सूर्यको किरणजस्तै लाग्छ गोविन्दराज भट्टराई

सूर्यको किरणजस्तै लाग्छ गोविन्दराज भट्टराई

270
SHARES

नेपाली साहित्याकाशमा डाक्टर गोविन्दराज भट्टराई सूर्य जस्तै लाग्छ। उमेर, अध्ययन, अध्यापन, अनुसन्धान र अनुवादको अनुभवले खारिएका, विश्व चेतनाले आलोकित स्रष्टा साहित्य क्षेत्रका ध्रुवतारा हुन्। साहित्यको समृद्धि र उन्नयनमा समर्पित स्रष्टा ऊर्जावान् र समर्पित छन् नेपाली साहित्यप्रति। अङ्ग्रेजी भाषाका ज्ञाता तथा अध्यापक नेपाली साहित्यप्रति पनि उत्तिकै जिम्मेवार छन्। पठन र लेखनप्रतिको लगन यस्तो छ कि, भर्खर एसईई सकेर नयाँ कक्षामा प्रवेश गरेको जेहेन्दार विद्यार्थी हुन्। यो उमेरमा पनि यो किसिमको खटाइ अनुकरणीय मात्र होइन ईर्ष्या लाग्दो नै छ।

उहाँको घरमा पटकपटक गएकी छु। उहाँको अध्ययन गर्ने कोठा घरको माथिल्लो तल्लामा छ। किताब नै किताबको संसार छ। घरको प्रवेशद्वार, भर्‍याङ, भित्ता, भुइँ कतै छैन खाली। मिल्थ्यो भने त सिलिङमा पनि टाँसिन्थ्यो होला किताबको संसार।

किताबले घेरिएको भूइँमा छ एउटा भिरालो परेको सानो टेबल। ढाड नदुखोस् भनेर ढाडलाई अड्याउने प्लास्टिकको सानो बस्ने पिर्का पनि छ। छेउमा मकै, भटमास, दालमोठ, चिनीबिनाको बिस्कुट र ओखर पनि छन् बेलाबेला चपाउन मन लाग्दा। अध्ययनप्रतिको रुझान कुनै जिज्ञासुको भन्दा कम छैन। विश्व ज्ञानलाई आफ्नो हातमा समेटेर राख्न नजिकै ल्यापटप पनि छ। कसैको पाण्डुलिपिमा ध्यानस्थ भएर घोप्टिएर अध्ययन गरिरहेको देख्दा सम्मानले झुक्न मन लाग्छ। मलाई यस्तो लाग्छ उहाँले जीवनको कुनै पनि क्षण, कुनै पनि पल बिना कर्म समय खेर फाल्नु भएन होला। यस्ता कर्मवीर स्रष्टालाई कोटी-कोटी प्रणाम छ।

सूर्यको प्रतीक हुन् पिता। सूर्यको प्रतीक हुन् गुरु पनि। मेरो लागि गोविन्दसर पितातुल्य गुरु हुनुहुन्छ। साहित्यको उज्यालो क्षितिजतिर देखाउँदै हुनुहुन्छ। म जस्ता कयौँ शिष्य छन् गुरुका। गुरुले करोडौँ उज्याला किरणहरू शिष्य रूपी बीजमा पोखिरहन्छन्। बीज नकुहियोस् भनेर सचेत हुन्छन्। नसुकेको बीउमा ओस नपसोस् भनेर बेलाबेलामा ज्ञानको प्रकाश छर्छन्। नयाँ नयाँ सिद्धान्त पढ्न लगाएर शिष्यमा गुदी भर्दै खरो बनाउँछन् । शिष्यको आत्मविश्वास कुनै हालतमा पनि तल नझरोस् भनेर आवश्यक परेको स्थानमा आफ्नो तेज घटाउँदै मधुरो बनिदिन्छन्। तेजिलो सूर्यलाई नाङ्गो आँखाले हेर्न सकिँदैन त्यसैले शिष्यको अगाडि आवश्यक मात्रामा उज्यालो फैल्याउँछन् गुरु।

गुरु सचेत हुन्छन् शिष्यको पठनप्रति, लेखनप्रति। शिष्यलाई अब्बल बनाउन हृदयबाटै लागि पर्छन्। साँचो अर्थमा गोविन्दराज भट्टराई गुरु हुन् जसले शिष्यको अन्धकार रूपी चित्तमा प्रकाश छर्छन्। साहित्यको फराकिलो फाँटमा आफ्ना शिष्यहरू साँगुरिएर नबसुन् भन्नका खातिर नित्य साहित्य कर्ममा लाग्न सुझाउँछन्। साहित्यका अनुरागी शिष्य कतै हराए कि! बाटो पो बिराए कि! कतै मार्ग पो भुले कि भनेर बेलाबेलामा झकझक्याउँछन्। शिष्यका आलाकाँचा लेखलाई पनि राम्रो छ भनेर प्रोत्साहित गर्दै बिस्तारै गोडमेल गर्छन्।

मात्र २१ वर्षको त्यो कलिलो उमेरमा मुगलान जस्तो शक्तिशाली उपन्यास लेखेर नेपाली साहित्य जगतमा २०३२ सालमै एउटा बलियो स्तम्भ खडा गरिसकेका स्रष्टाले ५० वर्ष पछि नयाँ मुगलान लेखेर पुनः नेपालीको नियति, समय, समाज र सङ्घर्षको यथार्थ चित्रलाई छर्लङ्ग उतारिदिएका छन्। हिजोको मुगलान र आजको मुगलानको यथार्थ कथा यी दुई उपन्यासमा आएका छन्। भनिन्छ नेपालको पहिलो डायस्पोरिक उपन्यास हो मुगलान। भुटानमा जीवन बिताइरहेका नेपालीको संवेदनाको अवर्णनीय गाथा छ। देश छोडेर सुनौलो सपना टिप्न हिँडेका युवाहरूको मार्मिक कथा छ। परदेशीको पीडा छ। घरको अभावले परदेशतिर लखेटिएकाहरूको हृदयभित्रको दारुण अवस्था छ। देशप्रतिको अवस्था र आस्था परदेशको माटोमा बसेर सम्झिएको अतीत र देश छोड्न आफ्नो घरमा आगो झोस्ने वर्तमानको कथा र व्यथा दुवै मुगलानमा उस्तै छ।

सुकरातका पाइला र सुकरातका डायरी जस्ता विश्वस्तरका उपन्यास सिर्जना गरेर नवीन प्रयोगलाई नेपाली साहित्यमा भित्र्याएका स्रष्टाका सतासीवटा कृति प्रकाशित भइसकेका छन्। समालोचना, कविता, अनुवाद, निबन्ध, नियात्रा, संस्मरण आदि अनेक विधामा गोविन्दराज भट्टराई फैलिएका छन्। अझ पत्रपत्रिकामा आउने लेख रचना र भूमिकाको त कुनै छोडौँ। कति हो कति गनिसाध्य छैन।

अर्को महत्त्वपूर्ण विशेषता भनेको गोविन्दराज भट्टराई सरले कयौँ कृतिमाथि भूमिका लेखिसक्नुभएको छ। सरले लेखिदिनु भएको भूमिका समेटिएका कयौँ कृतिले मदन पुरस्कार जस्तो गरिमामय पुरस्कार पनि पाइसकेको इतिहास हामीसामु छ। नेपाली साहित्यप्रति थोरै मात्र रुची भएकाहरूलाई उचित मार्गदर्शन गर्न कदापि चुक्नु हुन्न। नेपाली भाषा, देश, समाज र संस्कृतिबाट बिच्छेदित भएर पराई मुलुकमा जीवन घोटिरहेका अनेकौँ साहित्य प्रेमीहरूलाई साहित्यकार बनाउँदै आउनु भएको अर्को यथार्थ छ।

देश छोडेर उति टाढा बसेर पनि भाषा र साहित्यप्रति लगाव भएका जिम्मेवार नेपाली साहित्य प्रेमी स्रष्टाहरूको मनोबल उच्च पार्न गोविन्दसरले एक निजी प्रज्ञाप्रतिष्ठानको भूमिका निभाइरहनुभएको छ भन्दा म पक्कै गलत हुँदिन होला। त्यति मात्र हो र! बाहिरबाट नेपाल आएका स्रष्टाहरूलाई स्नेह, प्रेम र सम्मानको छाता ओडाउन पनि कदापि भुल्नुहुन्न। कुनै प्रतिष्ठानले गर्ने कर्मभन्दा माथिको छ उहाँको कर्म। सिङ्गो नेपाली साहित्यको अभिभावक बनेर स्वागत गर्नुहुन्छ बाहिरबाट आएका स्रष्टाहरूलाई। गोविन्दराज भट्टराई त्यो वेला व्यक्तिभन्दा बढी नेपाली साहित्यिक प्रतिष्ठान बन्नुहुन्छ र हार्दिक स्वागत तथा सत्कार गर्नुहुन्छ आफ्नो व्यक्तिगत खर्चमा। मैले देखेकी छु ती स्वागतका पलहरू। मैले महसुस गरेकी छु हृदयभरि नेपाल बोकेर, विवशताको आकाश ओढ्दै अन्य मुलुकमा जीवन बिताइरहेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई। नेपाली भाषा र साहित्यप्रतिको मोहले लखेटेर बेलाबेला नेपाल ल्याउँदा गोविन्दराज भट्टराई सरले गर्ने व्यवहारले ती तृप्त भएर फर्किन्छन्। स्वागतमा को रम्दैनन् र! हृदय हाँस्छ सबैको हार्दिकता र सम्मानमा। मैले अनुभव गरेकी छु नेपाल आउँदा सरले गरेको स्वागतमा उज्याला भएका मुहारहरू। गोविन्दसर र अञ्जना म्यामको आतिथ्य सत्कार अमूल्य छ। ती स्रष्टा नेपाल आउँदा ठान्छन् होला ‘कोही त नेपालमा हामीलाई बुझ्ने मान्छे छ। ट्याङलाफाँटमा छ नेपाली साहित्यलाई माया गर्ने घर। आसाम, गुहाटी, दार्जिलिङ, मणिपुर, भुटान, अमेरिका, अस्ट्रेलिया, युरोप र खाडी मुलुकदेखि देशका कुनाकाप्चाबाट आएका स्रष्टाहरू हृदय खोलेर गोविन्दसरको आँगनमा पुग्छन्। पितामाताले झैँ स्वागत गर्नुहुन्छ सर र म्यामले।

भुटानमा बसेका नेपालीहरूले भोगेको दुःखले सर आफै पिरोलिनुहुन्छ। स्वयं दुख्नुहुन्छ। बाहिरबाट आउने अतिथिहरूलाई भव्य स्वागतका साथै सम्मान गर्न पुतलीसडकको ग्रिनलिफ रेस्टुरेन्टलाई त एउटा अखडा नै बनाउनु भएको छ। म पनि कयौँ पटक पुगेकी छु पुतलीसडक, अतिथिहरूको स्वागत र सम्मानमा। साहित्य लेख्नेहरूका लागि मात्र हैन साहित्यभन्दा पनि काल्पनिक जीवन व्यथित गरेर आएका भुटानी नेपालीलाई स्वागत गर्दा मेरो हृदय भरिएर पोखिएको थियो। भुटानको जेलमा बिना कारण तीस वर्षभन्दा माथि जेल जीवन भोगेर आएका निरीह नेपालीहरूप्रति सरले दर्साएको स्नेह, प्रेम, आशीर्वाद र सम्मानको बयान त केवल हृदयले मात्र गर्छ होला। शब्द पनि अपुग हुन्छ बयान गर्न। त्यो दिन मैले देखेका ती निस्तेज आँखाका आशाको ज्योति निभिसकेको थियो तर पनि परिवारको प्रतीक्षामा वर्षौँपछि धर्ती बाहिर आएका हाम्रा दाजुभाइहरूको हृदय मुस्कुराएको अनुभव मैले गरेकी थिएँ।

लाग्थ्यो कुरा काट्ने काम त सरस्वतीको मन्दिरमा हुँदैन होला! अपमानको बोली त यो क्षेत्रमा बोलिँदैन होला! क्षमाको पाठ पढाएर हिँडेका पूजारीहरु त झन् घातक शब्द वाण पो चलाउँदा रहेछन्।

गोविन्दराज भट्टराई अब्बल सर्जक हुन्। संवेदनशील नागरिक हुन्। सर्जकको हृदयमा कठोरताले बास बस्न सक्दैन। सृजनशील व्यक्तिको आभूषण हो विनम्रता, कोमलता, लचकता। जो समीक्षा मात्र गर्छ ऊ पक्कै कठोर हुनसक्छ। गोविन्दराज भट्टराई वरिष्ठ समालोचक हुन्। सचेत छन् समालोचना सिद्धान्तप्रति। समालोचनाको विज्ञान थाहा छ। तर परिवर्तनकारी सोचका अग्रजलाई जडताप्रति पटक्कै विश्वास छैन। त्यसैले भन्छन् धोद्रे सिमल फोडेर निस्किन्छ नयाँ पिपल। नित्य नवीनता ओढ्दै हिँडेको छ मानव समाज। समय परिवर्तनकारी छ। साहित्यमा पनि परिवर्तन अपरिहार्य छ। एउटै मार्गमा हिँडिरहनु त रोक्किनु हो। स्थिरता त मृत्यु समान हुन्छ। साहित्य कर्मप्रति उच्च विश्वास राख्ने स्रष्टा विश्व चेतनाले तेजिला छन्। मुडे बलमा एकोहोरो हिँडेर नेपाली साहित्यले विश्व साहित्यको फराकिलो र उज्यालो क्षितिज फेला पार्न सकिँदैन भन्ने सत्यलाई बोध गरेपछि नेपाली साहित्यलाई पनि विश्व माझ परिचित गर्ने अठोट लिएका छन्। कर्मप्रतिको आफ्नो लक्ष्य र उद्देश्य स्पष्ट भएपछि घुँडा धसेर लाग्छन् अनुवाद कर्मप्रति।

नेपालमा एउटा यस्तो रोग छ जसले पीएचडी धारी धेरैलाई अभिमानको श्रीपेच लगाइदिन्छ। डाक्टर बनेका प्राध्यापकहरू पनि हरेक दिन शिष्य बन्नु पर्छ भन्ने ज्ञान भुलेपछि मरेको सर्प उठाउँछन् र थाहै नपाई लगाउँछन् आफ्नै गलामा अनि बन्छन् आधुनिक परीक्षित र सत्यलाई कुल्चिएर हिँड्छन् सर्वज्ञानी बनेर तर गोविन्दराज भट्टराईको शालीनता र सहयोगी भावनाले उहाँलाई नित्य शिष्य पनि बनाएको पुष्टि हुन्छ त्यसैले सिर्जना र समालोचनामा मोती बर्सिन्छ। उहाँको लेखनमा संवेदना झल्किन्छ। वाणीमा स्नेह प्रकट हुन्छ।

विश्वविद्यालयमा वर्षौँ अङ्ग्रेजी साहित्य पढाएको ज्ञान छ। विश्व साहित्यको उज्यालो चेतना छ। अनुवाद साहित्यमा प्राप्त गरेको पीएचडीको डिग्री छ। घमन्ड नभएपछि मान्छे खिइँदैन। झन् झन् फैलिन्छ। झन् झन् अग्लिन्छ। समाजका लागि र आउँदो समयका लागि अनुकरणीय व्यक्तित्व बन्छ। नेपाली साहित्यलाई विश्व माझ पुर्‍याउने प्रमुख माध्यम अनुवाद नै हो भन्ने धारणालाई परिणाममुखी बनाउने यात्रा अभियानका अभियन्ता हुन् गुरु गोविन्द। आफू मात्र हैन अङ्ग्रेजी साहित्यका गहनाहरूलाई पनि साथसाथै लिएर अनुवादको शक्तिप्रति आकर्षित गर्दैछन्। बिसौँ वर्ष लगाएर उत्तरआधुनिक सिद्धान्तलाई नेपाली भाषामा ल्याएर ठूलो पुण्यको कर्म गर्दा पनि रोकिएका छैनन्। नित्य छ पठन नवीन विषय र सिद्धान्तको।

शत्रुलाई पनि सार्वजनिक ठाउँमा गाली नगर्नू भन्ने संस्कार पढेर आएकी म भ्रमित भएँ। पुस्तक लेख्नका लागि मात्र हो त! कि पुस्तकको जस्तो जीवन पनि बाँच्न कोसिस गर्ने? चकित भएकी थिएँ सत्यको महल भत्किएको वेला।

विश्व जगतको गतिलाई बेवास्ता गर्नु समयको धारमा बग्न नसक्नु हो भन्ने मान्यतालाई मस्तिष्कमा राखेर नयाँ शैली र संरचनामा टेकेर सिर्जना गर्छन् र अरूलाई पनि अभिप्रेरित गर्छन्। उत्तरआधुनिक विमर्श र उत्तरआधुनिक ऐना जस्ता शक्तिशाली कृति तयार गरेर नेपाली साहित्यलाई शक्तिशाली पारिदिएका छन्। विश्व कुन धारमा हिँड्दै छ। विश्व साहित्य कता जाँदैछ। कुन विषयलाई उठान गर्दैछ विश्व। कस्तो शैली सिद्धान्तलाई अवलम्बन गर्दैछन् त भन्ने फराकिलो दृष्टि बोकेर नेपाली साहित्यलाई मलजल गदैछन् नित्य। गोविन्द गुरु अनुयायी हुन् नवीन चेतनाका। साथै नव पुस्ताका लागि मार्गदर्शक हुन्।

समालोचनाको चेत भरमार छ उनमा। तर समालोचनामा पनि नवीन चेतना भरेर नयाँ अनुहारहरूको हृदयमा आशाको दीप बाल्छन्। नवीन अनुहारप्रति नम्र हुन्छन्। शक्ति र बल यति छ कि चाँदे उचालेर फाँड्न सक्छन् नयाँबारी। तर पनि उनको हातमा समालोचनाको कोमल कुटो हुन्छ। किनकि जरा नै नगाडिएका बिरुवामा चाँदे चलाउनु हुन्न भन्ने दिव्य ज्ञान पनि छ उनमा। त्यसैले सचेतनाको मार्गमा उभिएर देशभित्र र बाहिरका भर्खरै नेपाली साहित्यप्रति अनुराग राख्दै गरेका शिष्यहरूप्रति न्याय गर्छन्। शिष्यको मनोभावलाई जीवित राख्न लेखन पठनप्रतिको जिज्ञासा, लगनशीलतालाई जोगाउँदै, हुर्काउँदै फराकिलो बाटोमा थाहै नपाई डोर्‍याउँछन्।

गोविन्दराज भट्टराई भन्छन् लेखन भनेको भावनाको सुन्दर र सुगन्धयुक्त सौगात हो। त्यो सौगात उठेका वेला, त्यो फैलिएका वेला ती भावनाहरूलाई शब्दको हारमा उनिहाल्नुपर्छ नत्र त कपुर जसरी ती विचार र भावनाहरू उडेर जान्छन्। गोविन्द गुरु स्वयं सूर्य हुन् तर शिष्यको अगाडि मात्र किरण बनेर रक्षा गर्छन्। मैले पनि थोरै बुझ्न थालेकी छु साहित्यजगतको छद्म चाला। साहित्यको आकाशमा त अहङ्कार स्थापनाको लागि सूर्य सूर्यबीच नै वाकयुद्ध हुँदो रहेछ। कसले कसलाई कतिसम्म तल झार्न सक्छ त्यो खेला पनि चल्दो रहेछ। मञ्चमा उभिएर साहित्यकै कर्म गर्ने अर्को स्रष्टाहरूलाई खुल्ला रूपले अनुजहरूको सामुन्नेमा तथानाम पनि भनिँदो रहेछ। भर्खर भर्खर घरबाट निस्किएकी म त एकपल्ट कसैको त्यस्तो व्यवहार देखेर छक्क मात्र हैन तीन छक्क परेकी थिएँ। लाग्थ्यो कुरा काट्ने काम त सरस्वतीको मन्दिरमा हुँदैन होला! अपमानको बोली त यो क्षेत्रमा बोलिँदैन होला! क्षमाको पाठ पढाएर हिँडेका पूजारीहरु त झन् घातक शब्द वाण पो चलाउँदा रहेछन्। अरूलाई तल खसालेर माथि उठ्न सक्छु भन्ने भ्रममा पो बाँचेका हुँदा रहेछन्। विविधता, बहुलता, नवीनता, समानता, सभ्यता, सीमान्तकृतका आवाज र मुद्दामा बौद्धिक बहस गर्ने कवि हृदयहरू पनि बिमार बिमार पो रहेछन्।

लाग्थ्यो साहित्य चिन्मयको यात्रा पनि हो। उपल्लो तलको कर्म हो। प्रतिस्पर्धाका सानातिना, झिनामसिना जम्मै परीक्षा पास गरेर आएका अब्बल प्राणी हुन् साहित्य कर्मी भन्ने भ्रम पो रहेछ ममा। मेरो सोचमा पहिलो चोटि पहिरो गएको थियो एक सार्वजनिक सभामा,जब मैले आदर्श ठानेको पात्रले अर्को मैले चिन्दै नचिनेको अमूकपात्रलाई शब्दवाणद्वारा खसालेका थिए। उहाँका पुस्तक पढेर उहाँप्रति उचालिएको सम्मानको सगरमाथा पग्लिएको थियो निमेष भरमा। शत्रुलाई पनि सार्वजनिक ठाउँमा गाली नगर्नू भन्ने संस्कार पढेर आएकी म भ्रमित भएँ। पुस्तक लेख्नका लागि मात्र हो त! कि पुस्तकको जस्तो जीवन पनि बाँच्न कोसिस गर्ने? चकित भएकी थिएँ सत्यको महल भत्किएको वेला। झल्याँस्स पनि भएकी थिएँ अनि कामना गरेकी थिएँ साहित्य र साहित्यकारको जीवन एउटै रेखामा हिँडाउने कोसिस गरियोस्। लेख्नका लागि मात्र आदर्श नलेखियोस्! संसारलाई ढाँट्न सकिएला तर आफूलाई ढाँटेको अभिनय नगरियोस् नत्र म जस्ता नयाँ पाहुनाहरू त डराएर भाग्छन् साहित्यको डर लाग्यो वाकयुद्ध सुनेर र अक्षरयुद्ध पढेर।

यदि गोविन्दराज भट्टराईसर पनि सूर्य नै बनेर शिष्यको भूमिमा ओर्लिएका भए नवीन चेतना बोकेर आएका कलिला मुना हुर्किनै पाउने थिएनन्। भर्खरै मुन्टो उठाएका कलिला पातहरू सूर्यको चर्को तेजले भष्मिभूत हुने थिए। त्यसैले मलाई गोविन्दसर सूर्यको कोमल किरण जस्तै हितकारी लाग्छ। कामना गर्छु सूर्यको यस्तो किरण धर्तीमा खसिरहोस् तर बिन्ती छ प्रचण्ड राप र तापले युक्त सूर्य नै बनेर नखसुन्।

समाचार शेयर गर्नुहोस्
270
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.