आज भोटे कोशी मात्र उर्लेको छैन,
हाम्रा घर-आँगनहरू बगेका छन्,
हाम्रो सपनाहरू चुँडिएका छन्,
वर्षौँको पसिना हाम्रो
माटोसँगै मिलेका छन्।
हिजो जहाँ हाम्रो चुल्हो बल्थ्यो,
आज भग्नावशेषसम्म छैनन्,
जहाँ नानीहरूको हाँसो सुनिन्थ्यो,
आज हिलोका लेतोमात्र बग्छन्!
हामीले घर गुमायौँ,
हामीले खेत गुमायौँ ,
अझ त्योभन्दा पनि
आमा-बुबा, सिउँदोको सिन्दूर
र कलिला नानी गुमायौँ,
हामीले आफ्नो सम्पूर्ण संसार गुमायौँ।
यसैले त यी आँसुहरू
निरन्तर बगिरहन्छन्।
प्रकृतिको प्रहार हो यो,
मानवताको परीक्षा हो यो,
अब कसैलाई दोष नदिऊँ,
दोष होइन, हात चाहिएको छ,
हामी सबैको साथ चाहिएको छ,
सहानुभूतिको शब्द मात्र होइन,
बाँच्ने आशा र भरोसा चाहिएको छ।
यसैले,
आँसु पुछ्ने हात बनौँ,
भोको पेटका लागि अन्न बनौँ,
भत्किएका घरका लागि
इँटा थप्ने आधार बनौँ।
किनकि,
बाढीले घर बगाउन सक्छ,
मानवता बगाउन सक्दैन।
बाटो भत्काउन सक्छ,
हृदय भत्किन सक्दैन।
र एक दिन,
यही हिलो माटोबाट
हरियो अंकुर उम्रनेछ,
भत्किएका घर-आँगन छेउमा
नानीहरूको हाँसो गुन्जिनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.