नन्दप्रसाद–जानुका फाउन्डेसनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक

नन्दप्रसाद–जानुका फाउन्डेसनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक

268
SHARES

काठमाडौँ – नन्दप्रसाद–जानुका फाउन्डेसनले तेस्रो ऐतिहासिक पुस्तक ‘दोलखाका लोकनायकहरू ‘ प्रकाशित गरेको छ। काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यमा उक्त पुस्तक लोकार्पण गरिएको हो।

शिक्षासेवी एवं राणाशासन विरुद्ध लडेका योद्धा नन्दप्रसाद शिवाकोटीको एक सय १२ औँ जन्मजयन्तीको अवसर पारेर फाउन्डेसनले प्रकाशित गरेको पुस्तकमा दोलखाको भूमिले निरङ्कुश अँध्यारो चिरेर देशमा प्रजातन्त्र, बहुदलीय व्यवस्था र गणतन्त्र स्थापना गर्नका लागि जन्माएका थुप्रै वीर योद्धाहरूमध्ये २३ जनालाई समेटिएको फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले बताए।

दोलखाको समग्र विकास तथा लोकतन्त्र प्राप्तिका लागि योगदान गर्ने दोलखाका नायकहरूको संक्षिप्त जीवनी तथा योगदानमा आधारित रहेर ‘दोलखाका लोकनायकहरू’ पुस्तक प्रकाशन गरिएको उनले जानकारी दिए। फाउन्डेसनले हरेक वर्ष एउटा पुस्तक प्रकाशन गरेको स्मरण गर्दै शिवाकोटीले भावी पुस्ताले हाम्रा पुर्खाको त्याग र बलिदानलाई बिर्सन नसकोस् र उनीहरूको जीवनीबाट प्रेरणा मिलोस् भन्ने नै यो पुस्तकको मुख्य ध्येय रहेको उनले स्पष्ट पारे।

कांग्रेस सभापति गगनकुमार थापाले फाउन्डेसन पहिलो वर्षदेखि नै प्रकाशन, सम्मान र अनुसन्धानमा लागेको भन्दै यसले निरन्तरता पाउने विश्वास गरे। उनले नन्दप्रसाद र जानुकाको योगदान बाहिर आउनुले समाज निर्माणमा जोडिएका हरेकको यसैगरी वास्तविकता प्रकाशन गर्न सकिने हो भने नयाँ पिँढीका लागि प्रेरणाको स्रोत बन्ने बताए। सभापति थापाले समाजका पुराना अगुवाहरूले खोलेको शैक्षिक ढोकाले नै आज आफूहरू लोकतन्त्रमा रमाउन सकेको उल्लेख गरे।

फाउन्डेसनले नन्दप्रसाद जानुका स्मृति सम्मानबाट दोलखाका पहिलो जलविद्युत इन्जिनियर, शिक्षाविद् एवं समाजसेवी ८८ वर्षीय आत्माकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ। कार्यक्रममा पुस्तकबारे समीक्षा गर्दै लेखक एवं साहित्यकार भोजराज न्यौपानेले पुस्तकमा समेटिएका दोलखाका लोकनायकहरू सबै समाजका लागि लायक व्यक्तित्व भएको भन्दै अब निस्कने पुस्तकमा योगदानरत महिलाहरूलाई पनि समेट्न आग्रह गरे। उनले राजनीतिमात्र नभई अन्य क्षेत्रका लोकनायक समेट्नसमेत सुझाव दिएका छन्।

कार्यक्रममा गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष दिनेश प्रसाईँ, नेकपाका केन्द्रीय सदस्य विशाल खड्का, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू जिप छिरिङ लामा, प्रतिमा गौतम, नानु बास्तोला सहित नेता तथा नेता तथा जिल्लाका अगुवाहरूले सम्बोधन गरेका थिए।

शैक्षिक तथा सामाजिक क्षेत्रलाई कार्यक्षेत्र बनाएर क्रियाशील फाउन्डेसनले विमोचित पुस्तकहरू शान्ति शिक्षा अभियानले सञ्चालनमा ल्याएको सामुदायिक पुस्तकालयका अध्यक्ष रवीन्द्र महर्जनलाई हस्तान्तरण गरिएको छ।

समाचार शेयर गर्नुहोस्
268
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.