बाढी, पहिरोलगायत विपद्बाट २१ जनाको मृत्यु

बाढी, पहिरोलगायत विपद्बाट २१ जनाको मृत्यु

58
SHARES

काठमाडौँ – अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ। देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्का घटना बढेका छन्। बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा २१ जनाको मृत्यु भएको छ। ५ जना बेपत्ता र ५ जना घाइते भएका छन्। ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

बाढी र पहिरोको जोखिममा परेका विभिन्न प्रभावित जिल्लाका गरी २ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीबाट ४, पहिरोबाट १४ र अविरल वर्षाका कारण ३ जनाको मृत्यु भएको छ। बाढीले १०१, पहिरोले १९ र अविरल वर्षाले २३ घर पूर्णरूपमा क्षति भएका छन्।

सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढी, पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

९ असोजदेखि सुरु भएको वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरोका कारण कैयौँ परिवार घरबारविहीन भएका छन्। नेपालीको मुख्य चाडबाड दसैँ, तिहार र छठको मुखमा अधिकांश राजमार्ग क्षतिग्रस्त बनेका छन्। अविरल वर्षाका कारण सडक, विद्युत्, सञ्चार तथा यातायात सेवासमेत प्रभावित हुँदा देशभरको जनजीवन थप अस्तव्यस्त बनेको छ।

१० भदौको भोटेकोशी–त्रिशूली बाढीले एक नदी करिडोरमा मात्र प्रहार गरेको थियो। पछिल्लो वर्षा र बाढीले देशव्यापी राजमार्गहरू क्षतिग्रस्त बनाएको छ। सडक विभागका विभिन्न कार्यालयले दिएको जानकारीअनुसार सामान्य पहिरो गएको स्थानमा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालन गर्न थालिएको छ। कतिपय स्थानमा भने केही दिनसम्म लाग्न सक्ने अवस्था छ।

सडक विभागका अनुसार पहिरोले काठमाडौँलाई पश्चिम नेपालसँग जोड्ने पृथ्वी राजमार्ग दुई दिनयता बन्द छ। कृष्णभिर, तिङ्ग्राङखानी, चालिसे, बाङ्गे लगायत स्थानमा सडक अवरुद्ध भएको थियो। बेनिघाट रोराङ–७ का अध्यक्ष कुमार बस्नेतले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार कृष्णभिरको पहिरो हटाउन थालिएको छ।

मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको हो।

उनका अनुसार घट्टे खोलाबाट झरेको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको हो। ‘घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको छ,’ उनले भने, ‘नदीको बहाव बढिरहेकोले जोखिम बढिरहेको छ।’

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा बेपत्ता भएका १० जनामध्ये २ जनाको शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी खनालले दिएको जानकारीअनुसार उद्धार टोलीले हेलिकप्टरमा २ जनाको शव चामे ल्याइपुर्‍याएका छन्। उद्धारमा समस्या भएको छ। सिडिओ खनालले भने, ‘अब सोमबारमात्र उद्धार कार्य हुने छ, सबैलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छौँ।’

लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ। बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा मात्रै ४८३ घर डुबानमा परेका छन्। यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा १७ घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ।

नारायणी नदीको बाढी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का विभिन्न बस्ती डुबानमा परेका छन्। थारुटोल, सैनिक टोल, पहाडी टोल र बड्का टोलका करिब १७० घरधुरीमा बाढी प्रवेश गरेपछि नेपाल प्रहरीले बाढी प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई तीव्र बनाएको छ।

प्रहरीले बाढी प्रभावित क्षेत्रबाट वृद्धवृद्धा, महिला तथा बालबालिकासहित करिब ४०० जनालाई सुरक्षित रूपमा विपद् व्यवस्थापन भवनमा स्थानान्तरण गरेको छ। नदीको बहाव बढ्ने क्रम जारी रहेकाले थप जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्यसमेत भइरहेको छ।

बाढीका कारण इलाका प्रहरी कार्यालय, सुस्ता परिसरसमेत डुबानमा परेपछि कार्यालयमा रहेका हातहतियार तथा अन्य प्रहरी सामग्रीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

बर्दियाको गुलरिया नगरपालिका–८ स्थित सर्जु नदी टपरा टोलका १५ घर डुबानमा परेका छन्। सर्जु नदीको किनारमा बसोबास गरिरहेका १५ घरधुरी डुबानका कारण विस्थापित भएका छन्।

डुबानमा परेर विस्थापित भएका घरधुरीलाई गुलरिया नगरपालिकाले निर्माणाधीन औद्योगिक ग्राममा राखेको छ। कच्ची घरहरूमा अधिकांश क्षति भएको प्रहरीले जनाएको छ। त्यसैगरी लगातारको वर्षाका कारण गुलरिया नगरपालिका–१ छेदापुरका पाँचवटा कच्ची घरमा पानी पसेको प्रहरीले जनाएको छ। उनीहरूलाई विद्यालयमा राखिएको छ।

बाँसगढी नगरपालिकाको रेशमटोल बस्ने जलबहादुर चौधरीको घरको भित्ता भत्किँदा च्यापिएर बंगुर मरेका छन्। जिल्लाका विभिन्न स्थानमा सामान्य क्षति भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताए।

चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएको छ। आइतबार दिउँसो नदीमा राखिएको क्रुजसिप बगाएको हो। बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ।

निरन्तरको वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरमा रहेका विद्युत् आयोजनामा सबैभन्दा ठूलो अवरोध पुर्‍याएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीपहिरोका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनमा जोडिएका जलविद्युत् आयोजना बन्द भएका हुन्। उक्त प्रसारणलाइनअन्तर्गत दाना–कुश्मा खण्डमा क्षति पुग्दा उक्त आयोजनाहरूको विद्युत् प्रवाह बन्द भएको हो।

कालीगण्डकी करिडोरमा उत्पादन हुने ३५८.२ मेगावाट बिजुली बन्द भएको छ। कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा छ।

हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथअन्तर्गत भीमफेदी गाउँपालिका–८ बगुवा खोला नजिकै खहरे खोल्सामा भिरबाट ढुङ्गा, बालुवा र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी टोली खटिएर सडक विभागसँग समन्वय गरी सडक सञ्चालनको पहल भइरहेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा अझै वर्षा भइरहेको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
58
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.