"/>

संसदमा चिप्लिए वालेन्द्र, उद्धार कार्यमा असफल

संसदमा चिप्लिए वालेन्द्र, उद्धार कार्यमा असफल

76
SHARES

काठमाडौँ – भोटेकोशीमा अकस्मात् आएको बाढीले बोल्दै नबोल्ने प्रधानमन्त्री वालेन्द्र शाहको बक्य फुटाइदिएको छ। प्रधानमन्त्री वालेन्द्रलाई सरकारको पूर्वसूचना प्रणाली, बाढीपछिको खोज तथा उद्धारमा उठेका प्रश्नको संसद्को रोस्ट्रममा उभिएर जवाफ दिन बाध्य बनाएको छ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको आठौँ दिनमा प्रधानमन्त्री शाह प्रतिनिधिसभाको रोस्ट्रममा उभिएका हुन्। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरकै दिन भदौ १० गते भोटेकोशी बाढीले विनाश निम्त्याएको थियो।

प्रधानमन्त्री शाहले भोटेकोशीको विपत्तिलाई सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपातको संज्ञा दिए। चिनियाँ पक्षले बाढी आउनसक्ने भन्दै इमेलमार्फत पूर्वसूचना दिएको तर नेपाल सरकारबाट लुकाइएको विषयमा भने प्रधानमन्त्री शाह बोलेनन्।

प्रधानमन्त्री शाहले भोटेकोशीको बाढी पूर्वअनुमानभन्दा बाहिरको घटना भएको बताए। प्रधानमन्त्री बनेको पाँच महिनामा दोस्रोपटक संसद्को रोस्ट्रममा उभिएका शाहले बाढीपछि सरकारको तर्फबाट भएका कामको बेलिबिस्तार सुनाए। ठूलो बज्रपात परेको बताउँदै प्रधानमन्त्रीले भने, ‘हामी लडिरहेका छौँ।’

सरकारले बाढी आएलगत्तै सूचना प्रवाह गरेको बताएको छ। सूचना प्रवाह गर्दागर्दै सुरक्षाकर्मीहरूलाई समेत बाढीले बगाएको उनले बताए। जलवायु परिवर्तनबाट हुने असरप्रति सबै सचेत हुनुपर्ने उनले बताए। प्रधानमन्त्री शाहले रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजी जारी रहेको र घाइतेहरूको उपचार भइरहेको जानकारी संसद्लाई गराए।

प्रधानमन्त्री वालेन्द्र शाह गत जेठ १७ गते जस्तै यो पटक पनि संसदमा चिप्लिएको विपक्षी दलहरूको आरोप छ। नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि विवादित बनेका प्रधानमन्त्री शाहले ठ्याक्कै दुई महिनापछि अर्को झुट बोलेको आरोप लागेको छ।

प्रधानमन्त्री शाहले सुरुङ उद्धारमा भएको ढिलाइको विषयमा आएको गुनासोबारे फरक घटना भएको जिकिर गरे। टनेलमा विपद् आउँदा सुरुङमा आएको पहिरो पन्छाएर प्रवेश गर्ने विशेषज्ञता विश्वभर रहेको, तर यो फरक घटना भएको प्रधानमन्त्री शाहले बताए।

प्रधानमन्त्री शाहले सुरुङभित्रको हिलोमा पठाउने प्रविधि संसारमै नभएको दाबी गरेकोप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री शाहले सरासर झुट बोलेको दाबी गरे।

भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइप्रति प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलका नेताहरूले सरकारको आलोचना गरेका छन्। बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ नै सरकारमाथिको सबैभन्दा गम्भीर प्रश्न बनेको छ।

उनीहरूले उद्धारमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गर्नुपर्ने तथा विपद्पछिको पुनर्निर्माण, अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्तिका लागि प्रभावकारी संयन्त्र बनाउन माग गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको बताए।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीको विषयमा प्रधानमन्त्री शाहले गलत बोलेको बताए। उनले सरकार उद्धार कार्यमा असफल भएको टिप्पणी पनि गरे।

प्रधानमन्त्री शाहले आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत नगरेको आरोप पनि प्रचण्डले लगाए। प्रधानमन्त्री वालेन्द्र शाहले कसैको अनुहार हेर्न नखोजेको टिप्पणी प्रचण्डले गरे।

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताए। थापाले विपद्पछि अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सात बुँदे सुझाव नै दिए।

बाढी प्रभावितहरूले तत्काल खोज तथा उद्धार, राहत एवं पुनर्स्थापनामा सरकार प्रभावकारी बन्न नसकेको गुनासो गरिरहेका छन्। बाढी गएको आठौँ दिनसम्म पनि बेपत्ताहरूको अत्तोपत्तो नलाग्दा प्रभावित नागरिकमा निराशा छाएको छ। बाढीपछि बेपत्ता आफन्त आठ दिन बितिसक्दा पनि केही पत्ता नलागेपछि केही पीडित परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्न थालेका छन्।

१ हजार २२२ जनाको शव फेला

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बेलुकी ८ बजे सम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

रसुवामा १ सय २७ जना, नुवाकोटमा १ सय ५५ जना, धादिङमा ६० जना र चितवनमा ३ सय ४८ जनाको शव सङ्कलन भएको छ।

गोरखामा ६८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १८ जना र नवलपरासी पश्चिम १ सय ९४ जना र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १४ गरी १ हजार २ सय २२ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ सय ८१ महिला, २ सय ६३ पुरुष र ४ सय ३८ नखुलेको गरी जम्मा ८ सय ८२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। साथै पहिचान नभएको ९ सय ५३ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ७५ जनाको खोजी कार्य भइरहेको छ।

विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार १ सय २६ जना व्यक्तिहरूलाई राखिएको छ। प्रहरीले बाढीको जोखिममा रहेका जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ।

३४ जनाको जीवित उद्धार

भोटेकोशी बाढीका क्रममा हराएकामध्ये बुधबार ३४ जनाको नेपाली सेनाले उद्धार गरेको छ। योसहित सेनाले हालसम्म हवाई हेलिकप्टरबाट २७३ विदेशीसहित ३ हजार ९२५ जनाको उद्धार गरेको छ।

नेपाली सेनाले दिएको जानकारी अनुसार रसुवागढी हाइड्रोमा नेपाली सेना तथा आयोजनाका प्रतिनिधि इन्जिनियरसहित २७५ मिटरसम्म पुगेर खोजी कार्य भइरहेको छ। त्यसक्रममा एक्साभेटर ड्रप गरी उद्धार कार्यलाई थप तीव्र गराउने तयारी रहेको छ।

लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको सेनाले उल्लेख गरेको छ।

चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन र विदेशीसहितको संयुक्त टोली १५० मिटरमा पुगेर टनेल बन्द भएको अवस्थामा फेला परेको र साउण्ड डिटेक्टरबाट मोनिटर गर्ने काम भएको छ।

अपर त्रिशूली–१ मा टनेलको मुख ढुङ्गाले छेकिएको अवस्थामा रहेकाले भित्र छिर्ने प्रयास भइरहेको अपडेटमा उल्लेख छ। साथै, हाकुबेसीमा २६० मिटरभित्रसम्म पुगेर खोजी कार्य गर्दा हालसम्म केही फेला परेको छैन।

त्यहाँको मेन टनेलमा २५ मिटर, एसेस टनेल–१ बाट करिब १५० मिटर र एसेस टनेल–२ बाट करिब २० मिटर गएपछि सेनाको टोली २६ मिटर पानी भएको डीसेन्डर बेसिनसम्म पुगेको छ। त्यहाँ अगाडि बन्द अवस्थामा भेटिएको छ।

त्रिशूली–थ्री एमा नेपाली सेनासहितको ९३ जनाको संयुक्त उद्धार टोलीले चारवटा स्काभेटर र एक बबक्याटबाट माटो पन्छाई कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको काम गरेको छ।

त्यसपछि टनेलको आउटलेटमा लेदो भरिएका कारण बोकाटद्वारा माटो फाल्ने काम भएको र अगाडि रहेको चट्टान ब्लास्टिङको कार्य भइरहेको सेनाले उल्लेख गरेको छ।

त्रिशूली–थ्री बीमा नेपाली सेनाका ६१, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी बोकाटसहित अफिस र क्याम्प एरियाको पहिचान तथा खोजी कार्य गरिरहेको छ।

डीएनए ‘प्रोफाइलिङ’ सुरु

नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए ‘प्रोफाइलिङ’ सुरु गरेको छ।

बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डीएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सकून् भनेर प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरु गरेको हो।

प्रहरी अस्पतालमा बुधबार दिउँसो ५ बजेसम्म सम्पर्कविहीन भएका परिवारका ५३९ वटा डीएनए प्रोफाइलिङका लागि नमुना सङ्कलन गरिएको छ। ‘सम्पर्कविहीन आफन्त आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र दुई प्रति फोटो लिएर अस्पताल आएर आफ्नो नमुना दिन सक्नेछन्,’ प्रहरी अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीले भने।

सम्पर्कविहीनका आफन्तले अस्पतालमा उपलब्ध फाराम भर्नुपर्ने र फाराम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने तथा तत्पश्चात् विशेषज्ञ प्राविधिक टोलीबाट नमुना सङ्कलन गर्ने उनले बताए। सङ्कलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा पठाइनेछ।

प्रहरी टोलीले बाढी प्रभावित क्षेत्रमा बाढीका कारण मृत्यु भएका व्यक्तिको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ।

अमेरिकी सेनाका दुई विमानले ल्याए उपकरण

राहत र उद्धारमा आवश्यक साना लोडरहरूसहित अमेरिकी सेनाका दुईवटा विमान नेपाल आइपुगेका छन्। नेपालको नेतृत्वमा भइरहेको उद्धार र राहतमा सहयोग पुग्ने गरी आवश्यक उपकरणसहितको सामग्री लिएर अमेरिकी सेनाका जहाज नेपाल आइपुगेका हुन्।

अमेरिकी राजदूतावासका अनुसार रसुवामा भदौ १० को बाढीपछि उद्धार र राहतमा सघाउन ५ हजार विशिष्टीकृत सामग्री ल्याइएको हो। यसबाहेक ५०० प्राथमिक उपचार किट र स्ट्रेचरहरू पनि रहेको दूतावासले जनाएको छ।

सरकारले अनुरोध गरेपछि यी सामग्री ल्याइएको र ३६ लाख डलरबराबरका थप सामग्री यसअघि नै ल्याइसकिएको दूतावासले जनाएको छ। यसले अमेरिका–नेपाल साझेदारीलाई देखाउने दूतावासले उल्लेख गरेको छ।

पर्याप्त प्रविधि र उपकरणको अभावपछि आठ दिन बित्दा पनि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार हुन सकेको छैन। भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा भएको ढिलाइ, पूर्वसूचना प्रणालीको प्रभावकारिता तथा पर्याप्त प्रविधि र उपकरणको उपलब्धतामाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले संसदमा दिए पनि विपक्षी दलहरूले सरकारको उद्धार कार्यप्रति असन्तुष्टि जनाएका छन्।

समाचार शेयर गर्नुहोस्
76
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.