"/>

मन्त्रीहरूको धम्कीपूर्ण अभिव्यक्तिमाथि प्रश्न

मन्त्रीहरूको धम्कीपूर्ण अभिव्यक्तिमाथि प्रश्न

81
SHARES

काठमाडौँ – सरकारका मन्त्रीहरू प्रमाणबिनाका आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिन थालेका छन्। पूर्वाधार मन्त्री सुनिल लम्सालबाट यस्तो अभिव्यक्ति दिन सुरु भएको हो। उनले समयमा काम नगर्ने निर्माण व्यवसायीको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पनि संसदीय मर्यादाविपरीत अभिव्यक्ति दिन उत्तिकै माहिर देखिएका छन्। विषयमा जान्नुपर्दैन, सरकारको विरोध गर्नेलाई ठेगान लगाउने गरी बोल्नु नै रास्वपा सांसदहरूको अब्बलता बनेको छ।

कोही कम छैनन्। पुराना दलका गतिला सुझावलाई समेत उनीहरू ‘झोले’को संज्ञा दिन चुक्दैनन्। किनकि उनीहरूको योग्यता भनेकै पुराना दलका नेतालाई गाली गरेर आफू हिरो बन्नु हो भन्ने शैली देखिएको छ। संसदबाट विश्वासको मतको फेससमेत गर्नु नपर्ने, झन्डै दुई तिहाइको जनमतलाई रास्वपाले गाली पुराणका रूपमा उपयोग गरिरहेको छ।

राज्य संयन्त्रको दुरुपयोग भएको आरोपसमेत उठेको छ। भ्रष्टाचारको छानबिन रोकाउन रास्वपा सांसद भूमिका श्रेष्ठले प्रशासनिक निकायमा दबाब दिएको सार्वजनिक भएको छ। पुरुष र महिलाभन्दा भिन्न तेस्रोलिंगी पहिचान भएका व्यक्तिको नेतृत्व गर्दै पहिलो पटक सांसद बनेको सुनाउँदै सांसद श्रेष्ठले झुट बोलिरहेकी छन्। सङ्घर्षको इतिहास मेटाउने अभिव्यक्ति नदिन काेशी प्रदेशकी मन्त्री सपना परियारले सुझाव नै दिएकी छन्।

रास्वपा सांसद श्रेष्ठको झुट मात्रै नभएर ब्लु डाइमण्ड सोसाइटीको भ्रष्टाचार छानबिन रोकाउने काममा लागेको सूचना प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले नोटिसमा लिएको जनाएको छ।

‘कसले छुन सक्छ, हाम्रो सरकार छ, हामीले जे गरे पनि हुन्छ, जे बोले पनि हुन्छ’ भन्ने दम्भ प्रधानमन्त्री शाहको मन्त्रिपरिषद्का सदस्यहरूमा झन् चर्को देखिएको छ।

गृहमन्त्री सुधन गुरुङले ‘३–४ पत्रकार छन्, राजनीतिक दलहरूजस्तै सुध्रनुहोस्’ भनेका छन्। जेनजी सहिद दिवसका दिन गृहमन्त्री गुरुङले बोल्दा ढङ्ग पुर्‍याउनुपर्ने ‘राष्ट्रिय सभा त होइन नि’ भन्दै पुराना राजनीतिक दल र ३–४ पत्रकारलाई सुध्रन भनेका थिए।

त्यही कार्यक्रममा कानुन मन्त्री सोबिता गौतमले झुट बोलिन्। कानुन निर्माण नहुनुको आरोप राष्ट्रिय सभालाई लगाइन्। जबकि सरकारले लगेका एउटा पनि विधेयक राष्ट्रिय सभामा रोकिएका छैनन्। सांसद रेखा शर्माले त्यसको जवाफ मन्त्री सोबिता गौतमले दिनुपर्ने माग गरेकी छन्।

मन्त्रीहरू स्टन्टबाजी गरेर आगामी स्थानीय चुनावलाई लक्षित गर्दै अभिव्यक्ति दिइरहेका छन्, जहाँबाट राष्ट्रिय सभामा चुनिने सदस्यहरूमा समेत दुई तिहाइ पुर्‍याउन सकियोस्। मन्त्री सोबिताले प्रतिनिधिसभामा मात्र दुई तिहाइ भएर नहुने, राष्ट्रिय सभामा पनि त्यसैगरी पठाइदिनु भन्न झुट बोलेकी हुन्।

ग्यासको अभाव हुनुको दोष मात्रै होइन, उद्योगीलाई पाता कसेपछि मात्रै सहज हुने अभिव्यक्ति उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिएकी छन्।

उद्योगी र कर्मचारीतन्त्रको प्रभावका कारण ग्यास आपूर्ति तथा उद्योग क्षेत्र सुधारमा अपेक्षित काम गर्न नसकिएको भन्दै उनले ग्यासको आपूर्ति सहज बनाउन उद्योगीको पाता कस्नुपर्ने बताइन्।

‘खुट्टा भाँच्ने’, ‘पाता कस्ने’ सहितका अभिव्यक्ति दिएर सरकारका मन्त्रीहरूले थर्काइरहेका छन्। आम नागरिकलाई त्रासमा राख्ने कोसिस गरिरहेका छन्। प्रश्न गर्नेहरूको मुख बन्द गर्न धम्की दिइरहेका छन्। तर, प्रधानमन्त्री शाहले कुनै एक्सन लिएका छैनन्।

अति नै गुनासो सुनेपछि रास्वपा सभापति रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने वार्निङ दिएका छन्।

भिडियो :

समाचार शेयर गर्नुहोस्
81
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.