काठमाडौं – नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायले ‘जीवनको उत्सव मनाऔँ, विविधतालाई सम्मान गरौँ, विविधतालाई आत्मसात् गरौँ’ भन्ने नाराका साथ गाईजात्रा उत्सव मनाउने भएका छन्।
राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घ, मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसीभ फोरम नेपाल (समावेशी मञ्च नेपाल)सहितका संस्थाले संयुक्त रूपमा गाईजात्रा उत्सव मनाउन लागेका हुन्।
आयोजकका अनुसार जिएसएम समुदायले यस वर्ष भदौ १३ गते गाईजात्रा उत्सव मनाउने छन्। दिउँसो १ बजे काठमाडौँको ठमेलस्थित सञ्चयकोष भवनबाट र्यालीको सुरुवात हुनेछ। र्यालीमा रङ्गिन सांस्कृतिक तथा कलात्मक प्रस्तुति, सङ्गीत, नृत्य, विशेष पहिरन, हास्य र व्यङ्ग्यका साथै राजनीतिक समावेशीकरण र सहभागिताको आह्वान गर्ने सन्देशहरू समावेश हुने आयोजकले जनाएको छ।
लैङ्गिक विविधताको उत्सव मनाउने रचनात्मक अभिव्यक्ति, सामुदायिक ऐक्यबद्धता, स्मृति र जीवनका उत्सव पनि र्यालीमा समावेश हुनेछन्।
दिवङ्गत भएका जिएसएम समुदायका सदस्यहरूको सम्झनामा वसन्तपुर दरबार क्षेत्रमा दीप प्रज्वलन गरी र्यालीको समापन गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार यस क्रममा दिवङ्गत सदस्यहरूको जीवन, सम्झना, योगदान र समुदायमा उनीहरूको स्थानको सम्मान गरिनेछ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अधिकारकर्मी सुनिल बाबु पन्तको नेतृत्वमा सन् २००२ अर्थात् २०५९ देखि सामूहिक रूपमा गाईजात्रा मनाउन सुरु गरेका हुन्।
आयोजकका अनुसार समयक्रमसँगै गाईजात्रा जिएसएम समुदायका लागि एक सशक्त सांस्कृतिक मञ्च बनेको छ। जहाँ सम्झना, उत्सव, दृश्यता (अस्तित्वको प्रदर्शन), अभिव्यक्ति स्वतन्त्रता र सामूहिक पैरवीको अवसर पाइन्छ।
दिवङ्गतहरूको सम्झना गर्ने नेपालको मौलिक सांस्कृतिक परम्परामा आधारित गाईजात्राले शोक र उत्सव, हास्य र व्यङ्ग्य, पहिचान र प्रतिरोध तथा परम्परा र सामाजिक परिवर्तनलाई एकै ठाउँमा जोड्ने आयोजकको भनाइ छ।

जिएसएम समुदायले गाईजात्रालाई आफ्ना दिवङ्गत सदस्यहरूको सम्झना गर्ने दिनका रूपमा मात्र नभई जीवन, पहिचान, विविधता र आत्मअभिव्यक्तिको स्वतन्त्रता मनाउने सांस्कृतिक अवसरका रूपमा लिँदै आएको छ। साथै, यसमार्फत समुदायप्रतिको सामाजिक स्वीकार्यता बलियो बनाउने, आफ्ना अधिकार र सरोकारका विषयमा सामूहिक आवाज उठाउने तथा राज्यका सबै तहमा अर्थपूर्ण राजनीतिक सहभागिता, प्रतिनिधित्व र समावेशीकरणको मागलाई सार्वजनिक रूपमा अघि बढाउने उद्देश्य राखिएको आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार, ‘हाम्रो निधनपछि हाम्रा जैविक परिवारले हामीलाई सम्झुन् वा नसम्झुन्, हाम्रो जीवित समुदायले भने आफ्ना सदस्यहरूलाई सधैँ सम्झिरहन्छ’ भन्ने सन्देश पनि गाईजात्राले बोकेको छ।
उत्सवको उद्देश्य गत वर्ष दिवङ्गत भएका जिएसएम समुदायका सदस्यहरूको सम्झना गर्नु रहेको पहिलो संविधानसभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशकसमेत रहेका पन्तले बताए।
‘जीवन, पहिचान, विविधता र आत्मअभिव्यक्तिको स्वतन्त्रताको उत्सव मनाउनु हो,’ पन्तले भने, ‘हास्य, व्यङ्ग्य, कला, सङ्गीत र सांस्कृतिक अभिव्यक्तिका माध्यमबाट सामाजिक स्वीकार्यतालाई बलियो बनाउनु हो।’
पन्तले गाईजात्रा केवल शोकको दिन मात्र नभएको उल्लेख गरेका छन्। ‘हाम्रा लागि ५०० वर्षभन्दा पुरानो इतिहास बोकेको गाईजात्रा केवल शोकको दिन होइन, यो अस्तित्व, पहिचान, मर्यादा, विविधता र स्वतन्त्रताको उत्सव हो,’ उनले भने, ‘यस दिन हामी सङ्गीत, नृत्य, हाँसो, व्यङ्ग्य, रङ्गिन पहिरन, कला र सांस्कृतिक अभिव्यक्तिका साथ सडकमा भेला हुन्छौँ।’
उनले गाईजात्रा पर्वमा आफ्नो पहिचानको उत्सव मनाउने गरेको बताए। ‘हामी यस्तो समाजको परिकल्पना गर्दै आफ्नो पहिचानको उत्सव मनाउँछौँ, जहाँ सबैले मर्यादा, समानता र स्वतन्त्रताका साथ बाँच्न सकून्।’
पन्तले वार्षिक गाईजात्रा २०८३ मा सहभागी हुन आह्वान गरेका छन्। ‘हामीले गुमाएका प्रियजनहरूप्रति सम्मान व्यक्त गर्न, आफ्नो पहिचानको उत्सव मनाउन तथा राजनीतिक सहभागिता, समानता, मर्यादा, सांस्कृतिक स्वतन्त्रता र समावेशी भविष्यका लागि सामूहिक आवाज उठाउन एकताबद्ध होऔँ,’ उनले आह्वान गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.