"/>

अन्ततः दलित अन्तरलिंगीले पाइन परिवर्तित नाममा नागरिकता

अन्ततः दलित अन्तरलिंगीले पाइन परिवर्तित नाममा नागरिकता

374
SHARES

पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले अन्ततः नागरिकतामा नाम सच्याउने निवेदन कार्यान्वयन गरेको छ। यससँगै जलजला गाउँपालिका–७ निवासी दलित अन्तरलिंगीले परिवर्तित नाम अनुसारको नागरिकता प्राप्त गर्न सफल भएकी छन्।

यसअघि जलजला गाउँपालिका वडा नं. ७ को कार्यालयले नाम सच्याउन दिएको निवेदन इन्कार गरेको थियो। तर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पत्रका आधारमा गाउँपालिका कार्यालयले नागरिकतामा नाम सच्याउन सिफारिस गरेको थियो।

गाउँपालिका कार्यालयको सोही सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतले दलित अन्तरलिंगी धनबहादुर दर्जीलाई परिवर्तित नाम अनुसारको नागरिकता प्रदान गरेको जनाएको छ।

जन्मदर्तासहितको सिफारिस, सर्वोच्च अदालतको आदेश तथा आवश्यक कागजातसहित निवेदन प्राप्त भएकाले नागरिकतामा नाम सच्याएर प्रदान गरिएको प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले सिफारिस र सर्वोच्च अदालतको आदेशअनुसार परिवर्तित नाममा नागरिकता जारी गरिएको बताए। “यो नाम परिवर्तनको विषय मात्र थियो, लिङ्ग परिवर्तनको माग गरिएको थिएन,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “त्यसैले परिवर्तित नाम अनुसार नागरिकता जारी गरिएको हो।”

दलित अन्तरलिंगी दर्जीले ‘माया दर्जी’ नाम कायम गरी नागरिकता पाउन माग गर्दै निवेदन दिएकी थिइन्। तर, उनलाई ‘धना दर्जी’ नाममा नागरिकता जारी गरिएको छ। यसअघि वडा सचिव पुजा कुमारी अर्यालले नाम फरक नपरेको भन्दै नाम सच्याउन अदालतको आदेश आवश्यक पर्ने उल्लेखसहित लिखित पत्र दिएकी थिइन्।

वडाको सिफारिस लिएर दर्जी गाउँपालिका कार्यालयमै पुगेकी थिइन्। समावेशी मञ्च नेपालका संस्थापक एवं नेपालमा पहिलो पटक तेस्रोलिंगी पहिचानमा नागरिकता लिएका डिलु बुदुजा (बद्री पुन) ले अन्ततः कानुनी लडाइँको जित भएको बताए। उनले नागरिकतामा नाम सच्याउन शल्यक्रिया नै गर्नुपर्ने बाध्यता नरहेको सन्देश यस निर्णयले प्रवाह गरेको बताए।

उनले यो धना दर्जीको मात्र नभई देशभरका सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पनि विजय भएको प्रतिक्रिया दिए।

कानुनको मर्म देख्ने, मानवीय मर्म नदेख्ने वडा सचिवको पत्रले दलित अन्तरलिंगीमाथि अन्याय!

समाचार शेयर गर्नुहोस्
374
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.