काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको व्यापक क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दुःख व्यक्त गरेको छ।
नाइमाले विज्ञप्ति निकालेर बाढीबाट सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचना तथा अन्य महत्त्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको उल्लेख गरेको छ।
इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी तथा प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन्। घटनाको पूर्ण विवरण आउन बाँकी रहे पनि मानवीय, भौतिक तथा आर्थिक क्षति अझ ठूलो हुन सक्ने अवस्थाप्रति चिन्तित छौँ। विज्ञप्तिमा लेखिएको छ।
नाइमाले यस कठिन घडीमा प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै, खोज, उद्धार तथा राहत कार्यमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सम्पूर्ण उद्धारकर्मीहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ।
भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा जोखिम रहन सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पालना गर्न हार्दिक अनुरोध गरिएको छ।
प्रभावित समुदायसँग साथमा रहँदै उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको जानकारी नाइमाले गराएको छ। सबैको सुरक्षा तथा प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.