रास्कोटबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

रास्कोटबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

194
SHARES
तस्वीर : साैजन्य/ टिकाराज उपाध्याय

कालीकोट – कालीकोटको रास्कोट नगरपालिकास्थित प्रादेशिक रणनीतिक अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको अवस्था जटिल बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ।

सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी नहकुल सिम्खाडाकी २१ वर्षीया श्रीमती बिनिता प्याकुरेललाई प्रसूति व्यथा लामो समयसम्म लागे पनि प्रसव प्रक्रिया अघि नबढेपछि बिहीबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो।

अस्पतालमा उपचारका क्रममा बिनिताको प्रसूति व्यथा लामो समयसम्म अघि नबढ्नुका साथै गर्भमा रहेको बच्चाको मुटुको धड्कनसमेत अनियन्त्रित देखिएपछि आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेको थियो। अवस्था जटिल बन्दै गएपछि तत्काल थप उपचार आवश्यक देखिएपछि हवाई उद्धार गरिएको प्रादेशिक रणनीतिक रास्कोट अस्पतालका स्वास्थ्य बीमा प्रमुख तुलराज उपाध्यायले जानकारी दिए।

बिनिताको उद्धारका लागि सान्नीत्रिवेणी गाउँपालिकाले आवश्यक पहल गरेको थियो। गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंह (सञ्ज्याल)ले आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै समयमै उद्धारका लागि पहल गरिदिएकोमा कालीकोटका प्रमुख जिल्ला अधिकारीप्रति आभार व्यक्त गरिन्।

उपाध्यक्ष सञ्ज्यालले भनिन्, “कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीले हाम्रो अनुरोधलाई स्वीकार गर्दै आमा र बच्चाको स्वास्थ्य अवस्थाप्रति गम्भीर चासो देखाई समयमै उद्धारका लागि आवश्यक पहल गर्दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ।”

उनले विपद् तथा स्वास्थ्यसम्बन्धी गम्भीर अवस्थामा सम्बन्धित निकायबीचको प्रभावकारी समन्वय र समयमै हुने पहलले नागरिकको जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन।

दुर्गम क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलालाई जटिल अवस्थामा तत्काल उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार सेवा सञ्चालन हुँदै आएको छ। बिनिताको समयमै गरिएको उद्धारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि आपत्कालीन स्वास्थ्य सेवाको पहुँच र हवाई उद्धारको महत्वसमेत उजागर गरेको छ।

समाचार शेयर गर्नुहोस्
194
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.