मानव सभ्यताको इतिहासमा यस्ता महापुरुषहरू समय–समयमा जन्मिएका छन्, जसले आफ्नो जीवनबाट प्रमाणित गरेका छन् कि परम सत्य शब्द, तर्क वा दर्शनले मात्र प्राप्त हुँदैन; त्यो अनुभूतिबाट प्राप्त हुन्छ। जब कुनै व्यक्तिको सम्पूर्ण अस्तित्व परमात्माको प्रेममा डुब्छ, तब उसका हरेक कर्म पूजा बन्छन्, हरेक श्वास प्रार्थना बन्छ, हरेक शब्द मन्त्र बन्छ र हरेक मौन वेद बन्छ।
आध्यात्मिक इतिहासमा यस्तै एक महान् सन्त हरिदास हुनुहुन्थ्यो। उहाँ सङ्गीतकार मात्र हुनुहुन्नथ्यो, उहाँ संगीतस्वरूप हुनुहुन्थ्यो। उहाँका लागि सङ्गीत पेशा थिएन, प्रदर्शन थिएन, प्रसिद्धि प्राप्त गर्ने माध्यम थिएन। सङ्गीत त उहाँको आत्माको स्वाभाविक अभिव्यक्ति थियो।
उहाँका शिष्य सम्राट् अकबरका दरबारी गायक तानसेन थिए,जसलाई भारतीय शास्त्रीय सङ्गीतका महानतम गायकहरूमध्ये एक मानिन्छ। तर तानसेन स्वयं आफ्नो सम्पूर्ण महानतालाई गुरुको चरणमा राखेर भन्थे-“म मेरा गुरुका चरणको धुलो पनि होइन।”
यही विनम्रताबाट यो अद्भुत कथा सुरु हुन्छ।
एक दिन मुगल सम्राट् अकबर तानसेनको गायन सुनेर अत्यन्त प्रभावित भए। उनले भने-“तानसेन! मलाई लाग्छ तिमीभन्दा महान् गायक संसारमा छैन।” तानसेन मुस्कुराए।
“महाराज! यदि तपाईँले मेरा गुरु हरिदासलाई सुन्नुभएको भए, यस्तो कहिल्यै भन्नुहुन्नथ्यो।”
अकबरले उत्सुकतापूर्वक भने-“म उहाँलाई भेट्न चाहन्छु। यदि उहाँ यहाँ आउनुहुन्न भने म उहाँ भएको ठाउँमै जान्छु। मलाई लगिदेऊ।
तानसेनले भने-“जान त सकिन्छ, तर उहाँ कसैको आग्रहमा गाउनुहुन्न। उहाँ त केवल आफ्नो आनन्दमा, परमात्माको स्मरणमा डुबेका बेला स्वतः गाउनुहुन्छ।”
केही दिनपछि तानसेनले समाचार ल्याए-“आज राति तेस्रो प्रहर, यमुना किनारको आफ्नो कुटीमा गुरु हरिदासजी भजन गाउनुहुन्छ।”
तानसेन अकबरलाई लिएर यमुना किनारको एउटा सानो कुटीमा पुगे। त्यस राति भारतका महान् सम्राट् अकबर र महान् गायक तानसेन चुपचाप एउटा सानो झुपडीबाहिर बसे। न सिंहासन थियो, न दरबार, न शाही वैभव न शाही बाजा, न दर्शकहरूको भीड, न ताली बजाउने मानिस। थियो त केवल मौन आकाश, चन्द्रमाको शीतल उज्यालो, यमुनाको मधुर प्रवाह र एउटा साधकको समाधिस्थ हृदय, शीतल रात, मौन आकाश र प्रतीक्षाले भरिए हृदय।
बिहानको झिसमिसे उज्यालोमा सन्त हरिदासले आँखा बन्द गरेर गाउन सुरु गर्नुभयो। त्यो गायन कला थिएन। त्यो प्रार्थना थियो। त्यो अभ्यास थिएन। त्यो अनुभूति थियो। त्यो स्वर होइन,स्वरभित्र बोलिरहेको परमात्मा थियो।
अकबरका आँखाबाट स्वतः आँसु बग्न थाले। उनले पहिलो पटक यस्तो सङ्गीत सुने, जहाँ स्वरभन्दा मौन गहिरो थियो, र गीतभन्दा भाव शक्तिशाली थियो।
महल फर्किएपछि अकबरले तानसेनलाई सोधे-“तिमी पनि महान् गायक हौ। तर आफ्ना गुरुजस्तो किन गाउन सक्दैनौ?”
तानसेनको उत्तर अध्यात्मको अमूल्य रत्न हो।
उनले भने-“महाराज! म गाउँछु केही पाउनका लागि। मेरा गुरु गाउनुहुन्छ, किनकि उहाँले सबै पाइसक्नुभएको छ।”
यही दुई वाक्यमा सम्पूर्ण साधनाको सार लुकेको छ।
अकबरले फेरि सोधे,”त्यो अवस्था कसरी प्राप्त हुन्छ?”
तानसेनले उत्तर दिए,”जब जीवनको केन्द्र ‘के पाउँछु?’ बाट ‘मभित्र जे भरिएको छ, त्यसलाई कसरी बाँडूँ?’ मा परिवर्तन हुन्छ, त्यहीँबाट साधना सुरु हुन्छ। जहाँ इच्छा समाप्त हुन्छ, त्यहीँ आनन्द जन्मिन्छ। जहाँ अहङ्कार पग्लिन्छ, त्यहीँ सङ्गीत प्रार्थना बन्छ। जहाँ ‘म’ हराउँछ, त्यहीँ परमात्मा गाउन थाल्नुहुन्छ।”
यही कारणले सन्त हरिदासको गायन सुन्दा स्वर मात्र सुनिँदैनथ्यो, परमात्माको स्पर्श अनुभव हुन्थ्यो।
जीवनको सबैभन्दा ठूलो कला केही प्राप्त गर्नु होइन, यस्तो चेतना प्राप्त गर्नु हो, जहाँबाट प्रेम, करुणा, ज्ञान, सङ्गीत र आनन्द आफैँ बग्न थाल्छ।
यही फकिरको सम्पत्ति हो। यही सन्तत्वको महिमा हो। यही सच्चा साधनाको परम फल हो।
तानसेनको सङ्गीतमा लक्ष्य थियो। गुरुको सङ्गीतमा पूर्णता थियो। तानसेनको सङ्गीत यात्रामा थियो। गुरुको सङ्गीत गन्तव्य बनिसकेको थियो। तानसेनको गायन बाहिरबाट भित्र जान खोज्थ्यो। हरिदासको गायन भित्रबाट बाहिर बगिरहेको थियो।
जीवनमा हामी प्रायः हरेक काम कुनै न कुनै उद्देश्यका लागि गर्छौँ। हामी रोजगारीका लागि पढ्छौँ। धनका लागि काम गर्छौँ। प्रशंसाका लागि सेवा गर्छौँ। पुण्यका लागि पूजा गर्छौँ। मुक्तिका लागि ध्यान गर्छौँ। अर्थात् हाम्रो दृष्टि सधैँ भविष्यमा हुन्छ। तर जहाँ भविष्यको इच्छा हुन्छ, त्यहाँ वर्तमान अधुरो रहन्छ।
हरिदासको जीवनले साधना कुनै उपलब्धि प्राप्त गर्ने साधन होइन, साधना स्वयं उपलब्धि हो भन्ने सिकाउँछ। जब कर्म फलको आशाले गरिन्छ,त्यो व्यापार बन्छ। जब कर्म प्रेमले गरिन्छ, त्यो पूजा बन्छ।
तानसेनले अकबरलाई एउटा अद्भुत उदाहरण दिए-“नदी किन बग्छ? फूल किन फुल्छ? सूर्य किन उदाउँछ? चराहरू किन गाउँछन्?” कसैको प्रशंसा पाउन..? कसैको पुरस्कार लिन..? होइन, नदी बग्छ, किनकि बग्नु नै उसको स्वभाव हो। फूल फुल्छ, किनकि सुगन्ध फैलाउनु नै उसको आनन्द हो। सूर्य उदाउँछ, किनकि उज्यालो दिनु नै उसको धर्म हो।
त्यसैगरी सन्त हरिदास गाउँथे, किनकि गाउनु उहाँको स्वभाव थियो। उहाँको हृदय परम आनन्दले भरिएको थियो। त्यो आनन्द नै सङ्गीत बनेर बग्थ्यो।
आजको मानिस किन दुःखी छ?
आज मानिससँग धन छ। ज्ञान छ। प्रविधि छ। सुविधा छ। तर आनन्द छैन।
किन…? किनकि हाम्रो जीवन साधनले भरिएको छ, साध्य हराएको छ। हामी बाँचिरहेका छैनौँ, उपलब्धिहरूको पछि दौडिरहेका छौँ। हामी वर्तमानमा छैनौँ, भविष्यमा हराइरहेका छौँ।
हामी गाइरहेका छौँ, तर गीतमा छैनौँ। हामी काम गरिरहेका छौँ, तर कर्ममा छैनौँ। हामी पूजा गरिरहेका छौँ, तर परमात्मामा छैनौँ। यसैले जीवन थकाइ बन्छ।
सन्त हरिदासको जीवनले हामीलाई एउटा अमूल्य शिक्षा दिन्छ-यदि तिम्रो हृदय प्रेमले भरिएको छ भने प्रेम बाँड। यदि तिम्रो आत्मा आनन्दले भरिएको छ भने गीत गाऊँ। यदि चेतना मौनले भरिएको छ भने मौनमै परमात्मालाई बोल्न देऊ। कुनै काम केवल पुरस्कारका लागि नगर। त्यसलाई प्रेमको उत्सव बनाऊ। त्यसलाई आत्माको अभिव्यक्ति बनाऊ। त्यसलाई परमात्माको आराधना बनाऊ।
जीवनको वास्तविक सङ्गीत तब जन्मिन्छ, जब ‘मलाई के मिल्छ?’ भन्ने प्रश्न समाप्त हुन्छ र ‘मभित्र जे भरिएको छ, त्यसलाई संसारसँग कसरी बाँडूँ?’ भन्ने भावना जाग्छ। त्यही क्षण कर्म पूजा बन्छ। कला ध्यान बन्छ। जीवन उत्सव बन्छ। र मानिस साधारण रहँदैन- अस्तित्वको बाँसुरी हुन्छ, जसबाट परमात्माले आफ्नै सङ्गीत बजाउन थाल्नुहुन्छ।
यही सन्त हरिदासको जीवनको सार हो। यही गुरु–शिष्य परम्पराको गौरव हो। यही सच्चा साधनाको सर्वोच्च रहस्य हो।
आज गुरु पूर्णिमामा गुरुको चरणमा यही प्रण गरौँ-जीवनभर केवल सङ्ग्रह गर्ने होइन, आफूलाई प्रेम, ज्ञान, सेवा र करुणाको स्रोत बनाएर संसारलाई केही सुन्दर दिने पात्र बनौँ, जहाँ जीवन साधना होइन, साध्य बन्छ!!
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.