यात्रा मलाई पनि प्रितिकर लाग्छ। सशरीर यात्रा गर्न नपाए पनि अक्षरको माध्यमबाट होस् या भल्गको माध्यमबाट, घुम्छु संसार बडो चाख लिएर। मन परेका शहर आफ्नै पाइलाले स्पर्श गर्न कसलाई मन पर्दैन र! त्यसैले भौतिक रूपमा पनि पृथक् पृथक् भूगोल चुम्ने सपना सजाउँछु म पनि। बारम्बार, कल्पिन्छु यात्राको सौभाग्य। थाहा छ अचेल त झन् हातबाटै हेर्छु अनेक महादेशका भिन्नभिन्न शहर र सभ्यता। भर्खरै मैले तिम्रो आँखाबाट तीन महादेशका केही देश घुमेँ। प्रिय यात्री! धरावासी दाइको विचारलाई मैले पनि स्विकारेँ, तीन महादेशका केही तरङ्ग पढ्न थाल्छु, मलाई महसुस हुन्छ – लेखकले यहाँ केवल देशहरू घुमेका छैनन्। बरु ती देशका माटोमा आफ्ना स्मृतिका बीजहरू छरेका छन् …( भूमिका )। अरूले गरेको यात्रालाई एकाग्र भएर पढ्दा पनि त स्मृतिमा जीवन्त बीउ उम्रिने रहेछन् नि!
तिमीले गरेका तीन महादेशका यात्राले मलाई पनि तरङ्गित बनायो। रोमाञ्चित गर्यो। तिम्रो यात्रा भौतिक थियो त्यसैले तिमी धेरै ठाउँमा थाक्यौँ पनि तर म त अक्षरमार्गमा रत्तीभर नथाकिकन तिमीसँगसँगै घुमेँ। साँच्चै भूगोलको यात्रा भूगोलको मात्र कदापि नहुने रहेछ। यात्राले त आत्मजागृति गराउँदो रहेछ। चेतनाको क्षितिज फराकिलो पार्ने रहेछ। कल्पनाको अनेक द्वार खोल्दो रहेछ। सपना र सम्भावनाको सरिता सलल बगाउँदो पनि रहेछ। यो यात्रामा तिमी यात्री मात्र छैनौँ, तिमी त दार्शनिक हृदय बोकेर हिँडेका प्रेमी पनि बनेका रहेछौ। घरी कवि बनेर कविता कोर्छौ। घरी लाग्छ तिमी इतिहासका विद्यार्थी हौँ। सँगसँगै अनुसन्धान कर्ममा लागिपरेका अनुसन्धानकर्ता हौ। पाठकलाई अक्षरगन्जबाट तीन महादेशको यात्रा गराउँदा तिमी असल र अनुभवी गाइड पनि त भएका रहेछौ।
उत्तर अमेरिकाको यात्रादेखि, एसिया र युरोपमा गरिएका पृथक् भूगोल, पृथक् प्रकृति, पृथक् भू-स्वरूप, धार्मिक र सांस्कृतिक सम्पदाको सुगन्ध, समुद्रको संसार, समाज, शहर, प्रविधि, विकास, भौतिक सम्पन्नता, संवेदना र सम्बन्धको साङ्लोमा सजिएका १७ वटा नियात्रा निकै रोचक र पठनीय लाग्यो।
क्यानकुन मेक्सीकोका तरङ्गहरूले मलाई पनि गतिशील बनाएर घुमायो। ती चम्किला बालुवाको किनार त्यो स्वच्छ समुद्रको पानी। प्रविधिको विकास, सुविधा र सहजताको शृङ्खलामा म पनि डुब्दै गएँ तर भाषाको समस्याले पारेको कठिनाइ देख्दा लाग्यो, यो संसारमा कुनै पनि भाषाले, कुनै पनि भाषामाथि प्रभुत्व जमाउन नसक्दो रहेछ। भाषा त संवादको माध्यम मात्र त रहेछ। भाषाभन्दा अगाडि त सङ्केत नै त थियो अस्तित्वमा। शक्तिशाली भाषामा दक्षता हासिल गरे पनि कुनै न कुनै प्रान्तमा सङ्केतकै शरणमा पनि त पुग्नुपर्ने रहेछ। संसार निलेको अङ्ग्रेजी भाषा पनि कमजोर बन्दो रहेछ।
नियात्रामा डुब्दै जाँदा मलाई पनि ज्ञानको क्षितिज फराकिलो हुँदै गएको आभास भयो आखिर मान्छे कुन कुराको घमन्डले मच्चिन्छ यसरी? सरलता नै हरेक मान्छेको शृङ्गार भएको सत्यले मलाई लुछुप्प भिजाउँछ। तिमीले भनेका पनि छौ, ‘क्यानकुनको बस प्रणाली सरल, सुलभ र आकर्षक लाग्यो, जहाँ चालक नै भाडा सङ्कलक पनि हुँदा रहेछन्, यात्रुहरू बसमा चढ्दा चालकलाई भाडा दिन्छन्। फिर्ता दिनुपर्ने भए आफू नजिकै कलात्मक तरिकाले राखिएका चानचुने पैसा निकालेर फिर्ता दिन्छन्। यात्रुहरू खाली सिटमा गएर बस्छन्। ठाउँठाउँमा बस स्टपहरू छन्, ओर्लिनेहरू ओर्लिन्छन् चढ्नेहरू चढ्छन्। ड्राइभर पैसा उठाउँछन्, गाडी कुदाउँछन्।
हाम्रो नेपालमा जस्तो बेग्लै खलासी, कन्डक्टर पनि चाहिएन। यात्रुहरूका झोला तान्दै जबरजस्ती गर्नु परेन, ढोका ठटाउनु पनि परेन। कति आनन्द… (क्यानकुन मेक्सिकोको तरङ्ग पृष्ठ १७) थाहा छ तिमीलाई पत्र लेख्दै गर्दा नेपालको सडकमा एउटा यात्रुवाहक बस जल्दै थियो। चालकलाई हर्न बजाउन कम गर भनेर ट्राफिकले कडा नियम लगायो भनेर आत्मदाहको प्रयास गरेका रे! हेर त नियमभन्दा सजिलो हो त आत्मदाह। के हुँदै छ हामी नेपालीलाई? वीर गोर्खाको उपाधिको मूल्य यही हो त! ‘हट्ने हैन डटी लड्ने नेपालको बानी हुन्छ, कहिले नझुक्ने स्वाभिमानी नेपाली हुन्छ’ को अर्थ किन हामीले बुझ्न नसकेको? कानूनका लागि मान्छे कि,मान्छेका लागि कानून। कति अशान्त हुँदैछन् नेपाली। तिमीले घुमेका विकसित देशमा नियम छैन र? अनुशासन छैन र? मानव शरीर विरोध र आक्रोश पोख्ने साधन हो?
*
मन उदास भएपनि तिम्रो इस्ला महेरेसको एकदिने यात्रामा रमाउन थालेँ। बिहान उठ्दा क्यारेबियन सागरको नीलो पानी र श्रुतिमधुर सङ्गीतमा म पनि मधुरिएँ। अचम्म लाग्यो जान चाहेको ठाउँ जान नसक्दा पनि तिम्रो खोजले मलाई हुत्यायो चिचेन इत्जा घुम्न। नाम सुन्दै चिचेन इत्जा के रहेछ त भन्ने लाग्यो। अनभिज्ञ रहेछु यो ठाउँबारे। नियात्रीले पाठकमा जिज्ञासा उत्पन्न गराउन सक्नु सानो कुरा हैन। जब तिम्रो अनुसन्धानका अक्षरहरूले तृप्ति मिलेन म त पर्दाबाट घुम्न थालेँ चिचेन इत्जा, क्यानकुनबाट २०० किलोमिटर जति टाढा रहेको चिचेन इत्जा आधुनिक मेक्सीकोको उत्तरी युकाटान प्रायद्वीपमा अवस्थित छ।
प्राचीन माया सभ्यतामा सबैभन्दा ठूलो र महत्त्वपूर्ण शहरमध्ये एक थियो यो, ईशाको ६०० देखि १२०० बीचको समयावधिमा अत्यन्त समृद्ध। यस ठाउँमा उच्च पिरामिड, मन्दिरहरू, बल कोर्ट र अन्य वास्तुकला संरचनाहरू राम्रोसँग संरक्षित छन्। चिचेन इत्जालाई सन् १९८८ मा युनेस्को विश्वसम्पदा स्थल घोषित गरिएपछि यो मेक्सिकोमा सबैभन्दा बढी भ्रमण गरिने पुरातात्त्विक स्थलहरूमध्ये एक बनेको छ… (पृष्ठ १८)।
हामीले सुन्दै आएका छौँ ‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको वनवास’ यही सत्य मन्त्र जप्यौँ। इतिहासमा नै जुवालाई घातक खेलको रूपमा स्वीकार्दै आएका छौँ। पाण्डहरूको वनवासको मुख्य कारण जुवा थियो कि लोभ या लत? आज लस भेगस जुवाको शहर बनेर विश्वभरिका पर्यटकलाई तान्दै छ। कतै ती जुवाका लती कौरव र पाण्डवहरूकै रगतको पुनर्जन्म त भएको हैन भेगसको यो मैदानमा?
चिचेन इत्जाको इतिहास, रहस्यमयी सभ्यता र माया मन्दिरको यथार्थ, विज्ञान र कल्पनाको बेजोड मिश्रण आश्चर्यजनक रहेछ। यहाँभित्रका पिरामिडहरूको गहनता र विशेषता बुझ्न कुनै दिन सशरीर घुम्न जान पाऊँ भन्दै म पनि इस्ला मुहेरेस लेडी आइल्याण्डतिर हिडेँ। रमाइलो पनि लाग्यो महिलाहरूको छुट्टै टापु पनि रहेछ। यसको इतिहासले पनि मलाई जिज्ञासु बनायो। माया सभ्यताको समृद्धि, संस्कृतिलाई नजिकबाट अध्ययन गर्ने तीव्र इच्छा जागृति भयो। नारीहरूको कथा र मिथक बोकेर बसेको माया सभ्यता उचालेर बसेको मेक्सिकोको यो क्षेत्र साँच्चै घुम्नुपर्ने ठाउँ रहेछ।
पोर्टो रिकोः क्यारेबियन द्वीपको स्वच्छन्द विचरण–पोर्टो रिकोको राजधानी सान उवान घुम्दाको अनुभव पनि रमाइलै रहेछ। नौलो रहेछ। तर पनि भनेका छौ तिमीले नै क्यानकुन घुमेपछि पोर्टो रिकोको घुमाई खल्लो लाग्यो। ग्रामीण परिवेश, प्रकृति र कृत्रिमताको सुन्दर संयोजनमा पोर्टिरिकन खानाको स्वादमा पनि त हरायौ। त्यहाँको हरियाली देखेर नेपालका राष्ट्रकविको वैशाख कविता स्मरण गरेको कुराले मलाई छोयो। जहाँ गए पनि आफ्नो देश, भाषा, साहित्यलाई स्मरण गर्नु, आफ्नो साहित्यप्रति नयाँ पुस्तालाई जानकारी दिनु महत्त्वपूर्ण कर्म हो।
कुलेब्रा टापुको यात्रामा भाषाको समस्या। स्पेनिस भाषा मात्र बोल्ने होसेसँगको भेट। आफ्नै अतीत स्मरणमा डुबेका प्रेमी जोडीको भावना कति मूल्यवान् छ हेर त! प्रेम, विश्वास र सह-अस्तित्वले नै तिम्रो यात्रा अर्थपूर्ण बनाएको छ। समुद्रमन्थनबाट निस्किएका अमूल्य रत्नहरू जस्तै तिमीले पनि समुद्रको बीचबाट अनुभव, आनन्द र अवसरको मोतीहरू बटुल्दै यात्राको सुन्दर सन्दुकमा थन्क्याउँदै हिँडेका छौ नि!
नासाबाट मङ्गल ग्रहको यात्रा- फ्लोरिडा राज्यको मध्यपूर्व तटमा रहेको केनेडी स्पेस सेन्टर पुग्दा त! मलाई पनि उत्तिनै खेर भौतिक रूपमै पुगिहालौँ झैँ भयो। विज्ञान साँच्चै वरदान नै हो भनेर म त विपक्षमा वादविवाद गर्न पो थालेँ त! लगभग १४४,००० एकड क्षेत्रफल ओगटेको केनेडी स्पेस सेन्टर नासाको प्रमुख प्रक्षेपण केन्द्र हो। फ्लोरिडाको स्पेस कोस्ट, मेरिट द्वीपमा अवस्थित यो स्थानले चन्द्रमा अवतरण गर्ने एपोलो अभियान र स्पेस शटल कार्यक्रम जस्ता अमेरिकाका सबैभन्दा ऐतिहासिक अन्तरिक्ष मिशनहरूको प्रक्षेपण स्थलका रूपमा काम गरेको छ। (पृष्ठ ५०) प्रिय यात्री केनडी स्पेस सेन्टरको यात्राको अनुभव साँच्चै लोभलाग्दो छ। चन्द्रमामा जान नपाए पनि यस्ता सेन्टरले त्यो अनुभवलाई केही मात्रामा भए पनि अनुभूति दिलाउन सक्नेरहेछ।
सरकसमा देखिने मौतका कुवा, भूत घरको भ्रमण त नेपालीले सजिलै अनुभव गर्न पाउँछन्, तर एउटा नेपाली स-परिवार नासाको यो वैज्ञानिक सोचले निर्मित अतुलनीय स्थलको भ्रमणको अनुभव गरेको यात्रा पढ्दै गर्दा हृदयले आशाको नयाँ क्षितिज चिहाउन थाल्यो। अबका नेपालीको पहिचान विदेशी भूमिमा मजदुरको रूपमा मात्र रहेन। नेपाली पसिना बगाउन मात्र हैन उस्तै परे वर्षभरि बगाएको पसिनालाई अनेक रमणीय, ऐतिहासिक, सुपरिचित स्थलमा सुकाउन पनि जान सक्छन्,‘नासा स्टोरी’ क्षेत्रले अमेरिकाको अन्तरिक्ष कार्यक्रमको उत्पत्ति प्रस्तुत गर्यो, जसमा प्रारम्भिक रकेट डिजाइनका मोडेलहरू, स्पेस रेस युगका कलाकृतिहरू, सोभियत सङ्घसँगको अन्तरिक्ष प्रतिस्प्रर्धाका क्षणहरू, राष्ट्रपति जोन एफ् केनेडीका प्रसिद्ध अन्तरिक्ष कार्यक्रम सम्बन्धी भाषणहरूका भिडियोहरू र नासाले आफ्ना पहिलो अन्तरिक्ष यात्रीहरू कसरी भर्ती गर्यो भन्ने देखाउने प्रदर्शनीहरूको बारेमा भरपुर जानकारी दियो। (पृष्ठ ५३) मैले पनि आशाको बीउ रोपेकी छु कुनै दिन म पनि अन्तरिक्ष यात्राको अनुभव पृथ्वीबाटै लिने छु।
लस भेगसको यात्राले त झन् मलाई आफ्नै इतिहासतिर डोर्यायो। सन् १९३१ मा नेभाडा राज्यले जुवा अर्थात् क्यासिनोलाई कानूनी मान्यता दिएपछि यो मरुस्थली उपत्यकाको विकासले गति लिएको हो। सन् १९०५ अघिसम्म यो स्थान मरुभूमिमाझको एक घाँसे मैदान मात्रै थियो। स्पेनिस भाषामा लस भेगसको अर्थ नै हुन्छ घाँसे- मैदान। सही सरकारी नीति भयो भने बेकामे र उपयोग नभएका ठाउँहरूले पनि कसरी कायापलट गर्दा रहेछन् भन्ने एउटा उदाहरण हो लस भेगस। (पृष्ठ ६४)
प्रिय यात्री भेगसको भावभङ्गीमा हराउँदा त महाभारतको कथालाई सम्झिन पुगेँ। खाण्डववनलाई इन्द्रप्रस्थ बनाएको कथा झलझली देख्न थालेँ। सही योजनाकारको हातमा घाँसे मैदान पनि लस भेगस बन्ने रहेछ नि! मरुभूमिले घेरिएर बसेको सुनसान फाँट र निरस पहाडबाट विकासको सिचाइले आज डलर फलाउँदै रहेछ। हामीले सुन्दै आएका छौँ ‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको वनवास’ यही सत्य मन्त्र जप्यौँ। इतिहासमा नै जुवालाई घातक खेलको रूपमा स्वीकार्दै आएका छौँ। पाण्डहरूको वनवासको मुख्य कारण जुवा थियो कि लोभ या लत? आज लस भेगस जुवाको शहर बनेर विश्वभरिका पर्यटकलाई तान्दै छ। कतै ती जुवाका लती कौरव र पाण्डवहरूकै रगतको पुनर्जन्म त भएको हैन भेगसको यो मैदानमा?
बूढा हुँदै गएका बाआमालाई यात्रामा लिएर हिँड्ने सन्तान अब मासिँदै गएका छन्। आफ्नो यात्रामा श्रवण कुमार भएर आफ्नो कर्तव्य निभाउनु भएको छ। यो यात्रा नयाँ पुस्ताले पढे भने बाआमा, श्रीमतीप्रति गर्नुपर्ने सम्मानको पाठ पक्कै सिक्नेछन्।
फाउन्टेन्स अफ बलाजियोको मोहकतामा हराउँदा, अतीत स्मृतिले मलाई रोमाञ्चित बनायो। भारत भ्रमणको क्रममा मैले पनि अक्षरधामभित्र हेरेकी थिएँ पानीको जादूयी नृत्य। यो अनुभवलाई शब्दमा उतार्दा पनि पूर्णताको आनन्द कदापि हुँदैन। मैले पनि ग्याजेटका पर्दामा हेरेँ बलाजियोको त्यो विशाल र अद्भूत पानीको नृत्य। जीवन निर्वाह मात्र कहाँ हो रहेछ र पानी, पानी त मनोरञ्जनको साधन पनि त रहेछ। पानीलाई सङ्गीतको तालमा नचाएर डलर पनि त झार्नसकिँदो रहेछ। यात्रामा तिम्रो शान्त मन देख्दा साँच्चै श्रद्धाले मेरो शिर झुक्यो। प्रतिकुल परिस्थितिमा तिमीले जुन किसिमले विवेक प्रयोग गर्यो यो साधारण मान्छेले गर्नसक्दैन। ट्राम स्टेसमा वर्षाजी बाहिर र तपाईँ भित्र भएको दृश्य सेनेमाको जस्तै छ। तपाईँमा भएको दार्शनिक चेतना कति उत्तम, जीवनमा माया, प्रेम, हर्ष, खुशी, मात्रै हुँदैनन्, आवेश, उत्तेजना, रिस, राग, विषाद र अवसादहरू पनि हुन्छन्। यी दुवै किसिमका संवेग, संवेदना र ऊर्जाहरूलाई ऐनमौकामा सन्तुलनमा राख्न सक्नुपर्छ। अनि मात्रै जीवनलाई मधुर लयमा हिँडाउन सकिन्छ। उनी रिसाउँदा म नरिसाउन कोसिस गर्छु। नरिसाईकन फकाउँदै, फर्किँदै लाग्यौँ अर्को गन्तव्यतर्फ(पृष्ठ ७७)
विज्ञान, प्रविधि र विकासका अनेक शृङ्खलाहरू पढ्दै गर्दा अमेरिकनहरू भूगोलले मात्र ठूला भएका होइन रहेछन्। उनीहरूको सोच पनि विशाल रहेछ। अरू देशका प्रसिद्धिहरूलाई आफ्नो आँगनमा रोप्नु चानचुने कर्म हैन। यहाँ त पेरिसको सौन्दर्यलाई पनि स्वीकारिएको छ। रोमको पृथक् शहरको झलक पनि देखाइएको छ। चीनको संस्कृतिलाई होटलमा झलमल्ल पारिएको छ।
*
अमेरिकी सभ्यताको एउटा सुन्दर पक्ष अरूको अस्तित्वलाई स्वीकार्ने पनि त रहेछ। अरूको कलालाई अपनाउँदा आफ्नो इज्जत घट्दैन बरु बढ्छ भन्ने सन्देश पो मैले टिपेँ। अरूको अस्तित्व स्वीकार हरेकले आफ्नो जीवनमा अनुकरण गर्न आवश्यक छ। अरूको कला, कृति, प्रसिद्धिलाई हुबहु उतारेर आफ्नो मुलुकको आँगनमा ठड्याउनु जागृत मस्तिष्कको उदाहरण हो। त्यसै अमेरिका सपनाको देश भएको हैन रहेछ।
विविधता र पृथकताले नै यो संसार घुम्न योग्य बनाएको छ। एउटै भूगोल। एउटै मौसम हुँदो हो त यात्राको के अर्थ। प्रकृतिको लीला पनि कस्तो कस्तो। कतै पानी नै पानी। कतै हरियाली ओडेका पहाड कतै मरुभूमि बोकेर हाँसेका शहर। कतै मैदान, कतै हिमाल, कतै पहाड, कतै खोँच अनेक छ धर्तीको स्वरूप।
मान्छे आफूलाई निकै चलाख सम्झिन्छ तर प्रकृतिको सिर्जनामा मान्छे कदापि अगाडि आउन सक्दैन। ग्रान्ड क्यान्यनका खोँच र प्रचण्ड पहराहरूको यात्रामा आश्चर्यको सीमा नै रहेन। प्रकृति र प्रविधिको प्रतिस्पर्धा छ यहाँ। त्यो विशाल खोँच र प्रचण्ड पहरा हेर्नलाई आकाश छेक्ने गरी सीसाको टौवा निर्माण गरिएको रहेछ। यस्तो लाग्यो प्रकृतिभित्रको विज्ञान र विज्ञानभित्रको विचित्रतालाई यो यात्राले सूक्ष्म रूपमा देखाएको छ। एकातिर करोडौँ वर्ष लगाएर कोलोराडो नदीले निर्माण गरेको ग्रान्ड क्यान्यनको त्यो छक्क पर्ने भू-दृश्य छ।
प्रिय यात्री! विज्ञानको हत्केलामा उभिएर प्रकृतिको सूक्ष्मतालाई दृष्टिगोचर गर्दा पक्कै पनि मुस्ताङको हावाले निर्माण गरेको भूगोल स्मरणमा आएर छोयो होला। नवीकरणीय ऊर्जामा गरिएको लगानी, हुभर ड्यामको विचित्रताले छक्क परेँ। ग्रान्ड क्यान्यनको इतिहास पढ्दा हृदय भावुक भयो। सत्ता र शक्तिमा विवेक गुमाएर, अर्थको अर्थमा मान्छे डुबे भने प्राचीन सभ्यता र आदिवासीहरूलाई कति अन्यायपूर्ण रूपमा विस्थापन गर्छ भनेर निकैवेर सोचमग्न भएँ। ‘यहाँ सुन र अन्य बहुमूल्य खानी छन् भन्ने आधारमा सन् १८७४ मा ह्वाला जनजातिलाई साङ्लाले बाँधेर दुई हप्ताभन्दा बढी मरुभूमिमा हिँडाएर जबरजस्ती स्थानान्तरण गरियो। यो क्रूर यातनापूर्ण यात्राका क्रममा धेरै मानिसहरू, विशेषगरि वृद्धवृद्धा र बालबालिकाको मृत्यु भयो। बाँचेकाहरू पनि रोग र कुपोषणका शिकार भए (पृष्ठ ८५) मान्छे कति निर्दयी छ। कति लालची। अधिकारविहीनहरूमाथि जहाँ पनि सत्ता र शक्तिले शासन गर्दो रहेछ।
जलविहार गर्दै बहामासः आन्ध्र महासागरमा नब्बे घण्टा, प्रिय यात्री आफ्ना अभिभावकप्रति जुन श्रद्धा र सम्मान छ त्यो पक्षले पनि यो यात्रा पठनीय छ। बूढा हुँदै गएका बाआमालाई यात्रामा लिएर हिँड्ने सन्तान अब मासिँदै गएका छन्। आफ्नो यात्रामा श्रवण कुमार भएर आफ्नो कर्तव्य निभाउनु भएको छ। यो यात्रा नयाँ पुस्ताले पढे भने बाआमा, श्रीमतीप्रति गर्नुपर्ने सम्मानको पाठ पक्कै सिक्नेछन्। पानीजहाजको यात्राको संसार मोहित पार्ने छ। यो यात्रामा पानीजहाजभित्रको सिङ्गो संस्कृति आएको छ। अनुभवको आलोकले उज्यालो छ। होटलको भव्यताले अचम्मित पारेको छ। कलापूर्ण कर्मले हरेक काम सुन्दर देखिएको छ। समुद्रको स्वर, सङ्गीत र शान देखिन्छ। खानाको पृथकताले हरेक यात्राको स्वादलाई अझ मीठो पारेको छ।
पैसाको मोह, आवश्यकता, तागत र सम्मोहनको शक्तिले मान्छेलाई कति अविश्वासी बनाएको छ भन्ने कुरा स्मरणमा गढिरहने छ। ट्याक्सी चालकको बदलिँदो विचार आजको पूँजीवादी समाजको यथार्थ चित्र हो।
एसिया महादेशका तीन देश नेपाल, भारत र दक्षिण कोरियाको भ्रमणका भिन्नभिन्नै विशेषता छ। प्रिय यात्री पशुपतिनाथ, धुवाँ र जिन्दगीको भित्रको यात्रामा अनेक दार्शनिक घुम्टो उठेको छ तर पनि यो यात्रा अपूर्ण भएको आभासले मलाई निराश पार्यो। पाशुपत क्षेत्रमा बसेर तत्त्व ज्ञान खुलेको विषय सुन्दर छ। कविता पनि उम्दा छ। निर्बन्ध लेखन स्वीकार्य छ तर यो यात्रा निबन्धले नयाँ पुस्तालाई पशुपतिको महत्वबोध गर्न जिज्ञासु बनाउनुपर्ने दायित्व बोध किन उठ्न सकेन लेखमा। जाँदै नगएको चिचेन इत्जाको ऐतिहासिक महत्त्व, माया सभ्यताको विशालता, गर्विलो इतिहास र पर्यटकीय भूमिप्रति पाठकलाई जिज्ञासु पार्नसक्ने, कति वेला त्यो ठाउँमा जाऊँ जाऊँ लाग्ने भाव जगाउन सक्ने नियात्राकारले आफ्नो अक्षरको शक्तिलाई पशुपतिको यात्रा लेखनको वेला किन निस्तेज पारे? नेपालको मुख्य तीर्थस्थल मात्र हैन पाशुपत क्षेत्र। राष्ट्रदेवका रूपमा पशुपतिनाथलाई पुज्दै आइएको इतिहास जीवित नै छ। अझ मानवको मात्र नभएर सम्पूर्ण पशुहरूको पनि पति भन्नुको तात्त्विक अर्थ उठ्नुपर्थ्यो। नयाँ पुस्ता खोज अनुसन्धान र तथ्यमा विश्वास गर्छ? पशुपतिको धार्मिक, पौराणिक, ऐतिहासिक, सामाजिक र पुरातात्त्विक महत्वलाई किन नजरअन्दाज गरेको? अमेरिका बस्दै आएका पशुपतिले नै पशुपतिको यो यात्रालाई लेख्न किन अल्छी गरेको? अमेरिका बस्दै आएका नयाँ पुस्ताको हातमा यो कृति पक्कै पर्छ। ती पुस्ताले पशुपतिको गरिमा, गौरव, इतिहासको महत्वलाई कसरी बुझ्छन्? पशुपतिनाथको रहस्यमयी दर्शन, रोचक उत्पत्ति कथालाई किन बिर्सिएको? कथाले आजको पुस्तालाई अध्ययन र अनुसन्धान गर्न उत्प्रेरित गर्ने थियो। आश गर्छु आउँदो संस्करणमा पाशुपत क्षेत्रलाई यति सीमित दायरामा नलेखियोस्।
लेख्नु भनेको सम्पदा हस्तान्तरणको अभिभारा पनि हो। अझ आफ्नो देश लेख्नु भनेको गहन जिम्मेवारीको कुरा हो। नयाँ पुस्तालाई आफ्नो सभ्यता, संस्कृति र भूगोलसँग परिचित गराउनु हो। पुर्खाको माटोप्रति प्रेम जगाउनु हो। पुर्खाको भूमिसँग जोड्नु हो। माफ गर्नुहोला जसरी उत्तर अमेरिका र युरोपका यात्रामा अक्षरको शक्ति जसरी आएको छ नेपालमा चाहिँ किन आउन सकेन? पोखराको यात्रामा पनि धेरै कुरा छुटेका छन्। गहन लेखनको कमी नै छ तर लुम्बिनी पुग्दा हृदय भरिन्छ। बुद्धको जन्मभूमि र धम्मपदको गहन गाथालाई उठान गरिएको छ जुन निकै सुन्दर छ। अक्षरको ऐनाबाट नेपालको सौन्दर्य आउँदो पुस्ताले हेरुन्। देशलाई सतही रूपमा लेख्नका लागि मात्र लेख्दा अन्याय हुन्छ। उत्साहका अक्षर भएनन् भने नवपुस्ताले पुर्खाको देशप्रति रुचि घटाउनवेर लगाउँदैनन्। हामीलाई पो थाहा छ पशुपतिको गरिमा, इतिहास तर अक्षर समयको घोडा तोडेर कुद्छ दिक्कालसम्म।
भारतको भ्रमणमा अनेक आयाम आएका छन्। यो धार्मिक यात्रामा एक असल छोराको भूमिका अनुकरणीय छ। गान्धीको समाधि स्थलदेखि कृष्ण कन्हैया, मिनारदेखी मन्दिरसम्मको यात्रामा सहयोग र संवेदनाका अनेक घटना आएछन्। कृष्ण भूमिदेखि ताजमहलसम्म पुग्दा ट्याक्सी चालकले देखाएको सद्भाव र सहयोगले यस्तो लाग्छ यो संसारमा सच्चा मानिसको जात अझ जीवित नै छ। बनारस र सारनाथको यात्रामा पनि ज्ञानका अनेक ढोका खुल्छन्। बाआमाका साथ भारतदेखि जनकपुर हुँदै छिन्नमस्तासम्मको यात्रामा हराउँदा हृदय आह्लादले भरिन्छ। दक्षिण कोरियाको क्षणिक यात्राभित्र मातृत्वको गाथा छ। प्रेम, साथ र पारिवारिक एकताको सुगन्ध छ।
*
युरोपको यात्रामा सबैभन्दा स्मरणमा आएको कुरा केही दिनको लागि घर भाडामा लिने, सातु सामल किन्ने आफैँ पकाएर खाने संस्कृतिले हिजोको तीर्थ यात्राको स्मरण गराउँछ त्यो वेला हाम्रा हजुरबाहरू तीर्थ यात्रा जाँदा आफैँ पकाएर खान्थे तर आजको यात्रामा केही पनि बोकेर हिँड्नुपर्दैन पैसा पनि नबोकी हिँड्ने समयको यो युरोप यात्रा साँच्चै लोभलाग्दो छ। पाठकलाई युरोप यात्राको भोक जाग्छ। पेरिसमा पाँचदिन आफ्नो परिवारसँग घुम्दा सबैको मुहारमा मुस्कान छरिएको पाठकले सजिलै अनुमान लगाउँछन्।
आइफल टावरको यात्रा, शहर, नदीको सुन्दरता अक्षरगञ्जबाट बारम्बार गर्दै आएकी छु। विकास, विज्ञान र प्रविधिले प्रज्वलित तुल्याएको उज्यालो शहर हो पेरिस। लुभ्र सङग्राहलयको भव्यता, विशालता र मोनालिसाको लोकप्रियताले सबैलाई तान्छ। अझ मोनालिसाका अनेक कथाले नौलो तरङ्ग दिन्छ, पेरिसको मुटुमा अवस्थित यो लुभ्र सङ्ग्राहालय पाश्चात्य कलाको उपलब्धि र सांस्कृतिक सम्पदाको एक भव्य प्रतीक हो। १२औँ शताब्दीमा एक किल्लाका रूपमा निर्माण गरिएको र पछि राजकीय निवासका रूपमा प्रयोग गरिएको यो ऐतिहासिक भवन विश्वको सबैभन्दा ठूलो कला सङ्ग्रहालयका रूपमा विकसित भएको छ, जसमा ३८०,००० भन्दा बढी वस्तुहरू सङ्ग्रहीत छन् (पृष्ठ २११)
पेरिस यात्रा, मृत्युको साम्राज्य क्याटाकोम्ब्स अफ पेरिसको नौलो यात्रा रोचक लाग्यो। नवीन सोचले नै नयाँ सभ्यता जन्माउँदो रहेछ। वास्तवमा पेरिसका व्यस्त सडकहरू मुनि २०० माइल जतिको एक भूमिगत सुरुङ र कोठाहरूमा अस्थिपञ्जर सङ्ग्रहालयमा परिणत गरिएको रहेछ, जहाँ छ करोडभन्दा बढी मानिसका अवशेष सङ्ग्रहीत रहेछन् (पृष्ठ २१७) पुरानो चिहान भरिएपछि त्यहाँबाट निकालिएका कङ्कालहरूको सुन्दर संसार। त्यो हेर्न विश्वभरिबाट लाखौँ पर्यटकलाई भित्राउने सोच अनेक दृष्टिकोणले उचित लाग्यो।
सपनाको देश स्वीट्जरल्याण्डको शयर गर्दा बारम्बार याद आउँछ एस चोपडाले बनाएका सुपरहिट सिनेमाका दृश्य। विकासको उच्च स्थानमा पुगेको यो देश जति घुमेपनि जति लेखे पनि जति पढे पनि पुनः पुनः हेर्ने पढ्ने प्यास जाग्दो रहेछ। प्रिय यात्री! केबलकार चढेर हिमालको यात्रा गर्दा मेरो हृदय मुस्कुरायो मैले कल्पना गर्दै कोरेकी थिएँ एउटा कविता “कुनै दिन छातीमा सगरमाथा बोकेर सगरमाथाको यात्रा सजिलै गरौँला’भनेर। माउन्ट टिट्लिसको यात्रा साँच्चै गतिशील छ। चित्रात्मक छ तर यात्रीको चिन्तन हिमालभन्दा अग्लो छ, अघिल्लोपल्ट अँजुलीमा उगाएको पानी त यो होइन, त्यो पानी त बगेर गइसक्यो। अहिले अँजुलीमा उगाएको पानी त अर्कै पो हो। उही इङ्गेलबर्ग आ नामक नदी हो, तर पानी त उही होइन। उही पानी बोकेर नदी निरन्तर नित्य प्रवाहित भइरहेजस्तो लागे पनि हामीले हरेक पल्ट उगाएको पानी त फरक हुँदो रहेछ। नित्य देखिने प्रवाह त नित्य नहुँदोरहेछ, अनित्य पो हुँदो रहेछ, अनिरन्तर पो हुँदो रहेछ। हाम्रो मानव जीवनको प्रवाह पनि त्यस्तै छ। बाहिरबाट हेर्दा शरीर उही, जीवन उही तर हाम्रा सोच, चिन्तन र अनुभवहरू छिनछिनमा परिवर्तन भइरहन्छन्। त्यो नदीको प्रवाह जस्तै … (पृष्ठ २३४) कति गहिरो दर्शन। यात्रा, साहित्य र दर्शनको सुन्दर संसार छ यो यात्रामा। लेक जुरिचदेखि विलासी सडकसम्मको यात्रामा स्वीट्जरल्याण्डको वैभव पठनीय छ।
ग्रिसको गर्मी र सुकरातका पाइलाका डोबहरू महान् दार्शनिकहरू जन्माएको भूमिमा घुम्दाको आनन्द निकै रोचक छ। बिहान आँखा खोल्दा पो म झल्याँस्स सम्झिन्छु, अहो! म त महान् दार्शनिकहरूको देशमा पो छु। सुकरात,प्लेटो,एरिस्टोटल जस्ता महान् दार्शनिकहरू, पाइथागोरस, युक्लिड, आर्किमिडिज आदि जस्ता महान् गणितज्ञ- वैज्ञानिकहरू, हिप्पोक्रेट्स जस्ता चिकित्सा विज्ञानका पिताहरू, पेरिक्लेस, अलेक्जेन्डर द ग्रेट, फिलिप सेकेन्ड जस्ता महान् विजेता सम्राट्हरू, सोफोक्लिज, होमर, साप्फो जस्ता महान् कवि-साहित्यकारहरूको देशमा पो ब्यूझेँछु। पाश्चात्य धर्म, इतिहास, दर्शन, संस्कृति र सभ्यताको जरा गाडिएको एक प्राचीन देश, ओलम्पिक खेलको जन्मदाता ग्रिसको राजधानी एथेन्स छेउछाउ पो आइपुगेछु। हतार-हतार बाहिर निस्किन्छु, ती गौरवशाली मानिसहरूले टेकेको जमिन टेक्ने, ती महान् मानिसहरूले ओढेको आकाश ओढ्न। सुकरातका पाइलाका डोब हेर्न (पृष्ठ२४३) मैले पनि गर्मीको अत्यासमा ग्रिसको सौन्दर्यपान गर्दै गएँ।
अन्तिममा लन्डनतिर बरालिँदामा ताना शर्मालाई सम्झिएँ। थेम्स नदीको शान्त स्वरूपमा मगन भएँ। प्रिय यात्री बेलायतका पूर्वप्रधानमन्त्री चर्चिलले सुनाएको रोचक र स्मरणीय कथाले हृदयलाई अनेक पटक प्रश्न गर्यो। पैसाको मोह, आवश्यकता, तागत र सम्मोहनको शक्तिले मान्छेलाई कति अविश्वासी बनाएको छ भन्ने कुरा स्मरणमा गढिरहने छ। ट्याक्सी चालकको बदलिँदो विचार आजको पूँजीवादी समाजको यथार्थ चित्र हो। जीवनको तीतो सत्य हो। मैनको म्यूजियम र दरबारदेखि स्क्वायरसम्म, नेपाली मन र नेपालीपनमा भिजेका धिरज राईको अभियानलाई नमन गर्दै म अझ अगाडि बढेँ र शेक्सपियरको सम्झनामा आँखा बन्द गर्दै यी तीन महादेशको यात्रा रुचिपूर्ण सम्पन्न गरेको जानकारी लिएर आएकी थिएँ। चित्त नबुझेको कुरा सोझै राखिदिएकी छु। मलाई चित्त नबुझेको ठाउँमा तपाईँको चित्त बुझेको पनि हुनसक्छ।
प्रिय यात्री पुनः पुनः तिम्रो यात्राको साक्षी बस्ने अवसर जुरोस् भन्ने आशा गर्छु। यात्रा मन पराउने अर्की यात्रीको पत्रको जवाफ अवश्य मिल्नेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.