स्पेनको सुनौलो अन्त्य, अर्जेन्टिनामाथि अनुसन्धान र कीर्तिमानको वर्षा

स्पेनको सुनौलो अन्त्य, अर्जेन्टिनामाथि अनुसन्धान र कीर्तिमानको वर्षा

73
SHARES

एजेन्सी – स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेको छ। २०१० पछि दोस्रो पटक विश्वकप जितेको स्पेनले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रच्यो। ४८ टोली सहभागी पहिलो विश्वकपमा कीर्तिमानी १०४ खेल भए भने प्रतियोगिताले खेलाडी, प्रशिक्षक र टोलीका नाममा थुप्रै नयाँ कीर्तिमान पनि स्थापित गरायो।

स्पेनका गोलरक्षक उनाइ सिमोनले आठ खेलमध्ये सातमा क्लिन सिट राख्दै एउटै विश्वकप संस्करणमा सर्वाधिक क्लिन सिटको कीर्तिमान बनाए। स्पेनले प्रतियोगिताभरि केवल एक गोल मात्र खाँदै विश्वकप विजेता टोलीका रूपमा सबैभन्दा कम गोल खाने नयाँ कीर्तिमान पनि कायम गर्‍यो। मिडफिल्डर रोड्रीले ७९० सफल पास पूरा गर्दै आफ्नै पुरानो कीर्तिमान तोडे।

फ्रान्सका किलियन एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगिता सकिँदा आफ्नो कुल गोल संख्या २२ पुर्‍याउँदै जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको पुरानो कीर्तिमान तोडे।

फ्रान्सकै माइकल ओलिसेले एउटै विश्वकप संस्करणमा सात असिस्ट गर्दै पेलेको ६ असिस्टको कीर्तिमान उछिने। उनले एमबाप्पेलाई मात्रै पाँच असिस्ट प्रदान गर्दै एउटै खेलाडीलाई एउटै विश्वकपमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान पनि बनाए।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वकपमा सर्वाधिक २३ जित हासिल गर्ने खेलाडी बने। उनले लगातार नौ विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बन्नुका साथै पेनाल्टी क्षेत्रबाहिरबाट सात गोल गर्दै अर्को ऐतिहासिक कीर्तिमान पनि आफ्नो नाममा लेखाए।

इंग्ल्यान्डका जुड बेलिङ्घम र ह्यारी केन एउटै विश्वकप संस्करणमा समान टोलीका खेलाडीका रूपमा कम्तीमा ६–६ गोल गर्ने पहिलो जोडी बने। बेलिङ्घमले प्रतियोगितामा सात गोल गरे। फ्रान्सका उस्मान डेम्बेले र किलियन एमबाप्पेले पनि यही उपलब्धि दोहोर्‍याए।

पोर्चुगलका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो विश्वकपका लगातार छ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने भने विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बने। स्विट्जरल्यान्डका जोहान मान्जाम्बी दुई गोल गर्ने सबैभन्दा कम उमेरका वैकल्पिक खेलाडी बने।

प्रशिक्षकतर्फ फ्रान्सका डिडियर डेसच्याम्प्स विश्वकपमा सर्वाधिक २६ खेलमा टोली सम्हाल्ने प्रशिक्षक बने। उनले जर्मनीका हेल्मुट शोनको २५ खेलको कीर्तिमान तोडे। यस्तै, कुरासाओका प्रशिक्षक डिक एडभोकेट ७८ वर्ष २७१ दिनको उमेरमा विश्वकपमा टोली सम्हाल्ने सबैभन्दा पाका प्रशिक्षक बने।

गोलरक्षकतर्फ कुरासाओका एलोय रुमले इक्वेडरविरुद्धको खेलमा १६ बचाउ गर्दै एउटै विश्वकप खेलमा सर्वाधिक बचाउको कीर्तिमान बराबरी गरे। उनले अमेरिकाका टिम हवार्डको कीर्तिमान कम समयमा बराबरी गरेका हुन्। करिब एक लाख ५६ हजार जनसंख्या भएको कुरासाओ विश्वकप खेल्ने सबैभन्दा कम जनसंख्या भएको राष्ट्र बन्यो भने करिब पाँच लाख ३० हजार जनसंख्या भएको केप भर्डे नकआउट चरणमा पुग्ने सबैभन्दा कम जनसंख्या भएको देश बन्यो।

फाइनलपछि विवाद

न्यु जर्सीमा भएको फाइनलमा स्पेनले अतिरिक्त समयमा १–० को जित निकाले पनि खेलपछि मैदानमा झडप भयो। अर्जेन्टिनाका नाहुएल मोलिना, लिएन्ड्रो परेडेस, थियागो आल्माडा र सहायक प्रशिक्षक रोबर्टो आयाला घटनामा संलग्न देखिएका थिए। एन्जो फर्नान्डेज भने निर्धारित समयको अन्त्यतिर दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदानबाट बाहिरिएका थिए।

घटनापछि फिफाले अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको पुष्टि गरेको छ। फिफाको अनुशासन समितिले घटनाको छानबिनका लागि अनुशासन तथा नैतिकता अभियोजक नियुक्त गरेको छ। अनुसन्धानपछि खेलाडी, प्रशिक्षक वा अर्जेन्टिना फुटबल सङ्घ (एएफए) माथि निलम्बन वा जरिवानासहितको कारबाही हुन सक्ने जनाइएको छ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले खेलपछि टोलीले हार स्वीकार गरेको र जितमा जस्तै हारमा पनि सम्मान देखाउनुपर्ने बताएका छन्। मेस्सीले पनि सामाजिक सञ्जालमार्फत हारको पीडा ठूलो भए पनि टोलीले हासिल गरेका सकारात्मक उपलब्धि सम्झिरहने उल्लेख गरेका छन्।

अर्जेन्टिनामा भव्य स्वागत

फाइनलमा पराजित भए पनि अर्जेन्टिनाको टोलीलाई राजधानी ब्युनस आयर्समा हजारौँ समर्थकले खुला बस परेडमार्फत भव्य स्वागत गरे। स्कालोनीसहित १६ खेलाडी स्वदेश फर्किएका थिए। गोलरक्षक एमिलियानो मार्टिनेज टोलीसँग फर्किए पनि मेस्सी भने अमेरिका फर्किएका छन्, जहाँ उनी क्लब फुटबलमा इन्टर मियामीबाट खेल्छन्।

स्पेन पुनः विश्व वरीयताको शीर्षमा

विश्वकप उपाधिसँगै स्पेन फिफा पुरुष विश्व वरीयताको शीर्ष स्थानमा फर्किएको छ। नयाँ वरीयतामा स्पेन १,९९५.८८ अङ्कसहित पहिलो स्थानमा छ भने अर्जेन्टिना १,९७०.३७ अङ्कसहित दोस्रो स्थानमा झरेको छ। फ्रान्स तेस्रो, इंग्ल्यान्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा यथावत् छन्। मोरक्को छैटौँ, पोर्चुगल सातौँ, बेल्जियम आठौँ, नेदरल्यान्ड्स नवौँ र आयोजक मेक्सिको दशौँ स्थानमा छन्।

विश्वकपमा क्वार्टरफाइनल पुगेको नर्वे १२ स्थान सुधार गर्दै १९औँ स्थानमा पुगेको छ भने मेक्सिको चार स्थान उक्लिँदै शीर्ष १० मा फर्किएको छ। डिआर कङ्गो पाँच स्थान सुधार गर्दै ४१औँ तथा विश्वकप डेब्यु गरेको केप भर्डे तीन स्थान सुधार गर्दै ६४औँ स्थानमा पुगेको छ। मोरक्कोले आफ्नो इतिहासकै उच्च छैटौँ वरीयता हासिल गर्दा ट्युनिसिया १२ स्थान तल झर्दै ५७औँ स्थानमा पुगेको छ।

समाचार शेयर गर्नुहोस्
73
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.