काठमाडौं – काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतबार समापन हुँदैछ। तर, साउन २६ देखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिनसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पो स्थल पुगिसकेका छन्।
शनिवार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका छन्। यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या १ लाख ५० हजार नाघेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो।
एक्स्पो अवलोकन गर्नेहरूको भीड शनिवार अनपेक्षित बढेपछि पार्किङ व्यवस्थापनमा समेत हम्मे-हम्मे परेको थियो। भृकुटीमण्डपभित्रका सबै खालि जग्गा, नेपाल पुलिस क्लबको दुई तला तथा खाद्य गोदाम ग्राउन्डलगायतका स्थलमा पार्किङको व्यवस्थापन गर्दा पनि अवलोकनकर्तालाई सहज भएको थिएन।
पटक-पटक भइरहेको भारी वर्षालाई बेवास्ता गर्दै अवलोकनकर्ता भृकुटीमण्डप पुगिरहेका थिए। ‘पानीले निकैबेर डिस्टर्ब गर्यो,’ काठमाडौं सुनचाँदी व्यवसायी सङ्घका सचिव लेखरत्न शाक्यले भने, ‘यहाँ आइपुग्दा खुट्टा टेक्नै नपाउने गरी भीड लागेको रहेछ, मैले पनि एउटा स्कुटर बुक गरेँ।’ उनीसँगै आएका सङ्घका सह-सचिव अभिषेक शाक्यले पनि विगत वर्षको मेलामा भन्दा यसपटक धेरै नै मानिस आएको अनुभव सुनाए।
अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए। ‘मेला पूर्णरुपमा सफल भयो भन्नका लागि अन्तिम दिनसम्म कुर्नै परेन,’ उनले भने, ‘हाम्रो लक्ष्य पूरा भइसकेको छ, एक्स्पो अवलोकन गरेर भोलिको दिनलाई अझ विशेष बनाइदिन म सबैलाई आग्रह गर्छु।’
एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए। मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन्। नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन्।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अवलोकनकर्ताको व्यापक उपस्थितिले मेलालाई सफल बनाएको बताइन्। पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले पनि ठुलो संख्यामा अवलोकनकर्तालाई आकर्षित गर्न सक्नु नाइमाको सफलता भएको धारणा राखे।
विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको छ। दुई पाङ्ग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ। विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ।
नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने महत्त्वपूर्ण अवसर भएको अवलोकनकर्ताहरूले बताएका छन्। अवलोकनकर्ताहरूले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राखेका छन्।
कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन्। मेलामा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। पाँचौँ दिनमा पनि एउटा सवारीसाधन लन्च गरिएको छ। लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहब प्रालिले आर्कफक्स क्रसओभर सार्वजनिक गरेको हो।
शनिवारको नाइमा मोबिलिटी संवादमा AI and Automotive Technology: Driving the Future of Mobility विषयमा छलफल भएको छ। संवादको सहजीकरण Tangible का प्रमुख कार्यकारी अधिकृत आलोक खत्रीले गरेका थिए भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेल, Vaidya’s Organization of Industries and Trading Houses (VOITH) का निर्देशक सूर्यांश वैद्य, Nepal Applied Mathematics and Informatics Institute for Research का कार्यकारी निर्देशक सन्ध्या सिटौला र टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थपलिया प्यानलिस्टका रूपमा सहभागी थिए।
शुक्रवार Technical: Battery Recycle and Ethanol Blending in Fuel विषयमा छलफल भएको थियो। त्यस्तै बिहीबार Mobilizing Mobility through Finance & Insurance विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो। बुधवारको Learning Sessions मा ‘मोबिलिटी : हिजो आज र भोलि’ विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो भने एक्स्पोको पहिलो दिन मङ्गलवार Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth विषयमा छलफल भएको थियो। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुनेछ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्।
एक्सपोमा बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।
मेलाको को–स्पोन्सरमा ग्लोबल आइएमई बैङ्क लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रूपमा रहेको छ। त्यस्तै बैङ्किङ पार्टनरका रूपमा एनएमबी बैङ्क लिमिटेड र सिद्धार्थ बैङ्क लिमिटेड रहेका छन्। मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्।
त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस -BOSCH_, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन्।
नाइमा मोबिलिटी एक्स्पोको को-टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.