बझाङकाे दुर्गाथलीमा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता

बझाङकाे दुर्गाथलीमा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता

234
SHARES

बझाङ- सुदूरपश्चिमको बझाङ दुर्गाथली गाउँपालिका वडा नं. ५ मा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता भएको छ। सामाजिक परम्पराअनुसार विवाह गरेका एलिजा रोकाया र रामा कुमारी विष्टले वडा कार्यालयमा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गराएका हुन्।

दुर्गाथली गाउँपालिका वडा नं. ५ की रोकाया र वित्थडचिर गाउँपालिका वडा नं. ९ की रामा कुमारी विष्टलाई समलिङ्गी विवाह दर्ता प्रमाणपत्र प्रदान गरिएको स्थानीय पञ्जिकाधिकारी हर्कबहादुर जप्रेलले जानकारी दिए।

सर्वोच्च अदालतको आदेशबमोजिम गृह मन्त्रालयबाट समलिङ्गी विवाह दर्ता गर्न परिपत्र भएको प्रमाणपत्रमा लेखिएको छ। ‘पछि कानून बन्दाका बखत सोहीअनुसार हुने गरी हाललाई अस्थायी विवाह दर्ता गरिएको छ,’ वडा कार्यालयले दिएको विवाह दर्ता प्रमाणपत्रमा लेखिएको छ।

नेपालमा समावेशी तथा समलिङ्गी विवाह दर्ताले ऐतिहासिक बाटो खोलिसकेको अवस्थामा दुर्गाथली गाउँपालिका–५ मा पनि रोकाया र विष्टले आफ्नो विवाह कानुनी रूपमा दर्ता गराएका हुन्।

विवाह दर्तापछि उनीहरूले आफूहरू कानुनी रूपमा श्रीमान्–श्रीमती भइसकेको भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। विवाह दर्ता गर्न पाएकोमा खुसी लागेको रोकाया र विष्टले बताए। ‘धेरै राम्रो लागेको छ,’ रोकायाले पहिचानसँग भनिन्, ‘विवाह दर्तामा सहयोग गर्ने सबैलाई धन्यवाद।’

‘आजदेखि कानुनी रूपमा हामी श्रीमान् श्रीमती भइसकेका छौँ। विशेष धन्यवाद प्रमुख जिल्ला अधिकारी, दुर्गाथली गाउँपालिका वडा नं. ५ का सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरू र सचिव हर्क जप्रेललाई हार्दिक धन्यवाद,’ अभि रोकायाले फेसबुकमा लेखेकी छन्।

‘यसैगरी सुझाव सल्लाह दिएर यहाँसम्म पुर्‍याउनु हुने सुरेन्द्र पाण्डे र माया गुरुङ्गलाई पनि धेरै–धेरै धन्यवाद। मायाको पहिचान नेपाललाई पनि धेरै–धेरै धन्यवाद। अनि हामीहरूलाई माया गर्नु हुने सम्पूर्ण इष्टमित्रहरूलाई धेरै–धेरै धन्यवाद।’

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक जोडीको विवाह दर्ताका लागि सर्वोच्च अदालतले २०८० असार १२ गते अस्थायी अभिलेख रहने गरी आवश्यक व्यवस्था गर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशले कानुन नबन्दासम्म यस्ता जोडीको विवाह अस्थायी रूपमा अभिलेखमा राख्ने बाटो खोलेको थियो।

सर्वोच्च अदालतको आदेशपछि गृह मन्त्रालयले मायाको पहिचान नेपालको पहलमा ७५३ वटै स्थानीय तहलाई समलिङ्गी विवाह दर्ता गर्न परिपत्र जारी गरेको थियो। २०८१ वैशाख १२ गते जारी गरिएको परिपत्रपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका जोडीलाई सम्बन्धित स्थानीय तहमा अस्थायी अभिलेखका रूपमा विवाह दर्ता गर्न थप सहज भएको हो।

नेपालमा समलिङ्गी विवाह दर्ताको इतिहासमा भने लमजुङको दोर्दी गाउँपालिका–२ ले २०८० मंसिर १३ गते माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको विवाह पहिलोपटक दर्ता गरेको थियो। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समलिङ्गी विवाह दर्ता गरेको यो पहिलो थियो। उक्त दर्तालाई नेपालमा समलिङ्गी विवाहको ऐतिहासिक पहिलो कानुनी दर्ताका रूपमा लिइन्छ।

त्यसपछि विभिन्न स्थानीय तहमा समलिङ्गी तथा तेस्राेलिंगी जोडीको विवाह अस्थायी अभिलेखका रूपमा दर्ता हुने क्रम अघि बढेको छ। दुर्गाथली गाउँपालिका–५ मा एलिजा रोकाया र रामा कुमारी विष्टको विवाह दर्ता पनि त्यही ऐतिहासिक प्रक्रियाको निरन्तरता हो।

सर्वोच्च अदालतले विवाह दर्ताविरुद्धको रिट खारेज गर्ने आदेश दिएको छ। समलिङ्गी विवाह दर्ता गर्ने अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको छ। जसको पूर्णपाठ भने सार्वजनिक हुन बाँकी छ।

संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले समावेशी विवाह दर्ता गर्न सफल भएकोमा रोकाया र विष्टको जोडीलाई बधाई दिएका छन्।

‘बधाई छ, अर्को एउटा जोडीले समावेशी विवाह दर्ता गर्न सफल हुनु भएकोमा,’ पन्तले लेखेका छन्।

समाचार शेयर गर्नुहोस्
234
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.