काठमाडौँ – भोटेकोशी बाढीले विनाश निम्त्याएको भदौ १० गते त्रिशूली थ्रि ‘ए’को सुरुङभित्र प्रवेश गरेका संजय शाह र कबिर महर्जनले दोस्रो जीवन पाएका छन्। सुरुङभित्र थुनिएका शाह र महर्जनलाई नेपाली सेनाको खोज तथा उद्धार टोलीले ठ्याक्कै १० दिनपछि जीवितै बाहिर निकाल्न सफल भएको हो।
सास छउन्जेल आश भनेजस्तै सुरुङभित्र महामन्त्र जपेर बसेका शाहले उद्धार भएसँगै लामो सास फेरेका छन्। दस दिनसम्म सुरुङको अँध्यारोभित्र जीवन र मृत्युबीच सङ्घर्ष गरिरहेका शाह र महर्जनका लागि नेपाली उद्धार टोलीको प्रयास जीवन फर्काउने अभियान बनेको छ।
छोराको जीवितै उद्धार भएको सुन्नेवित्तिकै खुशीले बुबा रामफल शाह काठमाडौँ आएका छन्। भदौ १० गतेदेखि छोरासँग सम्पर्क नहुँदा आमा बेहोस थिइन्। संजयको जीवितै उद्धार भएको सञ्चारले परिवारमा खुशी फिर्ता भएको छ। बुबा रामफलले उद्धार टोलीलाई धन्यवाद दिए।
भोटेकोशी बाढीपछि सुरुङभित्र थुनिएका व्यक्तिको खोजी तथा उद्धार अत्यन्त जोखिमपूर्ण र चुनौतीपूर्ण थियो। सुरुङभित्र पानी, हिलो, अँध्यारो र भौगोलिक कठिनाइकाबीच उद्धार टोलीले आफ्नै ज्यानको जोखिम मोलेर खोजी तथा उद्धारको कामलाई निरन्तरता दिएको थियो। तत्काल उद्धार सम्भव नदेखिएको कठिन परिस्थितिमा पनि सुरुङभित्र जीवनको सम्भावना खोज्दै नेपाली सेना र सशस्त्र प्रहरीले अथक प्रयास जारी राखेका थिए।
नेपाली सेना, सशस्त्र प्रहरीले अत्यन्त चुनौतीपूर्ण परिस्थितिकाबीच पनि खोज तथा उद्धारको अथक प्रयास जारी राखेका छन्। सुरुङभित्रबाट उद्धार गरिएका संजयको अवस्था सामान्य छ। शाहसँगै जीवितै उद्धार गरिएका महर्जनको अवस्था भने जटिल छ।
नेपाली सेनासहित विज्ञ र प्राविधिकहरूको टोलीले महर्जनलाई बिहान सकुशल उद्धार गरी काठमाडौँ ल्याएको छ। उनको सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचार भइरहेको छ।
श्रीमानलाई भेट्न सैनिक अस्पताल पुगेकी महर्जनकी श्रीमती हिराशोभा महर्जनले कबिर सकुशल फर्किँदा परिवारमा खुशीको सीमा नभएको बताइन्। उनले श्रीमानले सुरुमा आफूलाई चिन्न नसकेको बताइन्।
शाह र महर्जनको जीवनले १० दिनको अँध्यारोपछि फेरि उज्यालो देखेका छन्। परिवारमा हराउँदै गएको खुशी फिर्ता ल्याइदिएका छन्। जबसम्म आशा जीवित हुन्छ, तबसम्म असम्भव पनि सम्भव हुन्छ भन्ने नेपाली उद्धार टोलीले देखाएको छ।
त्रिशूली ३ ‘ए’ मा उद्धार टोलीको कमान्ड गरेका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल गङ्गा बरालले आवाज आएपछि जीवितै रहेको जानकारी पाएको बताए।
सुरुङमा फसेकाहरूलाई बाहिर ल्याउनका लागि नेपाली सेनाको कमान्डमा ७५ जना र सशस्त्र प्रहरीका १८ जनासहित विज्ञहरूको टोली खटिएको थियो। माथिल्लो त्रिशूली–थ्रि ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा एउटा शव फेला परेको छ।
सुरुङभित्र फसेका व्यक्तिको अवस्था यकिन नहुँदा उद्धार टोलीका लागि प्रत्येक पाइला जोखिमपूर्ण थियो। तर, सम्भावित जोखिमलाई बेवास्ता गर्दै नेपाली उद्धारकर्मीहरूले आफ्नै ज्यान जोखिममा राखेर सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धारलाई निरन्तरता दिए।
लामो समयसम्म जीवनको कुनै सङ्केत नदेखिए पनि आशा नछाडेका उद्धारकर्मीहरूको अथक प्रयासकै परिणामस्वरूप शाह र महर्जनलाई १० दिनपछि जीवितै बाहिर निकाल्न सम्भव भएको हो।
नेपाली उद्धार टोलीले आफ्नै ज्यानको जोखिम मोलेर जारी राखेको खोज तथा उद्धारको काम प्रशंसनीय रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।
भोटेकोशी विपत्तिमा सहयोग गर्न देशभित्र मात्रै नभएर विदेशी विज्ञहरू पनि संलग्न छन्। संयुक्त रूपमा नेपाल सरकारको निर्देशनअनुसार खोज तथा उद्धारको काम जारी रहने सैनिक प्रवक्ता सहायक रथी बस्नेतले जानकारी दिए।
१० दिनको कठिन सङ्घर्षपछि दुई जीवनको पुनर्जन्म भएको छ। आशाको अद्भुत विजय भएको छ। बेपत्ता भएका तर फेला पर्न नसकेका परिवारमा आशाको किरण छरेको छ। अरू पनि जीवितै फेला पर्ने कामना सबैले गरेका छन्।
नेपाली उद्धार टोलीले असम्भव भन्ने केही नहुने देखाएको छ। जसको सबैले सराहना गरेका छन्, प्रशंसा गरेका छन्। नेपालभित्रै यस्ता जटिल विपदमा नेपालीले नै गर्न सक्छन् भन्ने प्रमाणित भएको छ।
दस दिनपछि जीवितै उद्धार भएको यो घटनाले विपदमा उद्धारको सम्भावना सकिएको ठान्न नहुने सन्देशसमेत दिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.