कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र पाण्डेसहित जिएसएम समुदायबाट तीन जनाको उम्मेदवारी

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र पाण्डेसहित जिएसएम समुदायबाट तीन जनाको उम्मेदवारी

94
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नम्बर १ बाट दक्षिण एसियामा पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका २८ वर्षीय पाण्डे क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका थिए। उनले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा काठमाडौँ क्षेत्र नं. १ बाट समलिङ्गी दृष्टिविहीन महिला प्रतीक्षा चापागाईँ र खोटाङबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक जेनजी युवा बाबु दुमी राईले पनि उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चार जना निर्वाचित भएका छन्।

सुरेन्द्र पाण्डेले माया गुरुङसँग समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेका हुन्। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान, अधिकार र समानताको प्रश्नलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसमा पुर्‍याउन उनको विवाह दर्ताले महत्त्वपूर्ण भूमिका खेलेको थियो।

समुदायको अधिकार, सामाजिक स्वीकृति र राजनीतिक सहभागिताका लागि निरन्तर सक्रिय पाण्डेले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवारी घोषणा गरेको बताए।

पाण्डेले कांग्रेस केवल राजनीतिक दलका रूपमा नभई लोकतान्त्रिक मूल्य, समानता र समावेशिताको अभ्यास गर्ने राजनीतिक दल भएको बताए। यही विश्वासका साथ अहिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि सारेको उनले सुनाए।

पाण्डेले युवा पुस्ताको सहभागिता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व र पार्टीको निर्णय प्रक्रियामा युवाको सहभागिता अझ अर्थपूर्ण हुनुपर्ने धारणा राखेका छन्।

युवा उमेर, सामाजिक अभियानको अनुभव र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसँगको प्रत्यक्ष सम्बन्धका कारण पाण्डेको उम्मेदवारी कांग्रेसको राजनीतिमा एउटा फरक खालको उपस्थितिका रूपमा देखिएको छ।

नेपाली कांग्रेसजस्तो लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टीमा विभिन्न समुदाय र नयाँ पुस्ताको प्रतिनिधित्व निर्णय गर्ने तहसम्म पुग्नु महत्त्वपूर्ण राजनीतिक विषय भएको पाण्डे बताउँछन्।

नेपाली कांग्रेसका लागि पनि समुदायबाट आएका, सामाजिक अभियानको अनुभव भएका र युवा पुस्तासँग जोडिएका व्यक्तिहरूको राजनीतिक सहभागिताले सङ्गठनभित्र समावेशिताको बहसलाई थप फराकिलो बनाउन सक्ने आधार तयार गर्ने उनले बताए।

पाण्डेको यात्रा अहिले महाधिवेशन प्रतिनिधिको उम्मेदवारीमा केन्द्रित भएको छ।

समाचार शेयर गर्नुहोस्
94
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.