४५ हजार युवालाई डिजिटल सीप प्रदान गर्न ईयूको आर्थिक सहयोग

४५ हजार युवालाई डिजिटल सीप प्रदान गर्न ईयूको आर्थिक सहयोग

95
SHARES

काठमाडौं – नेपालका युवालाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न उडान परियोजना सुरु भएको छ। युवाहरूलाई रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक प्राविधिक सीपहरू प्रदान गर्ने परियोजनाले उत्कृष्ट युवालाई आफ्नो सोच व्यवसायमा परिणत गर्न आर्थिक सहयोग तथा विज्ञ सहायता समेत गर्नेछ।

नेपाली युवाहरूको डिजिटल गतिशीलता र महत्त्वाकाङ्क्षालाई उजागर गर्न भन्दै सुरु गरिएको उडान परियोजनाको नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा सार्वजनिक गरियो।

सातै प्रदेशमा चार वर्षसम्म सञ्चालन हुने परियोजनाबाट करिब ४५ हजार युवाले डिजिटल सीप प्राप्त गर्ने अपेक्षा लिइएको छ। यसैगरी, चार सय २० युवालाई उद्यम स्थापनामा सहायता तथा आठ सयलाई उच्च शिक्षा पछि निजी क्षेत्रमा प्रशिक्षार्थीका रूपमा रोजगारी प्रदान गरिनेछ।

मधेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १४ पालिकामा युवाहरूलाई अवसरसँग जोड्न इन्नोभेशन हब समेत स्थापना गरिनेछ। युवाहरूलाई डिजिटल अर्थतन्त्रसँग जोड्न देखिएका अवरोधहरू र नीतिगत विषयमा सुधारका लागि नीतिगत बहस समेत गर्ने उद्देश्य परियोजनाले लिएको छ।

युरोपियन युनियनको आर्थिक सहयोगमा युथ इननोभेशन ल्याबले आफ्ना साझेदारहरू हेफर प्रोजेक्ट नेपाल, नामी र विमेन इन एनिमेसनसँगको साझेदारीमा परियोजना अघि बढाउने छ।

उडान अन्तर्गत सञ्चालन गरिने पाठशालाले युवाहरूलाई निःशुल्क रूपमा एआई, कोडिङ तथा एनिमेसनजस्ता सीपहरू निःशुल्क प्रदान गर्नेछ। कार्यशाला अन्तर्गत सातै प्रदेशमा युवाहरूका उद्यमशील सोचलाई उद्यममा बदल्ने उद्देश्यका साथ प्रदेश तथा राष्ट्रियस्तरमा ह्याकथन र उद्यमशीलता प्रवर्धन गर्न बुटक्याम्प आयोजना गरिनेछ।

परियोजनाको अर्को अङ्ग कर्मशाला अन्तर्गत निजी क्षेत्रमा उच्च शिक्षापछि युवाहरूले प्रशिक्षार्थीका रूपमा रोजगारी र सीप निखार्ने अवसर पाउनेछन्। यसैगरी, नीतिशाला अन्तर्गत परियोजनाले स्थानीय सरकारका पाठ्यक्रममा कोडिङ, एआईजस्ता प्राविधिक विषय समावेश गर्दै युवालक्षित प्राविधिक शिक्षामा योगदान दिएर नीतिगत सुधारमा पहल गर्नेछ।

परियोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले नेपालमा खासगरी ग्रामीण क्षेत्रका युवाहरू अवसरबाट वञ्चित रहेको बताइन्। ‘अझै पनि काठमाडौं उपत्यकाबाहिरका कम पहुँच भएकाहरू अवसरसँग जोडिन सकेका छैनन्,’ उनले भनिन्,‘जोखिममा रहेका समूहको अवस्था पनि उस्तै हो। दुर्भाग्यवश मैले प्रतिनिधित्व गर्ने देशको आधा जनसंख्या ओगट्ने महिलाहरूको पनि अवस्था उस्तै छ।’ उनले परियोजनाले कम अवसर पाएका युवाहरूलाई प्रविधिको ज्ञान दिँदै अवसरसँग जोड्न भूमिका खेल्ने विश्वास गरिन्।

कार्यक्रममा युवाहरूले आफूलाई आवश्यक डिजिटल सीपमा सहभागी हुन इच्छा देखाएका थिए। परियोजनाको नेतृत्व गरिरहेको युथ इन्नोभेशन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले अवसरको अभाव नै युवाहरूका लागि मुख्य चुनौती रहेको भन्दै परियोजनाले युवाहरूलाई प्राविधिक हिसाबले दक्ष बनाउँदै अर्थतन्त्रमा समेत योगदान दिने गरी अवसरसँग जोड्ने लक्ष्य लिएको बताए। ‘अवसर भएन भनेर मात्र भएन कसैले त केही गर्नु आवश्यक छ,’ उनले भने, ‘त्यसैले हामी आफैँले नेतृत्व लिएर अघि बढेका हौँ।’

परियोजनाले अब देशैभर युवासमक्ष पुगेर उनीहरूलाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न गतिविधिहरू सुरु गर्ने कार्यक्रम निर्देशक गोमा कार्कीले बताइन्।

समाचार शेयर गर्नुहोस्
95
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.