बाबु दुमी कांग्रेसमा, राजनीतिक ‘टर्निङ प्वाइन्ट’

बाबु दुमी कांग्रेसमा, राजनीतिक ‘टर्निङ प्वाइन्ट’

60
SHARES

काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायका जेनजी बाबु दुमी राईले राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेका छन्। मायाको पहिचान नेपालमा बागमती प्रदेश समन्वय अधिकारीसमेत रहेका राईले समावेशी समाजवादी पार्टीको उपाध्यक्ष पदबाट राजीनामा दिँदै नेपाली कांग्रेस प्रवेश गर्ने निर्णय गरेको बताएका छन्।

उनले आफूले नेपाली कांग्रेस प्रवेश गर्ने निर्णयलाई केवल एउटा पार्टी परिवर्तनका रूपमा नलिएको बताएका छन्। उनले भनेका छन्, ‘यो मेरो लागि केवल एउटा पार्टी परिवर्तन होइन, यो मेरो राजनीतिक यात्राको नयाँ अध्याय हो।’ उनी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।

राजनीतिमा प्रवेश गर्ने निर्णय आफूले हतारमा नगरेको राईले बताएका छन्। विगत करिब ९–१० वर्षदेखि बालअधिकार, बाल आन्दोलन, सामाजिक सेवा र समुदायसँगको निरन्तर सहकार्यबाट नेपाली समाजलाई नजिकबाट बुझ्ने अवसर पाएको उनले बताएका छन्।

यही यात्राले आफूलाई एउटा प्रश्नसँग बारम्बार सामना गराएको राईको भनाइ छ। उनले प्रश्न गरेका छन्, ‘हाम्रो समाजलाई कस्तो नेतृत्व चाहिएको छ? र हामीले परिवर्तनमा आफ्नो भूमिका कहाँबाट सुरु गर्ने?’

‘म कुनै राजनीतिक विज्ञ भएर राजनीतिमा आएको होइन। यो मेरो लागि नयाँ क्षेत्र हो,’ उनले भनेका छन्, ‘तर सामाजिक क्षेत्रमा सिकेको एउटा कुरा स्पष्ट छ– समाज परिवर्तन केवल आवाज उठाएर होइन, नीति निर्माण, नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताबाट सम्भव हुन्छ।’

राईले आफू यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सदस्य र नन बाइनरी व्यक्तिका रूपमा आफ्नो अधिकार, सम्मान र समानताको प्रश्नसँगै अर्को प्रश्न बोकेर राजनीतिमा आएको बताएका छन्। उनले प्रश्न गरेका छन्, ‘यो देशका लागि मैले अझ बढी के योगदान गर्न सक्छु?’

तेस्रोलिङ्गी तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आज पनि कतिपय ठाउँमा ‘नयाँ’ वा ‘सानो’ विषयका रूपमा बुझ्ने प्रवृत्ति देखिने गरेको राईले बताएका छन्। तर आफ्नो अस्तित्व कुनै नयाँ विषय नभएको उनको भनाइ छ।

‘हाम्रो समुदाय नेपाली समाजको विविधताको अभिन्न हिस्सा हो,’ उनले भनेका छन्, ‘समुदायका धेरै सदस्यहरू खुल्न नसक्नु, तथ्याङ्कमा पूर्ण रूपमा नदेखिनु वा आफ्नो पहिचान सार्वजनिक गर्न नसक्नुले हाम्रो सामाजिक उपस्थिति समाप्त हुँदैन।’

उनका अनुसार समुदायभित्र क्षमता, श्रम, नेतृत्व र नागरिक जिम्मेवारी छ। देश निर्माणमा योगदान गर्ने निरन्तर इच्छा पनि समुदायमा रहेको उनले बताएका छन्।

‘अब आवश्यक कुरा केवल उपस्थिति होइन। अर्थपूर्ण प्रतिनिधित्व, सम्मानजनक सहभागिता र निर्णय प्रक्रियामा स्थान हो,’ उनले भनेका छन्।

यही विश्वासका साथ आफ्नो राजनीतिक यात्रामा पनि एउटा प्रश्न उठाएको राईले बताएका छन्। उनले भनेका छन्, ‘यदि परिवर्तन आवश्यक छ भने, त्यसको सुरुवात अरू कसैले गर्ने प्रतीक्षा किन गर्ने? सुरुवात आफैँबाट किन नगर्ने?’

त्यसैले आफूले नेपाली कांग्रेसमा प्रवेश गर्ने निर्णय गरेको उनले बताएका छन्।

राईका अनुसार यस निर्णयमा नेपाली कांग्रेसका सभापति गगन थापासँग भएका भेटघाट, उनका सार्वजनिक विचार, नेतृत्वप्रतिको दृष्टिकोण तथा पछिल्ला राजनीतिक घटनाक्रममा उनले व्यक्त गरेका धारणा पनि आफ्नो अध्ययन र मूल्याङ्कनको एउटा हिस्सा बनेका छन्।

विशेषतः भदौ २३–२४ को जेनजी आन्दोलनपछिको कठिन परिस्थितिमा थापाले सार्वजनिक रूपमा आफ्ना तथा पार्टीका कमजोरी स्वीकार गर्दै व्यक्त गरेका धारणा र त्यसपछि पार्टीभित्र परिवर्तनका विषयमा उनले अघि सारेका पहलहरूले आफूलाई नेतृत्वको एउटा महत्त्वपूर्ण पक्षबारे सोच्न बाध्य बनाएको राईले बताएका छन्।

उनले नेतृत्व भनेको केवल बोल्नु नभई आवश्यक समयमा जिम्मेवारी लिनु, आत्मसमीक्षा गर्नु र परिवर्तनका लागि आफूबाट सुरुवात गर्नु पनि भएको बताएका छन्।

यसैगरी युवा कांग्रेसका अध्यक्ष ना. यजस्वीको नेतृत्व, नेपाली कांग्रेसभित्र देखिएका समसामयिक बहस तथा आफ्नो राजनीतिक अध्ययन र अनुभवलाई आधार बनाएर आफूले नेपाली कांग्रेस प्रवेश गर्ने निर्णय गरेको राईले बताएका छन्।

अब आफ्नो राजनीतिक यात्राको केन्द्रमा एउटा स्पष्ट उद्देश्य रहने उनले बताएका छन्। लोकतन्त्रलाई बलियो बनाउने, सामाजिक विभेद र बहिष्करण घटाउने, महिला, दलित, जनजाति, सीमान्तकृत तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसहित सबै नागरिकको समान सम्मान र अवसरका लागि नीति तथा राजनीतिक सहभागितामा योगदान गर्ने आफ्नो उद्देश्य रहेको उनले बताएका छन्।

‘म आज कुनै पद वा पहिचान माग्न मात्र राजनीतिमा आएको होइन। जिम्मेवारी लिन आएको हुँ। सिक्न आएको हुँ। योगदान गर्न आएको हुँ,’ उनले भनेका छन्।

उनले तेस्रोलिङ्गी तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवाजलाई केवल चुनावी नारामा नभई नीति, नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा स्थापित गर्ने यात्रामा आफ्नो भूमिका निर्वाह गर्न राजनीतिमा आएको बताएका छन्।

‘यो मेरो अन्तिम गन्तव्य होइन। यो सुरुवात हो– मेरो नयाँ राजनीतिक अध्यायको,’ उनले भनेका छन्।

समाचार शेयर गर्नुहोस्
60
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.