भोटेकोशी बाढीमा शोक, जेनजी दिवसमा बिदा

भोटेकोशी बाढीमा शोक, जेनजी दिवसमा बिदा

गृहमन्त्री नै आफूले आफैँलाई न्याय दिनुपर्ने अवस्थामा

88
SHARES

काठमाडौँ – देशमा राष्ट्रिय सङ्कट निम्तिएको छ। भोटेकोशी बाढीले एकाएक नसोचेको विनाश गरेको छ। घरसहित नै मान्छे बगाएर पीडा दिएको छ। देशमा एकपछि अर्को सङ्कट परेको छ। जसलाई प्रधानमन्त्री वालेन्द्र शाहले बज्रपात भनेका छन्।

रसुवादेखि पश्चिम नवलपरासीसम्म हानिएको बाढी भारत पसेर शान्त भएको छ। पुन बाढी आउने त्रास भने कायम नै छ। बाढीसँगै बगेका नेपाली नागरिककाे शव भने भारतमा पनि भेटिएको छ।

बाढीले बगाएका कतिपयको सिङ्गो शरीर नै भेटिएको छैन। टुक्राटुक्रामा शव फेला परेका छन्। शवकाे पहिचान गर्न समस्या परेकाे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले जानकारी दिए।

राष्ट्रिय सङ्कटमा पूरा देश शोकमा परेको छ। सरकारले बाढी गएको तेह्रौँ दिनको पुण्यतिथिका दिन सोमबार राष्ट्रिय शोक मनाएको छ। नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाल दूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो।

देशमा प्राकृतिक विपद्का घटना लगातार हुन थालेका छन्। २०७६ सालको कोभिड महामारीले विश्वभरका नागरिकको सातो लिएको थियो। महामारीको मार नेपालले अहिले पनि चुक्ता गरिसकेको छैन। बीमा रकम भुक्तानी राफसाफ भएको छैन।

मेलम्चीमा आएको बाढी भुल्दै गर्दा रोशी खोलाको बाढीले दुई वर्षअघि मात्रै तहसनहस पारेको थियो। भिजिबिलिटी नभएर हेलिकप्टर उडाउन नसकिएको तत्कालीन सरकारले भनेको थियो।

पटकपटकका विपद्ले लगातार राष्ट्रिय सङ्कट निम्त्याइरहेका छन्। याे पटककाे सङ्कटमा सरकारले शोक मनाएको छ। शोक मनाएको भोलिपल्ट सार्वजनिक बिदा दिएको छ।

भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकले २०८३ भदौ २३ गते जेनजी सहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत वर्ष भदौ २३ गते जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सरकारले सहिद घोषणा गरेको छ। नाम नै जेनजी सहिद दिवस दिइएको छ।

हप्तामा दुई दिन बिदा दिएको जेनजी सरकारले वार्षिक क्यालेन्डरमा अर्को सहिद दिवसको अवसरमा सार्वजनिक बिदा थप गरेको छ। राष्ट्रिय सङ्कटका बेला सरकारको प्राथमिकता र उपलब्धिमाथि प्रश्न उठिरहेका बेला जेनजी सरकारको उपलब्धि शोक र बिदामा मात्रै सीमित हुन थालेको टिप्पणी समेत भएका छन्।

जेनजी सरकारले सङ्घीय संसद् परिसरमा जेनजी पार्क नै शिलान्यास गरेको छ। पार्कमा जेनजी सहिदको शालिक राख्ने गृहमन्त्री सुधन गुरुङ बताउँछन्। गृहमन्त्री गुरुङ नै आफूले आफैँलाई न्याय दिनुपर्ने अवस्था रहेको बताउँछन्। उनले जेनजी पार्कमा चित्त नबुझेको कुरा पनि सुनाए।

एकातिर भोटेकोशी बाढीले घरसहित मानिस बगाएको छ। कतिपयको शवसमेत सिङ्गो अवस्थामा फेला पर्न सकेको छैन। अर्कोतिर सरकार राष्ट्रिय शोक र जेनजी सहिद दिवसका नाममा सार्वजनिक बिदा घोषणा गर्दैछ भने सङ्घीय संसद् परिसरमा जेनजी पार्क निर्माणको काम अघि बढाइरहेको छ।

जेनजी सरकार तत्कालको आवश्यकता भन्दा विगतको उपलब्धिमा रमाउन थालेको छ। विपद्बाट नागरिकलाई तत्काल उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको आवश्यकता रहेको बेला सरकारका प्राथमिकता भने बिदा, शोक र पार्क निर्माणतर्फ केन्द्रित भएको देखिन थालेको छ।

समाचार शेयर गर्नुहोस्
88
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.