देउवाको पुनरागमनमा पूर्वराजाको चर्चा, वालेनबारे मौनता

देउवाको पुनरागमनमा पूर्वराजाको चर्चा, वालेनबारे मौनता

63
SHARES

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा तामझामका साथ स्वदेश फर्किएका छन्। साढे पाँच महिनाअघि लुसुक्क विदेश गएका देउवाको स्वदेश फिर्तीमा भने विमानस्थलमा भव्य स्वागत गरिएको छ। समर्थकहरूले बाजागाजासहित स्वागत गरेपछि देउवा पनि उत्साहित देखिएका छन्।

नेपाली कांग्रेसको तीन–तीन पटक सभापति तथा पाँच–पाँच पटक देशको प्रधानमन्त्री बनेका देउवा स्वदेश फर्किएसँगै उनका समर्थकहरूमा फेरि चुरीफुरी देखिन थालेको छ।

कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा पुगेसँगै पद गुमाउनु परेकोमा छटपटिएका नेताहरूले कार्यकर्ता बटुलेर विमानस्थलमा देउवाको भव्य स्वागत गरे। नेता–कार्यकर्ताले देउवाको पक्षमा नारा लगाए। कांग्रेसभित्रको किचलो समाधान गर्ने अभिभावक देउवा भएको उनीहरूले जिकिर गरे। डा. प्रकाशशरण महतले देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताए।

देउवाले आफ्नो स्वदेश फिर्ती सन्देशमा कुनै पद उल्लेख नगरी ‘शेरबहादुर देउवा’ मात्र लेखे। इतर समूहले भने सभापति गगनकुमार थापाको नेतृत्वलाई चुनौती दिने गरी देउवालाई पुनः सभापतिकै रूपमा प्रस्तुत गरेको छ।

इतर समूहको सम्पर्क कार्यालयमा देउवालाई सभापतिको रूपमा प्रस्तुत गर्दै साइनबोर्डसमेत झुन्ड्याइएको छ। इतर समूहले देउवाको स्वदेश फिर्तीसँगै आफ्नो राजनीतिक सक्रियता र दाबीलाई थप मुखर बनाउन थालेको छ। आफूहरूको प्रभाव देखाउन अन्य दलका भ्रातृ सङ्घसंस्थाका कार्यकर्तालाई समेत इतर समूहले देउवाको स्वागतमा उतारेर शक्ति प्रदर्शन गरेको पाइएको छ।

देउवा विमानस्थलबाट सोझै निवास नगई इतर समूहको सम्पर्क कार्यालयमा पुग्नुले कांग्रेस संस्थापन पक्षलाई संशयमा पारेको छ। सम्पर्क कार्यालयको बार्दलीबाट चुनौतीपूर्ण अभिव्यक्ति दिएका देउवाले युवा पुस्ताले माग गरेको परिवर्तनलाई भने आत्मसात् गरेको उल्लेख गर्दै लिखित सन्देश जारी गरे।

विश्व बदलिएको र समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई आफूहरूले स्वीकार गर्ने देउवाको भनाइ छ। नेपाली कांग्रेसमा देखिएको असहमति र निराशा तुरुन्तै समाधान हुनुपर्ने उनले उल्लेख गरे।

मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्ने भन्दै देउवाले आम नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदातालगायत आम नेपाली जनतामा कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी भएकाले सोही नीतिअनुसार सबैको त्याग, बलिदान र सङ्घर्षलाई स्वीकार गरेर अघि बढ्न अपिल गरे।

स्वदेश फर्किए लगत्तै देउवाले कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गरे। सम्बोधनका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिए भने वालेन्द्र शाह नेतृत्वको सरकारप्रति मौन बसे।

देउवा विदेशमा रहँदा रेड कर्नर नोटिस जारी गरेको वालेन सरकारबारे न त देउवाले विरोधमा अभिव्यक्ति दिए, न त उनको स्वागतमा पुगेका नेता–कार्यकर्ताले नै त्यस विषयमा बोले। उनीहरूले सरकारको आलोचनामा शब्द खर्चिएनन्।

बरु आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत हटाउन नसकेको दाबी गर्दै ‘राजा ज्ञानेन्द्रले त सकेनन् भने अरूले कसरी सक्छन्?’ भन्ने भावमा देउवाले चेतावनी दिए। आफूविरुद्ध नेपालदेखि अन्तर्राष्ट्रियस्तरसम्म मुद्दा हालिए पनि आफूलाई पक्राउ गर्ने अवस्था नरहेको दाबी देउवाले गरे।

देउवा स्वदेश फर्किएसँगै कांग्रेसभित्र नेतृत्व र वैधानिकताको बहस फेरि सतहमा आएको छ। देउवालाई नेता डा. शशाङ्क कोइरालाले वैधानिक सभापति भएको दाबी गर्दै पार्टीलाई उनकै नेतृत्वमा बलियो बनाउनुपर्ने बताए।

सभापति गगनकुमार थापाले केन्द्रीय समिति बैठकबाट पूर्वसभापति देउवालाई स्वागत गरे। केन्द्रीय समिति बैठक सुरु गर्दै स्वास्थ्य उपचारपछि नेपाल फर्किएका पूर्वसभापति देउवालाई सभापति थापाले स्वागत गरे।

कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा देउवाको योगदानको उच्च मूल्याङ्कन गरेको प्रवक्ता देवराज चालिसेले बताए। देउवाको अनुभव भोलिका दिनमा अभिभावकीय रूपमा उपयोगी हुने प्रवक्ता चालिसेले बताए।

कांग्रेसको संस्थापन पक्षले देउवालाई स्वागत गर्दै संयमता अपनाएको छ। इतर पक्ष भने अचाक्ली नै हौसिएको छ। कांग्रेसभित्र एकातिर स्वागत, समर्थन र उत्साह देखिएको छ भने अर्कोतिर नेतृत्वको वैधानिकता, नियमित र विशेष महाधिवेशनको विवाद, पार्टीको आधिकारिक नेतृत्व तथा देउवाको आगामी भूमिकालाई लिएर राजनीतिक रस्साकस्सी थप चर्किने सङ्केत देखिएको छ।

देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको सन्देश दिए पनि उनको स्वदेश फिर्तीसँगै कांग्रेसभित्र इतर समूहको सक्रियता, चुरीफुरी र फुर्तिफार्ती बढेको घटनाक्रमले पार्टीको आन्तरिक विवाद तत्कालै समाधान हुनेभन्दा थप पेचिलो बन्ने अवस्था देखाएको छ।

समाचार शेयर गर्नुहोस्
63
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.