‘प्रेम गर्नु विकृति, अनि मान्छे मार्नुचाहिँ खुबै राम्रो काम होला?’

‘प्रेम गर्नु विकृति, अनि मान्छे मार्नुचाहिँ खुबै राम्रो काम होला?’

72
SHARES

काठमाडौं – संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन्।

विप्लवले समलैंगिकतालाई ‘पुँजीवादको उपज’ वा ‘विकृति’का रूपमा व्याख्या गरेको प्रसंगमा पन्तले उहाँको राजनीतिक विचार जति क्रान्तिकारी भनिए पनि सामाजिक सोच भने अत्यन्त पुरानो देखिएको टिप्पणी गरेका छन्।

“विप्लवजीको समलैंगिकतालाई ‘पुँजीवादको उपज’ वा ‘विकृति’ भन्ने दृष्टिकोण हेर्दा उहाँको राजनीति जति क्रान्तिकारी भनिए पनि सामाजिक सोच भने अत्यन्त पुरानो देखिन्छ,” पन्तले भनेका छन्, “यो २१औँ शताब्दीको वैज्ञानिक र बहुलतावादी दृष्टिकोण होइन; बरु पुरानो कम्युनिस्ट नैतिकतावादमा अड्किएको, भिक्टोरियन यौन-नैतिकताको छायाबाट मुक्त हुन नसकेको सोच हो।”

पन्तले क्रान्तिकारी हुनु भनेको केवल राज्यसत्ता वा आर्थिक व्यवस्था परिवर्तन गर्नु मात्र नभई मानिसको स्वतन्त्रता, शरीर, पहिचान, प्रेम र विविधतालाई पनि सम्मान गर्नु भएको बताएका छन्।

“क्रान्तिकारी हुनु भनेको केवल राज्यसत्ता वा आर्थिक व्यवस्था परिवर्तन गर्नु होइन-मानिसको स्वतन्त्रता, शरीर, पहिचान, प्रेम र विविधतालाई पनि सम्मान गर्नु हो,” उनले भनेका छन्।

समलैंगिकतालाई ‘विकृति’ भनेर श्रमिक, किसान वा मजदुर जनताको मुक्ति हुन नसक्ने उनको भनाइ छ। आफ्नै समाजभित्र आफूभन्दा भिन्न तरिकाले प्रेम गर्ने अल्पसंख्यक मानिसहरूमाथि पूर्वाग्रही नैतिक अनुशासन थोपरेर देशको विकास नहुने उनले बताएका छन्।

“समलैंगिकतालाई ‘विकृति’ भनेर कुनै श्रमिक, किसान वा मजदुर जनताको मुक्ति हुँदैन; आफ्नै समाजभित्रका तर आफूभन्दा भिन्न तरिकाले प्रेम गर्ने, त्यो पनि अल्पसंख्यक मानिसहरूमाथि पूर्वाग्रही–नैतिक अनुशासन थोपरेर देशको विकास हुने पनि होइन,” पन्तले भनेका छन्।

उनले विप्लवको विचार र क्रान्तिको असफलताको जिम्मेवारी समलिंगी तथा तेस्रोलिंगी समुदायमाथि थोपर्न खोजिएको भन्दै प्रश्नसमेत गरेका छन्।

“आफ्नो सडेगलेको विचारप्रदत्त क्रान्तिको असफलताको जिम्मेवारी समलिंगी तेस्रोलिंगी समुदायमाथि थोपर्न कति सजिलो छ है तपाईँलाई? कुनचाहिँ समलिंगी तेस्रोलिंगीले देशको शासन चलाएर यो देश बिगारेको छ र?” पन्तले प्रश्न गरेका छन्।

‘धर्मलाई अफिम भन्ने कुरा के हो नि?’

पन्तले विप्लवले अहिले संस्कृति र धर्म जोगाउने विषय उठाएको प्रसंगमा पनि प्रश्न गरेका छन्। संस्कृति संरक्षण राम्रो कुरा भए पनि द्वन्द्वकालमा धर्मलाई ‘अफिम’ भन्दै मन्दिरहरू भत्काइएको विषयमा आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।

“अझ विडम्बना त के छ भने आज संस्कृति र धर्म जोगाउने कुरा गर्नु भएको छ। संस्कृति संरक्षण राम्रो कुरा हो, तर द्वन्द्वकालमा धर्मलाई अफिम भनेर मन्दिरहरू भत्काएको कुरा के हो नि? आत्मसमीक्षा गर्नु भयो त विप्लवजी!” पन्तले भनेका छन्।

उनले पुरानो भाषामा नयाँ क्रान्तिको दाबी गर्न सजिलो भए पनि वास्तविक चुनौती आफ्नै विचारधाराभित्र रहेका पुराना पूर्वाग्रहलाई प्रश्न गर्नु भएको बताएका छन्।

“पुरानो भाषामा नयाँ क्रान्तिको दाबी गर्नु सजिलो छ। वास्तविक चुनौती भनेको आफ्नो विचारधाराभित्रका पुराना पूर्वाग्रहहरूलाई पनि प्रश्न गर्नु हो,” पन्तले भनेका छन्।

आफूहरूले विप्लवले जस्तो प्रेम वा यौन सम्बन्ध नराखेकै कारण ‘विकृति’ भन्न नमिल्ने भन्दै उनले व्यङ्ग्यात्मक शैलीमा विप्लवको आलोचना गरेका छन्।

“तपाईँको तरिकाले प्रेम गरेनन् वा यौन सम्बन्ध राखेनन् भन्दैमा हामी ‘विकृति’?” भन्दै पन्तले प्रश्न गरेका छन्।

उनले विप्लवको अभिव्यक्तिमाथि तीखो व्यङ्ग्य गर्दै भनेका छन्, “वाह विप्लव, वाह! प्रेम गर्नु विकृति, अनि मान्छे मार्नुचाहिँ खुबै राम्रो काम होला होइन?”

समाचार शेयर गर्नुहोस्
72
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.