नक्कली भुटानी प्रकरण : प्रतिवादीलाई सजाय, पीडितको रकम फिर्ता अझै अन्योलमा

नक्कली भुटानी प्रकरण : प्रतिवादीलाई सजाय, पीडितको रकम फिर्ता अझै अन्योलमा

“कानुनका कुरा हामीलाई थाहा छैन। त्यो न्यायाधीश, इजलास र न्यायपालिकालाई थाहा हुने कुरा हो। हामी व्यवहारिक रूपमा ठगिएका र घरबारविहीन भएका मानिस हौँ”

84
SHARES

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिका पठाइदिने आश्वासनमा रकम बुझाएका पीडितहरूले अदालतको पूर्णपाठको प्रतीक्षा गरिरहेको बताएका छन्।

प्रतिवादीहरूको सजाय निर्धारणको फैसला आइसके पनि आफूहरूले बुझाएको रकम कसरी फिर्ता हुन्छ, बिगो कसबाट असुल गरिन्छ र पीडितको पहिचान तथा क्षतिपूर्तिको विषय कसरी टुङ्गिन्छ भन्ने अन्योल कायमै रहेको उनीहरूको भनाइ छ।

पीडित रामकुमार रेग्मीले सजाय निर्धारणको आदेशमा बिगो असुलीबारे स्पष्ट उल्लेख नदेखिँदा पीडितहरूमा चिन्ता बढेको बताए। “अहिले ठ्याक्कै यही हो भन्ने अवस्था छैन। अदालतको पूर्णपाठ आएपछि मात्रै सबै कुरा स्पष्ट हुन्छ,” उनले पहिचानसँग भने।

रेग्मीका अनुसार आफूहरूले पैसा मात्रै गुमाएको होइन, ज्यानसमेत जोखिममा परेको थियो। “मृत्युसँग लडियो, पैसा त गुम्यो,” उनले भने।

उनले प्रतिवादी सन्देश शर्माले तीन करोड रुपैयाँको चेक दिएको, अरूलाई पनि चेक दिन लगाएको र त्यसकै आधारमा राज्यपक्षसमेत मिलेर आफूमाथि बैङ्किङ कसुर (चेक अनादर) सम्बन्धी मुद्दा दायर भएको विगत स्मरण गरे।

“ममाथि यति धेरै अन्याय भएको छ, त्यो भन्न सक्दिनँ। अहिले पनि धेरै पीडा हुन्छ,” उनले भने। आफूविरुद्ध साङ्घातिक आक्रमणसमेत पटक–पटक भएको उनको दाबी छ।

अदालतको कानुनी प्रक्रिया, न्यायिक क्षेत्राधिकार र न्यायाधीशको निर्णयप्रति सम्मान रहेको उल्लेख गर्दै उनले पूर्णपाठ नआउँदासम्म अन्तिम निष्कर्ष निकाल्न नहुने बताए।

बिगो कसुरदारबाट कसरी असुल हुन्छ भन्ने विषय न्यायाधीशको निर्णयमा निर्भर रहने उनको भनाइ छ। यद्यपि उनले फैसलामा केही व्यक्तिको नाम छुटेको हुनसक्ने सङ्केत आफूले सुनेको बताए। समीर लामिछाने, जसको ट्राभल डकुमेन्ट आइसकेको थियो, र जाहेरीमा उल्लेख गरिएका बिराज पाण्डेको नाम छुटेको भन्ने सूचना आफूले सुनेको भए पनि पूर्णपाठ नआएसम्म त्यसबारे पुष्टि गर्न नसकिने उनले बताए। उनका अनुसार मनोज केसीको नाम पनि छुटेको भन्ने सूचना पाएका छन्।

रेग्मीले आफ्नो परिवारका पाँच जना सहित १५ जनाको जाहेरी दिएको बताए। परिवारको रकम मात्रै एक करोड दुई लाख ५० हजार भए पनि सन्देश शर्माले तीन करोड रुपैयाँको चेक दिएपछि सबै पीडितलाई समेटेर जाहेरी दिएको उनको भनाइ छ।

“त्यो अरू पैसा मेरो थिएन। त्यतिबेला सन्देश शर्माले चेक काट्न लगाएर मलाई बैङ्किङ कसुर, चेक अनादरको मुद्दा पनि लगायो,” उनले भने। बाँकी पीडितहरूले अदालतमा आएर सन्देश शर्माले रकम लिएको भनी बकपत्र गरेको र त्यससम्बन्धी प्रमाण आफूहरूसँग रहेको उनले बताए।

“अदालतमा गरेको बकपत्र र प्रहरीमा दिएको जाहेरी सबै प्रमाण छन्,” उनले भने।

काठमाडौँ जिल्ला अदालतले २०८० असार १ गते प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदा करिब २८ करोड रुपैयाँ बिगो दाबी गरेको थियो।

नक्कली भुटानी शरणार्थी मुद्दाका प्रतिवादी प्रतीक थापाले सफाइ पाएका छन् भने अन्तिममा पक्राउ परेका बेचन झा सजाय भुक्तान गरेर रिहा भएका छन्। तर पीडितहरूले बुझाएको रकम कसबाट भराइन्छ भन्ने विषयमा अझै अन्योल रहेको छ, किनकि अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छैन।

जाहेरवाला रेग्मीले आफूहरूले अदालतभित्रको पीडा एउटा र राज्यबाट भोगेको पीडा अर्को रहेको बताए। “हामी घरबारविहीन भएर सकिएको पीडा एउटा छ, मृत्युसँग खेलेको पीडा अर्को छ,” उनले भने। राज्यका उच्च तहका व्यक्तिहरूको संलग्नताबारे फैसला आफैँले पुष्टि गरेको उनको दाबी छ।

उनले राज्यविरुद्धको अपराध, सङ्गठित अपराध, ठगी र किर्तेसम्बन्धी कसुरमा फैसला हुँदा यदि बिगो केही सीमित प्रतिवादीबाट मात्रै असुल गर्ने हो भने अन्यलाई किन प्रतिवादी बनाइयो भन्ने प्रश्न उठ्ने बताए।

“कानुनका कुरा हामीलाई थाहा छैन। त्यो न्यायाधीश, इजलास र न्यायपालिकालाई थाहा हुने कुरा हो। हामी व्यवहारिक रूपमा ठगिएका र घरबारविहीन भएका मानिस हौँ,” उनले भने।

सकेसम्म न्याय नमर्ने विश्वास आफूहरूमा रहेको उनले बताए। “प्रतिवादीहरूले पैसा नबुझाएको भए सायद अरू पनि प्रतिवादी भएर किन आउँथे होला र,” उनले भने।

आफूहरू ठगिएको, मृत्युसँग सामना गरेको र पटक–पटक आक्रमणको निशाना बनेको दाबी गर्दै उनले अदालत भित्रसमेत असुरक्षा महसुस गरेको बताए।

“हामी ठगिएका छौँ। मृत्युसँग पनि सामना गरेका छौँ। हामीलाई मार्न पछाडि लागेका छन्। अदालतभित्र समेत हामीमाथि वार भएको छ,” उनले भने।

उनले ठगिएका सबै पीडितले न्याय पाउनुपर्नेमा जोड दिए। “एकातिर राज्य बदनाम भएको कुरा छ, अर्कोतिर हामी सकिएको कुरा छ। न्यायाधीशले न्यायोचित तरिकाले न्याय दिनुहुन्छ भन्ने आशा छ,” उनले भने।

पूर्णपाठ नआएसम्म अन्तिम टिप्पणी गर्न नमिल्ने बताउँदै उनले केही नाम छुटेको सङ्केत भने आफूले पाएको दोहोर्‍याए। “मलाई तीन करोडको चेक दिइएको छ। चेक बाउन्सको प्रक्रिया पनि गरेको छु। बैङ्कले सात दिनभित्र पैसा बुझाउन भनेको थियो। पहिलो जाहेरी नै गजेन्द्र बुढाथोकी र मेरो हो,” उनले भने।

उनका अनुसार जाहेरी परेको करिब १० महिनापछि मात्रै मुद्दाको अनुसन्धान अघि बढेको थियो। “त्यसैबाट पनि बुझ्नुस्, हामी कति पीडित हौँला,” उनले भने।

पूर्णपाठ आएपछि न्याय पाउने आशा अझै जीवित रहेको उनले बताए। “आशा गर्नु पनि पर्छ। न्यायमूर्तिले समस्या बुझ्नुहुन्छ भन्ने विश्वास छ। हामीले प्रमाणसहित दिएका छौँ। अहिले धेरै बोल्न चाहन्नँ। पूर्णपाठ आएपछि थप कुरा गर्छु,” उनले भने। रेग्मीले पूर्णपाठमा सबै पक्ष समेटिएर पीडितलाई न्याय दिलाउने गरी फैसला आउने आशा व्यक्त गरे।

समाचार शेयर गर्नुहोस्
84
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.