समलिङ्गी विवाह दर्ताबाट इतिहास रचेका सुरेन्द्र पाण्डे अर्को इतिहास रच्न चुनावी मैदानमा

समलिङ्गी विवाह दर्ताबाट इतिहास रचेका सुरेन्द्र पाण्डे अर्को इतिहास रच्न चुनावी मैदानमा

काँग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार

113
SHARES

काठमाडौँ – नेपाली कांग्रेसमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट युवा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन्। दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डे नवलपुर–१ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका हुन्।

समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेर इतिहास रचेका २८ वर्षीय पाण्डे नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर–१ मा मंगलबार हुने क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिएका छन्। उनले अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका छन्।

कांग्रेसमा यसअघि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट हाल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रहेकी भूमिका श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा मनोनीत भएकी थिइन्। तर, यो पटक समुदायबाट पाण्डे चुनावी प्रतिस्पर्धामै उत्रिएका छन्।

अल्पसंख्यक कोटामा पाण्डेसँगै गौतम दराईले उम्मेदवारी कायम राखेपछि अन्ततः मतदान नै हुने भएको छ। अर्का एक जनाले भने उम्मेदवारी फिर्ता लिएका छन्। अब पाण्डे र दराईबीच अल्पसंख्यक कोटामा प्रतिस्पर्धा हुनेछ।

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पाण्डे सर्वसम्मत निर्वाचित भएका थिए। नवलपुर–१ मा फरक लैङ्गिक पहिचानसँगै पाण्डेले कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरूमाझ मत मागिरहेका छन्।

पाण्डे ४० वर्षमुनिका ४० प्रभावशाली युवाको सूचीमा समेत परेका थिए। उनीसमेत रहेको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई निर्वाचनमा आरक्षणको व्यवस्था गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ।

नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत देशभरि झन्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन्।

पार्टीको नयाँ व्यवस्थाअनुसार ३५ वर्षमुनिका झन्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए। उनले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको दाबीसमेत गरेका छन्।

नयाँ विधानमा हरेक वडाबाट ३५ वर्षमुनिका एक महिलासहित कम्तीमा तीन युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनुपर्ने व्यवस्था रहेकाले ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाको दरले २० हजार २२९ जना निर्वाचित भएका छन्।

तर, हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। त्योअनुसार औसतमा पाँच जना निर्वाचित हुन्छन् भन्ने मान्दा ३३ हजार ७१५ जना ३५ वर्षमुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।

त्यसैगरी हरेक गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ। नेपालमा अहिले गाउँपालिकातर्फ ३ हजार २१५ वडा रहेका छन् भने नगरपालिकातर्फ ३ हजार ५२८ वडा रहेका छन्। त्यसैले गाउँपालिकाको वडामा ३ हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिकातर्फका वडाहरूमा ३ हजार ५२८ मा दुई जनाका दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन्।

यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले पदीय जिम्मेवारी लिएका छन्। ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धीहरू रहेकाले कांग्रेसको अधिवेशनमा झन्डै एक लाख युवाले महाधिवेशनमा प्रतिस्पर्धा गरेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले जनाएका छन्।

तीनै क्षेत्रीय प्रतिनिधिहरूबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा तीन जना चयन भइसकेका छन् भने प्रदेश निर्वाचन क्षेत्रमा एक जना, सङ्घीय निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमितिमा निर्वाचित हुँदैछन्।

त्यसैगरी तीनै क्षेत्रीय प्रतिनिधिहरूमध्येबाट हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले देशभरिबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक–एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको पनि निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए।

नयाँ विधानअनुसार हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि हुने छन् भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य हुनेछन्।

केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन्। पार्टीमा यति ठूलो संख्यामा युवाहरूले पदीय जिम्मेवारी नै लिएको र एक लाखभन्दा बढीले उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेकोले कांग्रेसको सङ्गठनमा युवाको दबदबा ह्वात्तै बढेको विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले बताए। कांग्रेस अब पुरै युवामय पार्टी भइसकेको उनको भनाइ छ।

समाचार शेयर गर्नुहोस्
113
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.