नुवाकोट – राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। साथै उनले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।
उनले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिए। सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पुर्याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरे।
प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराए।
सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरू रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरे। त्यहाँ बाढीबाट प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए। खोज, उद्धार र राहत एवम् पुनर्स्थापनाका लागि सरकार र सहयोगदाता सरोकारवालाले अझ तदारुकता देखाउनुपर्ने राष्ट्रपति पौडेलले बताए।
राष्ट्रपति पौडेलले सोमबार नै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.