कालीकोट अटो दुर्घटना : घाइतेमध्ये एकको जुम्ला लैजाँदै गर्दा मृत्यु

कालीकोट अटो दुर्घटना : घाइतेमध्ये एकको जुम्ला लैजाँदै गर्दा मृत्यु

216
SHARES
अटो दुर्घटनामा परि घाइते भएकाहरूको जिल्ला अस्पताल कालीकाेटमा उपचार हुँदै। तस्बिर : सौजन्य/डा. रत्नवीर सुनार

कालीकोट – कालीकोटमा ब्रेक फेल भएर भएको अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा महाबै गाउँपालिका–५, गेला निवासी ३५ वर्षीय मंगल शाही रहेका छन्।

सोमबार बिहान कालीकाेटकाे खाँडाचक्र नगरपालिका–७, पिलीस्थित सुर्खेत–जुम्ला सडकखण्डमा दुर्घटनामा परेको अटोबाट घाइते भएका शाहीको उपचारका लागि जुम्ला लैजाँदै गर्दा तिलागुफा नगरपालिका–४ मा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अन्य तीन जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो सोमबार बिहान करिब ९ः३० बजे अचानक ब्रेक फेल भएपछि सडकको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण ब्रेक फेल भएको देखिएको छ।

‘ब्रेक फेल भएको प्रारम्भिक जानकारी आएको छ,’ उनले भने, ‘एक जनाको ज्यान जाने गरी भएको दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

दुर्घटनामा महाबै गाउँपालिका–५, गेला निवासी २५ वर्षीया सबिना शाही, २९ वर्षीय कुलप्रसाद भट्टराई र महाबै गाउँपालिका–६ की प्रतिमा आचार्य घाइते भएका छन्।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको थियो। अस्पतालमा उपचारपछि गम्भीर अवस्थाका मंगल शाही र सबिना शाहीलाई थप उपचारका लागि जुम्ला रेफर गरिएको कालीकाेट अस्पतालका प्रमुख डा. रत्नवीर सुनारले बताए।

‘गम्भीर घाइते भएका दुई जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। दुई जना भने आफैँ सुर्खेत गए,’ डा. सुनारले भने, ‘जुम्ला पठाइएका दुई जनामध्ये एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।’

मृत्यु भएका शाहीको तिलागुफा नगरपालिका–४ मा पुग्दा मृत्यु भएको हो। अर्की गम्भीर घाइते महाबै गाउँपालिका–५, गेला निवासी २५ वर्षीया सबिना शाहीको थप उपचारका लागि जुम्ला पठाइएको छ।

अटो खाँडाचक्र नगरपालिका–७, पिली निवासी ४७ वर्षीय कृष्णबहादुर मल्लले चलाएका थिए। दुर्घटनाको प्रारम्भिक कारण ब्रेक फेल भएको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीले बताए।

समाचार शेयर गर्नुहोस्
216
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.