रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

184
SHARES

काठमाडौँ – रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ।

गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र नवजात शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याइएको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आमाछोदिङमो गाउँपालिका यातायात सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको अवस्थामा सडकमार्गबाट तत्काल स्वास्थ्य संस्थासम्म पुर्‍याउन सम्भव नभएपछि हवाई उद्धार गरिएको हो।

सरकारले गत भदौमा स्वीकृत गरेको कार्यविधिमा बाढी तथा पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भई विशेष परिस्थिति सिर्जना भएमा दुर्गम भौगोलिक क्षेत्रबाट ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र २४ घण्टाभित्रका नवजात शिशुलाई हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन सकिने व्यवस्था गरेको छ।

सोही व्यवस्थाअनुसार आमा र नवजात शिशुको जीवनरक्षाका लागि तत्काल हवाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

उद्धार कार्यमा समन्वय तथा सहजीकरण गर्ने स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा सम्बन्धित स्वास्थ्यकर्मीप्रति मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ।

समाचार शेयर गर्नुहोस्
184
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.