काठमाडौँ – रसुवाको भोटेकोशीमा भदौ १० गते गएको बाढीले ठूलो जनधनको क्षति भएको छ। बाढीले बगाएकाहरूको अत्तोपत्तो लाग्न सकेको छैन। एक्कासि आएको बाढीले घरबारविहीन भएकाहरू ओत लाग्ने ठाउँको खोजीमा छन्।
सरकार बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित भएको छ। बाढी प्रभावितहरूमा अझै त्रास कायम छ। परिवार र आफन्त अन्योलमा छन्। बाढी जानुको कारण तिब्बत क्षेत्रको हिमताल फुटेर भनिएको छ।
जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको अध्ययनहरू सार्वजनिक हुँदै आएका छन्। नेपालले पनि जलवायु परिवर्तनको विषय अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएको छ। तर, विश्व समुदायको ध्यान तानिएको छैन। अहिले उपयुक्त समय आएको छ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम तीव्र हुनु, हिमतालको आकार बढ्दै जानु, अतिवृष्टि तथा अनियमित वर्षा र अचानक आउने बाढीपहिरोजस्ता विपद्को जोखिम नेपालमा बढ्दै गएको छ।
जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि यसको असर भने हिमाली, पहाडी र तराईका बस्ती तथा नागरिकले प्रत्यक्ष रूपमा भोगिरहेका छन्। हिमताल फुट्ने, नदीमा आकस्मिक बाढी आउने, पहिरो जाने, कृषि उत्पादनमा असर पर्ने तथा बस्ती र पूर्वाधारमा क्षति पुग्ने जोखिम बढिरहेको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको विषयलाई थप प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता देखिएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भोटेकोशी बाढीको वितण्डा उठाउँदा विश्व समुदायको ध्यान आकर्षित हुने विज्ञहरूले बताएका छन्। राष्ट्रसङ्घ महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्ने तय भएको छ। जहाँ भोटेकोशी बाढीको उदाहरण दिँदै जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको तथ्य प्रस्तुत गर्न सकिनेछ।
प्रधानमन्त्रीमा नियुक्त भएको पाँच महिनामा वालेन्द्रको पहिलो विदेश भ्रमण पनि अमेरिकाबाट सुरु हुन लागेको छ। प्रधानमन्त्री शाहको भ्रमण तालिका सोमबार सार्वजनिक गर्ने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ।
प्रधानमन्त्री शाह राष्ट्रसङ्घ महासभामा सम्बोधन गर्न अमेरिका जाने भएपछि नेपालबाट जाने टोलीको तयारी सुरु गरिएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय आन्तरिक तयारीमा जुटेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्री पौडेलले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीको भ्रमण कार्यक्रम औपचारिक रूपमा घोषणा हुन बाँकी छ। तर, नेपालको नेतृत्व गर्दै प्रधानमन्त्री शाह महासभामा सहभागी हुने निश्चित भएको उनले बताए।
महासभामा प्रधानमन्त्री वालेन्द्रले असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। परराष्ट्र स्रोतका अनुसार सम्बोधनको एक–दुई दिनअघि जाने र सम्बोधनलगत्तै फर्कने गरी भ्रमण तालिका बनाइँदैछ।
भ्रमणको मिति र सहभागीहरूको अन्तिम नामावलीबारे छलफल जारी रहेको मन्त्रालयले जनाएको छ। राष्ट्रसङ्घको ८१औँ महासभामा सुरुमा परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने तय भएको थियो।
तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले भ्रमणका लागि अग्रसरता देखाएका छन्। महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको विपद्बारे विश्व समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसङ्घको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै कांग्रेस सभापति थापाले न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद नेपालले भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए।
सभापति थापाले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न पनि भनेका छन्। भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न उनले आग्रह गरेका छन्।
नेपालले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएको छ। विगतमा प्रधानमन्त्रीहरूले उठाएका ‘हिमालदेखि महासागरसम्म’ का विषय र कोप–२८ मा अघि सारिएका जलवायु न्यायका पहलहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाउनुपर्नेछ। प्रधानमन्त्रीको सम्बोधनले एउटा सकारात्मक गति सिर्जना गर्ने विश्वास गरिएको छ।
११ औँ दिनमा जीवितै फेला
भोटेकोशी बाढीले तहसनहस पारेको क्षेत्रमा १२ औँ दिन पनि खोज तथा उद्धार चलिरहेको छ। १० औँ दिन र ११ औँ दिन गरी चार जनाको जीवितै उद्धार भएको छ।
कुशको शव बनाएर दाहसंस्कार भइसकेको थियो। परिवार र आफन्तले आश मारिसकेका थिए। ६४ वर्षीया चण्डिका कुमारी श्रेष्ठको काजक्रिया नै सुरु भएको थियो। भदौ १० गते आएको भोटेकोशीको विनाशकारी बाढीले घरसमेत बगाएर लग्यो। बस्तीलाई बगरमा परिणत गरिदियो बाढीले।
श्रेष्ठको लगातार ८ दिनसम्म खोजी गर्दा नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरे। काजक्रिया सुरु गरे। तर, बाढी गएको ११ औँ दिनमा श्रेष्ठ जीवितै फेला परेपछि परिवार र आफन्त मात्रै होइन, लामो समयदेखि आफ्ना बेपत्ता आफन्तको पर्खाइमा रहेका परिवारमा समेत आशा पलाएको छ।
सुरुङभित्रबाट १० औँ दिनमा दुई जनाको जीवितै उद्धार हुँदा पनि चण्डिकाका परिवार र आफन्तले सास मात्रै होइन, लाश पनि फेला नपर्ने निश्चित गरेका थिए। बेत्रावतीको घर बगाएर त्रिशूलीमा पुर्याएको थियो। त्यही घरबाट सशस्त्र प्रहरीको उद्धार टोलीले चण्डिकालाई जीवितै उद्धार गर्यो। जुन कुरा पत्याउनै नसकिने भएको चण्डिकाका आफन्त रमेशमान श्रेष्ठले बताए।
सशस्त्र प्रहरी बलबाट सडक निर्माणका लागि बेत्रावतीमा खटिएको टोलीले श्रेष्ठको घरनजिक शनिवार भग्नावशेषभित्र कोही कराएको आवाज सुन्यो। त्यही ठाउँमा पहिले पनि उद्धार र खोज गरेका थियौँ, त्यस क्रममा कुनै आवाज आएको थिएन,’ बेत्रावतीमा खटिएका सशस्त्र प्रहरीका निरीक्षक सुमन विकले भने, ‘दोहोर्याएर हिँडेका बेला आवाज सुनेपछि आसपासको लेदो पन्छाएर खोजी थालेका थियौँ। उहाँलाई जीवितै निकाल्न सफल भयौँ।’
बाढी गएको ११ औँ दिनमा जीवितै फेला पर्ने आशा परिवारले मारिसकेका थिए। शुक्रवार मात्रै चण्डिकाका नातिले दिनभर भजन गाएका थिए। शनिवार उनी जीवित फेला परिन्। संसारमा भगवान् पनि छन् भन्ने लागेको आफन्त रमेशमान श्रेष्ठ बताउँछन्।
बाढीले घर, परिवार र आफन्त गुमाएका परिवारहरू अहिले पनि आफ्ना मानिस फर्केर आउने आशामा खोजी तथा उद्धार टोलीको बाटो हेरिरहेका छन्। लगातार धेरै दिनसम्म कुनै खबर नआउँदा निराश बनेका परिवारका लागि भग्नावशेष र सुरुङभित्रबाट समेत मानिस जीवितै उद्धार हुनुले खोजी कार्यलाई अझै निरन्तरता दिनुपर्ने आशा बलियो बनाएको छ।
भोटेकोशीमा बाढी आएको १० औँ र ११ औँ दिनमा गरी जलविद्युतको सुरुङ र बाढीले क्षति पुर्याएको घरबाट गरी हालसम्म चार जनाको जीवितै उद्धार भएको छ।
१० औँ दिनमा त्रिशूली ३ एबाट दुई जनाको उद्धार भएको थियो। शनिवार नुवाकोट बेत्रावतीकी ६४ वर्षीया श्रेष्ठ र चिनियाँ नागरिक लाहाई ताहोको सकुशल उद्धार भएको हो। उनीहरूलाई उपचारका लागि हेलीमा राखेर काठमाडौँ पठाइएको उद्धार टोलीका सदस्य मनकुमार थापाले बताए।
बाढीले बगाएकाहरू भेटिने नभेटिने अन्योल छ। शव भेटिएकाहरूको पहिचान गर्न कठिन परेको छ। आफ्नो हो कि अर्काको भन्ने खुट्ट्याउन सक्ने अवस्था नहुँदा नेपाल प्रहरीले परिवार र आफन्तको डिएनए सङ्कलन गरिरहेको छ।
पहिचान हुन नसकेका शव जमिनमुनि गाडेको छ। भेट्टिएका शवको डिएनएसँग तुलना गर्न सबैभन्दा नजिकका आफन्तको नमुना बढी उपयोगी हुने नेपाल प्रहरी अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीले बताए।
बाढी गएको १२ औँ दिन पनि खोज तथा उद्धारको काम जारी छ। फेला पर्न नसकेका आफन्त आशामा छन्। बाढीले बस्ती नै बगर बनाएपछि बाँचेकाहरूको पनि उठीबास लागेको छ।
घर, गोठ, अन्नपात र दैनिक उपभोगका सामानसमेत बाढीले बगाएपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा रात कटाउनसमेत समस्या भइरहेको छ। कतिपय परिवार आफन्त तथा छिमेकीको आश्रयमा बस्न बाध्य छन् भने कतिपय अस्थायी टहरा र खुला ठाउँमा रात बिताइरहेका छन्।
बाढीले आफन्त गुमाएका परिवारका लागि प्रत्येक दिन पीडा, प्रतीक्षा र अन्योलमा बितिरहेको छ। कतिपयले आफन्त जीवितै फर्किने आशा छाडेर अन्तिम संस्कारसमेत गर्नुपर्ने अवस्था भोगेका छन् भने कतिपय परिवार अझै पनि आफ्ना मानिसको खोजीमा छन्। घरबार, अन्नपात र सम्पत्तिसँगै आफन्त गुमाउँदा प्रभावितहरूको जीवन थप कष्टकर बनेको छ।
१ हजार ३५१ जनाको शव फेला
नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबारसम्म १ हजार ३ सय ५१ जनाको शव फेला परेको जनाएको छ।
प्रहरीका अनुसार रसुवामा १ सय ६९ जना, नुवाकोटमा १ सय ९६ जना, धादिङमा ६९ जना, चितवनमा ३ सय ६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिममा २ सय २१ जना गरी १ हजार ३ सय ५१ जनाको शव फेला परेको हो।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ४४ वटा शव व्यवस्थापन (माटोमुनि सुरक्षित राखिएको) गरिएको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार १ सय ८१ र आफन्तका १ हजार १ सय ९५ गरी कुल २ हजार ३ सय ७६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार २ सय ९० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ३ हजार ९ सय ९२ जनाको खोजी कार्य भइरहेको छ। विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार १ सय ९० जना व्यक्तिहरूलाई राखिएको छ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.