काठमाडौँ – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समलिङ्गी विवाहलाई ‘विकृति’, ‘भ्रम’ र ‘साम्राज्यवादी तथा पुँजीवादी संरचनाले खडा गरेको विषय’का रूपमा व्याख्या गरेका छन्।
पत्रकार विनोद ढुङ्गेलसँगको भिडियो अन्तर्वार्ताका क्रममा विप्लवले समलिङ्गी विवाहको विषयमा कडा असहमति जनाउँदै पुरुषले पुरुषसँग र महिलाले महिलासँग विवाह गर्ने विषयलाई अस्वीकार गरेका छन्। उनले यस्ता विषयलाई निषेध गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
पत्रकार ढुङ्गेलले विप्लवलाई समलिङ्गी विवाहलाई ‘छाडा’ भन्दै यसलाई कडाइपूर्वक बन्द गर्ने कुरा गर्नुभएको छ, जबकि अहिले एलजीबीटीक्यूआईएसम्बन्धी विषय वैयक्तिक स्वतन्त्रता, वैयक्तिक पहिचान र आधारभूत मानवअधिकारसँग जोडिएको विषय बनेको अवस्थामा तपाईँको धारणा पुरातनपन्थी सोचजस्तो देखियो नि भन्ने प्रश्न गरेका थिए।
जवाफमा विप्लवले प्रश्न उल्टै पत्रकार ढुङ्गेलतर्फ फर्काउँदै भने, “तपाईँलाई राम्रो लाग्छ त त्यो?”
ढुङ्गेलले त्यसको जवाफमा “होइन, समाजमा त्यो समुदायका मान्छेलाई कस्तो लाग्छ?” भनेर प्रश्न गरेका थिए।
त्यसपछि विप्लवले ‘समुदाय नै होइन’ भन्दै पुरुषले पुरुषसँग विवाह गर्ने विषयलाई अस्वीकार गरे। उनले यस्ता कुरालाई “मानव जातिमा पुँजीवादले आफ्नो सत्ता टिकाउनका लागि खडा गरेका विकृति र भ्रम” भएको दाबी गर्दै निषेध गर्नुपर्ने बताए।
“पुरुषले पुरुषलाई विवाह गर्ने पनि समुदाय हुन्छ?” भन्दै उनले यस्ता विषयलाई ‘अप्राकृतिक’ भएको दाबी गरे। उनले युवालाई उद्योग, कलकारखाना, अध्ययन र श्रममा लाग्नुपर्नेमा जोड दिँदै केटाले केटी र केटीले केटासँग विवाह गर्ने विषयलाई मात्र सामान्य रूपमा प्रस्तुत गरेका छन्।
विप्लवले यस्ता विषयलाई ‘भुलभुलैया’का रूपमा व्याख्या गर्दै सूचना प्रविधि, एआईलगायतका विषयमा चर्चा भइरहे पनि देश र समाजको वास्तविक अवस्था हेर्नुपर्ने बताएका छन्। नेपालमा केटाकेटीबीचको विवाहसमेत आर्थिक कारणले कठिन बन्दै गएको उल्लेख गर्दै उनले समलिङ्गी सम्बन्धसम्बन्धी बहसलाई व्यवहारिक समस्याभन्दा बाहिरको विषयका रूपमा चित्रण गरेका छन्।
उनले समलिङ्गी सम्बन्धलगायतका विषयलाई साम्राज्यवाद र पुँजीवादले खडा गरेका ‘चिद्रूप संरचना’ भएको दाबीसमेत गरेका छन्।
‘स्वतन्त्रताको नाममा विकृति मच्चाउन पाइँदैन’
विप्लवले नयाँ पुस्ताको स्वतन्त्रताको बहसलाई समेत यौनिक तथा लैङ्गिक विविधतासँग जोड्दै आलोचना गरेका छन्। उनले ‘स्वतन्त्रताको नाममा विकृति मच्चाउने’, ‘वेश्यावृत्तिको कुरा गर्ने’ तथा समलिङ्गी सम्बन्धलाई स्वीकार गर्ने बहसप्रति आपत्ति जनाएका छन्।
उनले देशमा जनताको आधारभूत आवश्यकता, रोजगारी, शिक्षा, स्वास्थ्य र आवासका विषयमा बहस हुनुपर्नेमा समलिङ्गी विवाह गर्न पाइन्छ कि पाइँदैन भन्ने विषयलाई प्राथमिकता दिइएको आरोप लगाए।
“केटाले केटालाई विवाह गर्न पाइन्छ कि पाइँदैन? यो त साम्राज्यवादी र सत्तासीन लुटेरा वर्गले हालेको भ्रम हो। यसलाई चिर्नुपर्छ,” विप्लवले भनेका छन्।
उनले सामाजिक सञ्जाल तथा मोबाइलमा आउने सामग्रीलाई नियमन गर्नुपर्ने धारणा पनि राखेका छन्। विकसित देशहरूमा सामाजिक सञ्जाल तथा मोबाइल प्रयोगमा उमेरलगायतका विषयमा नियमनसम्बन्धी बहस भइरहेको उल्लेख गर्दै नेपालमा पनि नियमन आवश्यक रहेको उनको भनाइ छ।
उनले मोबाइलमा ‘जसले जे हेर्न चाह्यो त्यही आउने’ अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राज्यले नियन्त्रण गर्नुपर्ने बताएका छन्।
यद्यपि, प्रविधि क्षेत्रका जानकारहरूका अनुसार सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा प्रयोगकर्ताले पहिले हेरेका, खोजेका वा रुचि देखाएका सामग्रीका आधारमा सम्बन्धित सामग्री बढी देखिने प्रणाली प्रयोग हुन्छ। त्यसैले मोबाइल खोल्ने बित्तिकै सबै प्रयोगकर्तालाई एउटै प्रकारको सामग्री आउने भन्ने हुँदैन।
‘आफ्नो अस्तित्वसँगै अरूको अस्तित्व स्विकार्नुपर्छ’

विप्लवको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि समलिङ्गी तथा तेस्रोलिंगी समुदायका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन्।
समुदायभित्रका विकृति र विसङ्गति अन्त्यको अभियानमा लाग्दा आफ्नो व्यवसाय नै धरापमा परेको पीडासमेत बोकेका देवेन्द्रबहादुर खत्रीले विप्लवको अभिव्यक्तिप्रति व्यङ्ग्यात्मक तथा कडा प्रतिक्रिया दिएका छन्।
खत्रीले आफू पुरुष भएर पुरुषप्रति नै आकर्षित हुने भन्दै आफ्नो यौनिक आकर्षण परिवर्तन गरेर महिला तर्फ आकर्षित गराइदिन विप्लवलाई चुनौती दिएका छन्।
उनले भनेका छन्, “ठिकै छ नि विप्लवजी, म पुरुष भएर पुरुषप्रति नै मेरो आकर्षण छ। अब मेरो यो आकर्षणलाई पुरुषतर्फ नभई महिलातर्फ गराइदिनु न त।”
समाजवादको कुरा गर्ने नेताले समाजमा रहेको विविधता बुझ्नुपर्ने भन्दै उनले विप्लवको चेतनामाथि प्रश्न गरेका छन्। “समाजवादका कुरा गर्नुहुन्छ तर विविधताबारे ज्ञान छैन हजुरलाई। कस्तो किसिमको नेता हो हजुर?” उनले प्रश्न गरेका छन्।
खत्रीले विप्लवमाथि पुँजीवादको विरोध गर्ने तर आफ्नो परिवार, आर्थिक अवस्था र सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठाउँदै पुँजीवादप्रतिको मोह रहेको आरोपसमेत लगाएका छन्। उनले विप्लवका छोराको शिक्षालगायतका विषय उठाउँदै त्यसका लागि आवश्यक आर्थिक स्रोतबारे प्रश्न गरेका छन्।
उनले भनेका छन्, “एक नम्बरको नेपाली समाज भँडुवा दलाल पुँजीवादमा लिप्त तिमी आफैँ हो। नत्र धेरैजना नेपालीका छोराछोरीको डाक्टर बन्ने हैसियत छैन। तिम्रो छोरालाई डाक्टर बनाउने पैसा कहाँबाट ल्यायौ? कति ठाउँमा घरघडेरी र विदेशमा पैसा जम्मा गरेर राखेका छौ? पुँजीवादप्रति मोह तिम्रो रहेछ, यही कुराबाट प्रस्ट हुन्छ होइन र?”
खत्रीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आफ्नो पहिचान रोजेर वा रहरले प्राप्त नगरेको स्पष्ट पार्दै पहिचान सार्वजनिक गर्दा थप उत्पीडन र हिंसा भोग्नुपर्ने अवस्था रहेको बताएका छन्।
“महिलाकै कोखबाट जन्मिएर, बहुसंख्यक महिला र पुरुषकै बीचमा, त्यही समाजमा हुर्किएर म यो हुँ भनेर आफ्नो पहिचानलाई देखाउन, थप उत्पीडन र हिंसामा पर्न हामीलाई पनि रहर छैन,” उनले भनेका छन्।
उनले विविधतालाई स्वीकार गर्न विप्लवलाई आग्रह गर्दै इन्द्रेणीको सात रङको उदाहरण दिएका छन्। “इन्द्रेणीमा सात रङ हुन्छन्, यसको अर्थ याद राख्नु होला विप्लवजी। आफ्नो अस्तित्वसँगसँगै अरूको पनि अस्तित्वलाई स्विकार्नुलाई नै सहअस्तित्व भनिन्छ। एउटा नेता भइसकेपछि यो कुरालाई स्विकार्न सक्नुपर्छ,” खत्रीले भनेका छन्।
समुदायका अधिकारकर्मीहरूले पनि यौनिक तथा लैङ्गिक पहिचानलाई ‘विकृति’ वा ‘भ्रम’का रूपमा चित्रण गर्नुले समाजमा विद्यमान विभेद, कलङ्क र हिंसालाई थप बल पुग्न सक्ने भन्दै राजनीतिक नेतृत्वले विविधता र मानवअधिकारका विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने बताएका छन्।
विप्लवको अभिव्यक्ति र त्यसपछि आएको समुदायको प्रतिक्रियाले नेपालमा यौनिक तथा लैङ्गिक विविधता, व्यक्तिगत स्वतन्त्रता, सामाजिक मूल्य–मान्यता र मानवअधिकारका विषयमा राजनीतिक नेतृत्वको बुझाइ तथा नयाँ पुस्ताको सोचबीचको बहसलाई पुनः सतहमा ल्याएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.