सरकारले बाढीपीडित परिवारलाई सकेसम्म छिटो उद्धार गर्न एकद्वार सङ्कट व्यवस्थापन केन्द्र खोल्छ। तर प्रश्न उठ्छ-राहत र उद्धार किन चुस्त, दुरुस्त र छिटो–छरितो रूपमा वास्तविक पीडितसम्म पुग्न सकिरहेको छैन?
राहत पुगिहाले पनि असली पीडित र नक्कली पीडित छुट्याउन सक्ने प्रभावकारी संयन्त्र सरकारसँग किन छैन?
प्रधानमन्त्रीज्यूले “टनेलबाट हिलो र लेदो सफा गरेर उद्धार गर्ने प्रविधि संसारमै छैन” भन्नुभएको छ। तर प्रविधि छैन भनेर जिम्मेवारीबाट पन्छिन मिल्छ?
भीषण बाढीले बगाएको अन्नपात उम्रिसक्यो, तर टनेलमा फसेकाहरूको उद्धार अझै हुन सकेको छैन। प्रभावित क्षेत्रमा यत्रतत्र छरिएका मृत जीवजन्तु, गाईबस्तु तथा मानिसका शवसमेत समयमै व्यवस्थापन हुन नसक्दा थप स्वास्थ्य जोखिम सिर्जना भइरहेको छ।
सरकारको कामप्रति प्रश्न उठाउँदा वा फरक दृष्टिकोण राख्दा त्यसलाई सरकारविरुद्धको आवाज भनेर बुझ्ने प्रवृत्ति पनि अन्त्य हुनुपर्छ। सरकारलाई प्रश्न गर्नु जनताको अधिकार हो; आलोचना लोकतन्त्रको दुस्मन होइन, जबाफदेहिताको आधार हो।
जनताले पाइपाइ गरेर कमाएको सम्पत्तिबाट कर तिर्न अनिवार्य हुन्छ। राज्यलाई कर तिर्ने नागरिक विपत्तिमा पर्दा भने सरकारले आफ्नो अभिभावकीय दायित्व पूरा गर्न नसक्ने र विभिन्न बहाना खोज्ने हो भने यो नेपाली जनताको दुर्भाग्य हो कि राजनीतिको खेल?
हरेक वर्ष वर्षायाममा बाढी, पहिरो र भू–क्षयको उच्च जोखिममा रहेका क्षेत्रहरू पहिचान हुन्छन्। त्यसो भए जोखिम थाहा हुँदाहुँदै पूर्वतयारी किन हुँदैन?
उद्धारका लागि पर्याप्त तालिमप्राप्त जनशक्ति किन तयार राखिँदैन?
आवश्यक उद्धार उपकरण र प्रविधि किन पहिल्यै तयारी अवस्थामा राखिँदैन?
जोखिमयुक्त क्षेत्रमा आवश्यक बोट, लाइफ ज्याकेट, डोरी, स्ट्रेचर, सञ्चार उपकरणलगायत सामग्री किन पर्याप्त मात्रामा राखिँदैन?
राहत वितरणमा वास्तविक पीडित पहिचान गर्ने प्रभावकारी प्रणाली किन हुँदैन?
बाढीपछि शव तथा मृत पशु व्यवस्थापनका लागि विशेष टोली र उपकरण किन तयारी अवस्थामा राखिँदैन?
विपद् आउनुअघि नै स्थानीय तहदेखि केन्द्रसम्मको उद्धार तथा राहत संयन्त्रलाई किन सक्रिय बनाइँदैन?
विपद् हरेक वर्ष आउन सक्छ भन्ने थाहा छ भने पूर्वतयारी पनि हरेक वर्ष हुनुपर्छ।
जनताको घरको अन्नपात उम्रिसक्यो। कसैको घर बग्यो, कसैको परिवार बिछोडियो, कसैको जीवनको अन्त्य भएको छ! यस्तो बेलामा जनतालाई पीडा हुनु भनेको सरकारले आफूले पीडा बोध गर्ने र सक्दो व्यवस्थापन तिर लाग्नु पर्ने होl
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.