कालीकोटमा ब्रेक फेल भएर अटो दुर्घटना, चार जना घाइते

कालीकोटमा ब्रेक फेल भएर अटो दुर्घटना, चार जना घाइते

68
SHARES

कालीकोट – कालीकोटमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिलीस्थित सुर्खेत–जुम्ला सडकखण्डमा सोमबार बिहान करिब ९:३० बजे दुर्घटना भएको हो।

पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

अटोमा चालकसहित पाँच जना सवार थिएँ। दुर्घटनापछि अस्थायी प्रहरी पोष्ट पिलीबाट प्रहरी वरिष्ठ हवलदार वीरेन्द्रबहादुर मल्लको कमान्डमा खटिएको तीन सदस्यीय प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो। घाइतेहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मान्म लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा महाबै गाउँपालिका–५, गेला निवासी ३५ वर्षीय मङ्गल शाही र सोही ठाउँकी २५ वर्षीया सविना शाही गम्भीर घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, महाबै गाउँपालिका–६ की २६ वर्षीया प्रतिमा आचार्य र वडा नम्बर ५ का २९ वर्षीय कुलप्रसाद भट्टराई मध्यम घाइते भएका छन्। आचार्यको शरीरका विभिन्न भागमा तथा भट्टराईको हातमा चोट लागेको छ।

अटो चालक खाँडाचक्र नगरपालिका–७, पिली निवासी ४७ वर्षीय कृष्णबहादुर मल्ललाई भने चोटपटक नलागेको र प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीले बताए।

दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको छ भने सडकमा आवतजावत अवरुद्ध नभएको खत्रीले बताए। घटनास्थल अस्थायी प्रहरी पोष्ट पिलीबाट करिब दुई किलोमिटर पूर्वमा पर्छ।

घटनाबारे थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
68
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.