पन्छी बन्छे फिनिक्स। उत्साह, उमङ्ग र उज्यालोमा जीवन बाँच्छे र अरूलाई पनि हाँसेर जीवन जिउने कला सिकाउँछे। रिकुटेको जालबाट उम्किएर अन्धकारलाई चिर्दै, उमङ्ग मिश्रित प्रेमको ज्योति छर्छे चारैतिर। अनेक रहर पाल्दै अन्त्यमा जीवनलाई मायाजालबाट विमुक्त गर्दै आध्यात्मिक मार्गमा रमाउन पुग्छे।
यो उपन्यास सानो आकारको छ। पठनीय छ। नयाँ प्रयोग छ। आधुनिक समयको आवाज छ। तत्सम शब्दहरूको प्रयोगले भाषालाई मिठासपूर्ण बनाएको छ। अर्नेष्ट हेम्विङ्वेको दर्शनबाट यो कृति प्रभावित पनि छ ‘मानिस नष्ट हुन सक्छ, तर पराजित हुँदैन।‘ भन्ने सन्देश छोड्न सफल छ उपन्यास। साहस आत्मविश्वास, धैर्य, अपार इच्छाशक्ति भएकी नारी पात्र खडा गरेर आजको समाजसँग परिचित गराएका छन्। आधुनिक समय अनुसार हिँड्ने नारी पात्रलाई खडा गरेका छन् उपन्यासकारले जुन यो उपन्यासको बलियो पक्ष हो।
साधारण विषयवस्तु र घटनाबाट आरम्भ भएको कथा कतै यात्रा जस्तो पनि छ। कतै संस्मरण, जस्तो पनि छ। सम्बन्धको पृथक परिचय खोज्नका लागि प्रश्न छोड्न सफल छ उपन्यास। के परम्परा मात्र यथार्थ हो कि, नयाँ यथार्थ पनि निर्माण गर्नुपर्छ भन्ने मौन विद्रोह पनि छ उपन्यासमा। यो उपन्यासले उज्यालो क्षितिजतिर हेर्न अभिप्रेरित गर्छ।
सानो आकारको कृतिमा पनि निकै बियाँहरू छन्। केलाउन बाँकी पाटाहरू पनि नभएका होइनन्। कलाले अझ सजाएको भए पाठकहरू मोहित हुने थिए कि!
रहर साहित्यमा केवल सामान्य इच्छा मात्र नभई मानिसको भावना सपना र जीवनप्रतिको उत्साह गर्ने शब्द पनि त हो।
अन्तिममा इन्द्रबहादुर राईको भनाइ राख्दै मेरो वाणीलाई विश्राम दिन्छु। लेखकले अरूको पुस्तकहरू पढ्नै पर्ने रहेछ। जीवन र जगतलाई लेख्न अध्ययनको दायरा फराकिलो पार्नुपर्ने रहेछ। इन्द्र बहादुर राई पनि विश्वविख्यात लेखकहरूबाट निकै प्रभावित भएका रहेछन्। यसै मेसोमा उनले समरसेट ममको कथासङ्ग्रह पढेका रहेछन्। जुन निकै सरल। सररर बग्ने, बुझ्न पनि कठिन नहुने, पढ्दा आनन्द आउने भएकाले त्यसैको प्रभावमा बिपना कतिपय लेखेछन्। वीसवटा कथाको सङ्ग्रह करिब वीसदिनमा नै लेखि भ्याएछन्। उनी भन्छन् ‘विवेकमा त्यही आयो त्यही लेखेँ।‘
फेरि एकदिन एउटा पत्रिकामा समरसेटको अन्तरवार्ता देखेछन्। त्यसमा समरसेटले एउटा आश्चर्य प्रकट गरेका रहेछन्, ‘मैले त्यत्रोबिध्न पुस्तक लेखेँ। उपन्यास, कथा सङ्ग्रह प्रशस्त छन्, नोबल पुरस्कार पनि पाएँ तर किन समालोचकले मेरोबारेमा चाहिँ थोरै किताब लेखेछन्। उता हेमिङ्वे, विलियम फकनर, लरेन्सबारे ठेलीका ठेली लेखिँदैछन् , मेरो विषयमा चाहिँ किन थोरै?’
त्यस अन्तर्वार्ता लिने समालोचकको टिप्पणी पनि छापिएको रहेछ। समालोचकले यस्तो टिप्पणी गरेका रहेछ, ‘उनको बारेमा के लेख्नु त! सररर बुझिने छ। जति कथा छ त्यति छ। त्यस बाहेक केही छैन। गहिरिएर खोज्नुपर्ने पनि छैन, जति पढ्यो सकिइहाल्यो अनि के लेख्नु ?’ अन्तरवार्ता पढेपछि इन्द्रबहादुर राई तर्सिएछ। साँच्चै हामीले पनि तर्सिनुपर्ने रहेछ पुस्तक लेख्दाखेरि …।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.