रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता

171
SHARES

रोल्पा – अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा साउन २७ गते बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी राखिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्तिमगर घाइते भएका छन्। उनीहरू दुवै जनालाई स्वास्थ्य चौकी थवाङ्गबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ।

पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ। लगातार वर्षाको कारण लेदोसहितको पहिरो आइरहेको हुँदा उद्धार कार्यमा कठिनाइ परेको छ।

पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन्।

मृत्यु हुनेहरूमध्ये एक महिला र दुई जना पुरुषको शव प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्युठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली बेपत्ता भएकाहरूको खोजीकार्यको लागि परिचालन भएको डिएसपी थापाले जानकारी दिए।

त्यस्तै बेपत्ता भएकाहरूमा सोही ठाउँ बस्ने ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन्। उक्त पहिरोमा परी सोही ठाउँ बस्ने मृतक कमल बहादुर पुनमगरको घरसहित अन्य घर र गोठ पुरिदा पशु चौपाया समेत बेपत्ता भएका छन्।

समाचार शेयर गर्नुहोस्
171
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.