रुपन्देही – तिलोत्तमा नगरपालिका पुरुष सञ्जालले लैङ्गिक विभेद अन्त्य तथा महिला हिंसाविरुद्ध आवाज उठाउँदै मणिग्राम चोकमा धर्ना कार्यक्रम आयोजना गरेको छ।
केही दिनअघि सिमरामा गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोध तथा दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै सञ्जालले ब्यानर र पम्प्लेटसहित धर्ना दिएको हो।
सहभागीहरूले महिला तथा बालिकामाथि हुने हिंसा र यौनजन्य अपराधको अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयन र सामाजिक जागरण आवश्यक रहेको बताए।

पुरुष सञ्जालका अध्यक्ष जीवन पाण्डेको अध्यक्षता तथा सचिव विनोद बि.सी.को सञ्चालनमा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी, पुरुष सञ्जालका सदस्यहरू तथा विभिन्न क्षेत्रका युवाहरूको सहभागिता रहेको थियो।
धर्नामार्फत सहभागीहरूले लैङ्गिक विभेदको अन्त्य, महिला हिंसाविरुद्ध प्रभावकारी अभियान सञ्चालन तथा यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.