कृष्णको जन्म अँध्यारो रातमा, अमावस्याको गहन अन्धकारमा, कारागारभित्र, मृत्युको भयले घेरिएको अवस्थामा हुन्छ। तर कृष्णजन्मकथाको रहस्य यति मात्र होइन। वास्तवमा जन्म स्वयं अन्धकारबाट प्रारम्भ हुन्छ।
बीउ जब अंकुरित हुन्छ, प्रकाशमा होइन, माटोको अँध्यारो गर्भमा हुन्छ। फूल प्रकाशमा फुल्छ, तर उसको जन्म अँध्यारोमै हुन्छ। कविता शब्दमा प्रकट हुनुअघि चेतनाको अतल गहिराइमा जन्मिन्छ। चित्र क्यानभासमा देखिनुअघि कलाकारको अन्तर्मनको अज्ञात गहिराइमा आकार लिन्छ।
ध्यान, समाधि र आत्मबोध पनि बुद्धिको सतही प्रकाशबाट होइन, विचारभन्दा परको मौन अन्धकारबाट उदाउँछन्। त्यसैले कृष्णको अँध्यारो रात केवल एउटा ऐतिहासिक रात होइन,यो प्रत्येक जन्मको प्रतीक हो।
जहाँ बुद्धिको प्रकाश पुग्दैन, जहाँ तर्क मौन हुन्छ, जहाँ हातलाई हात पनि देखिँदैन, त्यहीँबाट कुनै नयाँ चेतनाको जन्म हुन सक्छ।
कृष्ण कारागारमा जन्मिए।तर के हामी सबै कुनै न कुनै कारागारमा जन्मँदैनौँ?शरीर स्वयं एउटा सीमा हो। नाम एउटा सीमा हो। परिवार, संस्कार, समाज, विचार, स्मृति, इच्छा र भय ,यी सबैले हाम्रो वरिपरि अदृश्य पर्खालहरू बनाउँछन्। जन्मले हामीलाई शरीर दिन्छ, तर त्यही शरीरसँगै सीमाहरू पनि आउँछन्।त्यसैले जन्म बन्धनमा हुन्छ।तर जीवनको वास्तविक उपलब्धि जन्ममा होइन,चेतनामा छ।
जन्मले हामीलाई कारागारमा ल्याउँछ; साधना भनेको त्यसै कारागारभित्र स्वतन्त्रताको द्वार खोज्नु हो।
जन्म बन्धन हो भने, आत्मबोध मुक्ति हो। जन्मसँगै मृत्यु पनि जन्मन्छ
कृष्ण जन्मँदै गर्दा उनको मृत्युको भविष्यवाणी हुन्छ। तर गहिराइमा हेर्दा यो पनि सबैको कथा हो।जन्मिएपछि मृत्युको सम्भावनाका लागि अरू कुनै योग्यता आवश्यक पर्दैन।जन्म नै पर्याप्त छ।
जन्मको पहिलो क्षणदेखि नै मृत्यु हाम्रो यात्राको अदृश्य सहयात्री हुन्छ। हामी जसलाई जीवन भन्छौँ, त्यो एक अर्थमा मृत्युको दिशातर्फ निरन्तर अघि बढिरहेको यात्रा हो। तर कृष्णकथाको अद्भुतता यहीँबाट सुरु हुन्छ,
मृत्यु उनलाई मार्न आउँछ, तर मृत्यु नै पराजित हुँदै जान्छ।
पुतना होस्, कंस होस् वा अन्य कुनै संकटहोस् .मृत्यु अनेक रूप धारण गरेर आउँछ, तर कृष्ण जीवनको पक्षमा उभिइरहन्छन्। जहाँ चेतना पूर्ण रूपमा जागृत हुन्छ, त्यहाँ मृत्युको भयले आफ्नो शक्ति गुमाउन थाल्छ।
कृष्णको विजय केवल शरीरको विजय होइन,यो जीवन चेतनाको मृत्यु–भयमाथिको विजय हो।
एउटा प्रतीककृष्णलाई केवल इतिहासको एउटा व्यक्तिका रूपमा हेर्दा उनको विराटता सीमित हुन्छ।कृष्ण क्रमशः व्यक्ति रहँदैनन्; उनी मानव चेतनाको सामूहिक प्रतीक बन्छन्। हरेक युगले कृष्णमा आफ्नो अनुभव थप्दै जान्छ। हरेक पुस्ताले कृष्णलाई नयाँ आँखाले हेर्छ। त्यसैले कृष्णको कथा केवल एउटा व्यक्तिको कथा होइन,यो मानवजातिले हजारौँ वर्षदेखि भोगेको, खोजेको र अनुभव गरेको चेतनाको सामूहिक कथा हो।
जसरी एउटा महान् चित्रकारले एउटी स्त्रीको चित्र बनाउँदा हजारौँ स्त्रीका सौन्दर्यहरूलाई एउटै आकृतिमा समेट्न सक्छ, त्यसरी नै कृष्णको प्रतीकमा मानव अनुभवका असंख्य आयामहरू समाहित भएका छन्। कृष्ण एउटा व्यक्तिको सीमा पार गरेर मानव सम्भावनाको प्रतीक बनेका छन्।
‘कृष्ण’लाई आकर्षण र केन्द्रसँग जोडेर हेर्न सकिन्छ। मानिसको भित्री आत्मचेतना पनि एउटा केन्द्रजस्तै हो।शरीर त्यसैको वरिपरि व्यवस्थित हुन्छ। सम्बन्धहरू त्यसैको वरिपरि निर्माण हुन्छन्। विचार, इच्छा, कर्म र व्यक्तित्व पनि त्यसै केन्द्रबाट विस्तार हुन्छन्।
त्यसैले एउटा अर्थमा,जब कुनै मनुष्य जन्मन्छ, केवल एउटा शरीर जन्मँदैन,उसको भित्र एउटा चेतनाको केन्द्र जन्मन्छ। त्यही केन्द्रलाई हामी आत्मा भन्न सक्छौँ।त्यही केन्द्रलाई कृष्ण–तत्त्वका रूपमा बुझ्न सक्छौँ।
यस अर्थमा कृष्णको जन्म केवल देवकी–वसुदेवका पुत्रको जन्म होइन,
हरेक मनुष्यभित्र सम्भावित दिव्य चेतनाको जन्म हो।
कृष्णको सबैभन्दा गहिरो वचनतर्फ “सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज”आउँदा सामान्य रूपमा यसको अर्थ लगाइन्छ-“सबै धर्म त्यागेर मेरो शरणमा आऊ।”भन्ने बुझिन्छ। तर कृष्ण यहाँ कुनै बाह्य व्यक्ति वा व्यक्ति पूजाको आग्रह गरिरहेका छैनन्। ध्यान दिनुपर्ने शब्द हो-माम् एकम्,“म—एक।”अर्थात् अनेकताबाट एकतर्फ फर्क।बाहिरी पहिचानहरूबाट मूल सत्यतर्फ फर्क। नाम, रूप, विचार, मत, सम्प्रदाय र धारणाहरूको भीडबाट निस्केर त्यस एक सत्यमा प्रवेश गर, जुन सबै विभाजनभन्दा पहिले छ।
यहाँ “धर्म” भन्नाले कुनै विशेष सम्प्रदाय मात्र बुझिँदैन। अनेक प्रकारका आरोपित पहिचान, भूमिका, धारणा र बाह्य आग्रहहरूलाई पार गरेर आफ्नो मूल स्वभावमा फर्कने सङ्केत पनि यसमा देख्न सकिन्छ।
यहाँ एउटा अत्यन्त सूक्ष्म कुरा छ। कृष्णले केवल “मेरो शरणमा आऊ” भनेका छैनन्।“मामेकं”—म एकको शरणमा आऊ।तर “म” कसको हो?
जब कृष्ण भन्छन् “म”, त्यो केवल कृष्ण–व्यक्तिको अहङ्कार हो भने अर्जुनका लागि त्यो अर्को व्यक्तिको “म” हुनेछ। तर यदि त्यो “म” व्यक्तिको सीमित अहङ्कार होइन, परम आत्मचेतनाको “म”हो भने? त्यस अवस्थामा कृष्ण अर्जुनलाई कुनै व्यक्तिको अधीनमा जान भनिरहेका छैनन्। उनी अर्जुनलाई उसको आफ्नै अस्तित्वको मूलमा फर्काइरहेका छन्।
यहीँ “म” र “त” को भेद पग्लिन थाल्छ। जब सम्म “म” र “त” अलग छन्, शरणागति बाहिरी सम्बन्धजस्तो देखिन्छ। तर जब खोज्दै–खोज्दै साधक आफ्नो अस्तित्वको मूलमा पुग्छ, त्यहाँ प्रश्न उठ्छ,शरणमा जाने को?र शरण दिने को?अन्ततः दुवै एउटै चेतनाको अभिव्यक्ति हुन्। त्यसैले “मामेकं शरणं व्रज” को गहिरो अर्थ हुन सक्छ,अनेकताको भ्रमबाट एकत्वको चेतनामा प्रवेश गर। बाहिरी आश्रय खोज्न छोड।आफ्नो अस्तित्वको मूल सत्यमा फर्क।
कृष्णको “म” र अर्जुनको “म”अर्जुनको “म” उसको अहङ्कार हो। कृष्णको “म” यदि परम चेतनाको प्रतीक हो भने, यी दुई “म” एउटै तहका होइनन्। अर्जुनको “म” भन्छ—“म गर्छु।”“म जित्छु।”“म हार्छु।”“म मार्छु।”
“म मारिन्छु। ”तर कृष्णको “म” उसलाई एउटा अर्को आयामतर्फ लैजान्छ, “तिमी त्यो होइनौ, जसलाई परिस्थितिले बनाउँछ। तिमी त्यो चेतना हौ, जसले परिस्थितिलाई देखिरहेको छ।”त्यसैले कृष्णको शरणागति पलायन होइन। यो चेतनाको केन्द्रमा फर्किनु हो।
धर्म त्याग्नु भनेको अधर्म अपनाउनु होइन“सर्वधर्मान् परित्यज्य” लाई बाहिरी नैतिकता त्याग्ने आदेशका रूपमा बुझ्नु गम्भीर भूल हुन सक्छ। यहाँ “त्याग” भन्नाले सत्यबाट भाग्नु होइन। बरु आफूले ओढेका सबै कृत्रिम आवरणहरूलाई पार गर्नु हो। जाति, पद, प्रतिष्ठा, भूमिका, मान्यता, डर, सामाजिक अपेक्षा, “म यस्तो हुँ” भन्ने धारणा,यी सबैबाट भित्रतर्फ फर्कनु हो।
जब सबै आरोपित पहिचानहरू शान्त हुन्छन्, तब जुन शेष रहन्छ,त्यही स्वधर्मको मूल हो। त्यसैले अन्ततः कृष्णले अर्जुनलाई बाहिर कुनै नयाँ धर्म दिन खोजेका छैनन्। उनी उनको आफ्नै अस्तित्वको सत्यमा फर्काइरहेका छन्।
कृष्णको जन्मकथालाई यदि केवल पुरानो इतिहासका रूपमा पढ्यौँ भने हामी एउटा कथा पाउँछौँ। तर यदि त्यसलाई आफ्नै जीवनमा पढ्यौँ भने हामी एउटा दर्पण पाउँछौँ। अन्धकार हाम्रो अज्ञान हो। कारागार हाम्रा बन्धन हुन। कंस हाम्रो भय हुन। मृत्युको धम्की हाम्रो असुरक्षा हो। कृष्ण हामी भित्रको जागृत चेतना हो। वसुदेवसत्यलाई बोक्ने क्षमता हो। देवकीदिव्य सम्भावनाको गर्भ हो।
यमुना जीवनको प्रवाह हो। र कृष्णको जन्मअज्ञानको अन्धकारभित्र चेतनाको पहिलो उज्यालो हो।
त्यसैले कृष्ण जन्माष्टमी केवल कृष्णको जन्म सम्झिने पर्व होइन।
यो एउटा आन्तरिक प्रश्न हो,के मेरो भित्र पनि कृष्ण जन्मिएको छ?
यदि जन्मिएको छ भने, के मैले उसलाई पहिचान गरेको छु?यदि चेतना जन्मिन खोज्दैछ भने, के मेरा भय, वासना, अहङ्कार र बन्धनहरू त्यसका कंस बनेका छन्?र सबैभन्दा ठूलो प्रश्न-के म अनेकताको कारागारबाट निस्केर “मामेकम्”-त्यो एकत्वको चेतनामा प्रवेश गर्न तयार छु?कृष्णको जन्म बाहिर एकपटक भएको घटना मात्र होइन। जब–जब अन्धकारको गर्भमा चेतना जाग्छ,जब–जब बन्धनभित्र स्वतन्त्रताको अनुभूति जन्मन्छ,
जब–जब मृत्युको भयमाथि जीवनको बोध विजय हुन्छ,त्यही क्षण कृष्ण जन्मन्छन्। र सायद कृष्णको वास्तविक जन्माष्टमी त्यही हो-
जब मनुष्य पहिलोपटक आफूभित्रको कृष्णलाई चिन्छ।
यसैले आजको दिन केवल कृष्ण जन्मेको दिन होइन,आफूभित्रको कृष्णलाई चिन्ने र जन्माउने दिन हो। मनको अन्धकारमा चेतनाको उज्यालो बालौँ,भित्रको प्रेम, करुणा र आनन्दलाई जगाऔँ। यस पावन जन्माष्टमीले हामी सबैको हृदयमा कृष्ण–चेतनाको जन्म होस्।
श्रीकृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना!
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.